Successfully Copied

धकेलिँदै पत्रकारिता 

परिवारको चाहना सरकारी जागिर थियो । गणितमा कमजोर भएकाले प्रवेशिका परीक्षापछि सजिलो विषय खोज्दै थिइन्–पूनम पौडेल ।

परिवारको चाहना सरकारी जागिर थियो । गणितमा कमजोर भएकाले प्रवेशिका परीक्षापछि सजिलो विषय खोज्दै थिइन्–पूनम पौडेल । रत्नराज्यमा मानविकी पढ्ने क्रममा पत्रकारिता विषय रोजेकी उनले यसैमा करिअर बनाउँछु भन्ने लागेको थिएन । रेडियो रिपोर्ट बनाउँदै पत्रकारिता सुरु गरेकी उनले सरकारी र निजी सञ्चारमाध्यमा २५ वर्ष बिताइसकेकी छन् । हाल उनी ‘अर्थ न्यूज’ टेलिभिजनमा सम्पादकको रुपमा कार्यरत छन् । 

प्रवेशिका परीक्षा उत्तीर्णपछि उनी सजिलो विषय खोज्दै काठमाडौंस्थित रत्नराज्य क्याम्पसमा मानविकी पढ्न थालिन् । त्यहाँ एउटा विषय पत्रकारिता पनि रहेछ । यसअघि उनलाई पत्रकारिता विषय थाहै थिएन । तर, उनले त्यही विषय रोजिन् । स्नातक दोस्रो वर्ष पढ्दै थिइन्, नेपाल वातावरण समूहले प्रशिक्षणका लागि कलेजबाट पठायो । सुरुमा तालिमबारे उनलाई केही थाहा थिएन । पछि उनलाई थाहा भयो तालिम रेडियो प्रोडक्सनसम्बन्धी रहेछ । अन्तिम परीक्षा बिग्रेला १ वर्ष पछि परिएला भनेर उनले छनोट नभए हुन्थ्यो भन्दै स्वर परीक्षा दिइन् । तर उनी छनोट भइन् । त्यसबेला उक्त समूहले रेडियो नेपालमा वातावरण कार्यक्रम सञ्चालन गर्थ्यो । उनले रेडियोमा थुप्रै रिपोर्ट तयार गरिन् । पानस लण्डनको फेलोसिपमा छनोट भएर खोजमूलक रिपोर्ट बनाइन् । त्यसताका ‘गह्रौ रेकर्डर’ सुरक्षित साथ बोकेर हिँड्नुपर्थो । रेडियो रिपोर्ट बनाउन उनी झापादेखि इलामसम्म पुगिन् । आफ्नो अनुभव साट्दै उनी भन्छिन्, ‘रिपोर्ट रेडियोबाट प्रसारण हुँदा म ढोका थुनेर रेडियो सुन्थें ।’ उनलाई आफ्नै स्वर नराम्रो लाग्थ्यो । घरपरिवारमा नाके स्वर भन्दै भाइले जिस्काइरहन्थे । 

रेडियो नेपालमा सम्पादक र समाचार वाचकका रुपमा चार वर्ष काम गर्दागर्दै नेपाल टेलिभिजनमा ‘अन द जब ट्रेनिङ’ ढल्यो । त्यसमा छनोट भएर सम्पादक रिपोर्टरका रुपमा करारमा काम थालिन् । त्यहाँ उनले स्थायीका लागि लिखित परीक्षा दिइन्, त्यसमा उत्तीर्ण भइन् । तर, अन्तर्वार्तामा गइनन् । स्थायी नियुक्तिका लागि अन्तर्वार्ता दिन नगएकी उनले कान्तिपुर टेलिभिजन खुल्ने मोहले तान्यो । उनलाई लाग्यो–निजी कम्पनी, त्यसमा पनि ठूलो लगानी हुने भएकाले राम्रो हुन्छ । नयाँ अनुभव र स्वतन्त्र रूपमा काम गर्न सकिने आशाका साथ कान्तिपुर टेलिभिजनमा प्रवेश गरिन् । सुरुवाती दिनमा निकै चुनौती थियो । किनभने कान्तिपुर टेलिभिजनको खाका कोर्नबाटै उनले सेवा गर्नु थियो । के गर्ने, कसरी गर्ने भन्ने अलमलमा उनी थिइन् । यसो त रेडियो र टेलिभिजन दुवैमा काम गरेको अनुभव उनीसँग थियो । तर कान्तिपुर पुग्दा उनलाई नयाँ अनुभव भइरह्यो । सम्पादक समाचार डेस्कमा जिम्मेवारी पाएकी उनले उप–सम्पादक भएर काम गरिन् । मेकअप गर्ने, समाचार संकलन गर्ने, टाइम मिलाउने जस्ता विषय उनका लागि चुनौती नै थिए । साँझ ८ बजेको समाचार प्रसारण गर्न महाभारत नै हुन्थ्यो । उनले भनिन्, ‘८ बजेको समाचार प्रसारण हत्तपत्त कसैले गर्न सक्दैनथ्यो तर मैले आँट गरेर थालें ।’ उनी समाचार संकलन र पढ्न सक्रिय भइन् । उनले भनिन्, ‘पत्रकार बन्छु भनेर योजनाबद्ध रूपमा आएकी होइन, धकेलिँदै पत्रकार बन्न पुगेकी हुँ जस्तो लाग्छ ।’

राजदरबार हत्याकाण्डदेखि द्वन्द्वकालसम्म

पूनमले ०५९ जेठ १८ गते राजदरबार हत्याकाण्ड भएको सुनिन् । त्यसबेला उनी रेडियोमा पत्रकारिता गर्दै थिइन् । के भयो, कसो भयो भन्ने जान्ने जिज्ञासा उनमा बढ्यो । उक्त घटनाबारे बुझ्न तरखर गर्दै थिइन् । त्यसैबेला सेनाबाट ‘महिला स्टाफलाई घर पठाइदिनू’ भन्ने जानकारी आयो । अफिसको गाडीमा घर पुगिन् । सबैले उनलाई सोध्न थाले–के भएको रहेछ ? उनी आफैं अञ्जान थिइन् । ‘पत्रकारका लागि यो भन्दा दुःख के हुन सक्छ’ उनले भनिन् ‘सबैले मलाई सोधिरहेका थिए, मलाई नै घटनाबारे थाहा थिएन ।’ उनले पत्रकारिताकै क्रममा जनआन्दोलन र माओवादी द्वन्द्वकालमा थुप्रै चुनौती मोलेर काम गरिन् । बम पड्किएर घाइतेहरूको रिपोर्ट बनाइन् । एकपटक त ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको कार्यालयमा बम पड्केकोबारे स्थलगत रिपोर्टिङ गर्न समेत उनी पुगिन् । त्यो सँगसँगै हाँडीगाउँमा बम पड्केको खबर पाइन्, वाकीटकीबाट त्यहाँ कुँदिन् । तीन ठाउँमा बम पड्किएको र क्षति रिपोर्ट बनाएर घर फर्किइन् । साँझ टेलिभिजनमा रिपोर्ट बज्यो तर उनको नाम कतै उल्लेख गरिएन । अरु कसैले एकलौटी रिपोर्ट बनाइसकेका रहेछन् । आफ्नै ज्यानको बाजी थापेर रिपोर्टिङ गर्दा समेत नाम उल्लेख नगरेको तीतो अनुभव सुनाउँदै उनले भनिन्, ‘काम गरेर क्रेडिट नपाउँदा सारै दुःख लाग्दो रहेछ ।’

चुनौती 

रिपोर्टिङमा जब उनी फिल्डमा उत्रिन्थिन् तब उनलाई महिला पत्रकार भनेर हेर्ने गरिन्थ्यो । उनलाई भन्थे, महिला भएर अफिसमा पो बस्नुपर्ने त । रिपोर्टिङमा कति गाली खाइन् उनलाई याद छैन । तर एउटा गाली भने उनको मानसपटलमा घुमिरहन्छ । रेडियो रिपोर्टको क्रममा टक्सीडर्मी चराविज्ञ गोबिन्दबहादुर गुरुङको अन्तर्वार्ता लिन पुगेकी थिइन्, । गुरुङकी पत्नीले थर्काएर सोधिन्, को हो ? किन आएको ? यो देशमा अन्तर्वार्ता दिएर कसलाई के भएको छ ? गुरुङकी पत्नीको आवाज सुनेर उनी दौडिएर अर्का चराविज्ञको अन्तर्वार्ता लिएर रिपोर्ट तयार पारिन् । महिला भएकै कारणले पनि उनले थुप्रै चुनौती भोगिरहिन् । उनलाई हीनताबोध त तब हुन्थ्यो जब समाचार पढ्नेहरूलाई पत्रकारका रूपमै मानिँदैनथ्यो । उनी भन्छिन्, ‘समाचार पढ्नेहरूलाई सोपिसका रूपमा मात्र धेरैले बुझ्ने गर्थे, सबै अरुले तयार पारिदिएको पढेको भनेर बुझ्थे । तर मभित्र पीडा थियो जुन काम गर्नेलाई मात्र थाहा हुनसक्छ ।’ सुरुमा महिलालाई हेर्ने नजर जस्तो थियो अहिलेको समयमा केही फरक भए पनि अवस्था उस्तै रहेको उनको भनाइ छ । पत्रकारिता क्षेत्रमा अझै पनि महिलालाई विश्वास गर्न नसकिएको उनले तीतो यथार्थ पोखिन् । पूनम भन्छिन्, ‘पछिल्लो समय पत्रकारितामा महिलाको संख्या बढ्दो भए पनि नेतृत्वले पत्याउन नसक्दा उनीहरू अगाडि बढ्न सकेका छैनन् ।’

 

 Image