Successfully Copied

सौन्दर्य टिप्स

अनुहारलाई क्लिन्ज गर्ने र सनब्लक, डे क्रिम वा मोस्चराइजर लगाउने । छालाको टोनअनुसार फाउन्डेसन लगाउने ।

न्युड मेकअप गर्ने विधि

अनिता केसी रायमाझी, कलंकी ब्युटिपार्लर

अनुहारलाई क्लिन्ज गर्ने र सनब्लक, डे क्रिम वा मोस्चराइजर लगाउने । छालाको टोनअनुसार फाउन्डेसन लगाउने ।  ब्रसको सहयोगले अनुहार एवं आँखा वरिपरि पनि राम्रोसँग पाउडर लगाउने । आइब्रोलाई स्याडो ब्रसले हल्का ब्ल्याक कलर लगाएर सेप दिने । आइस्याडो लगाउँदा आइब्रोमुनि हल्का पहेंलो वा गोल्डेनले हाइलाइट गर्ने, आइ बलमा गाढा र आइ कर्नरमा बढी गाढा रंगको स्याडो लगाउने । परेलाको रंगअनुसार ब्ल्याक वा ब्राउन मस्कारा प्रयोग गर्ने । आइलाइनर प्रयोग गर्दा आँखाको भित्रबाट बाहिर तानी मसिनोबाट मोटो बनाउने । गालाको बोनलाई भन्दा तलतिर हल्का पिंक कलरको ब्लसर लगाउने र चमक दिन ब्रोन्जर लगाउने । लिपिस्टिक लगाउनुअघि अनुहारमा लगाइएको फाउन्डेसन वा कन्सिलर ओठमा हल्का दल्ने । त्यसपछि लिपिस्टिक वा लिपग्लस लगाउने । ओठलाई आकर्षक देखाउन लिपिस्टिकपछि हल्का गोल्डेन कलर लगाउन सकिन्छ ।

लक्ष्मी श्रेष्ठ, ब्युटिसियन

अल ब्युटिपार्लर, बनेपा

केशमा कलर लगाउनुभन्दा तीन महिनाअघि नै मेहन्दी लगाउन बन्द गर्नुपर्छ । यसले गर्दा कलर राम्रोसँग बस्छ । केश धोएकै दिन कलर गर्नु हुँदैन । चिसो केशले हेयर कलर सोस्दैन । केश पखालेको दुई-तीन दिनपछि कलर लगाउँदा केशको तेलले रंग सोस्छ । केश सधैं चिसो पानीले पखाल्नुपर्छ । तातोपानीले केशलाई नोक्सान पुर्‍याउँछ । यसले कलर पनि निकाल्छ । गोल्डेन कलर सबैलाई सुहाउँदैन, त्यसैले विशेष ध्यान पुर्‍याउनुपर्छ । हेयर कलरका लागि प्रयोग गरिने स्याम्पु फरक हुन्छ । यसले कलर खुइल्याउँदैन । त्यसैले जहाँ कलर गरिन्छ त्यहीँ त्यसका लागि प्रयोग गरिने स्याम्पु प्रयोगमा ल्याउनुपर्छ । अहिले कलर प्रोटेक्टेड स्याम्पु पनि उपलब्ध हुन थालेको छ । कलर गरेपछि हेयर सिरम प्रयोग गर्दा रंग पक्का बस्छ । कलर गरेपछि केशलाई घामबाट जोगाउनुपर्छ । केशमा सेमी परमानेन्ट कलर बढी समय टिक्छ ।

आइ मेकअप

सुदिना खड्गी, ब्युटिसियन, भीएलसीसी, डिल्लीबजार

मेकअप सधैं आँखाबाट सुरु गर्ने । अहिले रातोभन्दा बढी गोल्डेन, ब्राउन तथा ग्रीन कलर प्रचलित छन् । आइमेकअपका लागि आफ्नो आँखाको आकार राम्रोसँग थाहा पाउन जरुरी हुन्छ । आँखाको आकारअनुसार पहिले बेस प्रयोग गर्ने । आइस्याडो प्रयोग गर्दा जहिले पनि अपमा लगाउने । आँखाको कर्नरभन्दा बाहिर नजाने । गोल्डेन कलर लगाएर माथिबाट आफ्नो पहिरनको कलर हल्का टचअप गर्ने । चाडपर्वका बेला विवाहित-अविवाहित प्राय: सबैले रातै रंगका पहिरन लगाउने हुँदा रातै टचअप गर्ने । आँखाको कर्नरबाट ब्राउन तथा ग्रीन आइस्याडो प्रयोग गर्दा आँखा ठूलो देखिन्छ । टिनएजहरूलाई ब्ल्याक, ब्लु, ब्राउन, गोल्ड, सिल्भरले मर्च गरी स्मोकी आई देखाउँदा बढी सुहाउँछ । माथिको हाइलाइट भागमा ह्वाइट, सिल्भर र अफ ह्वाइट हल्का भी सेपमा लगाउँदा आँखा सारै लोभलाग्दो देखिन्छ । आइलाइनर प्रयोग गर्दा आँखाको अगाडिको भागमा हल्का पातलो लाइन तथा बीचबाट मोटो लाइन तान्ने जसले आँखा ठूलो देखाउन मद्दत गर्छ ।

हातखुट्टाको स्याहार

संगीता प्रधान, ब्युटिसियन, काया कोहिनुर ब्युटिपार्लर, कुपन्डोल

हातखुट्टालाई मनतातो ओलिभ ओयलले राम्रोसँग मालिस गरी केही समय स्याम्पु पानीमा डुबाएर राख्ने । त्यसपछि सफा पानीले हातखुट्टा धुने । काम गर्दा हातखुट्टा खस्रो र फोहोर भए हातमा कागती लगाउने । कुहिनामा कागतीको रस लगाई ब्रसले रगडेर सफा गर्ने । राति सुत्नुअघि हातखुट्टामा क्रिम वा लोसन प्रयोग गर्नुपर्छ । कागतीले हातलाई कोमल तथा उज्यालो बनाउँछ । यसले नङ सफा राख्छ । अत: कागतीको पर्याप्त प्रयोग गरेर हातखुट्टालाई नरम राख्नुपर्छ । मह तथा सुन्तला प्रयोग गरेर पनि हातखुट्टा नरम बनाउन सकिन्छ । हातखुट्टाको स्याहार गरे टीका लगाउन जाँदा वा मन्दिरमा जाँदा आराम पनि प्राप्त हुन्छ ।

 

 Image