Successfully Copied

लकडाउनमा महिलाको भूमिका

हाम्रो पुरुष प्रधान देशमा महिलाले नै घरको सबै कामको अभिभारा बोकेकी हुन्छिन्, चाहे त्यो धनी परिवार होस् वा गरिब । कोरोनाको महामारीबाट जोगिन सरसफाई नै पहिलो सर्त हो । जसको जिम्मेवारी महिलाले नै बढी बहन गरिरहेका छन् ।

अहिले लकडाउन राम्रो कि नराम्रो भनेर विवादगर्नुको अर्थ छैन । किनकि यो कुनै राजनीतिक, सैनिक या आर्थिक कारणले नभएर माहमारीबाट बँच्नको लागि लगाइएको हो । तसर्थ अहिले यसलाई स्वीकार्नु बाहेक हामीसँग बिकल्प नै छैन । 

२ सय भन्दा बढी देशमा फैलिएको कोरोना भाइरस (कोविड–१९) को महामारीबारे धेरैलाई थाहा छ । अहिलेसम्म यसको रोकथामकालागि कुनै औषधि पत्तालागेको छैन । विश्वस्वास्थ्य संगठनले यसलाई नियन्त्रण गर्र्न हरेक क्षण अपिल गरिरहेको छ । त्यसकालागि सामाजिक दूरी कायमगर्नु नै अहिलेसम्मको सबैभन्दा उपयुक्त हुने बताइएको छ । 

नेपाल सरकारले अहिलेको स्थितिलाई मध्यनजर गर्दै र लकडाउनको नीति ल्याएको जगजाहेरै छ । लकडाउनले ज्याला मजदुरी गर्दै जीवीकोपार्जन गर्नेहरु बढी मारमा त परेका छन् नै । तरपनि समस्या समाधानगर्न सरकारले लकडाउनलाई निरन्तरता दिनैपर्ने स्थिति छ । लकडाउन कसैको लागि पनि सहज हुँदैन । सबैको दैनिकी प्रभावित भएकै छ । यस्तो बेला महिलाको भूमिका अरुबेला भन्दा महत्वपूर्ण हुन्छ । लकडाउनले महिलाको जिम्मेवारी बढाएको छ ।

हाम्रो पुरुष प्रधान देशमा महिलाले नै घरको सबै कामको अभिभारा बोकेकी हुन्छिन्, चाहे त्यो धनी परिवार होस् वा गरिब । कोरोनाको महामारीबाट जोगिन सरसफाई नै पहिलो सर्त हो । जसको जिम्मेवारी महिलाले नै बढी बहन गरिरहेका छन् । भान्छादेखि शौचालयसम्मको सफाईमा महिलाले नै ध्यान पु¥याउनु पर्छ । सँगै रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाउन आवश्यक खानेकुराको जोहो, पकाउने र समयमा खुवाउने जिम्मेवारी पनि महिलाकै काँधमा छ । घरका सदस्यलाई कोरोना संक्रमण हुन नदिन पनि महिलाको भूमिका महत्वपूर्ण हुन्छ । भान्छामा भित्र्याइने सामग्रीको सफाई, घरका सदस्यलाई हातधुन र नियन्त्रणमा राख्नपनि महिलाले नै भूमिका खेलेका हुन्छन् । 

अहिले सबैमा संक्रमणको त्रास बढेको छ । जसले मानसिक स्वास्थ्यमा असर गरिरहेको छ । श्रीमान २४ घण्टा घरभित्र बस्नु पर्दाको रिस पनि श्रीमतीमाथि नै पोख्ने गरेका छन् । बच्चाहरुले घरबाहिर निस्कन नपाउँदाको आक्रोश पनि आमामाथि नै खन्याउने गर्छन् । तरपनि महिलाले संयमित भएर काम गरिरहेका छन् । किनकि, बच्चा र पुरुषभन्दा महिला सहनशील हुन्छन् । यस्तोबेला महिलाले धैर्यतापूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्छ र गरिरहेका छन् । यसर्थ अहिले महिलाको भूमिका चुनैतीपूर्ण पनि छ । परिवार, समाज र देशप्रति उत्तरदायी भएर महिलाले आफ्नो कर्तव्य पूरा गर्नुपर्नेछ । जसले कोरोनालाई पराजित गर्न सहयोग पुर्याउनेछ ।

आपतकालीन परिस्थितिमा संयम रहन सजिलो छैन । तैपनि महिलाले आफूलाई संयम राख्न अत्यन्त जरुरी छ । यसकालागि आफूले आफूलाई शान्त राख्न आवश्यक हुन्छ । जसकालागि योगले मद्दत पुर्याउँछ । आफूमा क्रोध र रिस हावी हुन नदिन तथा डर र त्रासबाट टाढा रहन, सकरात्मक सोच बढाउन योगले सहयोग पुर्याउँछ । महिलाले आफूलाई खुसी राख्न दैनिक तालिका बनाउनु पर्छ । 

त्यस्तै महिलाले आफ्ना भावना र इन्द्रीयहरुमाथि नियन्त्रण गर्न सक्नु पर्छ । परिवारसँग समय बिताउने अवसर पाएकोमा खुसी हुनुपर्छ । महिलाको भूमिकाले नै परिवारलाई सुखी, खुसी र स्वास्थ्य राख्न सक्दछ । 

(नारीकालागि लक्ष्मी भण्डारीले गरेको कुराकानीमा आधारित)

 Image