Successfully Copied

गर्मीका लागि उपयोगी सुपर सलाद

गर्मी सलाद खाने समयका रूपमा पनि परिचित छ । गर्मीमा शीतल पेय पदार्थ अर्थात् सलाद स्वास्थ्यबर्द्धक हुन्छ। चिसो सलादले शरीरलाई सन्तुलनमा राख्छ ।


आरबी बुढाथोकी,एक्जुकेटिभ सुसेफ,
दि सोल्टी
गर्मी मौसममा सलादको ठूलो महत्व हुन्छ । गर्मी सलाद खाने समयका रूपमा पनि परिचित छ । गर्मीमा शीतल पेय पदार्थ अर्थात् सलाद स्वास्थ्यबर्द्धक हुन्छ। चिसो सलादले शरीरलाई सन्तुलनमा राख्छ ।
गर्मी मौसममा खान सकिने शाकाहारी र मांसाहारी सलाद तत्काल बनाएर खान सकिन्छ। फलफूल र सागपातको सलाद पनि उत्तम हुन्छ । गर्मीमा कागतीको सर्बत पनि खान सकिन्छ । जैतुनको तेल र कागतीको रस मिसाएर बनेका सलादको कम्बिनेसन उत्तम हुन्छ ।


गर्मीमा सलाद किन?
अरु भोजनको तुलनामा सलाद स्वास्थ्यका हिसाबले पनि उपयोगी मानिन्छ। सलादले गर्मीमा शीतलता मात्र प्रदान गर्दैन शरीर पनि हल्का हुन्छ।कतिपयलाई यतिबेला खानामा त्यति रुचि हुँदैन । यतिबेला सलाद उत्तम परिकार हुन सक्छ । अरु परिकारको तुलनामा सलादमा कम क्यालोरी प्राप्त हुने हुँदा वजन कम गर्नेहरूका लागि राम्रो भोजन मानिन्छ ।
सलादमा पर्याप्त मात्रामा फाइबर,भिटामिन ए र सी पाइने हुँदा सबैका लागि यो परिकार उपयुक्त हुनसक्छ । मौसमअनुसारका तरकारी,सागपात एवंफलफूलको सलाद बनाएर खान सकिन्छ। कतिपयसलाद काँचै खाइन्छ भने कतिपय पकाएर चिसो बनाएरखाइन्छ।
सलादपत्ता (लेटुस),काँक्रो,मुला,गाजर,प्याज,पालक,चुकन्दर,एभोकाडो, जैतुनको तेल,कागतीको रस,स्प्राउट
(टुसा), माक्रोग्रिन्स,भेंडेखुर्सानी,दही,नुन, मरिचको धूलो, सर्स्युंको पेस्ट(डिजन मस्टर्ड),बाल्समिक भिनेगर,मोलासिस सस(अनारको ग्लेज),पार्सली आदि सामग्री आवश्यक पर्छ ।
साधारणतया सलाद भन्नासाथ काँक्रो,मुला,गाजर भन्ने बुझिन्छ । तर सलाद धेरै किसिमको बनाउन सकिन्छ । पाँचतारे होटलमा यसको कार्यक्षेत्र धेरै फराकिलो हुन्छ ।

गर्मीमा कुन सलाद खाने ?
गर्मीमा धेरै किसिमका सलाद खान सकिन्छ । देशैपिच्छे फरक सलाद रुचाउने हुँदा सबै देश र महादेशका आ–आफ्नै समर सलादका रेसिपी छन् । युरोप,अमेरिका, एसिया,अफ्रिका सबैले आ–आफ्नै मौलिक सलादको विकास गरेका छन् । सलाद सबै कोणबाट आकर्षकहुनु जरुरी छ ।
सलादलाई सामान्य (सिम्पल), यौगिक वा संयुक्त (कम्पाउन्ड) गरी दुई समूहमा विभाजन गरिएको छ। एक मात्र सामग्रीबाट बन्ने सलाद सामान्य सलाद हो । काँक्राको,गाजरको सलाद,कर्न सलाद,स्प्राउट सलाद,माइक्रोग्रिन्स सलाद,मुलाको सलाद,लेटुस सलाद पर्छन् भने संयुक्त सलादमा अरू धेरै कुरा पर्छन्।
स्लाइस काँक्रो,फिटेको दही,नुन,कागतीको रस हालेर पनि गर्मीको सलाद खान सकिन्छ। एभोकाडो,नुन,मरिच,कागतीको रस,जैतुनको तेल हालेर बनाएको सलाद गर्मीमा स्वास्थ्यबर्द्धक मानिन्छ । काटेको फलफूलमा चाट मसला मोलेर खाने सलाद पनि उत्तम मानिन्छ। मिक्स लेटुस,मस्टर्ड पेस्ट,जैतुनको तेल,कागतीको रस,नुन हाली बनाइने फ्रेन्च सलाद मेस्कलन सलाद पनि प्रसिद्ध छन् ।
लेबनानको प्रसिद्ध समर सलाद फत्तुस पनि धेरै देशमा प्रख्यात छ । काँक्रो,गोलभेंडा,भेंडेखुर्सानी,प्याज,लेटस,पार्सली,लेमन,जैतुन तेल,रातो मुला,नुन,खबुज (रोटी)को कुर्कुरे, समक पाउडर हालेर बनाइन्छ ।
ग्रिक सलाद पनि गर्मीका लागि प्रसिद्ध सलाद मानिएको छ। यो पनि काँक्रो,भेंडेखुर्सानी,प्याज,गोलभेंडा,ओरेगानो,मस्टर्ड पेस्ट,भिनेगर,जैतुनको तेल,फेटा चीज हालेर तयार गरिन्छ ।
किनुवा,कालो चामल,बेरी,गर्किन,केपस,केपर बेरी,जलापेनो,रातो बन्दा आदि सामग्री हालेर पनि गर्मीका सलाद तयार गर्न सकिन्छ । सकेसम्म हरियो तरकारी,चुकन्दरको सलाद गर्मीका लागि उपयुक्त हुनसक्छ । सलादमा धेरै चिल्लो,नुनिलो, पिरो र कडा खालका सस (ड्रेसिङहरू) प्रयोग नगर्दा उत्तम हुन्छ ।
भारत–पाकिस्तानमा प्रसिद्ध रैता सलाद पनि गर्मीका लागि उत्तम परिकार मानिन्छ । त्यसमा फिटेको दही,मसिनो गरी काटेको काँक्रो,गोलभेंडा,प्याज,धनियाँ,पुदिना,हरियो खुर्सानी,कागतीको रस,चाट मसला,बिरेनुन, रोस्ट गरी कुटेको जिरा हाली तयार गरिन्छ। चुकन्दर राइता,अनानस(भुईंकटर) राइता पनि गर्मीमा अति उत्तम र स्वास्थ्यमैत्री हुन्छ ।
फ्रुट सलाद पनि गर्मीका लागि धेरै उपयोगी मानिन्छ । मिक्स फ्रुटमा जुस वा दही मिसाएर सलादका रूपमा नियमित खान सकिन्छ। मौसमी फलफूलको सलाद सबैले रुचाउँछन् । भारतलगायत अन्य देशका मानिसहरूले पनि यो सलाद खान्छन् भने युरोपियनहरूले हल्का रुचाउँछन् ।

 Image