गोपालदास पत्रकारिता पुरस्कार निर्मलालाई
प्रेस काउन्सिल नेपालले यो वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार पत्रकार महिला निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।

लेखक तथा कवि रामेश्वरी पन्तको कविता संग्रह ‘समयको कठघराबाट एक स्त्रीको बयान’ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सार्वजनिक भएको छ । विशेष अदालतका मुख्य न्यायाधीश टेकनारायण कुँवरको प्रमुख आतिथ्यमा संग्रह विमोचन भएको हो । कुँवरले पन्तका कविता बहुआयामिक रहेको भन्दै विशेषगरी महिलाका आवाजलाई मुखरित गरेको चर्चा गरे । ‘वास्तवमै महिला आफै बनेका होइनन्, समाजबाट महिला बनाइएका हुन्,’ उनले भने, ‘महिलामाथि भएका सामाजिक, धार्मिक एवं सांस्कृतिक विभेदविरुद्ध खरो आवाज उठाउनुका साथै भ्रष्टाचारविरुद्ध पनि कविताले बोलेका छन् ।’
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षता रहेको कार्यक्रममा वाल्मीकि क्याम्पसका प्राडा लेखप्रसाद निरौला र एसियन कलेजमा प्राध्यापनरत कवि भारती न्यौपानेले कवितामाथि समीक्षा गरेका थिए । निरौलाले पन्तका कविताको विशालता बुझ्न सानो अध्ययनले नपुग्ने बताए । ‘कवितामा खरो विद्रोह मात्र नभएर जीवनदर्शन, मातृत्व, मायाप्रेम र देशप्रतिको जिम्मेवारी उत्तिकै मुखरित भएको छ,’ उनले भने । अर्की समीक्षक न्यौपानेले पन्त विकृति, विसंगति र विभेदविरुद्धको एउटा सशक्त आवाज भएको भन्दै उनका कविताले ती आवाजलाई बुलन्द पारेको बताइन् ।
संग्रहमा ६४ कविता संग्रहित छन् । शिखा बुक्सबाट प्रकाशित भए पनि प्रकाशक पुष्पराज पौडेल कार्यक्रममा अनुपस्थित रहेकामा कवि पन्तले गुनासो गरिन् । ‘प्रकाशक पौडेलले लेखकलाई अपमान गरेका छन्’ भन्दै उनले सम्बोधनका क्रममा रोष प्रकट गरेकी थिइन् । अध्यक्ष रामप्रसाद पन्तले पनि प्रकाशक पौडेललको व्यवहारप्रति गुनासो गरेका थिए ।