Successfully Copied

महिला हिंसाका कारण र निवारण

नेपालमा पाँच वर्षयता महिला हिंसाको तथ्यांक हेर्ने हो भने आठ हजारभन्दा बढी बलात्कारका घटना भएका छन् । घरेलु हिंसाका मुद्दा ६० हजारजति दर्ता नै भएका छन् । अझ जीवनसाथीबाट हुने हिंसा अत्यधिक छ । १७ सय ७२ घटनामा ६३ प्रतिशत त आफ्नै घरभित्रै महिला हिंसा भएका

नेपालमा पाँच वर्षयता महिला हिंसाको तथ्यांक हेर्ने हो भने आठ हजारभन्दा बढी बलात्कारका घटना भएका छन् । घरेलु हिंसाका मुद्दा ६० हजारजति दर्ता नै भएका छन् । अझ जीवनसाथीबाट हुने हिंसा अत्यधिक छ । १७ सय ७२ घटनामा ६३ प्रतिशत त आफ्नै घरभित्रै महिला हिंसा भएका छन् । अर्को एक तथ्यांकअनुसार विश्वमा हरेक दिन १३७ जना महिला आफ्नै परिवारका सदस्य वा जीवनसाथीबाट मृत्युवरण गर्छन् । अझ कतिपय घटना त बाहिर आएकै छैनन् । 

हाम्रो समाजका ‘देवताहरू’ नारीको अपमानमा ठीक उल्टो परिस्थितिमा रमाएको जस्तो भान हुन्छ । निर्मला पन्तदेखि भागिरथी भट्टसम्मका घटनालाई सम्झिदा मात्र पनि त्यसको पुष्टि हुन्छ । महिलाको अपमान, हिंसा, हत्या र तिरस्कारको अन्त्य नहुने शृंखलाबद्ध घटनाहरू वैदिककालदेखि हामीले सुन्दै आएका छौं । समाजमा महिलामाथि हुने हिंसाको शृंखला कहिले रोकिन्छ ? समाज भनेको के हो ? समाजमा को बस्छ ? समाज कसले निर्माण गरेको हो ? बारम्बार भइरहने हिंसा र अपराधको कारकतत्व व्यक्ति मात्र हुन् त ? के यसको दोष समस्त समाज, प्रशासन, व्यवस्थापन, कानुन, नीति–नियम, परम्परा, शिक्षा, संस्कार, रीतिरिवाज र संस्कृतिको पनि हो ? हाम्रासामु यी र यस्तै थुप्रै प्रश्नको उत्तर पाउन कठिन छ । किनभने महिला हिंसाका शृंखलाहरू घट्नुको साटो दिनहुँ बढ्दो क्रममा छन् । 

मुलुकमा विश्वविद्यालय, शिक्षक र विद्यार्थीहरू जति–जति धेरै थपिँदै गएका छन्, त्यही अनुपातमा ज्ञानको दायरा पनि साँघुरो बन्दै गएको छ । शिक्षाको ज्योति जति–जति चम्किलो हुँदैछ त्यति–त्यति समाज, सम्बन्धहरू अँध्यारोको गहिराइमा जाक्किँदै छन्। आखिर किन ? यी प्रश्न हामी सबैका साझा हुन् । त्यसैले धीर र गम्भीर भएर हामी सबैले मनन गर्नैपर्ने भएको छ । 

केही साताअघि काठमाडौंमा एक शिक्षित, सक्षम र सबल छोरीले दिनदहाडै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरिन् । त्यो पनि टीकोटालो छिनेको केटाको घरअगाडि । समाज मूकदर्शक बन्यो । तिनले परिवारलाई जीवनभरका लागि कहिले नमेटिने पीडा र उकुसमुकुस दिएर गइन् । ती छोरीको शरीरसँगै सपना मात्र खरानी भएको छैन वर्षौं लगाएर तिनका अभिभावकले गरेको लगानी, समय र तपस्या पनि राख बन्न पुगेको छ । यो घटनाले अन्य चेलीले कस्तो पाठ सिक्ने भन्ने विषय निकै संवेदनशील छ । 

के एउटी चेलीले शरीरमा पेट्रोल छर्केर आगो लगाउनु सामान्य विषय हो ? के ‘इन्गेजमेन्ट’ गरेको केटाले छोड्यो भनेर मात्र तिनले आत्मदाह गरिन् त ? आत्मदाह गरिरहँदा तिनको मनस्थिति कति भयावह थियो होला ? कत्रो सुनामी आएको थियो होला उनको मस्तिष्कमा ? कति बिक्षिप्त र आकुलव्याकुल भएकी थिइन् अनुमान लगाउनुस् त ? थोरै आगोको झिल्कोले भेट्दा पनि आत्था भन्दै बुरूक्क उफ्रिने हामी ती चेलीको सुकोमल कायालाई आफै खरानी बनाउने अवस्था कति पीडादायक होला ? तिनको त्यो मानसिक आघात किमार्थ बयान गर्न सकिन्न । तर, एकपटक चेतनशील प्राणीका नाताले यो विषयबारे गम्भीर भएर सोच्न जरुरी छ । 

महिला हिंसा, पीडा र दुःखका घटनाहरू हेर्दा र सुन्दा–एकोहोरो भएर सोच्न बाध्य हुन पुग्छु । हामी र हाम्रो समाज कता भौँतारिँदैछ भन्ने विषयमा गम्भीर बन्छु ।अनि निष्कर्ष निकाल्छु–हामी भ्रममा बाँच्न अभ्यस्त छौं । वास्तविकता लुकाएर देखावटी खुसी र सुन्दरता प्रस्तुत गर्न मरिहत्ते गर्छौं । हामी कसैको दुःख सुन्न नपरोस् भन्ने चाहन्छौं । अहिलेहामीलाई आफ्नो वास्तविक अनुहार देखाउन मन लाग्दैन र त फोटो खिच्दा पनि फिल्टर हाल्छौं ताकि अरूले देख्दा ‘वाह’ भनून् । राम्रो मात्र देखियोस् । हामी झूटलाई समात्छौं अरूलाई राम्रो देखाउन ज्यान फालेर लागेका छौं । समाज र सम्बन्धमा यस्तो सोचले भयावह परिणाम निम्त्याउँदैछ । 

एउटा अर्को प्रसंग, केही साताअघि सामान्य स्वास्थ्य परीक्षणको लागि अस्पताल गएकी थिएँ । त्यहाँ आत्महत्याको केस आएको रहेछ। विवाह गरेको छोटो समयमा घरेलु यातना सहन नसकेर विष सेवन गरेकी रहिछन् एउटी चेलीले । धन्न समयमा अस्पताल ल्याउन सफल भएछन् र ती बहिनीले पुनः जीवन पाइछन् । ती बहिनीकी दिदीले रुँदै सुनाइन्–कति पटक आफ्नो गुनासो र समस्या भन्न खोज्दा मैले हकारेर भनेकी थिएँ, ‘नसुना तेरा दुःखका रामकहानी, अलिअलि त सहनुपर्छ ।अचेलका केटी रत्तिभर सहन सक्दैनन् । हामीले कति सहेर आयौं । घरायसी समस्या कहाँ हुँदैन, तिललाई पहाड नबना नानी । भो दुखेसो पोख्दै नहिँड् ।’ ती दिदीले बहिनीलाई सम्झाउँदै भनेकी रहिछन्, ‘हिजोआज कसैलाई कसैको दुःख सुन्ने फुर्सद छैन । फुर्सद नै भएपनि पीडा, अभाव र दुःख सुन्न कसैलाई मन पर्दैन, नसुनाउनू।यसरी सम्झाएको भोलिपल्टै विष नै पिइछन् ।’ 

म तीनछक्क परें बहिनीको बिक्षिप्त मनको पीडा सुन्नलाई आफ्नै दिदीलाई फुर्सद छैन, यो कस्तो सम्बन्ध हो ? कस्तो जमाना आएछ ? भोज खान मात्र परिवार हो त ? सम्बन्धमा रमाइलो मात्र खोजेर हुन्छ र ? सुखका लागि मात्र सम्बन्धहरू हुन् त ? परिवार किन चाहिन्छ मान्छेलाई ? टाउको फुट्न लाग्दा शिर 

अड्याएर पीडा बिसाउने ठाउँ चाहिन्छ । अठ्यारो, अभाव र अन्यायमा आफ्नै माइती, साथीसंगी र दिदीबहिनीसँग गुनासो गर्न नजाने त ? सबै ब्र≈मज्ञानी पनि त हुँदैनन् । संसार हो यहाँ दुःख र सुख बारम्बार आउँछ । हो दुःख सुनाउनु हुँदैन तर त्यो दुःख झेल्ने सामर्थ्य छैन भने परिणाम के हुन्छ ? पीडाले कस्तो रूप लिँदैछ देखिहाल्यौं नि ? 

जब मस्तिष्कमा विचारहरूका पराकम्पन बारम्बार उठ्छन् तब महाभूकम्प अचानक आउँछ । मस्तिष्क र हृदयाघातको त उपचार सहज छ औषधि सेवन गर्दा पनि जाति हुन्छ तर विसादले भरिएको मनका कुरा सुन्ने कान कता हराउँदैछन् परिवारबाट ? 

आफ्नोपन, समाज र सम्बन्धहरूमा खोइ भरोसा ? डिप्रेसन, अनिद्रा, छटपटीलाई हाम्रो समाजले खिसिटिउरी गर्दैछ । जति सहज रूपमा सुगर, थाइराइड जँचाउन डाक्टरकोमा जान्छौं त्यति सजिलै अशान्त मन लिएर मनोचिकित्सक, परामर्शदाताकोमा जान सक्दैनौं किन ? हामी आफैलाई हेरौं उत्तर थाहा हुन्छ ।

अन्त्यमा, अब छोरीहरूलाई दुर्गा र देवीको पूजा–अर्चनामा मात्र सीमित राख्न हुँदैन । परेको अवस्थामा दुर्गा बन्न प्रशिक्षण दिनुपर्छ । झाँसीकी रानीको इतिहास पढाउनुपर्छ अनि वीराङ्गनाहरूको उदाहरण दिनुपर्छ । विद्यालय तहदेखि नैतिक शिक्षाका साथै जीवन जिउने कला सिकाउनुपर्छ । शान्ति शिक्षा लागू गर्नुपर्छ । आत्मरक्षाका लागि कराँतेको ब्ल्याक बेल्ट मात्रले पुग्दैन अब हरेक मानवलाई मानसिक रूपमा बलियो, सक्षम र सबल गर्न राज्यले आफ्नो दायित्वकै रूपमा बुझ्न जरुरी छ । सीप, सम्मान र सम्पत्तिका लागि मात्र शिक्षा होइन शान्तिको लागि पनि शिक्षा हुनुपर्छ ।

 

 Image