किञ्चु ल्हामु भुटिया (सञ्चालक, किञ्चुस किचन, टेस्ट अफ सिक्किम ठमेल)
सिक्किमे स्वादको वर्णन कसरी गर्नुहुन्छ ?
हाम्रोतिरको खानामा तेल, मसला हेभी हुँदैन । डल्लेको स्वादले सिक्किमिज खानाको टेस्टलाई अझै बढाएको हुन्छ । यही नै प्रमुख सामग्री हो । यस्तो खानाको स्वाद अवर्णनीय छ ।
सिक्किमे खानालाई ठमेलमा पस्किने आइडिया कसरी आयो ?
लकडाउनको समयमा के गर्ने भन्ने अलमलमै थिएँ । हामी सिक्किमे अत्यन्तै जाँगरिला हुन्छौं । त्यसैले केही काम नगरी बस्नै सक्दैनौं । सबै घरभित्रै थुनिएर बसेको बेला मैले मासुको अचार बनाएर फेसबुकमा हालें । विस्तारै माग बढ्दै गयो । स्वाद र गुणस्तरको प्रशंसा हुनथाल्यो । त्यसपछि सिक्किमकै स्वादयुक्त ममः बनाउन थालें । श्रीमान् र परिवारले साथ दिए । मेरा श्रीमान्ले लकडाउनका बेलामा समेत अचार र ममः डेलिभरी गर्न मलाई थप प्रेरणा दिनुभयो । जब मेरो स्टोरी काठमान्डु पोस्टले कभर गर्यो, त्यो पढेर माइती नेपालकी अनुराधा कोइराला दिदी भेट्न आउनुभयो । उहाँले मलाई ठूलो हौसला र प्रेरणा दिनुभयो । कतिपय विदेश बसेका हाउसवाइफ दिदीबहिनीहरू मेरो काम हेरेर आफूहरूले पनि त्यसैगरी राम्रो आम्दानी गरिरहेको बताउनुहुन्छ । अनलाइनमा बेच्दै गर्दा रेस्टुरेन्टको खाँचो महसुस गरी विगत तीन वर्षदेखि ठमेलमा किञ्चुस किचनमार्फत सिक्किमिज खाना पस्किँदै आएकी छु ।
किञ्चुस किचनको विशेषता के हो ?
हामीले ममः मसला कहिल्यै प्रयोग गर्दैनौं भने अन्य खानामा पनि अत्यन्त कम तेल र मसला प्रयोग गर्ने गरेका छौं । हामी ममः सँग डल्लेको अचार र पातलो तथा स्वादिष्ट बोन सुप पस्किन्छौं । हाम्रो ममः को आकार पनि ठूलो छ तर बाहिरको र्यापर अत्यन्तै पातलो छ ।हामीकहाँ आटाको ममः पनि पाइन्छ, यहाँको ममः पिरो नभएकाले बालबालिकादेखि बूढाबूढीसम्मले अत्यन्तै मन पराउने गरेका छन् । किञ्चुस किचनको कफ र चिकेनको अचार विशेष छ, जसलाई लामो समयसम्म राखेर खान सकिन्छ । हामीले अचारलाई विशेष खाले सिसामा बन्द गरेर राखे पनि यसमा कुनै पनि प्रिजर्भेटिभ मिसाइएको छैन । यो अचार हामीकहाँ मात्र पाइन्छ । यसको माग पनि बढी नै छ ।
अनलाइन मार्केटबाट अफलाइन रेस्टुरेन्टमा आउनुको कारण के होला ?
अनलाइन पनि नभएको होइन, हाम्रो आफ्नै पेजबाट मात्रै अर्डर लिन्छौं । तर अनलाइन भन्दा यही रेस्टुरेन्टमा आएर खाँदा तातो, ताजा, मीठो स्वाद पाइन्छ । हामीले अन्य अनलाइन सपिङ एपसँग सहकार्य नगर्नुको कारण यहाँबाट पकाएर ग्राहकको घरसम्म पुर्याउँदा खाना सेलाइसकेको हुन्छ । त्यस्ता अनलाइनहरूले हाम्रो मात्रै होइन थुप्रैको खाना डेलिभरी गर्नुपर्ने हुँदा समयको लामो ग्याप हुन्छ । उपभोक्ताको घरमा खाना पुग्दा स्वादै अर्कै भइसकेको हुन्छ । त्यसकारण हामीकहाँ यहीँ आएको अर्डर यहीँ बसेर खाने ग्राहक वा सिधै उहाँहरूको घरमा पुग्छ । त्यसैले मैले रेस्टुरेन्टमै जोड दिएकी हुँ ।