बीच भागबाट बगिरहेको शे खोला । दायाँतर्फ ८ सय वर्ष पुरानो शे गुम्बा । बायाँतर्फ क्रिस्टल हिमाल अनि बीचको चौरमा डोल्पाली भाकामा सांस्कृतिक वेशभूषामा सजिएर नाचिरहेका युवती । 
उपल्लो डोल्पामा मनाइने १२ वर्षे शे महोत्सवको माहोल हो यो, जुन अघिल्लो महिना सम्पन्न भयो । मेलामा शे फोक्सुन्डो गाउँपालिका, नाम्दो,साल्दाङ, तिलिङ, धो तरापलगायत डोल्पाका अधिकांश युवायुवतीको उल्लेखनीय उपस्थिति थियो । डोल्पाली वेशभूषामा सजिएर आएका युवायुवती आकर्षक देखिएका थिए । 
काल्मो(ओढ्ने),चुरु(माला),मेटी(पटुकी),कावो(मेटीलाई अढ्याउने पेटी),  चुवा (पूरै शरीर ढाक्ने पहिरन) । यी हुन् डोल्पाली महिलाले लगाउने पहिरन ।  उपस्थित सबैले एउटै पहिरन लगाउँदा माहोल नै फरक देखिएको थियो । नाच्दा होस्  वा हाँस्दा, लामाको आशीर्वाद लिनका लागि लाइनमा होस् वा काम गर्दा । एकै  खालको पहिरनले मेलामा रौनक बढाएको थियो ।
फरक भूगोल,फरक चाड, फरक बोलीचाली, फरक वेशभूषा, फरक रहनसहनको फोटो खिच्दा मलाई पनि फरक खालको अनुभूति भइरहेको थियो ।