Successfully Copied

घरमै बन्छ नौलो अर्गानिक खानेकुरा

सर्वप्रथम मकैलाई कोरेसोमा कोरेर काटेको प्याजसँग मिसाउने । उक्त मिश्रणमा नुन राखेर झानेको लसुन र अदुवाको पेस्ट मिसाउने । यसरी तयार पारेको मिश्रणलाई मम:कालागि तयार पारेको ससाना रोटीमा आफूलाई मनपर्ने आकार दिइ पोको पार्ने । यसरी पोको पारेको सामग्रीलाई उम्लिरहेको मम:को भाँडोमा बीस

बिगत ३ दशक देखि पत्रकारिता, लेखन, साहित्य र वातावरण संरक्षण क्षेत्रमा काम गर्दै आएकी बिराटनगरकी मधु राई अहिले कसरी अर्गानिक खाद्य मार्फत मानिसहरुलाई स्वस्थ राख्न सकिन्छ भन्नेमा लागेकी छिन् । आफ्नै बारीमा उत्पादन गर्न सकिने खाद्यवस्तु मार्फत पनि रेष्टुंराका जस्तै स्वादिष्ठ परिकार बनाउन सकिन्छ भनेर उनले प्रमाणित गरेकी छिन् । यिनै मधु राईले तयार पारेका केमिकल रहित अर्गानिक परिकाहरु:

 

मकैको मम:

सामग्री:

१) मकै– कलिलो चारवटा  

२) आटाँ– २५०ग्राम (पचास वटा मम:का लागि)

३) लसुन र अदुवाको पेस्ट– ठूलो चम्चाको एक चम्चा

४) सूर्यमुखी तेल– ठूलो चम्चाको दुई चम्चा

५) नुन– स्वादानुसार

विधि:

सर्वप्रथम मकैलाई कोरेसोमा कोरेर काटेको प्याजसँग मिसाउने । उक्त मिश्रणमा नुन राखेर झानेको लसुन र अदुवाको पेस्ट मिसाउने । यसरी तयार पारेको मिश्रणलाई मम:कालागि तयार पारेको ससाना रोटीमा आफूलाई मनपर्ने आकार दिइ पोको पार्ने । यसरी पोको पारेको सामग्रीलाई उम्लिरहेको मम:को भाँडोमा बीस मिनेट पकाउने ।

मम:सँग खाने अचार

 सामग्री:

 १) गोलभेंडा– आधा केजी

 २) बदाम/तिल/आलस– १०० ग्राम

 ३) खुर्सानी– स्वादानुसार

 ४) नून– स्वादानुसार

 ५) लसुन र अदुवाको पेस्ट– सानो चम्चाको एक चम्चा

 ६) तेल– ठूलो चम्चाको दुई चम्चा

७) पाँच फरन– सानो चम्चाको एकचौथाइ

विधि:

बदाम हो भने भुटेर बोक्रा फाल्ने वा तिल र आलस हो भने पनि भुटेर सेलाउन दिने र मिक्सी वा खलमा पिसेर एकछिन राख्ने । त्यसपछि तेल तताएर पाँच फरन फुराउने र लसुन, अदुवा पेस्ट हालेर एकछिन भुट्ने । त्यसपछि मिक्सीमा पिसेर बनाएको गोलभेंडाको प्यूरी हालेर एकछिन पकाउने र आगोबाट निकाल्नुअघि पिसेको बदाम/तिल/आलस मिसाउने ।

 

मकैको छोला

सामग्री:

१) मकै– मध्यम आकारको दुईवटा 

२) तेल–ठूलो चम्चाको दुई चम्चा

३) गोलभेंडा– मध्यम आकारको दुईवटा

४) प्याज– ठूलो एउटा

५) स्वादानुसार– बेसार/नुन/खुुुर्सानीको धूलो/धनियाँको पात ।

६) पाँचफरन– सानो चम्चाको आधा चम्चा

विधि:

सर्वप्रथम मकैलाई दुईवटा टुक्रा पारी कुुकरमा आधा घन्टा उसिन्ने । त्यसपछि चिसो भएपछि छोडाएर राख्ने । यसरी छोडाएको मकैलाई अरु तरकारी जस्तै पाँचफरन पडकाइ काटेको प्याज, खुर्सानी एकछिन भुट्ने । त्यसपछि गोलभेंडा हालेर एकछिन भुटेपछि छोडाएको मकै हालेर पाँच मिनेटजति भुट्ने र काटेको धनियाँ हालेर पस्कने ।

आटाँ र फापरको गुलियो खास्ता बिस्कुट

सामग्री:–

१) आटा– ५० ग्राम  

२) फापरको पिठो– ५० ग्राम  

३) घ्यू– ५० एमएल

३) चिनी वा मिस्री– ५० ग्राम (पिसेको)

४) तिलको तेल– ठूलो चम्चाको दुई चम्चा

समय–४० मिनेट

विधि:

तेल बाहेक सबै सामग्रीलाई राम्ररी मिसाउने । त्यसपछि अलि अलि तेल हालेर मुछ्दै जाने । यसरी मुछेर तयार पारेको डो (मिश्रण)लाई चोपिङ बोर्ड वा चौकीमा हातले आधा इञ्चको मोटो रोटी जस्तै बनाउने । त्यसपछि समान  मोटाइ बनाउन बेल्नाले हल्का गरी बेल्ने र चक्कुले छेउ कुना (वर्गाकार वा आयताकार) मिलाएर काट्ने र आफूलाई मनपर्ने आकारको खास्ता बिस्कुट काटेर तातो नुनको बाफमा २५ देखि ३० मिनेटसम्म सेक्ने ।

 Image