Successfully Copied

अन्तर्राष्ट्रिय श्रम संगठनको ऐतिहासिक कदम

संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठनले हालै अर्थात् गत जून १६ का दिन घरेलु कामदार कन्भेन्सन २०११ अर्थात् सी १८९ तथा रिकमेन्डेसन

संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठनले हालै अर्थात् गत जून १६ का दिन घरेलु कामदार कन्भेन्सन २०११ अर्थात् सी १८९ तथा रिकमेन्डेसन १०२ लाई सर्वसम्मतिबाट पारित गरेको छ । जसका लागि भएको मतदानमा ३ सय ९६ मत पक्षमा १६ विपक्षमा परेको थियो भने ६३ सदस्यले चुनाव बहिष्कार गरेका थिए । सी १८९ सदस्य राष्ट्रलाई आबद्ध गर्ने अन्तर्राष्टिय सम्झौता हो भने रिकमेन्डेसनले कन्भेन्सनलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा विस्तृत निर्देशन दिन्छ । सी १८९ र रिकमेन्डेसन १०२ को खास अभिप्राय घरेलु कामदारहरू घर तथा परिवारको देखभाल गर्ने कामदार भएकाले उनीहरूले पनि अन्य कामदारसरह हक, सुविधा र सुरक्षा पाउनुपर्छ भन्ने हो अर्थात् त्यसले अन्य कामदारले पाउने काम गर्ने अधिकतम समय, हप्तामा कमसेकम २४ घन्टा आराम, जिन्सीमा कतिसम्म भुक्तानी दिन सकिन्छ त्यसको हदबन्दी निर्धारण, रोजगारीको टम्र्स एन्ड कन्डिसन, संगठनात्मक स्वतन्त्रता आदि हक-अधिकार सुनिश्चित गर्छ ।

अब प्रश्न उठ्छ-कस्तो कामलाई खासमा घरेलु काम भन्ने अनि घरेलु कामदारहरू को हुन् ? साधारणतया घरेलु काम भनेको त्यो काम हो जुन घरपरिवारभित्र घरका लागि गरिन्छ । यदि कुनै घरपरिवारको काम घरपरिवारका सदस्य आफैले अवैतनिक रूपमा गर्छन् र बाहिरिया मानिसलाई ज्याला वा पारिश्रमिक दिएर काममा लगाइँदैन भने त्यो घरेलु कामको दायरामा पर्दैन । घरेलु काम त्यस्तो काम हो जुन परिवारका सदस्यबाहेक अन्य बाहिरिया मानिसले तलव वा ज्यालादारीमा घर तथा परिवारको देखभालका लागि गर्छन् । घरको देखभाल भन्नाले घर सफा-सुग्घर गर्ने, त्यसको सुरक्षा गर्ने जस्ता कार्यहरू पर्छन् भने परिवारको देखभाल भन्नाले बालबच्चा, बूढाबूढी, अशक्त बिरामी आदिको हेरविचार गर्ने जस्ता कुरा पर्छन् ।

प्राय: घरेलु कामदार जीवन निर्वाहका लागि निरन्तर कठोर संघर्ष गर्छन् । उनीहरू भूमिहीन आमाबुबाका सन्तान हुन्छन् जसले आफ्ना छोराछोरीलाई शिक्षादीक्षा दिन त परै जाओस् दुई छाक राम्रोसँग ख्वाउन पनि सक्दैनन् । अघाउन्जेल खान अर्काको घरमा काम गर्न जाने यस्ता कामदार संसारमा निकै छन् । अधिकांश घरेलु कामदार आर्थिक अवस्था कमजोर भएर बाध्यतावश घरपरिवारले नै अर्काको घरमा काम गर्न पठाइएकाहरू हुन्छन् । अर्काको घरमा काम गर्न पक्कै सजिलो हुँदैन । किनभने घरपतिले घरेलु कामदारहरूबाट लगानी खर्च अर्थात् घरेलु कामदारहरूलाई दिने पारिश्रमिकको अधिकतम लाभ उठाउन खोज्छन् ।

त्यसै त महिलाले पुरुषको ७० देखि ९० प्रतिशत मात्र ज्याला पाउने यो कामको संसारमा घरेलु कामदारहरू औपचारिक रूपमा कामदार नभएकाले क्षमताभन्दा बढी काम गरेर शोषणमा पर्छन् । तिनीहरूको काम गर्ने समयावधि पनि घरपतिले नै तोकिदिएका हुन्छन् । त्यसकारण घरेलु कामदारहरूले थाकें भन्न पाउँदैनन् । उनीहरूले घरपतिले भनेअनुसार काम गर्नुपर्ने हुन्छ चाहे त्यो मानवीय दृष्टिकोणबाट न्यायोचित होस् वा नहोस् । अर्को कुरा, घरेलु कामदारहरूको ज्याला उनीहरूको दक्षतानुसार हुन्छ अर्थात् उनीहरू घर सफा गर्नबाहेक अन्य काम गर्न जान्दैनन् भने उनीहरूको पारिश्रमिक निकै कम हुन्छ । उनीहरूले खाना पकाउन, भाँडा मोल्न, लुगा धुन र बालबच्चालाई फकाई-फुल्याई हेरविचार गर्न जानेनन् भने पारिश्रमिक निकै कम हुनसक्छ ।

हालसालै अन्तर्राष्ट्रिय श्रम संगठनले ११७ सदस्य राष्ट्रमा गरेको सर्वेक्षणअनुसार विश्वमा ५ करोड ३० लाख घरेलु कामदार छन् तर पनि घरेलु काम खुल्ला रूपमा नगरिने र त्यसको खास लेखाजोखा नहुने भएकाले यो संख्या बढेर १० करोड पनि हुनसक्ने विज्ञहरूको दाबी छ । उपलब्ध तथ्याङ्कअनुसार विकासोन्मुुख राष्ट्रमा मात्र वैतनिक रोजगारीको ४ देखि १२ प्रतिशत घरेलु कामदार छन् जसमध्ये ८३ प्रतिशत कामदार त महिला तथा बालिका छन् जुन एक ठाउँबाट अर्को ठाउँमा बसाइ-सराइ गरेका छन् । अरब राष्ट्रमा २ करोड २० लाख आप्रवासी कामदार छन् जसमध्ये एक तिहाई नेपाल, श्रीलङ्का, बंगलादेश, फिलिपिन्स, इन्डोनेसिया र इथियोपियाबाट घरेलु काम गर्न गएका महिलाहरू छन् । त्यस्तै सउदी अरेबियामा १० लाख ५० हजार, लेबनानमा २ लाख ५० हजार तथा जोर्डनमा ७७ हजार आप्रवासी घरेलु कामदार छन् । मित्रराष्ट्र भारतमा मात्र २० लाख ५० हजारदेखि १ करोड घरेलु कामदार भएको अनुुमान गरिएको छ भने संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा मात्र बालबच्चा हेर्ने २ लाख कामदार छन् जसमध्ये अधिकांश महिला नै छन् । उनीहरूमध्ये अधिकांश आप्रवासी, अश्वेत, एकल आमा, अर्काको घरको काम गरी खान बाध्य भएकाहरू छन् जसलाई आफ्नो दस नङ्ग्रा खियाएर आफू मात्र होइन, स्वदेशमा आफ्ना परिवारका सदस्यहरूलाई समेत पाल्नुपर्ने दायित्व छ ।

कुनै व्यक्ति बाध्य वा विवश भएपछि शोषणको मारमा पर्नु स्वाभाविक हो । घरेलु कामदारहरू स्थानीय सरकारी निकायमा दर्ता नहुने हुनाले उनीहरूबाट नाजायज फाइदा उठाउन काम दिलाउने व्यक्तिहरू रत्तिभर हिच्किचाउँदैनन् । उनीहरू यदाकदा वा आंशिक रूपमा काम गर्ने र करको दायराभित्र पनि नपर्ने हुनाले उनीहरूले अन्य कामदारसरह पाउनुपर्ने सुविधा पाउँदैनन् न त उनीहरूको स्वास्थ्य तथा जीवन बीमा नै गरिएको हुन्छ । गरिबीको फाइदा उठाउँदै उनीहरूको राहदानी तथा अन्य महत्वपूर्ण कागजपत्र पनि घरपतिले नै नियन्त्रणमा लिएका हुन्छन् जसले गर्दा छुट्टीमा पनि उनीहरू काम गर्ने ठाउँबाट अन्त कतै सजिलै सँग जान पाउँदैनन् । उनीहरू आफूलाई सन्चो नहुँदा पनि काममा तल्लीन हुन विवश हुन्छन् नत्र उनीहरूको रोजगारी नै गुम्ने सम्भावना बढ्छ । त्यसैले सधंै त्रसित रहनुपर्ने वातावरण सिर्जना हुन्छ ।

यस्तो परिस्थिति हुँदाहुँदै पनि घरेलु काम र घरेलु कामदारहरूको संख्या विश्वमा बढ्दो छ । यद्यपि यो प्रकाशमा नआउने अदृश्य रोजगारी भएको र यसलाई घरमा गर्नुपर्ने कामकाजको विस्तारित रूपमा लिइने हुनाले यसलाई अदक्ष कामका रूपमा लिइन्छ जसले गर्दा उनीहरूले सानोदेखि ठूलो जे काम पनि गर्नुपर्ने मात्र नभई कम ज्यालामा बिहानदेखि बेलुकीसम्म काम गर्न बाध्य हुनुपर्छ । उनीहरूलाई स्तरीय शिक्षाबाट वञ्चित हुनुपर्ने, छुट्टै भाँडामा खानपान गर्नुपर्ने र घरको कुनाकाप्चा वा छिंडीमा बस्नुपर्ने बाध्यता छ । दु:खको कुरा के भने काम गर्ने वातावरण नराम्रो मात्र होइन, उनीहरूलाई सुरक्षाको प्रत्याभूति पनि प्रदान गरिएको हुँदैन । यदि उनीहरू घर छाडेर आएका, कम उमेरका, एकल, पारपाचुके वा लोग्ने नभएका महिलाहरू छन् भने उनीहरूप्रति यौन दुव्र्यवहार र यौन शोषणसमेत हुनसक्छ र उनीहरू घरेलु हिंसाको सिकार बन्न पुग्छन् ।

घरेलु कामदारहरूले घरपरिवारका सदस्यलाई बाहिर गै कमाउन सघाउने हुनाले अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन् तर पनि उनीहरू अदृश्य एवं असुरक्षित मात्र छैनन् उनीहरूको योगदानको कदर पनि भएको छैन । घरेलु कामदारसम्बन्धी कन्भेन्सन सी १८९ तथा रिकमेन्डेसन १०२ को कार्यान्वयनमा सबैभन्दा ठूलो चुनौती भनेको सम्बन्धित घरको गोपनीयता भङ्ग नगरी घरेलु कामदारहरूको अवस्था बुझ्नु अर्थात् कसरी श्रमिकको निरीक्षण गर्ने भन्ने नै हो । कारण लेबर इन्सपेक्टरहरूलाई कसैको घरभित्र पसी जाँचपडताल गर्ने अधिकार छैन । अर्को कुरा, घरेलु कामदारहरूको समस्या घरेलु मात्र होइन, यो नैतिकताको कुरा पनि हो । यो समस्या तबसम्म समाधान हुँदैन जबसम्म रोजगारी दिने घरपतिहरूको मनस्थितिमा आमूल परिवर्तन आउँदैन ।

नीलम प्रधानाङ्ग

 Image