Successfully Copied

सीमान्तकृत आवाज र पहुँच अभिवृद्धि गर्ने सात बालकथा पुस्तक सार्वजनिक

कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमाले बालबालिकालाई लामो वाक्य तथा गम्भीर विषयवस्तु भएका पुस्तक पढ्न प्रोत्साहित गर्नुपर्ने बताए। पढ्ने बानीले बालबालिकाको ज्ञानको क्षितिज फराकिलो बनाउने भएकाले उनीहरूलाई पुस्तक पढ्नतर्फ अग्रसर गराउनुपर्नेमा उनले जोड दिए।


बालकथामार्फत सीमान्तकृत समुदायका आवाजलाई उजागर गर्दै उनीहरूको पहुँच र सशक्तीकरण अभिवृद्धि गर्ने उद्देश्यले तयार पारिएका सात बालकथा पुस्तक सार्वजनिक भएका छन्।
आइतबार नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमा, अग्रज बाल साहित्यकार गंगा कर्माचार्य, कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्य, बाल साहित्यकार तथा समीक्षक प्रमोद प्रधान, अधिकारकर्मी गौरी नेपाली, पुस्तकका लेखक तथा चित्रकारहरूले संयुक्त रूपमा सात पुस्तकको विमोचन गरे।
पत्रकार सुशीला तामाङको संयोजनमा सञ्चालित ब्रिटिस काउन्सिलको लैङ्गिकतासम्बन्धी कला कार्यक्रम ‘जेन्डर आर्ट्स इज इक्वल टुगेदर २०२५’ अन्तर्गत ‘अपराजिता कथा परियोजना’मा यी पुस्तकहरू सिर्जना भएका हुन्।
परियोजनाअन्तर्गत सुशीला तामाङको ‘आइतीको बिहे’, बिना थिङको ‘नामको कथा’, हंसावती कुर्मीको ‘इन्द्रेणी’, शान्ति सापकोटाको ‘मितिनी’, संजोग ठकुरीको ‘ममीघर’, अस्मिता वादीको ‘हैतमाको हिम्मत’ र संगीता उराँवको ‘सुर्जीको उज्यालो’ सार्वजनिक गरिएको हो।
परियोजनामा बाल वाङ्मय तथा अनुसन्धान केन्द्र र हामी दाजुभाइ संस्थाले समेत सहकार्य गरेका छन्। पुस्तकका लागि चित्रकारहरू रबिन्द्र मानन्धर, अनामिका गौतम र प्रज्वल थापामगरले चित्र सिर्जना गरेका छन्।
बालसाहित्यमार्फत बालिका सशक्तीकरण, लैङ्गिक समानता तथा समावेशी विकासलाई प्रवर्द्धन गर्नुका साथै समाजमा विद्यमान छोरा–छोरीबीचको विभेद र जातीय, वर्गीय तथा सांस्कृतिक विभेद न्यूनीकरण गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
कथाकारहरूले सीमान्तकृत समुदायलाई दयाको पात्रका रूपमा प्रस्तुत गर्नुको सट्टा उनीहरूको शक्ति, क्षमता र अनुभवलाई कथाको केन्द्रमा राख्ने प्रयास गरेका छन्। कथाहरूमा विभिन्न समुदायका सांस्कृतिक तथा सामाजिक जीवन, अनुभव, अभ्यास र संघर्षलाई समेत समेटिएको छ।
कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमाले बालबालिकालाई लामो वाक्य तथा गम्भीर विषयवस्तु भएका पुस्तक पढ्न प्रोत्साहित गर्नुपर्ने बताए। पढ्ने बानीले बालबालिकाको ज्ञानको क्षितिज फराकिलो बनाउने भएकाले उनीहरूलाई पुस्तक पढ्नतर्फ अग्रसर गराउनुपर्नेमा उनले जोड दिए।
परियोजना संयोजक सुशीला तामाङले बालकथामा लैङ्गिक सवाल र सीमान्तकृत समुदायका आवाजलाई उठान गर्ने क्रम विस्तार हुँदै गएको बताइन्। बालसाहित्यका सर्जकहरूले यस्ता विषयलाई अझ फराकिलो बनाउनुपर्ने उनको भनाइ थियो।

‘प्रत्येक समुदायको आफ्नै भोगाइ, सामाजिक तथा सांस्कृतिक जीवनका अनुभव, संघर्ष र अभ्यास हुन्छन्,’ तामाङले भनिन्, ‘सातवटा बालकथामार्फत हामीले ती विषयलाई केही हदसम्म समेट्ने प्रयास गरेका छौं। समानता, विविधता र समावेशीकरणका मुद्दालाई साहित्यमा सम्बोधन गर्न प्रत्येक सर्जक समुदायभित्र पुग्न आवश्यक छ।’
सातवटै कथाको समीक्षा गर्दै अधिकारकर्मी गौरी नेपालीले परम्परागत नैतिकता र आदर्शमा आधारित बालकथाभन्दा फरक ढंगले समाजको वास्तविक चित्रण यी पुस्तकमा गरिएको बताइन्।
उनका अनुसार परम्परागत बालकथामा पुरुषलाई मुख्य पात्र बनाएर विभेदकारी सोचलाई निरन्तरता दिने प्रवृत्ति देखिन्छ। तर, यी सात कथाले सीमान्तकृत तथा पितृसत्तात्मक समाजमा रहेका मानिसका अभ्यास, अनुभव र सामाजिक संरचनामाथि प्रश्न उठाएका छन्।
‘यी कथाहरू समाजको उच्च तहमा रहेका व्यक्तिहरूका मात्र कथा होइनन्, समाजको पिँधमा पारिएका मानिसहरूको कथा हुन्,’ नेपालीले भनिन्। उनले पुस्तकहरू बालबालिकाका लागि मात्र नभई वयस्कका लागि समेत उत्तिकै महत्वपूर्ण रहेको बताइन्।
कार्यक्रममा बाल साहित्यकार प्रमोद प्रधान, गंगा कर्माचार्य, प्रा। डा। तारानिधि भट्टराई, ब्रिटिस काउन्सिलको ‘जेन्डर आर्ट्स इज इक्वल टुगेदर २०२५’ की निर्देशक युक्ता बज्राचार्य, लेखिका बिना थिङ, चित्रकार अनामिका गौतमलगायतले पुस्तकबारे धारणा राख्दै यी कृतिले नेपाली बालसाहित्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

 Image