Successfully Copied

जब हामीसँग जनावरको विश्वास टुट्छ, तब उनीहरु हिंस्रक हुन्छन् ।

बेसाहारा जनावरहरुको लागि खर्च जुटाएर उपचार, उद्धार र स्याहार गर्नु चुनौतिपूर्ण नै छ । यद्यपि उत्कट इच्छा र मनोबल उच्च भयो भने यो असम्भव छैन जस्तो लाग्छ ।

स्नेहा श्रेष्ठ
संस्थापक, स्नेहाज केयर

कुकुरसँगको तपाइको अट्याचमेन्ट कसरी रह्यो ?

पहिले म जनावर प्रेमी थिइन । मलाई बिशुद्ध रुपमा मेरोे मात्र पर्वाह थियो । जब मेरो श्रीमानले घरमा कुकुर पाल्ने निर्णय गर्नुभयो, त्यसमा मेरो सहमति नहुँदा नहुँदै पनि उहाँको खुसीको लागी मैले घरमा कुकुर ल्याउने सहमति जनाए । विस्तारै त्यो कुकुरसँग मेरो अत्मियता यति गहिरियो की, संसारमा प्रेम र विश्वास भनेको के हो भन्ने मैले उसैबाट सिक्न पाए । उसको नाम जारा थियो । उ मेरो परिवारको सदस्य र मेरो जिन्दगीको एउटा हिस्सा थियो । म घरमा नभएको समयमा छिमेकीले मेरो कुकुरलाई विष खुवाइदिएछ । दुर्भाग्य भनु वा नियति मैले उसलाई बचाउन सकिन । मैले माया गरेको आफ्नै सन्तान मानेर हुर्काएको मेरो कुकुरलाई मेरो छिमेकीले विष खुवाईदिएपछि उसको अभावमा म मानसिक रुपमा विक्षिप्त बने, त्यसैको परिणमस्वरुप ‘स्नेहाज केयर’ भन्ने संस्था खोलेर मैले जनावरहरुलाई सहयोग गर्ने कार्य शुरु गरे ।

कस्ता कुकुरलाई सरक्षण गर्नुहुन्छ ?
मेरो प्रेरणाको श्रोत कुकुर भएकोले शुरुमा स्नेहाज केयर मार्फत म बिरामी, घाईते, अशक्त र दुःख पिडामा प्रताडित भएका कुकुरहरुलाई सहयोग गर्ने गर्थे । सबै जनावरहरु बराबर हुन् र उनीहरु सबैलाई उपचार, स्याहार र मायाको खाँचो पर्छ भन्ने मान्यताका साथ मैले संस्थागत क्षमता बृद्धि गर्दै बेवारिसे अवस्थामा रहेका गाई, बाख्रा, सुंगुर लगायतका अन्य पशुपंक्षिहरुलाई पनि सहयोग र संरक्षण गर्ने प्रयत्न गरिरहेको छु । अहिले हामी सरकारी निकायसँगको सहकार्यमा वन्यजन्तु संरक्षणका क्षेत्रमा पनि काम गर्ने जमर्को गरिरहेका छौं । बन्यजन्तुकको चोरी शिकारी नियन्त्रण गरी संरक्षणका लागि हाम्रो संस्थाले यथासक्य प्रयास गर्ने योजना बनाएको छ । मानवीय दुव्र्यवहारबाट पिडित तथा विरामी र घाईते जनावरहरु हाम्रो प्राथमिकतामा पर्दछन् ।


बेसाहारा, घाईते, अशक्त कुकुरहरुलाई स्याहार्नुहुन्छ, खर्च कसरी जुट्छ ?
बेसाहारा जनावरहरुको लागि खर्च जुटाएर उपचार, उद्धार र स्याहार गर्नु चुनौतिपूर्ण नै छ । यद्यपि उत्कट इच्छा र मनोबल उच्च भयो भने यो असम्भव छैन जस्तो लाग्छ । हाम्रो काम देखेर जनावरहरुलाई माया गर्ने महनुभावहरुबाट केहि आर्थिक सहयोग आउने गर्दछ । नपुग खर्चको जोहो म आफैले गर्ने गरेकी छु । अहिले पनि संस्थाको कुल खर्चको आधा म आफैले व्यहोर्दै आएको छु । मेरो व्यवसायबाट हुने आम्दानीलाई पशु कल्याणको काममा लगाईरहेकी छु ।

तस्बिर– स्नेहा श्रेष्ठको फेसबुकबाट
कुकुर हिंस्रक हुन्छ भन्ने लाग्छ, कुकुरसँग यति निकट भएपछि तिनीहरुको व्यवहार कस्तो पाउनुभयो ?
पहिलो कुरा त म जनावरहरु हिंस्रक हुन्छन् भन्ने कुरामा विश्वास गर्दिन । हुनसक्छ केहि जंगली जनावरहरु हिंस्रक हुन्छन् । तर उनीहरुलाई हिंस्रक बनाएको हामी मानिसहरुले नै हो । जब जनावरमाथी दुव्र्यवहार हुन्छ, उनीहरुको बासस्थान र खानेकुरा अनि सुरक्षामाथी मान्छेले धावा बोल्छ, तब उनीहरुले हिंस्रक व्यवहार देखाउने गर्दछन् । कुकुरको कुरा गर्ने हो भने मानिसले सभ्यताको सुरुवातमा कुकुरलाई घरपालुवा जनावरको रुपमा भित्र्याएको हो । यस हिसाबले ककुर मानिसको सबैभन्दा प्रिय जनावर हो भन्ने लाग्छ । अहिले मेरो संस्थामा २ सयजति कुकुरहरु छन् मेरो आफ्नै घरमा १० वटा कुुकुरहरु छन् । तर तीनीहरुले कसैलाई पनि टोक्दैनन् । जब हामीसँग उनीहरुको विश्वास टुट्छ, तब उनीहरु हिंस्रक हुन्छन् ।


शहरमा घर घरमा कुकुर पाल्नेहरु छन्, के उनीहरुले कुकुरको भावना बुझेजस्तो लाग्छ ?
कुकुर पाल्नु अहिले फेसन जस्तै भएको छ । कुनै प्राविधिक ज्ञान विना लहडको भरमा कुकुर पाल्ने गरिएको छ । आजकल त जन्मदिनमा पनि कुकुर गिफ्ट दिने चलन छ । युवायुवतीहरु दिनभर कार्यालय जानुपर्ने भएकाले उनीहरुले दिनभर कुकुरलाई सिक्रिले बाँधेर राख्ने, पर्याप्त एक्सरसाईज नगराउने, कुटपिट तथा दुर्व्यवहार गर्ने गर्दछन् । पशुपंक्षिहरु भोक प्यास, दुः ख पिडा तथा घाउ चोटपटक बाट मुक्त हुनु जरुरी छ । उनीहरुले कुनैपनि किसिमको असहजता तथा डर त्रासबाट मुक्त भई आफ्नो प्राकृतिक व्यवहार प्रस्तुत गर्न पाउनुपर्छ । यस अर्थमा शहरमा जुन तरिकाले कुकुर पालिएका छन् सबैले जनावरको भावना बुझेजस्तो लाग्दैन । तथापि जसले वास्तवमै जनावरलाई माया गर्नुहुन्छ, उहाँहरुले पक्कै जनावरहरुको भावना बुझ्नुहुन्छ ।



तस्बिर– कुशल विष्ट

कुकुरहरुमाथी के कस्ता हिंसा भईरहेको पाउनुभएको छ ?

हामीलाई दैनिक रुपमा कुकुरमाथी भएका हिंसाका गुनासोहरु आउने गरेका छन् । धेरैजसो गाडीले ठक्कर दिने, कुटपिट गर्ने, तातोपानी हाल्दिने, अलकत्रा खन्याईदिने, चक्कु, खुकुरीले काटिदिने जस्ता घटनाको गुनासोहरु आउने गर्दछन् । त्यस्तै सँधैभरी बाँधेर मात्र राख्ने, खानेकुरा नदिने, बिरामी भएपछि सडकमा छोडिदिने गरिएका थुप्रै गुनासोहरु आउने गर्दछन् । कानुनीव्यवस्थाको अभावमा दोषिहरु उम्कीने गरेका छन् । यद्यपि हामीले त्यस्ता घटनाका दोषिहरुमाथि कानुनी कारबाहिका लागि पहल गर्ने गरेका छौ भने बिरामी जनावरलाई आवश्यक उपचार र सुरक्षित घर खोज्न पहल गर्ने गरेका छौं ।


(स्नेहाज केयरकी संस्थापक स्नेहा श्रेष्ठसँग सुजाता मुखियाले गरेको कुराकानीमा आधरित)

 Image