Successfully Copied

प्रेमिल साथ

दाम्पत्य जीवनलाई बलियो र विश्वसनीय बनाउन आपसी समझदारी नै प्रमुख विषय हो ।


छ्यालीस वर्षअघि काठमाडौंस्थित अमृत साइन्स कलेजदेखि सरस्वती क्याम्पसको गेटैसम्म जोसिला युवायुवतीको निकै चहलपहल र भीड हुन्थ्यो । त्यही भीडमा थिए–डडेल्धुराका लोकराज पन्त र काठमाडौं कालिकास्थानकी सोमा पन्त । लोकराजले सोमाको सुन्दर अनुहार त्यही भीडमा देखेका थिए । त्यसपछि सुरु भयो दुईको प्रेम शृंखला । ‘त्यसताका केटाकेटीको प्रेम त के सँगै बसेर बोलेको मात्रै देखे पनि लौ अब बर्बाद भयो, यिनीहरू बिग्रिए भन्ने थियो । त्यसैले हामी लुकी–लुकी भेटेर गफ गर्दै रञ्जना हलमा सिनेमा हेर्न जान्थ्यौं,’ लोकराजले भने, ‘सरस्वतीदेखि अस्कल र अस्कलदेखि सरस्वती क्याम्पसको बाटोमा हाम्रो प्रेम मौलाएको हो । तीन महिनामै दुई परिवारको सहमतिमा हाम्रो विवाह भयो ।’
फ्रेन्च भाषाकी शिक्षक सोमालाई विवाहपछि जीवनमा धेरै परिवर्तन भएको महसुस भयो भने ‘होटेलियर’ लोकराजलाई जिम्मेवारी थपिएझैं लाग्यो । ‘काठमाडौंमा जन्मिएर फ्रान्समा हुर्किएकी म नौ वर्षकी हुँदा बुवासँगै नेपाल आएँ । त्यसपछि हामीलाई शिक्षित र आत्मनिर्भर हुनुपर्छ भन्ने वातावरणमा हुर्काइयो । श्रीमान्को सुदूरपश्चिमको चालचलन, बोलीभाषा, संस्कृतिमा भिज्न केही गाह्रै भएको थियो’ सोमाले भनिन्, ‘उहाँहरू डडेल्धुराबाट महेन्द्रनगर झरिसक्नुभएको थियो । हामी भने काठमाडौंमै संघर्षरत थियौं । एउटा कोठा, त्यहीँ भँन्सा पनि थियो । दुःख र संघर्ष छँदै थिए । त्यसमाथि आर्थिक अभाव पनि उस्तै थियो । कहिलेकाहीँ महेन्द्रनगर जाँदा घुम्टो हालेर बस्नुपर्ने, चोलो खोलेर एकसरो धोती बेरेर मात्रै भान्सामा पस्न पाइने, सासूले मैले छोएको नखाने जस्ता विषयले मलाई नरमँइलो लाग्थ्यो तर मैले गर्न परेन वा बोझ हट्यो भनेर सकारात्मक रूपमा लिएँ । त्यस्तो अवस्थामा पनि श्रीमान्प्रतिको विश्वास कहिल्यै घटेन ।’

काठमाडौंमा स्थापित हुन दुवैजना विभिन्न अवसरको खोजीमा हुन्थे । ‘फ्रेन्च टुरिस्ट गाइड’ सोमाको कमाइ तीन सय मासिक तलबमा ‘ट्राभल’ मा काम गर्ने लोकराजको भन्दा राम्रै थियो । त्यस्तो अवस्थामा सोमाले कुशलताका साथ घरव्यवहार सम्हालेको लोकराजले बताए । ‘विवाहपछि दुवै जनालेबिएस्सी पढ्न थाल्यौं । पढाइ खर्च, घरभाडा, खानपानमा उनको कमँइले ठूलो सहयोग पुग्यो र पनि चुनौती त छ“दै थिए’ लोकराजले भने, ‘दुवैजना कलेजबाट घर पुग्दा घरबेटीले हाम्रो कोठाका सबै सामान बाहिर राखिदिएको घटना सधै सम्झिन्छु, घरबेटीका बुवा बितेर क्रिया बस्न कोठा नभएपछि यसो गरिएको हामीलाई बताइयो ।’
लोकराजले तत्कालीन ‘एभरेस्ट सेराटन होटल’ मा काम पाएपछि भने यी दुईलाई केही सहज भएको थियो । सोमाले भनिन्, ‘काम नगरी बस्नै नसक्ने म कामको खोजीमा थिएँ । त्यसैक्रममा चीनको एउटा इन्टरनेसनल स्कुलले भ्याकेन्सी निकालेको रहेछ । अन्तर्वार्तामा क्यानाडेली, अमेरिकी र मलाई बोलाइएको रहेछ । अब मेरो नहुने भो भनेर एकप्रकारले आसै मारिसकेकी थिएँ । भाग्यवश फ्रेन्च शिक्षकका रूपमा मलाई नै छानियो । त्यसपछि १४ वर्ष चीनमै रहें ।’ पछि लोकराजले ‘याक एण्ड यती’ मा काम गर्न थाले । त्यसको डेढ वर्षपछि ‘सोल्टी क्राउन प्लाजा’ को कार्यभार सम्हाल्ने अवसर आयो । लोकराजका अनुसार दाम्पत्य जीवनलाई बलियो र विश्वसनीय बनाउन आपसी समझदारी नै प्रमुख विषय हो । सोमा भने श्रीमान्–श्रीमतीको सम्बन्ध बलियो मात्रै नभएर सुमधुर, उल्लासमय र तरोताजा हुनुपर्छ भन्ने तर्क राख्छिन् । यसका लागि यात्रा, संगीत र सँगै बिताएका सुन्दर पलहरू महत्वपूर्ण हुन्छन् भन्ने उनलाई लाग्छ । सोमाले भनिन्, ‘अहिले स–साना कुरामा पनि आक्रोशित हुने, सहनै नसक्ने, तँ भन्दा म के कम को भावना दाम्पत्यमा भित्रिएजस्तो लाग्छ, इगो, स–साना कुरामा पनि मनमुटाव पनि उत्तिकै देखिन्छ । सम्बन्ध टिकँइराख्न कम्प्रोमाइज र फेलिक्जिबिलिटी पनि आवश्यक छ ।’

यी जोडीको जीवनमा अन्यको जस्तै कहिलेकाहीँ मनमुटाव हुन्छ । तर, दुई–चार दिनमै एकले अर्कालाई ‘एसएमएस’, ‘म्यासेन्जर’, ‘भाइबर’, ‘ह्वाट्एप’ मार्फत ‘सरी’ भन्ने सन्देश पठाएर आत्मालोचना गर्छन् । सन् २०१५ मा रातको समयमा नर्वेमा ‘नर्दन लाइट्स’ हेर्दा दुवै जना निकै उत्साहित हुँदै रमाइलो गरेको क्षण दुवैका लागि अविस्मरणीय छ । लोकराजलाई खुसी पार्न सोमा मीठा परिकार पकाएर खुवाउँछिन् । त्यसमा पनि सुदूरपश्चिमेली मौलिक परिकार ‘गतानी’ पकाएर दिएपछि उनी फुरुङ भइहाल्छन् । लोकराज भने श्रीमतीलाई खुसी बनाउन बेलाबखत उपहार दिन्छन् । सुख र दिगो दाम्पत्यका लागि ‘टिप्स’ दिँदै दुवैले एकैसाथ भने, ‘सानातिना विषयमा इगो राख्न भएन, मनमुटाव लामो समयसम्म राख्न भएन । एक–अर्कामा दह्रो विश्वास, प्रेम र सम्मान गर्नुुपर्छ । कतिपय विषयमा सहनशील हुन पनि जरुरी छ ।’

सोमाको नजरमा लोकराज बलियोपक्ष –सहनशील । कमजोरी – छिटो विश्वास गरेर भएभरको सबै दिने स्वभाव । आकर्षक पक्ष–भलाद्मी र सधैं हँसमुख । मनपर्ने कुरा –हामी दुवैलाई यात्रामा रुचि छ, मेरो इच्छा बुझ्ने । कस्ताश्रीमान्–सहयोगी । के भएको हेर्ने रहर छ – सकेसम्म अझैं काम गरेर सक्रिय र स्वस्थ भएको हेर्न मन छ । लोकराजको नजरमा सोमा बलियो पक्ष – आत्मनिर्भर । कमजोरी – झनक्क रिसाउने । आकर्षक पक्ष– पब्लिक रिलेसनमा पोख्त । मनपर्ने कुरा –म जस्तै खानामा सौखिन । कस्ती श्रीमती – रोल मोडल वाइफ । के भएको हेर्ने रहर छ – खुसी र प्रोफेसनल भएको ।

 Image