Successfully Copied

प्रमिलाको ‘ब्युटी विथ नेचर’

विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् ।

विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् । हालै उनले पाटनस्थित क्लासिक ग्यालरीमा ‘ब्युटी विथ नेचर’ शीर्षकमा आफ्नो एकल चित्रकला प्रदर्शनी गरेकी छन् । उनले १७ थरीका चराका चित्ताकर्षक १७ वटै चित्र प्रदर्शनीमा राखेकी थिइन् । दुई महिना लगाएर तयार पारिएका १४ वटा चित्र पानी रंगमा छन् भने अरू तीन वटा  ‘एक्रेलिक’ मा छन् । उनले प्रदर्शनीमा राखिएका चित्रहरू बिक्री गरेर प्राप्त भएको पैसा नेपालका सामुदायिक तथा सरकारी विद्यालयका बालबालिकालाई निःशुल्क कला सिकाउन खर्चिने बताइन् । ‘चरा नै किन रोज्नुभयो ?’ भन्ने प्रश्नको उत्तरमा उनले भनिन्, ‘चरा प्रकृतिको सुन्दर र कलात्मक रचना हो । चरा हेर्दा राम्रो मात्र हुँदैन यसले स्वतन्त्रताको उद्घोष पनि गर्छ । स्वतन्त्रताको प्रतीक मानिने चरालाई मैले मानव जीवन र विशेषगरी महिलाको जीवनसँग जोडेर चित्रमा उतार्ने प्रयास गरेकी छु ।’

बाल्यकालमा खाली पाना देख्यो कि चित्र कोर्न थाल्ने उनी प्रवेशिका परीक्षापछि ललितकला क्याम्पसमा भर्ना भइन् । त्यहाँबाट ब्याचलर इन फाइन आर्ट (बीएफए) पूरा गरिन् । चार वर्षअघि उनीद्वारा संचालित ‘आर्टबिट’ नामक संस्थाले तीन वर्षयता मधेसी समुदाय, चेपाङ बस्ती र मुलुकका अन्य भागका बालबालिकालाई निःशुल्क चित्रकला सिकाइरहेको छ । पहुँच नभएका बालबालिकालाई कलाको रंगमा घोल्न पाउँदा आफू निकै खुसी र उत्साहित भएको उनको भनाइ छ । ‘सामुदायिक तथा 

सरकारी विद्यालयका तीन सयभन्दा बढीलाई निःशुल्क आर्ट सिकाइसकें’ प्रमिलाले भनिन्, ‘पहिला म स्टोन कार्भिङ, वाल आर्ट गर्थें । त्यहाँबाट पैसा त आउँथ्यो तर मन खुसी थिएन । जब म यसरी निःशुल्क रूपमा बालबालिकालाई सिकाउन थालें आत्मसन्तुष्टि पाएँ ।’ उनले स्वयम्भूमा बालबालिकालाई रंग र माटोसँग खेल्ने ‘थेरापी सेन्टर’ खोलेकी छन् । त्यहाँ बालबालिका माटोका भाँडा तथा विभिन्न रंग पोतेर चित्र कोर्दै रमाउन सक्छन् ।

 Image