सन्तोष सिंह
मधेसमा भनाइ छ, ‘भेल छठ, त गेल सब पवनी बैठ’ अर्थात् छठपछि सबै पर्व सकिन्छन् । छठसँगै मधेस–मिथिलाका महत्वपूर्ण चाडपर्व सकिए पनि मध्यरातसम्म किशोरीले लोकगीत गाउँदै खेल्ने सामाचकेवाले रौनकता बढाएको छ । जनकपुरधाम उपमहानगरपालिका–१४ की ६८ वर्षीया राजकुमारी भगतको शरीर कमजोर भएर गलेको छ । तर, किशोरीसँग सामा खेल्न सम्साझैं खाना खाएर घरबाहिर जाने गरेकी छन् । साँझ खाना खाएर छिमेककी किशोरीलाई घर अगाडि भेला गराएर मध्यरातसम्म सामाको गीत गाउँदा खुसी मिल्ने उनले बताइन् ।‘दाजुले ल्याएको माटोबाट सामा बनाएर सामाचकेवा सुरु हुन्छ र दाजुले नै माटोले बनेको सामा फोडेर समापन हुन्छ,’ उनले भनिन् । छठ पर्वको खरनाका दिनदेखि १० दिनसम्म खेल्ने सामाचकेवाका क्रममा बहिनीहरूले दाजुभाइको रक्षा, प्रगतिको कामना गर्छन् ।
दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामाचकेवा कार्तिक शुल्क पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्छ भने ११औं दिन पूर्णिमाको रातिसमापन हुन्छ । यसबीच मिथिलाका प्रत्येक गाउँटोलको चौबाटो, दोबाटो र सार्वजनिक स्थानमा सामाचकेवा खेलिन्छ । समूहमा गीत गाउँदै विभिन्न प्रकारका रङ भरेर सामाचकेवा रङ्गीचङ्गी बनाएर मध्यरातसम्म खेलिन्छ ।
राति खाना खाएर बाँसको चोयाबाट निर्मित डालोमा सामा(बहिनी), चकेवा(भाइ), चुगला(कुरौटे), वृदावन(झगडिया) र सात भाइको माटाको मूर्ति बनाएर त्यसमा दियो बालिन्छ । त्यसपछि आँगन र बाटोमा गई किशोरीहरूले सुरिलो स्वरमा लोकगीत गाउँदै दूबो र चामल लिएर डालोमा भएका सबै मूर्ति माथि छर्किदिन्छन् । यसरी हाँसोठट्टा, मनोरञ्जन र गीत गाउँदै मनाउने यो चाडमा सामा र चकेवाबीचको प्रेम र स्नेहलाई भताभुङ्ग पार्न खोज्ने आरोप लगाउँदै नौ दिनसम्म चुगला र वृदावनलाई गीत गाउँदै जलाइन्छ । परम्पराअनुसार अन्तिम गीत गाइसकेपछि सामा चकेवा र सात भाइलाई भसाइन्छ भने चुगला र वृदावनलाई पूर्णरूपमा जलाएर खेतमा गाडिन्छ ।
तस्बिरहरुः हेमन्त श्रेष्ठ