Successfully Copied

साउन: हरियो लगाउने कि खाने ?

बजारशास्त्रले हाम्रो मानसपटलमा यति नराम्रोसँग जरा गाडेको छ कि शिवजीको जतिसुकै ठूलो भक्त किन नहोस्, साउनमा हरियो पहिरन लगाएन भने ऊ भक्त कहलिन नसक्ने अवस्था सिर्जना भएको छ ।



यमुना अर्याल (काफ्ले)

गत साल एक व्यक्तिले ट्विटरमा लेख्नुभएको थियो, ‘ए नेपाली दिदीबहिनी हो, साउन महिना प्रकृतिले नै हरियाली बनाएको महिना हो । हरियो महिनामा तिमीहरू हजारौँ रुपैयाँ खर्च गरेर हरियो बन्नुको अर्थ के होला र खै ? बरु हरियो पहिरन लगाउनुको साटो हरियोपरियो खाने गर...’
देशमा लोकतन्त्र छ, संविधानले स्वतन्त्रता दिएको छ । मानिसले आफूले चाहेको गर्न, इच्छाएको ठाउँमा जान, मनलाई निस्फिक्री रूपमा रोमाञ्चित बन्न पाउने अवसर प्रदान गरेको छ । बाँकी एघार महिनाको उतिसाह्रो चर्चा नहुने तर यही साउन महिनाको यतिविधि चर्चा किन हुन्छ? केही त खास पक्कै पनि होला भन्ने सामान्य लख काट्न सकिन्छ । अझ अहिलेको आत्मनिर्भर पुस्ता कोही कसैको बन्धनमा किन पर्न खोज्छ ? आफूले चाहेको लाउन, खान, मन लागेको ठाउँमा जान स्वयं निर्णय गर्न सक्षम भइसकेको छ । महिलाहरू आत्मनिर्भर छन्, पुरुषसरह रमाउन, खुसी हुन उनीहरूले पहिले हाम्रा आमा, हजुरआमाले जस्तो श्रीमान्सँग हात फैलाउनु पर्दैन ।

ग्रामीण भेगमा उति साह्रो साउनको प्रभावले छोपेको थिएन, अहिले सहरको प्रभावले बिस्तारै अड्डा जमाउने प्रयास गर्दैछ । साउन हरियाली महिना, प्रकृति नै शीतल हुने महिना हो । नयाँ–नयाँ पालुवा अँकुराउने महिना । माथि कञ्चन नीलो आकाश, तल हरियो धर्ती, बाढी र पहिरोको चपेटामा धमिलाएका नदीनाला, यो सबैको संगम हो साउन । तर, साउन महिनामा धेरै खर्च गरेर, हरियै पहिरनमा सजिएर भोलेनाथको पूजा गर्नुपर्छ भन्ने विधिवत् मान्यता कतै भएजस्तो लाग्दैन । तर बजारको समाजशास्त्रले हाम्रो मानसपटलमा यति नराम्रोसँग जरा गाडेको छ कि शिवजीको जतिसुकै ठूलो भक्त किन नहोस्, साउनमा हरियो पहिरन लगाएन भने ऊ भक्त कहलिन नसक्ने अवस्था सिर्जना भएको छ ।
हामीले संस्कार, सभ्यता र धर्मलाई व्यापारमा जोड्यौं । हुनेखानेका लागि हरेक महिना महिनाअनुसारका साजसज्जामा सजिनु, रमाउनु खासै नौलो विषय होइन तर आम नागरिकलाई पनि यो प्रकोपले सर्लक्कै सखाप पारिसकेको अवस्था छ । हामी अर्काको सिको यति द्रुत गतिमा गर्छौं कि त्यसको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक पाटो के हो भन्ने कुरा वास्ता गर्दैनौं, अर्काको देखासिकी गर्न तम्सिहाल्छौं । आजभन्दा दश वर्षअघिसम्म काठमाडौंमा हरियो प्रचलनको विकास भएको थिएन । म सुरुमा काठमाडौं आउँदा साउन, भदौ सबै महिना उस्तै लाग्थ्यो । साउनमा भगवान् शिवको महिना भएकाले व्रत, उपवास गर्ने प्रचलन थियो तर अहिले जस्तो हरियो बजारले उग्र रूप लिएको थिएन । तर उति बेला र वर्तमान समयको तुलनामा आकाश–जमिनको फरक छ । हरेक वर्ष साउन सकिएपछि ठूला अक्षरमा समाचार आउँछन्–यो वर्षको साउन महिनामा मात्रै यति अर्बका चुरापोते र मेहन्दी आयात भनेर । यी सबै सामान हाम्रै देशभित्र उत्पादन भएका भए ?
भगवान्लाई प्रसन्न बनाउन पहिरन र साजसज्जामा ध्यान दिनुभन्दा पनि भावमा ध्यान दिने प्रयत्न गरौं । हाम्रा भगवान्ले हामी कस्तो पहिरनमा सजिन्छौं ? गरगहना कति लगाएको छ भन्ने कुरामा ध्यान दिनुहुन्न । हाम्रो भाव मुख्य कुरा हो । हामी कत्तिको पवित्र मनले, कुन आस्थाले, कुन मनस्थितिले मन्दिरमा जान्छौं र कुन भावले श्रद्धा अर्पण गर्छौ ? त्यो महत्वपूर्ण हो । हामी तामझाममा बढी समय खर्चिन्छौं, बढी खर्च गरेर, झकिझकाउ भएर मात्रै भगवान्को दर्शन पाइँदैन । मन शान्त बनाऔं, तामसी भोजनबाट सकभर टाढा हुने प्रयत्न गरौं । मानसिक शुद्धतामा जोड दिऔं । हरियोपरियो परिकारको सेवन गरौं, हरियो लाउनभन्दा पनि खानतिर जोड दिऔं ।
गत सालको एउटा सानो घटनाले निकै दिनसम्म मन बेचैन बनाएको थियो । एकजना चिनेकै बहिनी हरियो पहिरनमा थिइन् । हरियो चुरा, हरियै टीका, हरेक वस्तु उनका हरियै हुन्थे । उनले हातमा मेहन्दी लगाएकी थिइन्, त्यो कुन गुणस्तरको हो ? लगाउन उपयुक्त हो कि होइन ? आफ्नो छालामा फिट हुन्छ कि हुँदैन ? त्यो बुझ्ने कुरा पनि भएन, बुझ्न जरुरी पनि ठानिनन् । साथीहरूले लगाए, उनले पनि हातभरि मेहन्दी लगाइन् । अझ जति बढी गाढा मेहन्दी लाग्छ, उति नै श्रीमान्को माया बढी हुन्छ रे भन्ने पनि सुन्न पाइन्छ । उनको हातमा पनि निकै गाढा मेहन्दी बसेको थियो । भर्खर विवाह गरेकी, श्रीमान् विदेश गएका । उनलाई लाग्यो–मेहन्दीको रङले पनि देखाइसक्यो, विदेश भए पनि श्रीमान्ले उत्पातै माया गर्छन् भन्ने कुरा । एक महिनापछि उनको हातमा फोका आउन थाल्यो । चिलाउने, घाउ हुने क्रम बढ्दै गयो । सहन नसकेपछि छालारोग विशेषज्ञकहाँ जँचाउन पुगिन् । डाक्टरले सातो खाएछन्, उनको छालामा इन्फेक्सन भइसकेको रहेछ ।
हामी जे हो त्यो गर्दैनौं । जे गर्नुपर्दैन, त्यसमा मरिमेटेर लागिपर्छौं । टन्न पैसा हुनेहरू जुन महिनामा जस्तो रहनसहन पनि गर्न सक्छन्, उनीहरू हरेक महिना साउनजत्तिकै हरियाली हुन्छन् तर अर्काको देखासिकी गर्नेलाई साउन कुर्नुपर्छ । हुनेहरू हरियो पहिरन, हरियो शृंगारमा सजिएका हुन्छन्, नहुनेहरू पनि त्यसकै देखासिकीमा हाम फाल्न उद्यत देखिन्छन् । शास्त्रीय मान्यता केही पनि छैन, कुनै ग्रन्थमा उल्लेख छैन भनेर विद्वान् गुरुहरूले भनिरहनुभएको हुन्छ । तर यसलाई सुन्ने, ध्यान दिने कसलाई फुर्सद छ र ?
यदि साउनमा भगवान् खुसी हुनकै लागि हरियो पहिरन लगाउने हो भने किन कुनै महादेवका मन्दिरमा हरियो पहिरनको साजसज्जा देखिँदैन ? महादेवलाई हरियो धतुरो, हरियो बेलपत्र पो अपर्ण गरिन्छ । हरियो वस्त्र किन अर्पण गरिँदैन ? कुनै पनि शिवालयका पुजारी, पण्डितहरूले हरियो पोसाक लगाएको देखिँदैन, के उनीहरूलाई हरियो लगाउँदा भोलेनाथ प्रसन्न हुने कुरा थाहा नभएर होला त ? कुनै पनि शिवालयमा हरियो टीका, चन्दन लगाएको पाइँदैन । जब यी कुरा हामी देखिरहन्छौं र फेरि भगवान्को नाम लिएर आफू खर्चिलो बनेर करुलाई किन देखाउन खोज्छौं ?
मनलाई हरियो बनाउने प्रयत्न गरौं । मन हरियो भयो भने सारा ब्र≈मान्ड नै हरियो हुन्छ, शीतलता छाउँछ । प्रकृति नै हरियो भएको परिदृश्यमा आफूलाई आध्यात्मिक बनाउनतिर लागौं । सात्विक भोजनमा जोड दिऔं । सामर्थ्य छ भने तपाईं–हामी जुन महिनामा जुन रङका पहिरन पनि लगाउन सक्छौं, तर अरुको देखासिकीमा बहकिने कुचेष्टा नगरौं ।
साउनमा साउने संक्रान्तिको खास महत्व छ तर हरियो पहिरन र साजसज्जाको अन्यर्य कहीँकतै मेल खाँदैन । साउन यस्तो खास महिना हो, यो अवधिमा नदीनाला समेत रजस्वला भएका हुन्छन् भनिन्छ । साउन महिनाभर नदी, गंगाहरूमा स्नान गर्नु अशुद्ध मानिन्छ भनिन्छ । साउनभन्दा पहिले सामान्य अर्थमा बोलिने चौमासा वा चतुर्मास भन्ने शब्दको अर्थ बुझौं । हाम्रा पवित्र नदीनाला र गंगालाई बुझौं । हाम्रो सुन्दर, सौम्य प्रकृति र परिवेशलाई बुझौं । मुख्य कुरा मासदेवता र मासदेवीलाई पनि सकेसम्म बुझ्ने चेष्टा गरौं । साउनलाई धार्मिक महिनाका रूपमा लिइन्छ । शिवालयमा बोलबम जाने भक्तहरूको लावालस्करले बाटो नै पहेंलपुर देखिन्छ ।
पछिल्लो समय जति पनि संस्कारको नाममा हामीले बढाएका प्रचलन छन्, ती शास्त्रीयभन्दा पनि पुँजीवादी सोचले बढे, बढाएका प्रचलन हुन् । जोसँग पैसा छ, उसले आयातीत संस्कारको अनुसरण गर्छ । जोसँग छैन उसले हुनेखानेको देखासिकी गरेर ऋण खोजेर भए पनि आडम्बरमा पछि पर्न खोज्दैन । विवाहका नाममा गरिने संस्कार, व्रतबन्ध, न्वारान, पास्नी, जन्मदिनमा गरिने संस्कार पाँच प्रतिशत आफ्ना होलान्, बाँकी सबै आयातीत । साउन पनि यस्तै आयातीत प्रचलनले ढाकिएको संस्कारभित्र पर्छ ।
मन लागेको लगाउन, मन लागेको खान, मन लागेको ठाउँमा जान साउन नै कुर्न पर्दैन । मानिस स्वतन्त्र छ तर भगवान्को नाममा आडम्बर गर्ने कुचेष्टा नगरौं । एउटा बेलपत्र, एउटा धतुराको पुष्प र एकमुठी जलले प्रसन्न हुने भगवान्लाई हाम्रो आडम्बर र साजसज्जाले केही फरक पार्दैन । सक्छौं भने आध्यात्मिक बनौं, अरुमाथि हिंसा नगरौं, शान्त बन्ने प्रयास गरौं । सबै प्रााणीप्रति दयाभाव राखौं । अरुका कुरा पनि सुन्ने ल्याकत राखौं । मन शान्त, शीतल भएपछि बाहिरको हरियालीले केही फरक पर्दैन । तपार्इं हाम्रो तनमन नै हरियैहरियो हुन्छ । जहाँ हरियाली, त्यहाँ चराचर जगत्को वासस्थान हुन्छ । हामीले हाम्रो हृदयलाई हरियो बनाऔं । कलह र क्लेशबाट मुक्त हुने प्रयास गरौं । आयातीत संस्कार र आडम्बरले हामीलाई फाइदा पुर्‍याउँदैन । साउन मनले मनाऔं । भगवान्को भक्त हुने प्रयास गरौं तर आडम्बरी बन्न नखोजौं ।

 Image