अस्मिता विष्ट
कुमारी लामाको जीवन नजिकबाट नियालिरहेकालाई थाहा छ, उनको जीवन इसिजी रिपोर्टजस्तै छ । जिन्दगीले कहिल्यै सरल रेखामा बग्न दिएन उनलाई । लामाको जीवनमासुखको सफलताको पहाड उक्लिने र संघर्षको मैदानमा जोतिने क्रम चलिरहेको छ । साँवा अक्षर नचिनेर अफिसको कागजमा ल्याप्चे लगाउने निर्माण व्यवसायमा लागेका बुवाको संघर्षको उज्यालो हेर्दै हुर्किएकी हुन् उनी । बुवालाई अक्षर चिनाउने आमाबाट सिकेकी हुन् उनले अक्षरमा निहित परमशक्ति । शब्दको श्लोक आफूले सुन्नुभन्दा धेरै सालअघि नै । साक्षर आमाबाट बालवयमै बुझेकी थिइन्, शिक्षाको महत्व । बुवाआमाको परिश्रमी स्वभावको साक्षी भएकै बखत उनलाई कडा मेहनत गर्ने लत बस्यो । परिश्रम गर्ने लतले अर्को लत लिएर आयो–अब्बल हुने लत । कलेजको परीक्षामा मात्र होइन, जीवन परीक्षामा समेत । लामा हालै अनलाइनखबरको ‘५० प्रभावशाली महिला २०८१’ सूचीमा पर्न सफल भएकी छन् ।
लामालाई तेर्सो हिँड्न मन लाग्दैन । उनलाई जीवनका उकाली–ओरालीनै सुन्दर लाग्छन् । चुनौतीहरूको स्वागतार्थ आफ्नो कर्मशील अँगालो फिजाइरहन्छिन् । साहित्यमा पनि सबैभन्दा चाम्रोनिबन्ध–विधालाई रोजिन् उनले । निबन्धमा लामाको उपस्थिति हेर्दा लाग्छ–विवाह उत्सवमा रातो पहिरनमा सजिएका महालक्ष्मीहरूको बीचमा, सफेद वस्त्र लगाएर उभिएकी साक्षात् सरस्वती हुन् उनी ।
स्वाभिमानी हुनुपर्छ भन्ने सोचको बीउ लामाको बाल मस्तिष्कमा नै उम्रिसकेको थियो । स्वाभिमानी महिलाको संगतमा यसले हुर्कने र झाङ्गिने अवसर समेत पायो । लामाको स्मृतिकोशमा ताजै छ, साठीको दशकमा अग्रज साहित्यकारले प्रदान गरेका प्रेरणा र हौसला । लामा अंग्रेजी साहित्यको विद्यार्थी भएकाले कलेजका दिनहरू अंग्रेजी साहित्य पढ्नमा नै बिते । कलेजपछिको जागिरे जीवनसँगै साहित्यकारसँगको भेटघाट र कुराकानी बाक्लिन थाल्यो । उनीहरूबाट आइरहन्थ्यो नेपाली साहित्यको महक । त्यही महकले लठ्याएर लामालाई विभिन्न पुस्तकालय र पुस्तक पसलसम्म पुर्यायो । अनिचुर्लुम्म डुबायो नेपाली साहित्यको रसिलो तलाउमा । लामाले पारिजातको ‘शिरिषको फूल’ त एसएलसीसकेपछिको समयमै पढिसकेकी थिइन् । वानिरा गिरीका कृतिको प्रभाव तथा माया ठकुरी र उषा शेरचनका संगतमा प्राप्त गरेको साहित्यिक चेतले उनलाई विस्मित पार्दै गए ।
जब पारिजातको अक्षरको जादुबाट उनले आफू पूर्णरूपमा वशीभूत भएको अनुभूति गर्न थालिन्, खोज्दै पुगिन्, पारिजाातको निवास । उनकानिम्ति पारिजाात निवास परमानन्द प्राप्त हुने तीर्थसरह हो । करिब एक दशकदेखि त्यहाँ तीर्थाटन गर्न जानु र सुकन्या वाइबासँग घण्टौं समय बिताउनु उनका निम्ति अनुपम सुखद् अनुभूति हो । लामालाई लाग्छ, हाम्रो जीवनलाई जीवन्त बनाउन चाहिन्छ त्यस्तो कोही, जोबाट हरदम ऊर्जा प्राप्त होस् । उनलाई सुकन्याको प्रेमिल सामीप्यबाट, बौद्धिक चेतबाट मिलिरहन्छ सधैंसधैं ऊर्जा ।
उनले महसुस गरेकी छिन्, उषा शेरचनले उनीप्रति देखाएको असिम स्नेह । वानिरा गिरी र माया ठकुरीले दिएको अनन्त प्रेरणा र हौसला । जसबाट उनले ऊर्जा, हौसला र प्रेम पाइरहिन् ।
लामालाई लाग्छ जीवनका हरेक मोड र घुम्तीमा बसिरहेका थिए, मनभरि उज्यालो बोकेका महिलाहरू । तिनले देखाएको उज्यालोमा पाइलाबढाउँदै उनको साहित्यिक यात्राले गन्तव्य तय गरेको हो । २०७१ सालमा उमा सुवेदी र अर्चना थापाको दरिलो साथ पाएर नै आह्रवान समूहको स्थापना भयो । महिलासँग जोडिएका विविध विषयमाथि बहस चलाउन ढिला गर्न नहुने महसुस गरेकाले यी सचेत महिलाको पहलमा आ≈वान जन्मिएको थियो । त्यसबेलादेखि अहिलेसम्म आह्वानले चलाइरहेछ, महिलाका विभिन्न मुद्दामा बहस । तीनजना भएर रोपेको चेतनाको बिरुवा अहिलेलामा र उमा सुवेदी भएर हुर्काइरहेका छन् । यस्तै पहलबाट त आजकल महिलाहरू देखिन थालेका छन् प्रशस्तै साहित्यिक मञ्च र भेलाहरूमा । लामालाई लाग्छ, महिलाको आवाज सुन्न पितृसत्ता ग्रसित हाम्रो समाज अझै पनि पूर्णरूपमा तयार छैन । त्यसैले महिलाको आवाज महिलाले नै हो समाजको हरेक तह–तप्कामा सुनिने बनाउने । देख्न इन्कार गरिएको महिलाको समस्यालाई देखिने बनाउने। आफ्नो हक–अधिकारको सुनिश्चितता तथा विद्यमान् असमानता अन्त्यका निम्ति महिलाले आवाज बुलन्द पार्न जरुरी छ भन्ने उनको धारणा छ । त्यसका निम्ति हरेक सचेत महिलाले साथ–सहयोग प्रदान गर्न जरुरी छ ।
जीवनमा केही न केही गरिरहनुपर्छ, जीवन गतिशील हुनपर्छ भन्ने लाग्छ उनलाई । त्यसैले जीवनको गतिशीलता पछ्याउन लण्डन पुगेर मास्टर्स गरिन् । फेरि नेपाल फर्किएर एमफिलको पढाइ पूरा गरिन् । उनी त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक भएर आफूले हासिल गरेको शिक्षा विद्यार्थीमाझ प्रसारित गर्छिन् । आफूले अध्ययन गरेको साहित्यको पनि उक्तिकै सत्रियताका साथ विश्लेषण र विवेचना गर्छिन् । नेपालमा हुने साहित्यिक महोत्सव, विमोचन र विमर्शका कार्यक्रममा आफ्नो अध्ययन र अनुभवको आभा बोकेर उनी उपस्थित हुन्छिन् । उनको गहिरो विश्लेषणात्मक चेत साहित्यिक विमर्शको कार्यक्रममा मात्र होइन, उनले गरेको जीवन र समाजको मिहीन अध्ययनमा पनि प्रस्ट रूपमा प्रतिबिम्बित भएको छ । यही विशेषता उनको पहिलो निबन्ध संग्रह ‘उज्यालो अन्धकार’मा देख्न सकिन्छ । भुईमान्छेको र सीमान्तकृत वर्गको दुःखद्पूर्ण अवस्थाबाट विचलित हुन्छिन् लामा । तर त्यसको औषधि उनी आफैंले पत्ता लगाएकी छिन् । लेखन नै त्यसको अचुक औषधि हो उनका निमित्त । एउटी महिलालाई अर्की महिलाले काँध हालेपछि, प्रेमले ढाडमा थप्थपाएपछि जन्मिन्छन् सशक्त आवाज बोकेका महिला। उनलाई प्राज्ञ माया ठकुरीले हौसला प्रदान गरेपछि नै हो समकालीन कथामा तेस्रो लिंगी चेतना नामक समालोचना कृतिको जन्म भएको । समाजले सीमान्तमा राखेको तेस्रो लिंगीको विषयमा केही अवश्य लेख्नुपर्छ भन्ने विचारको भ्रूण प्रवेश गरेको ।
यही विचारले उनलाई समाज र राज्यले किनारामा पारिएका, आवाज सुन्न इन्कार गरिएका, देख्नलाई इन्कार गरिएका मानिसको नजिक पुर्यायो । यिनले मेहनत गरी नियाल्न थालिन्, तिनको जीवन र दुःखका अन्त्यहीन शृंखला । त्यसपछि फेरि जन्मियोनिबन्ध संग्रह ‘दर्ज्यु संलाप’ । जसमा यिनले दिएकी छन्, भुर्इंमान्छेलाई आवाज । संग्रहमा हाम्रो सिंगो समाजका विभिन्न सीमान्तकृत वर्ग र समुदायका प्रतिनिधि पात्र हामीसँग संवाद गरिरहेका भेटिन्छन् । ती आफ्ना दुःख हामीसँग साटिरहेका देखिन्छन्–चाहे त्यो चरीमाया तामाङ होस्,गलैंचा कारखानाका मजदुर, तेस्रो लिंगी वा दलित महिला । दर्ज्यु संलापमा सरकारले मासिन्या भनेर हेलाहोचो गरेको तामाङ जातिको दुःख र संघर्षको कथा पनि छ । संग्रहका निबन्धमा तामाङ जातिको संस्कृतिप्रतिको, लामाको गहिरो चेत र चिन्तन महसुस गर्न सकिन्छ । आफ्नो जरासँग जोडिएको बलियो वृक्ष जस्ता छन् लामाका रचना।
आमाबुवाको संघर्ष हेर्दै हुर्किएकी उनले महिला भएकै कारण प्रत्यक्ष रूपमा कहिल्यै विभेदमा परेको महसुस गर्नुपरेन । उनका पुरुष सहकर्मी मित्र सधैं उनको बाटोलाई उज्यालो पार्ने संवाहककै रूपमा देखा परे । तिनको मित्रवत् सान्निध्यताले गर्दा नै प्राध्यापन कर्म र साहित्यिक कर्म दुवै सहज बनेको महसुस गर्छिन् उनी । लामाले सधैं गुणी मानिसको संगत र साथ प्राप्त गरिरहून् । यसरी नै आवाजविहीनको आवाज बनिरहून्, जरासँग गाँस्सिइरहून् ।उनको साहित्यिक कर्म अविश्रान्त चलिरहोस् ।