Successfully Copied

शीतल र स्वास्थ्यवर्धक पेय पदार्थ

एकाएक बढेको गर्मीसँगै मानिसमा विभिन्न समस्या थपिन थालेका छन् । यो मौसममा थप तरल पदार्थ र शीतलता दिने पेय पदार्थको बढी आवश्यकता पर्छ ।


एकाएक बढेको गर्मीसँगै मानिसमा विभिन्न समस्या थपिन थालेका छन् । यो मौसममा थप तरल पदार्थ र शीतलता दिने पेय पदार्थको बढी आवश्यकता पर्छ । गर्मीमा जाडोमा भन्दा खाना कम रुचि हुने, अल्छी लाग्ने, मन चंगा नहुने र एलर्जी हुने समस्या बढी देखिन्छन् । कतिपयलाई त रिंगटा लाग्ने र बान्ता हुने समस्यासमेत हुन्छ ।
गर्मी महिनामा ‘हाइड्रेटेड’ रहन महत्वपूर्ण छ । यसका लागि ताजा फलफूलको रस, लस्सी, सेक, स्मुदी, डिटक्स वाटर पिउनु उपयुक्त हुन्छ । साथै पर्याप्त मात्रामा स्वस्थ पानीको भूमिका पनि महत्वपूर्ण रहन्छ ।
हाम्रो शरीरको ७० प्रतिशत हिस्सा पानीले बनेको छ। शरीरमा पानीको हिस्सा स्थिर रहन्छ । दिनहुँ पसिनाका रूपमा पानी गुमाउने हुँदा प्रशस्त मात्रामा पेय पदार्थ पिउनुपर्छ । विज्ञहरूका अनुसार गर्मीमा पुरुषका लागि तीन लिटर (१२ गिलास) र महिलाका लागि दुई–तीन लिटर (११ गिलास) पानी वा त अन्य पेय पदार्थ जरुरी हुन्छ ।


तर, केही रोग वा स्वास्थ्य समस्या छ भने ‘वाटर रिटेन्सन’ वा अन्य समस्या हुन सक्ने हुँदा आफूले पिउने पेय पदार्थका विषयमा चिकित्सकसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

गर्मी मौसमका उपयोगी केही ‘रिफ्रेसिङ ड्रिंक्स’का ‘रेसिपी’हरू जुन हाम्रो गर्मी यामको व्यस्त, भागदौड र तनावरहित जीवनशैलीका लागि उपयुक्त साबित हुन सक्छन्। ती‘रेसिपी’ घरमै सजिलोसँग बनाएर सेवन गर्न सकिन्छ ।


‘डिटक्स वाटर’
यो पेय बनाउन एक लिटर पानीमा दुई स्लाइस कागती,दुई मुन्टा पुदिना वा तुलसी,दुई स्लाइस स्याउ, सुन्तला वा जुनार, एक स्लाइस चुकन्दर, चार पिस आइस क्युब हाली कम्तीमा चार घन्टादेखि एक रात काँचको जारमा छोपेर दुई–दुई घन्टामा एक गिलास पिउन सकिन्छ। बिहान ‘डिटक्स वाटर’ पिउनु उत्तम मानिन्छ। यो ‘ड्रिंक्स’ले शरीरमा रहेको ‘टक्सिन’ बाहिर निकाल्न र शीतलता प्रदान गर्नुका साथै वजन घटाउन पनि मद्दत पु¥याउँछ । ‘फ्रुटका फ्लेबर’अनुसार ‘डिटक्स वाटर’ बनाउन सकिन्छ ।

निम्बु सोडा
यो पेय बनाउन तीन सय ३० एमएल चिसो सोडामा ३० एमएल लाइम जुस हाली चलाउनुपर्छ । थोरै कालो नुन, चार पिस आइस क्युब्स र आधा चम्चा ब्राउन सुगर हालेर यो बनाउन सकिन्छ। यो पेय पदार्थ धेरै देशमा गर्मी मौसममा पिउने गरिन्छ । यो पेय पदार्थले शरीरमा निकै शीतलता प्रदान गर्छ ।
‘हनी डिउ लस्सी’
यो लस्सी बनाउन पाकेको ‘हनी डिउ’ लिने र ताछेर सय ग्राममा एक सय ५० ग्राम स्वीट कर्ड हाल्ने। एउटा कागती र आधा सुन्तला निचोरर हाली ब्यान्ड गर्ने र गिलासमा राखी सर्भ गर्न सकिन्छ ।


‘गुल अनार लस्सी’
यो पेय बनाउन एक कप पानी, छानेको बाक्लो दही, दुई चम्चा चिसो क्रिम,एक चम्चा रोज सिरप,आधा कप अनार जुस,एक चम्चा ठन्डाइ पाउडर, स्वादअनुसार नुन हालेर आवश्यकता परे थोरै चिसो पानी हाली ब्यान्ड गरी सर्भ गर्न सकिन्छ ।




‘एभोकाडो स्मुदी’

यो पेय बनाउन पाकेको ठूलो खालको एउटा घिउफल लिएर तीन कप चिल दूध मिसाईब्लेन्डरमा हाल्नुपर्छ । थोरै भेनिला एसेन्स, म्यापल सिरप (गुलियो मन पराउनेले), स्वादअनुसार नुन र एक चम्चा प्रोटिन पाउडर मिसाएर ब्लेन्ड गरी सर्भ गर्न सकिन्छ ।
बेल लस्सी
बेलको लस्सी बनाउन पाकेको ठूलो दानाको भित्री भागको फल लिएर एक कप दही, सात पिस काजु, पिन्च नुन र थोरै चिसो पानी साथमा ब्राउन सुगर वा एक चम्चा मह हालेर ब्लेन्ड गरी सर्भ गर्न सकिन्छ ।

छोकडा(खजुर) लस्सी
यो लस्सी पनि अन्य जस्तै दूध, दही एक–एक कप हालेर १५ पिस छोकडाको दाना निकाली थोरै चिसो पानी र मह हालेर ब्लेन्ड गरी सर्भ गर्न सकिन्छ ।
बनाना सोयमिल्क सेक
यो पेय बनाउन दुईवटा पाकेका केरामा आधा लिटर चिल सोयामिल्क (भटमासको दूध) मिसाउनुपर्छ । दुई चम्चा भुटेको फर्सीको बियाँ वा मेलन सिड हालेर ब्लेन्ड गरी लामो गिलासमा हालेर सर्भ गर्न सकिन्छ ।

मसला छास
यो पेयलाई‘बटरमिल्क’ भनेर पनि चिनिन्छ, जुन हाम्रो गाउँघरको मोहीजस्तै हुन्छ । प्लेन छास भन्नु नै मोही हो तर मसला छासका लागि एक कप प्लेन दहीमा दुई कप पानी हाली त्यसमा एउटा हरियो खुर्सानी, सानो टुक्रा अदुवा, थोरै हरियो धनियाँ,भुटेको जिरा पाउडर, चाटमसला, कालो नुन (बिरे नुन) हालेर बनाउन सकिन्छ । गर्मी महिनाका लागि यो निकै शीतल र स्वास्थ्यवर्धक पेय मानिन्छ ।
जलजिरा
यो पेय पदार्थलाई आयुर्वेदिक ‘इनर्जी ड्रिक्न्स’ भनेर पनि चिनिन्छ । यो तयार गर्न चार÷चार मुन्टा पुदिना र धनियाँ पखालेर लिनुपर्छ । त्यसमा चिसो दुई गिलास पानी हाल्नुपर्छ । एकपिस हरियो खुर्सानी, सानो टुक्रा अदुवा,एक चम्चा गेडा निकालेको इम्ली,एक चम्चा कगतीको रस, कालो नुन स्वादअनुसार र एक चम्चा जलजिरा पाउडर हालेर मिक्स्चरमा पिसी छानेर सर्भ गर्न सकिन्छ । 
( बुढाथोकी दी सोल्टी होटलका सेफ हुन् )

 Image