Successfully Copied

स्वच्छता र सरसफाइ सुविधा परिचालनका लागि वित्तीय संस्था

डा. कृष्ण धितालले शुद्ध पिउने पानी, स्वच्छता र सरसफाइ सुविधा परिचालन गर्न वित्तीय संस्थाको महत्वपूर्ण भूमिका रहेको बताउँदै विशेषतः घरका डाक्टर नै महिला भएकाले सरसफाइसँग महिलाको प्रत्यक्ष सम्बन्ध हुने र उनीहरु नै यस विषयमा जागरुक र सचेत हुनुपर्नेमा जोड दिए ।


ग्रामीण जागरण तथा विकास संगठन (राडो) नेपालको आयोजना स्थानीय तहमा शुद्ध पिउने पानी, स्वच्छता र सरसफाइ सुविधा परिचालन गर्न वित्तीय संस्थासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । प्रदेश–३ को राजधानी हेटौंडामा आयोजित छलफल तथा अन्तरक्रियामा लामो समय देखि वित्तीय क्षेत्रमा कार्यरत महिला अगुवाहरुले ग्रामीण क्षेत्रका महिलामा आर्थिक आत्मनिर्भरता बढाउन के कस्ता कार्यक्रममा जोड दिनुपर्छ भन्नेबारे आफ्ना धारणा व्यक्त गर्नुका साथै स्वच्छता र सरसफाइमा महिलाको भूमिकाबारे प्रष्ट पारे ।
कार्यक्रमको पहिलो सत्रमा लामो समयदेखि सहकारीको निर्णायक तहमा बसेर काम गरेका सुलोचना स्याङ्तान, जानकी चौधरी र पञ्चमाया स्याङ्तानका साथै सञ्चारकर्मी अशोक सुजन श्रेष्ठ र मकवानपुर सहकारी बोर्डका सुनिल ब्लोन वक्ताका रुपमा रहेका थिए । आर्थिक मन्दीको अहिलेको अवस्थामा स्थानीय तहमा सञ्चालित वित्तीय संस्थामा पनि त्यसको प्रभाव परेको बताउँदै सुलोचनाले गाउँघरका महिलाले एउटा प्रयोजनका लागि ऋण लिने र अर्कै काममा खर्च गर्ने भएकाले पनि किस्ता तिर्दाको अवस्थामा ऋणको भार पर्ने बताइन । अर्का वक्ताका रुपमा रहेका सुनिल ब्लोनले केन्द्रमा जस्तो स्थानीय तहमा सञ्चालित वित्तीय संस्थाको अवस्था त्यति खराब नभइसकेको र तत्काल अब स्थानीय संस्थाहरु पनि डिजिटल प्रविधिमा जानैपर्ने बताए । त्यसैगरी अर्का वक्ता अशोक सुजन श्रेष्ठले प्रविधिको प्रयोग मनोरञ्जन र समय बिताउनका लागि मात्रै नभइ उन्नती र विकासका साथै सकारात्मक सन्देशका लागि गरिनपर्ने बताए । उनका अनुसार प्रविधिलाई टिकटक, फेसबुकमा मात्र सीमित नबनाइ, डिजिटल एपसँग जोडेर बत्ती–पानी या बालबच्चाको स्कुलको शुल्क घरैबाट तिर्न सक्ने बनाउन सकियो भने ज्यादा प्रभावकारी हुन्छ । अर्का वक्ताद्वय जानकी चौधरी र पञ्चमाया स्याङ्तानले ग्रामीण क्षेत्रमा रहेका आमा तथा बचत समूह, सहकारी लगायतका वित्तीय संस्थाले शुद्ध खानेपानी, स्वच्छता र सरसफाइका लागि आवश्यक सामग्री र संरचना खडा गर्न सहुलियतमा ऋण प्रदान गरेर सहयोग गरिरहेको बताए । स्थानीय वित्तीय संस्थाहरुकै पहलमा ग्रामीण महिलाले स–साना उद्यम गरेर आर्थिक आयआर्जन गरिरहेको र आर्थिक रुपमा सशक्त भएपछि सरसफाइको चेतना पनि फैलिएको उनीहरुको भनाइ थियो ।

आयोजक संस्था ग्रामीण जागरण तथा विकास संगठनका संस्थापक अध्यक्ष डा. कृष्ण धितालले शुद्ध पिउने पानी, स्वच्छता र सरसफाइ सुविधा परिचालन गर्न वित्तीय संस्थाको महत्वपूर्ण भूमिका रहेको बताउँदै विशेषतः घरका डाक्टर नै महिला भएकाले सरसफाइसँग महिलाको प्रत्यक्ष सम्बन्ध हुने र उनीहरु नै यस विषयमा जागरुक र सचेत हुनुपर्नेमा जोड दिए । साथै उनले लामो समयदेखि स्थानीयतहका वित्तीय संस्था हाँकिरहेका महिलाको हातमा परिवर्तन र निर्णय गर्न सक्ने क्षमता भएको पनि प्रष्ट पारे ।
कार्यक्रमलाई ग्रामीण महिला सेवा केन्द्र हेटौंडासंगको सहकार्यमा युनिसेफको ‘सबैका लागी सरसफाइ र पानी’ अभियानले सहयोग गरेको थियो ।  

 Image