इन्द्रजात्राका केही झलकहरु
राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर गएका थिए । वसन्तपुरमा इन्द्रजात्रा पर्व हेर्न राष्ट्रपति पौडेललगायतका उच्चपदस्थ व्यक्तिहरू जुद्ध सालिकबाट हिँडेर गएका थिए ।
नूरजा राजभण्डारी
यसपालि पहिलो पटक चाँदीको मोहर निकाल्ने राजाका रूपमा मानिएका इन्द्रसिंहदेवको प्राचीन सहर दोलखामा अवस्थित भीमेश्वरको दर्शन गर्ने साइत जुर्यो । भीमेश्वर मन्दिरबाट तल ओर्लदै थिएँ, एउटा नचिताएको दृश्य देख्न पुगें । तलतिरबाट महिलाहरूमहादेव र पार्वतीको तस्बिर अंकित ब्यानर, झण्डा बोकेर ठूलो स्वरमा बाजा बजाई एक महिने माधवनारायणको भजन गाएर मन्दिरतिर आइरहेका थिए । महिलाको अन्तिममा मात्र केही पुरुषदेखिन्थे । मैले कौतूहलताबस दोलखाली संस्कृतिका विविध पक्षमा निरन्तर कलम चलाइरहनुभएका प्राध्यापक डा. श्याम जोशीसँग जिज्ञासा राखें–‘यहाँ महिलाहरूले माधव गाउने चलन अगाडिदेखि नै थियो कि अहिले मात्र गाउन थालेका हुन् ?’
उहाँले मलाई जानकारी दिन थाल्नुभयो ।
‘पहिला–पहिला दोलखामा महिलाले नाचगानमा भाग लिए भने बहुलाही हुन्छे भन्ने जनधारणा थियो र नाचगान तथा परम्परागत दाफा भजन गाउनमा महिलालाई बन्देज थियो । सोही कारण २०३० सालमा मैले दोलखा भाषामा ‘मिसामी’ नाटक लेखेर मञ्चन गराएँ । यसमा नायिका र नायिकाकी सासूलगायत सबै महिला चरित्रमा पुरुषले नै अभिनय गरेका थिए । यसरी उतिबेला महिलाले नाचगान गर्न नहुने, भजन कीर्तन गर्न नहुने, विवाहमा जन्त जान नहुने, मलामी जान नहुने, शिक्षा दिन नहुने कुरामा बन्देज थियो । महिला साक्षरता बढेसँगै विस्तारै महिलाघरबाहिरका काममा सहभागी हुन थाले र स्कुलतिरका नाचगानका कार्यक्रममा सहभागी हुनथाले ।’
एक महिना लामो स्वस्थानी ब्रतकथा पौष शुक्ल पूर्णिमामा आरम्भ हुन्छ र माघ शुक्ल पूर्णिमाका दिनमा अन्त्य हुन्छ । अहिले स्वस्थानी ब्रतकथा हुने बेला माधव गाउने काममा धेरैजसो महिलाकै सहभागिता देखिन्छ । पहिला यो कार्य पुरुषहरूले मात्र गर्थे र महिला बिल्कुलै हुँदैनथे ।
पौष शुक्ल पूर्णिमाको सुरुवातदेखि नै केही भक्तजनबिहान सबेरै राइती भनिने ऐतिहासिक ढुङ्गाको तीन धारामा गएर मुख धोई गणेश मन्दिरअगाडि भेला हुने गर्छन् । त्यहाँबाट हार्मोनियम, तबला र शंख बजाएर शिव र पार्वतीलाई समर्पित माधव भनिने भक्ति गीतगाउँदै अगाडि बढ्छन् र भीमेश्वर मन्दिर पुग्छन् । कसै–कसैले माधवनारायण, शिव, पार्वती एवं विभिन्न देवीदेवताका चित्र कोरिएका प्लेकार्ड बोकेका हुन्छन्। यो एक महिनासम्म प्रत्येक दिन जारी रहन्छ र स्वस्थानी कथा वाचनको अन्तिम दिन माघ शुक्ल पूर्णिमाका दिन समाप्त हुन्छ ।
स्वस्थानी कथा वाचनको अन्तिम दिन माघ शुक्ल पूर्णिमामा भक्तजनहरू त्रिपुरासुन्दरी मन्दिरको पछाडि ‘काँलरवन’ को तल्लो भागमा अवस्थित दोलखाको पवित्र स्थान मानिने वाराणसी जान्छन् । सहस्रधारा भनेर चिनिने यो जात्रा एक प्रकारको जलयात्रा हो। सहस्रधारा बोक्न तयार भएका दस–बाह्र जना केटा त्यहाँका ढुंगेधाराहरूमा नुहाउँछन् । ब्राह्मणले पहिले संकल्प नामको अनुष्ठान गर्छन्, त्यसपछि केटाहरूले त्यहाँको धाराबाट पवित्र पानी पालैपालो कलशमा (माटोको पानीको भाँडो) थापेर बाँसको फ्रेममा राखी टाउकामा बोकेर सहरतिर बढ्छन् । कलशमा धेरै स–साना प्वालहुन्छन्, जहाँबाट जोडले पानी निस्कन्छ । यसैलाई ‘सहस्रधारा’ भनिन्छ।
विशेष प्रकारको शास्त्रीय भजन, संगीतका साथमा वाराणसीबाट सुरु भएको सहस्रधारा यात्रा सहरका विभिन्न भाग हुँदै माथिल्लो टोलको सिम्बुथानतिर लाग्छ । अन्ततः भीमेश्वर मन्दिर पुगेपछि यस वर्षको यो पर्वको समापन हुन्छ । विगतमा यो काम पनि पूर्णतः पुरुषहरूले मात्र गर्थे । अहिले पनि सहस्रधारा बोक्ने कार्य केटाले मात्र गरे पनि महिलासमेत भजन टोलीमा मिसिएर सहस्रधारा यात्रामा सहभागी हुन्छन्।
यसरी धार्मिक काममा महिलाको सहभागिता बढ्नुको कारण के होला भन्ने मेरो जिज्ञासामा डा. जोशी भन्नुहुन्छ–‘अहिले प्रविधिमा पहुँच भएकाले महिलालाई आराम र फुर्सद भयो । बिजुलीबाट चल्ने मिल भएपछि चामल, चिउरा र पिठोका लागिढिकीजाँतोगर्नुपरेन ।सिमेन्टको घर भएकाले लिपपोत गर्नु परेन र रातो माटो, कमेरो लिन वनजंगल चहार्नुपरेन । घरघरमा धारा जडान भएपछि बिहान चार बजेदेखि राइती भनिने तीन धारामा गएर लाममा कुर्नुपरेन । त्यसमाथि हाल युवाहरूकै दरमा युवतीहरुले पनि शिक्षा प्राप्त गर्न थालेपछि जनचेतनाको स्तर ह्वात्तै बढ्यो ।’
‘नछुने’ हुँदा महिलालाई अपवित्र वा अशुद्ध मानिनेसोचाइ हुनाले पनि महिलालाई धार्मिक कार्यमा बन्देज थियो । अहिले यो सोचाइमा पनिधेरै हदसम्म परिवर्तन आइसकेको छ । त्यसैले महिलाहरू फुर्सदको समय आफ्नो संस्कृतिको जगेर्नामा उत्साहसाथ लागेका छन् । अझै दाफा भनिने परम्परागत भजनमा त अशुद्ध मानिने कारणले महिलाहरू प्रवेश गर्न बाँकी नै छ । दोलखाका खड्ग जात्रा र कुमारी जात्रा जस्ता प्रमुख धार्मिक जात्रामा धेरै कलाकार चाहिने तर पुरुष कम भएकाले जेनतेन चलिरहेका छन् । अतः भविष्यमा यो क्षेत्रमा पनि महिलाहरूको प्रवेश भएमा कुनै आश्चर्य मान्नुपर्ने छैन ।
यो भन्दा पनि अझ अचम्म मान्नुपर्ने त अर्कै कुरा छ । पहिला पहिला मूर्दा जलाउन एक घण्टाजति लाग्ने ठाडो ओरालो झरेर तामाकोशी पुर्याउने चलन थियो, जुन महिलाका लागि अलि कठिन थियो । सायद त्यसैले होला महिला मलामी जाने चलन बिल्कुलै थिएन । मलामी जानुलाई दोलखालीहरू ‘सिं बीर उइ’ अर्थात् दाउरा दिन जाने (लास जलाउन) भन्छन् । त्यसैले बाटोमा दाउरा बटुलेर लानु अलिकति कठिन काम पनि हो । २०४७ सालमा स्व. बालकृष्ण जोशीको नेतृत्वमा १५ मिनेटमा पुगिने नजिकैको नारायण घाटमा लास जलाउने व्यवस्था भएपछि त्यहाँ लान थालियो । घाट नजिकै आएको, सहरका घरमा पुरुषहरू धेरै कम मात्र भएकाले महिलाहरू बाध्य भएर मलामी जान थालेका छन् ।
अर्कोतिर विगतमा मुख्यतः टोलटोलका आफ्ना फुकिन भनिने १३ दिने दाजुभाइले लास जलाउने काम गर्थे । अहिले पुरुषहरू पढ्न र कमाउन विदेश जाने चलनले गर्दा सहरमा कम मात्र छन् । त्यसैले लास व्यवस्थापनलगायत काम गर्न २/३ टोलका मानिस मिलेर ‘सिं गुठी’ अर्थात् मरण गुठी स्थापना गरेका छन् । सो गुठीले दाउरा दिन प्रत्येक सदस्यअनिवार्य मलामी जानुपर्ने नियम बनाइराखेकाले पुरुष सदस्य नभएका परिवारबाट महिला दाउरा बोकेर मलामी जाने गरेका छन् । त्यस्तै विगतमा महिलाहरू जन्त जाने चलन थिएन, अहिले महिलाकै फौज जाने र नाचगान गर्ने गर्छन् । यद्यपि अहिले दोलखामा बाजा बजाएर विवाह भएको त्यत्तिको सुनिँदैन ।