पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने जोकोहीलाई मयूरले नाचेर स्वागत गरिरहेको हुन्छ । मयूरको प्रजनन् समय भएकाले भाले मयूर नाचेर पोथीलाई आकर्षित गरिरहेको हुन्छ । भाले मयूर प्वाँख उचालेर छमछमी नाच्छन् । नाच हेरेर पोथीले भालेलाई मन पराउँछन् । भाले मयूरले आफ्नो कला र शिल्पी प्रदर्शन गरिरहँदा जुन भालेको नृत्य र पुच्छर सुन्दर लाग्छ, पोथीले उसैलाई मन पराउँछ । पुच्छरको सुन्दरताभित्र पुच्छरको वजन, प्वाँखको संख्या, पुच्छरको लम्बाइ, पुच्छरमा हुने आँखा जस्तो बुट्टाको चमक र संख्याजस्ता पक्ष समावेश हुन्छन् ।
पोथीका लागि प्रदर्शन गर्ने नाच हेरेर निकुञ्ज घुम्न जाने स्वदेशी वा विदेशी पर्यटक आल्हादित बन्ने गरेका छन् । नाचका बेला १८० डिग्रीको कोणमा फैलिएर अर्धचन्द्राकार बन्ने भाले मयूरको प्वाँख इन्दे्रणीजस्तै मनमोहक देखिन्छ । अप्रिलदेखि मेसम्म मयूरको प्रजनन् समय हो । एउटा भालेले चार–पाँचवटा पोथीलाई प्रजनन् गर्छ । जमिनमा झारपात र घाँसमा लुक्न मिल्ने ठाउँमा गुँड लगाउँछ । प्रजनन् समय सकिएपछि बिस्तारै प्वाँख झर्दै जान्छन् । यो विशेषगरी समुद्री सतहको तीन सय मिटर आसपास वन, निकुञ्ज र संरक्षण क्षेत्रमा बढी पाइन्छ । नेपालमा तीन हजारदेखि पाँच हजारसम्म मयूर रहेको अनुमान छ ।