Successfully Copied

‘पपया’का थरीथरी स्वाद

पपयालाई महिला रोजगारी तथा स्वस्थ जीवनशैलीका लागि हब नै बनाउने सरिताको चाहना छ ।



सञ्जु पौडेल

मानिसको दौडधूप र व्यस्तता बढ्दो छ । व्यस्तताबीच उनीहरू शरीरलाई कसरी स्वस्थ राख्न सकिन्छ भनेर चिन्तित भेटिन्छन् । यसै क्रममा विभिन्न व्यायाम गर्छन्, खानपानमा ध्यान दिन्छन्, कम र स्वस्थकर खानाको खोजी गर्छन् । अझै सहरमा तौलेर खान मिल्ने रेस्टुराँ र खाजा घर पर्याप्त सञ्चालनमा आइसकेका छैनन् । त्यसैले घरभन्दा बाहिर निस्केपछि कहाँ गएर स्वस्थकर खाना वा खाजा खाने ? धेरैलाई यस्तो पिरलो हुन्छ ।
रुपन्देहीको बुटवलमा स्वास्थ्यप्रति सचेत मानिसको खानपान व्यवस्थापनको चाहना पूरा गर्न ‘पपया रेस्टुरेन्ट’ खुलेको छ । पपया सञ्चालनमा आएको दुई वर्ष पूरा भयो । छोटो अवधिमा यो रेस्टुरेन्ट सर्वसाधारणको रोजाइमा छ । लुम्बिनी प्रदेशको आर्थिक केन्द्र बुटवलमा खुलेको हाइजेनिक फुड स्टप पपयाकी सञ्चालिका २७ वर्षीया सरिता कुँवर हुन् । आफ्नो हस्पिटालिटी क्षेत्रको अनुभवलाई पपयामा सदुपयोग गरिरहेकी छन् । सन् २०१० देखि नै उनी हस्पिटालिटी क्षेत्रमा सक्रिय थिइन् । उनले बुटवलमा सञ्चालन गरेका विभिन्न रेस्टुरेन्टमा तीन सय ५० जनाले रोजगारी गरिरहेका छन् । उनका अन्य फुड आउटलेट भन्दा पपया भिन्दै छ । थरीथरी स्वादका कारण आम मानिसबीच परिचित गराउन उनी सफल भइरहेकी छन् ।

‘मानिसमा स्वास्थ्यप्रतिको चेतना बढ्दो छ,’ सरिता भन्छिन्, ‘स्वस्थ जीवनशैली र खानपान अत्यन्तै आवश्यक देखिएकाले यो आउटलेट सञ्चालन गरेकी हुँ ।’ यसअघि उनले आफ्ना दाइ कमलजंग कुँवरले सञ्चालन गरिरहेको ड्याडिज किचनको हरेक गतिविधिको जिम्मा लिएरसघाइरहेकी थिइन् । महिला सशक्तीकरण आवश्यक छ, महिला अघि बढ्नुपर्छ भन्ने उद्देश्यले पपयामा महिला कर्मचारी मात्र राखेको उनले बताइन् । ‘हाम्रा लागि पपया ड्रिम प्रोजेक्ट नै हो,’ उनले भनिन्, ‘हरेक कर्मचारीलाई १० प्रतिशत सेयर उपलब्ध गराएर पार्टनरकै रूपमा लिएर हिँडेका छौं, तरयसका लागि महिला नै पाइँदैन ।’ कतिपय महिलाले यसतर्फ ध्यान नै नदिने उनको अनुभव छ ।
आर्थिक आम्दानीका लागि हस्पिटालिटी क्षेत्रमा धेरै आउटलेट चलाएकाले पपयालाई महिला रोजगारी तथा स्वस्थ जीवनशैलीका लागि हब नै बनाउन चाहेको उनले बताइन् । यहाँ काम गर्नेहरू विदेश वा विवाह भएर जाने समस्याले भने महिला सशक्तीकरणको आफ्नो सपनालाई धक्का पुर्‍याइरहेको उनले सुनाइन् ।


पपयामा सबैभन्दा बढी रुचाइएको खाजा ‘पपया स्पेशल स्मुदी बाउल र द हल्क बाउल’ हो । यी दुवै परिकारमा १० वटाभन्दा बढी खाद्य वस्तुको प्रयोग हुन्छ । एभोकाडो, स्ट्रबेरी, गुलियोका लागि खजुर, आलस, नरिवल पानी, नरिवल, खर्बुजा, फर्सी, भाँगो, तुलसीका दाना, चिया सिड राखेर बनाइने स्मुदीले दिनभरिका लागि मानिसलाई खाना पुगेसरह काम गर्छ । यसबाहेक फ्रेस फ्रुट जुस, दिउँसोमा आउने ग्राहकका लागि नेपाली चिप्स चटपटे र चटनी समेत पपयामा पाइन्छ । जंक फुडदेखि वाक्क भएरअहिलेचिनीको गुलियो समेत त्यागिरहेका मानिसकै लागि खजुरको गुलियोराखिएको उनले बताइन् । ‘हामीकहाँ बासी राखेको कुनै पनि वस्तु प्रयोग गरिँदैन,’ उनले भनिन्, ‘गेडागुडी यहीँ उमार्छौं, फलफूल बाह्रैमासे हुने गरी मौसमअनुसार खरिद गर्छौं, जसरी हुन्छ स्वस्थकर बनाउने प्रयास गर्छौं ।’ स्थानीय किसानको खेतबारीमै पुगेर फलफूल खरिद गर्ने, उनीहरूलाई प्रोत्साहन गरी धेरै मात्रामा अर्डर दिने गरेको उनले बताइन् ।
पपयाको चर्चा बुटवलवासीले गरिरहँदा यहाँभन्दा बाहिरबाट आउने मानिसले समेत एकपटक पपया भिजिट गर्ने गरेका छन् । ‘हामीकहाँ सेलिब्रेटी, ठूला उद्यमी, युवा फुड भ्लगर्स, मोडेललगायत कलाकारको बाक्लो उपस्थिति रहन्छ,’ उनले भनिन्, ‘सामाजिक सञ्जालले पनि यसमा महत्वपूर्ण भूमिका खेलेको छ ।’ विदेशका खाजाघरको शैलीलाई युट्युबमार्फत हेरेर, त्यहीँ गएर आएका मानिसबाट सुनेर र आफूले पनि अवलोकन गरेर फरक खालको फुड स्टप चलाएको सरिताले बताइन् । बुटवलमा पपयाका दुई वटा शाखा संचालनमा छन् । यसपछि काठमाडौं र पोखरामा समेत संचालन गर्ने तयारीमा रहेको सरिता बताउँछिन् ।

 Image