Successfully Copied

वर्षा मौसम र खानपिन

उच्च गर्मीको अन्त्य र वर्षा मौसमको आगमनसँगै खाद्यान्नको उचित छनोट जरुरी हुन्छ । यसका साथै सरसफाइ तथा स्वच्छतामा पनि विशेष ध्यान पुर्‍याउनुपर्छ ।वर्षामा हानिकारक ब्याक्टेरिया तथा जीवाणु खाना, पानी, फलफूल, सागसब्जीको माध्यमबाट सक्रिय हुँदै सिधै शरीरमा प्रवेश गर्छन् । यसले प्राणघातक तथा जटिल


हाम्रो दैनिक खानपान मौसम, भूगोल तथा संस्कृतिअनुसार फरक छ । मौसम परिवर्तनसँगै उपयुक्त खाद्यपदार्थमा विशेष सजगता अपनाइएन भने त्यसले स्वास्थ्यमा गडबडी निम्त्याउन सक्छ ।
उच्च गर्मीको अन्त्य र वर्षा मौसमको आगमनसँगै खाद्यान्नको उचित छनोट जरुरी हुन्छ । यसका साथै सरसफाइ तथा स्वच्छतामा पनि विशेष ध्यान पुर्‍याउनुपर्छ ।वर्षामा हानिकारक ब्याक्टेरिया तथा जीवाणु खाना, पानी, फलफूल, सागसब्जीको माध्यमबाट सक्रिय हुँदै सिधै शरीरमा प्रवेश गर्छन् । यसले प्राणघातक तथा जटिल समस्या जस्तैः झाडापखाला, फ्लु, डेंगु, मलेरिया, सर्दी निम्त्याउन सक्छ । यसबाट बच्न पानी तथा सागसब्जीको स्वच्छतामा ध्यान पुर्‍याउनुपर्छ । पानी उमाली फिल्टर गरेर मात्र पिउनुपर्छ । खाना पनि उचित तापक्रममा पकाउनुपर्छ ।


मनसुनमा ब्याक्टेरिया तथा जीवाणुसक्रिय हुन्छन् ।हामीले बजारबाट ल्याएको हरियो सागसब्जी, फलफूल, माछा, मासुमा हानिकारक ब्याक्टेरिया उपयुक्त तापक्रममा वृद्धि हुन्छन् । फलफूल तथा तरकारीलाई बजारबाट ल्याउनासाथ मनतातो पानीमा ५–१० मिनेट डुबाएर पखाल्नुपर्छ । हरियो सागलाई सफा पानीमा २–३ पटक पखाल्नुपर्छ । त्यसो गर्दाकरिब ५० प्रतिशत फुडबर्न (खानाबाट सर्ने) रोग नियन्त्रणमा ल्याउन सकिन्छ । झाडापखाला, डिसेन्ट्री, टाइफाइड, कोलेरा रोकथाम गर्न पानीलाई उपयुक्त तापक्रममा उमाल्दा वाटर बर्नका सक्रिय जीवाणु नियन्त्रण गर्न सकिन्छ ।


मनसुन अर्थात् वर्षामा खानपिनलाई थोरै परिवर्तन गर्न जरुरी छ । साधारणतया जाडो मौसम र वर्षाको खानपिन उस्तै हुनुपर्छ । स्वास्थ्यलाई ध्यान नदिई बजारका फास्टफुड, पानीपुरी, पकौडा, चटपटे खानेहरू पनि उत्ति नै छन् । यस्ता खानेकुरा खाँदा स्वच्छता र सरसफाइमा सधैं ध्यान पुर्‍याउनुपर्छ । सकेसम्म घरमै स्वस्थ खाना बनाएर खाने बानी बसाल्नुपर्छ । वर्षामा शरीरलाई न्यानो बनाउने खालका र रोग प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने खानपिनमाध्यान दिनुपर्छ । रोग प्रतिरक्षा प्रणालीलाई टेवा पुर्‍याउन प्रोटिन, भिटामिन, खनिज तथा महत्वपूर्ण ऊर्जा उत्पादन गर्ने खाद्य वर्ग फ्याट तथा कार्बोहाइड्रेटलाई अँगाल्नुपर्छ । सन्तुलित आहार नै स्वस्थ जीवनको मूल आधार हुनाले खानपिनमा कहिल्यै हेलचेक्र्याइँ गर्नु हुँदैन ।

–प्रशस्त मात्रामा भिटामिन सीयुक्त खानेकुरामा जोड दिनुपर्छ । कागती, अमला, अम्बा, किबी, स्ट्रबेरी, गोलभेंडाजस्ता भिटामिन सी पाइने फलफूल आफ्नो थालीमा समावेश गर्नुपर्छ । भिटामिन सीले शरीरमा रोग प्रतिरक्षा प्रणाली बलियो बनाउनुका साथै छाला स्वस्थ राख्न पनि मद्दत गर्छ । भिटामिन डी भएका खाद्यान्न जस्तैः अण्डा, माछा, ओयल, चीज, कलेजो पनि रोग प्रतिरक्षाका लागि महत्वपूर्ण मानिन्छ । भिटामिनको आवश्यकता उमेर समूहका आधारमा निर्धारण गरिएको हुन्छ । यसको आवश्यकता सकेसम्म खाना वा प्राकृतिक रूपमा पदपूर्ति गर्नु आवश्यक छ । चिकित्सकको अनुमति लिएर मात्र सप्लिमेन्ट प्रयोग गर्नुपर्छ ।


–सागसब्जीको मिक्स सुप, ज्वानोको सुप, गेडागुडीको रस, कागती, बेसार, महपानी प्रयोग गर्नाले वर्षामा शरीरको तापक्रम नियन्त्रणमा राख्न सकिन्छ ।
–भुटेको बदाम, काजु, आलमन्डलाई स्न्याक्सका रूपमा खान सकिन्छ । नट्सहरूमा फ्याटी एसिड ओमेगा ३ पाइने हुनाले आँखा र छालाको संक्रमणबाट जोगाउन मद्दत गर्नुका साथै मुटुलाई पनि स्वस्थ राख्छ ।
–प्रोटिनयुक्त खाद्यान्न जस्तैः चना, राजमा, केराउको टुसा उमारेर प्याज, गाजर, टमाटर, कागती र काँक्रामा मिक्स गरी स्वस्थ सलादका रूपमा खान सकिन्छ ।
–दहीमा पाइने प्रोबायोटिक्स पेटको स्वास्थ्यका हिसाबमा फाइदाजनक छ । यसले पाचन प्रक्रियामा मद्दत पुर्‍याउने हुनाले वर्षामा दहीलाई प्रायः खानामा समावेश गर्दा उचित मानिन्छ ।
–फाइबर पनि स्वास्थ्यका हिसाबले उति नै महत्वपूर्ण हुनाले लौका, चिचिन्डा, फर्सी, बोडी, मुन्टा, स्कुस, हरियो मटर, कुरिलो खानाको थालीमा सामावेश गर्नुपर्छ ।
–बजारमा पाइने पपकर्न लोकप्रिय हुँदै गर्दा भुटेको मकै भन्दा नाक खुम्च्याउने प्रवृत्ति देखिन्छ । तर, मकै–भटमासमा पूरक पोषण तत्व हुनाले स्वास्थ्यवर्द्धक हुन्छ । मकै–भटमासलाई अझ स्वादिलो बनाउन गुन्द्रुकको अचारसँग खान सकिन्छ । गुन्द्रुकले पाचनप्रक्रियालाई बलियो बनाउनुका साथै पेटमा पाइने जीवाणुको संख्यामा वृद्धि पुर्‍याउँछ । झाडापखाला, पेटमा ग्यासको समस्या, अपच अवस्थामा थप मद्दत पुर्‍याउँछ ।
–रातको समयमा दूधमा थोरै बेसार प्रयोग गरी सेवन गर्दा निद्रामा मद्दत पुर्‍याउनुका साथै शरीरमा ऊर्जा उत्पादनमा टेवा पुर्‍याउँछ ।


विज्ञानअनुसार वर्षामा हाम्रो पाचनप्रणाली निकै कमजोर र प्रतिरक्षा प्रणाली संवेदनशील हुन्छ । त्यसको प्रत्यक्ष कारण मेलाटोनिन र सेरोटोनिन हर्मोनको मात्रामा असन्तुलनहो । मेलाटोनिन हर्मोनको स्राव अँध्यारोको प्रतिक्रियामा हुन्छ भने सेरोटोनिन हर्मोनको उत्पादन उज्यालोमा हुन्छ । वर्षामा रात लामा हुनाले मेलाटोनिन हर्मोनको उत्पादन सेराटोनिनभन्दा तुलनात्मक रूपमा बढ्छ । त्यसकारण पाचनप्रणालीमा प्रतिकूल समस्या निम्तिन सक्छ । मासु, माछा अण्डा पच्न निकै समय लाग्छ, साथै मेलाटोनिन हर्मोनको मात्रा बढी हुँदा झाडापखाला, बान्ता, ग्यास्ट्रिकजस्ता ग्यास्ट्रोइन्टेस्टाइनल समस्या निम्तिन सक्छ । त्यसैले वर्षामा सहज रूपले पच्न सक्ने हल्का खाना खानुपर्छ ।

 Image