Successfully Copied

महिला क्रिकेटमा कीर्तिमानको ओइरो

नेपाली महिला क्रिकेटमा अहिले कीर्तिमानको ओइरो नै लागेको छ। बलिङ र ब्याटिङ दुवैमा चेलीहरूले आफूलाई अब्बल रूपमा प्रस्तुत गरिरहेका छन्।

नेपाली महिला क्रिकेटमा अहिले कीर्तिमानको ओइरो नै लागेको छ। बलिङ र ब्याटिङ दुवैमा चेलीहरूले आफूलाई अब्बल रूपमा प्रस्तुत गरिरहेका छन्। उनीहरू काठमाडौंमा सञ्चालित महिला राष्ट्रिय क्रिकेटको सुरुआती दिनमा चारवटा शतक बनाउन सफल भए अनि रेकर्ड बनाउने र तोड्ने क्रम पनि सुरु भयो।

महिला राष्ट्रिय क्रिकेटको यो सातौं संस्करण हो। यसअघिका छ संस्करणमा उल्लेख्य कीर्तिमान कमै बनेका थिए। त्यतिबेला महिलाहरूले २० अथवा २५ ओभरका खेलमा मात्र सहभागिता जनाउँथे। नेपाल क्रिकेट संघले यसपटकदेखि प्रतियोगिताको स्वरूप परिवर्तन गरेर ४० ओभरको बनाएको छ। त्यसैले पनि महिला क्रिकेटरले खुलेर खेल्न पाए भने ब्याटिङमा टिक्न पनि सफल भए।

नेपालगन्जकी नेरी थापाले काठमाडौंविरुद्ध ऐतिहासिक शतक प्रहार गरेर कीर्तिमान राख्ने क्रम सुरु गरिन्। यो यस अर्थमा पनि ऐतिहासिक थियो कि उनले प्रहार गरेको शतक नेपाली महिला क्रिकेटमै पहिलो थियो। उनले काठमाडौंविरुद्ध नटआउट १ सय २१ रन बनाएकी थिइन्। नेपाली महिला क्रिकेटको इतिहास धेरै लामो नभए पनि शतकका लागि सातौं संस्करणसम्म कुर्नुपरेको हो। राष्ट्रिय क्रिकेट प्रतियोगिता २०६४ देखि सुरु भएको हो र त्यसयताका प्रतियोगितामा नेरीले नेपालगन्जको प्रतिनिधित्व गरिरहेकी छिन्। उनको नेतृत्वमा नेपालगन्जले दुईपटक राष्ट्रिय उपाधि पनि  जितिसकेको छ।

नेपालमा महिला क्रिकेटको सुरुआतसँगै यससँग जोडिएकी पूर्वब्याडमिन्टन स्टारले सन् २००७ मा मलेसियामा सम्पन्न एसीसी बुमेन्स प्रतियोगितामा नेपाली टिमको नेतृत्व गरेकी थिइन्। पहिलो अन्तर्राष्ट्रिय सहभागितामै नेपालले उनको नेतृत्वमा दोस्रो स्थान हासिल गरेको थियो। नेरी त्यसपछि  नियमित राष्ट्रिय टिममा छिन्। ५२ बलमा अर्धशतक पूरा गरेकी नेरीले शतकका लागि १ सय ४० मिनेट मैदानमा रहँदै १ सय ९ बलको सामना गरिन्। उनले १ सय २८ बलमा २१ चौका प्रहार गरेकी थिइन्।

नेरीको शतकको कीर्तिमानलाई त्यसको भोलिपल्टै बैतडीका खेलाडीले पछ्याए। उनको १ सय २१ रनलाई पछि पार्दै बैतडीकी रेखा रावलले नटआउट १ सय ३१ रन मात्र बनाइनन्, उनी सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहिन्। पोखराविरुद्धको खेलमा रेखालाई पछ्याउँदै अञ्जली चन्दले पनि शतक प्रहार गरिन्। उनीहरूले एकै इनिङ्समा दुई शतक बनाउने काम गरे। पोखराविरुद्ध २ सय २९ रनको जित हात पार्ने क्रममा बैतडीले एक विकेटको क्षतिमा ३ सय ६२ रनको विशाल स्कोर पनि खडा गर्‍यो। रेखा र अञ्जलीले दोस्रो विकेटका लागि नटआउट २ सय ४८ रनको साझेदारी गरेका थिए। रेखाले ९८ बलको सामना गर्दै १९ चौका मदतले नटआउट १ सय ३१ रन बनाइन्। अञ्जलीले पनि नटआउट १ सय ११ रन बनाइन्। ४७ बलमा अर्धशतक पूरा गरेकी अञ्जलीले शतकका लागि ९० बलको सामना गरिन्।

काठमाडौंकी नीरा राजोपाध्याय पनि के कम ? उनले पनि उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै पोखराविरुद्धको खेलमा शतक बनाइन्। प्रतियोगितामा चौथो शतक बनाएकी नीराले सबैभन्दा छिटो शतक पूरा गरिन्। एपीएफबाट खेल्दै नटआउट १ सय १७ रन बनाएकी नीराले ७० बलमा सय रन पूरा गरेकी हुन्। उनले एउटै ओभरमा छ वटा चौका पनि प्रहार गरिन्।

खेलको ३९औं ओभरमा पोखराको बलिङ सुनिता जिसीले सम्हालेकी थिइन्। त्यही ओभरको चौथो बलमा निराले शतक पूरा गरेकी थिइन् भने सबै बललाई 'बाउन्ड्री लाइन' कटाइन्। उनले जम्मा १८ चौका प्रहार गरिन्। बैतडीकी रेखा रावलले पोखराविरुद्धनै ७४ बलमा बनाएको कीर्तिमान पूर्वराष्ट्रिय कप्तान नीराले भंग गरेकी हुन्।

- शरदप्रकाश धिताल

 Image