Successfully Copied

गुन्युचोली ः नचाहिदो तडकभडक

आजको समाज भन्छ ‘गुन्युुचोली देऊ’ आजकी छोरीले गुन्युचोली लगाएर गर्ने के हो ? अनि सही मानेमा आजको समाजले गर्नुपर्ने चाहिँ के हो ?




गत जेठको पहिलो हप्ता कामविशेषले सुन्धाराबाट सार्वजनिक बस चढेर गन्तव्यतिर लागें । अलि पर पुगेपछि बस रोकियो । एकजना महिला सानी नानीको हात समात्दै बसको ढोकाबाट भित्र उक्लिन् र मेरो छेउकै आएर बसिन् । सानी नानी आमाको काखमा नबसेर मेरो अगाडि ड्राइभर पछाडिको लामो सिटको छेउमा बसिन् । गाडी गुडेसँगै आमासँग उनले आफ्नो रहरको पोको फुकाउन थालिन्–‘मम्मी मेरो पनि गुन्युचोली गरिदिनुस् न ।’ पुग नपुग सात वर्षकी थिइन् होला ती नानी । मैले ‘यति सानैमा पनि गुन्युचोली गर्ने हो त’ भनेको उनले ‘नाइँ गर्ने हो के, मम्मी गर्ने भन्नुस् न’ भन्दै खुट्टा बजार्न थालिन् । मैले ‘गुन्युचोली गरेर के हुन्छ नानी’ भनेर सोधें । त्यसपछि उनले बेलीविस्तार लगाइन्–‘गुन्युचोली गर्दा कति राम्रो साडी–चोलो लगाउन पाइन्छ अनि गहना लगाउन पाइन्छ । अस्ति मेरो साथीको गुन्युचोली गरेको, उसले लिपिस्टिक, पाउडर, गाजल अनि हातभरि चुरा र मेहेन्दी लगाएर कति राम्री देखिएकी थिई । मलाई पनि त्यस्तै राम्री हुन मन छ के मम्मी । गर्दिनु न प्लिज’ भन्दै आमाका गाला मुसार्न थालिन् ।
गुन्युचोलीबारे यस्तो बुझाइ थियो यी सानी नानीको । पछिल्लो समयमा चर्चित बन्दै गइरहेको छ–गुन्युचोली । हराइसकेको यो परम्परालाई आधुनिक ‘पढालेखा’ आमाहरूले कसरी बुझेका छन् ? त्यो उनीहरू नै जानून् तर सानी छोरीको कुरा सुनेर आमाको अनुहारको रंग केही बदलिएको महसुस गरें । ‘केही वर्षअघिसम्म त यो गुन्युचोली भन्ने चलन नै सुनिँदैनथ्यो, अहिले कहाँबाट यसरी व्यापक बन्दै गएको होला ?’ भनेर म आफैसँग बोलिरहँदा आमाले भनिन् ‘हेर्नु न छोरीको कुरा यस्तो छ । यसले सोचेजस्तो सजिलो छ र अहिले गुन्युचोली गर्न ? एउटा सानो विवाह खर्च नै जुटाउनुपर्छ । एकातिर छोरीको देखासिकी र रहर, अर्कातिर समाज । धन हुनेलाई त के नै छ र ? नहुनेलाई पो चिन्ता ।’ उनको थोरै बोलीमा धेरै कुरा अभिव्यक्त भएको थियो ।
पहाडिया ब्राम्हण परिवारमा जन्मेर हुर्केकी मैले जीवनको आधा उमेरमा आइपुग्दा देख्न थालेको ‘गुन्युचोली परम्परा’ बारे कुन शास्त्रमा उल्लेख गरिएको रहेछ त भनेर खोज्ने प्रयास गरें तर यस्तो परम्परा कुनै पनि शास्त्रले निर्देशित गरेको पाउन सकिन । बरु विभिन्न धर्मसूत्र तथा स्मृतिहरूले ब्रा≈मण कन्याको उपनयन र वेदाध्ययन हुने कुरा उल्लेख गरेको पाइयो । ब्रा≈मण कन्याहरूको उपनयन (व्रतबन्ध) गर्ने र वेदाध्ययनमा पनि तिनको अधिकार हुने कुरा पारस्करगृह्यसूत्र, स्मृतिचन्द्रिका, हरितधर्मसूत्र, यमस्मृति आदिले गरेका छन् भन्दै शिवराज आचार्य कौडिन्यायनले आफ्नो पुस्तक ‘वैदिक धर्म मूल रूपमा’ को पृष्ठ ३१५–३१७ मा विस्तृत रूपमा उल्लेख गरेका छन् । मूलशास्त्र अर्थात् वैदिक धर्ममा नै नारी अर्थात् कन्याको पनि उपनयन हुने र वेदाध्ययनमा मात्र नभएर वैदिक यज्ञादि कार्यमा पनि स्त्रीहरूको अधिकार भएको कुरा उल्लेख छ भन्दै आचार्यले लेखेका छन्, ‘शुद्धकुलीन द्विजातिकन्याको विधिपूर्वक उपनयन गर्नु र त्यसरी उपनीत कन्याहरूलाई यथाविधि वेद पढाउनु वेदवेदाङ्ग विरुद्धको कुरा होइन ।’ कन्याको उपनयन हुने कुरा शिवपुराण, वासिष्ठधर्मसूत्र, बादरायणीयधर्ममिमांसासूत्र, पाणिनीय व्याकरणवर्तिक, महाभारत र पुराणहरूलगायत विभिन्न ग्रन्थहरूमा उल्लेख गरिएको पनि आचार्यको पुस्तकमा उल्लेख छ । यदि कन्याको समयमै छुट्टै उपनयन गर्न नसकिएमा विवाहकै अवसरमा ‘उपनयनकर्मसिद्धिवाचन’ गर्ने हारितधर्मसूत्र तथा वाराहगृ≈यसूत्रमा उल्लेख भएको कुरा पनि छ ।
तर समाज विस्तारै ‘मनुस्मृतिपथ’ मा हिँड्न थाल्यो र मनुस्मृतिले भनेजस्तै विवाहलाई नै कन्याको ‘उपनयनस्थानापन्न’ मान्नुपर्ने भयो । र, कालान्तरमा छोरीलाई वेदाध्ययन वा शिक्षादीक्षाको अधिकार दिनुको सट्टा ‘स्त्रीहरूले वेद पढ्न हुँदैन’ भन्न थालियो । छोराहरूलाई उपनयन गर्ने र वेदाध्ययन वा शिक्षादीक्षाका निमित्त काशी पठाउने तर छोरीलाई बालकैमा गुन्युचोली पहि¥याइदिएर विवाह गरी पराइको घरमा सुम्पिदिने चलन चल्यो । यसरी पूर्वीय समाजका छोरीहरूले (अपवादबाहेक) सताब्दियौंसम्म शिक्षा र ज्ञानको उज्यालोबाट वञ्चित हुनुप¥यो । आज अनेकौं संघर्ष र क्रान्तिपछि छोरीहरू पनि छोरासरह शिक्षा र आयआर्जनको पथमा अग्रसर भइरहँदा कहिँ–कतै उल्लेख नभएको कुरालाई ‘महान् परम्परा’ ठान्दै नचाहिँदो तामझामका साथ बालिकाहरूको ‘गुन्युचोली’ गर्न थालिनुले समाज कतातिर मोडिँदैछ भन्ने प्रश्न गर्ने ठाउँ दिएको छ । एकैघरका छोराछोरीमा उही आँगनमा छोराको व्रतबन्ध गराएर पहेंलो कपडा पहि¥याई काशीमा विद्यार्जनका निम्ति पठाइन्छ । छोराले भिक्षा मागेरै भए पनि गुरुलाई पाल्नुपर्छ भन्ने सन्देश दिइन्छ तर सानी छोरीलाई गहना–कपडाले सजाएर बेहुली बनाई विवाहमा कन्यादान गरेजसरी जल खाएर पूजा गरिन्छ । यसको संकेत ‘छोरी अब विवाह गरेर पराइघर जाने बेला भयो, उसले यसरी नै शृंगारपटार गरी पराइको मन र घरलाई सजाउनुपर्छ’ भन्ने हो । आजका शिक्षित आमाहरू नै यसमा रमाएको पाइन्छ ।
‘द्विजाति (ब्रा≈मण) कन्याको उपनयनपछि विवाह हुने वा वेदादिशास्त्रको अध्ययनसमेत भई विवाह नै नगरी व्र≈मचर्यमा बसेर जीवनयापन गर्ने वा प्रवज्या (संन्यास) मा जाने भन्ने कन्याको अधिकार पनि शास्त्रमै व्यवस्था भएको कुरा पनि विदुषी गार्गीको उदाहरण दि“दै आचार्यले पुस्तकमा लेखेका छन् । यो सब लेखिरह“दा अवश्य पनि पंक्तिकारमाथि ‘धर्म विरोधी र परम्परा विरोधी’ को आरोपको वर्षा हुने नै छ । परम्पराकै कुरा गर्दा पहिले–पहिले पहाडिया ब्रा≈मण परिवारमा कन्या प्रथम पटक रजस्वला भएपछि ऊ शुद्ध भएको दिन (सामान्यतः १५, १७ वा २१ दिनमा) स्नान गराई उसलाई नयाँ वस्त्र लगाउन दिएर पण्डित बोलाई मन्त्रोच्चारण गरी ‘गौदान’ गराई शुद्ध गराउने परम्परा रहेको कुरा आफ्नो सम्झनामा छ । तर अहिलेको जस्तो भड्किलो ‘गुन्युचोली’ परम्परा आफूले देखेको स्मरणमा छैन । नेवार समुदायको आफ्नो छुट्टै विशेष परम्परा छ । कन्या रजस्वला हुनुअघि उसलाई गुफा राख्ने र वेलसँग विवाह गराउने परम्परा अनिवार्यजस्तै छ । तर ब्रा≈मण समाजमा गुन्युचोली बाध्यात्मक वा अनिवार्य छैन । अन्य जातजातिमा के छ त्यो पंक्तिकारको जानकारीमा छैन ।
पछिल्लो समय विवाह नै अत्यन्त भड्किलो र विपन्नहरूको ‘ढाड सेक्ने औजार’ बन्दै गइरहेको अवस्थामा गुन्युचोली अर्को त्यस्तै औजार बन्न थालेको देखिन्छ । ‘हुनेखाने’ वर्गले यस्ता कार्यमा गर्ने खर्च र तडकभडकको देखासिकी गर्नैपर्ने ‘सामाजिक बाध्यता’ ले निम्न आय हुने वर्गलाई यस लेखको सुरुमै उल्लेख गरिएकी नानीकी आमालाई जस्तै सकसमा पारेको कुरा आजको उपभोक्तावादी समाजले बुझ्नै चाह“दैन । यस्ता देखासिकीमा हुने सन्तानका दबाब र आर्थिक दबाबले ऋणको बोझ थाम्न नसकेर आत्महत्याको अवस्थासम्म पुगेका उदाहरण हामीले देख्दै आएका छौं । केही समयअघि परम्परागत विवाहमा थपिएका ‘हल्दी, मेहेन्दीलगायतका अनावश्यक तडकभडकले कयौं बाबुआमाको थाप्लोमा उठ्नै नसक्ने गरी ऋणको भारी थपिएको कुरा गर्दा पंक्तिकारलाई सामाजिक सञ्जालमा केहीले जवाफ दिए ‘हुनेले खर्च गर्छन् र देखाउँछन् पनि, नहुनेले नगरे भैगो नि केको टाउको दुखाइ ?’
हाम्रो समाजमा छोराको व्रतबन्ध गरिने हुनाले उसको मृत्यु भएमा विधिपूर्वक काजकिरिया हुन्छ तर अविवाहित छोरीको मृत्यु भएमा काजकिरिया पनि हुँदैन । छोरीको पनि व्रतबन्ध गरिन्थ्यो भने उसको मृत्यु भएमा पनि काजकिरिया हुन्थ्यो तर आज पनि बाबुआमाहरू बरु छोरीको विवाहमा काजकिरिया नै पराइको जिम्मामा सारिदिएर उन्मुक्ति खोज्छन् । शास्त्र भन्छ, ‘कन्याको पनि उपनयन गर ।’ आजको समाज भन्छ ‘गुन्युुचोली देऊ’ आजकी छोरीले गुन्युचोली लगाएर गर्ने के हो ? अनि सही मानेमा आजको समाजले गर्नुपर्ने चाहि“ के हो ? जवाफ खोज्ने र निर्णय गर्ने जिम्मा चाहि“ यो पंक्तिकारमाथि बारम्बार ‘धर्मविरोधी’ र ‘शास्त्रविरोधी’ भनेर आरोप लगाउनेहरूमाथि नै छोडिदिएँ ।


 Image