निरन्तरको साधनाले सफल भइन्छ

महिला लेखिकाको त्यति चर्चा हुँदैन । राम्रै लेख्ने महिला पनि आफूलाई अगाडि खोज्दैनन् । वातावरणमा त्यति घुलमिल हुन नसक्नुले पनि महिला पछाडि छन् ।

उपासना घिमिरे

मंसिर २, २०७९

भुवन ढुंगाना (कोइराला), साहित्यकार  

विराटनगरस्थित गहेलीटोलमा ७६ वर्षअघि भुवन ढुंगाना (कोइराला) को जन्म भएको हो । स्थानीय आदर्शबालिका विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौं पुगिन् । अंग्रेजी साहित्यमा स्नातकोत्तर उनी रत्नराज्य क्याम्पसको पहिलो ब्याच हुन् । उनले ‘नेपाल ल क्याम्पस’मा ३२ वर्ष पढाइन् । उनी केही साहित्य संस्थामा आबद्ध छिन् । उनका ‘धर्म बिम्ब’ र ‘युद्धको घोषणाअघि’ शीर्षकका कथा संग्रह र ‘परित्यक्ता’ उपन्यास प्रकाशित छन् । उनी कविता र निबन्ध संग्रह प्रकाशनको तयारीमा छिन् । उनी बीपी कोइराला साहित्यिक सम्मानलगायत विभिन्न पुरस्कारबाट पुरस्कृत भइसकेकी छन् ।साहित्य, जीवन र उनका कामका अनुभवबारेमा ‘नारी’मासिकका लागि गरिएको कुराकानीको सम्पादित अंश ः

आफ्नो शिक्षाका बारेमा बताइदिनुस् न

आइएसम्मको अध्ययन रत्नराज्य क्याम्पसबाट पूरा गरेपछि नृत्यमा रुचि भएकाले रवीन्द्रनाथ ठाकुरले स्थापना गरेको शान्ति निकेतन विश्वविद्यालयमा ब्याचलर पढ्न गएँ । त्यसका लागि अन्तर्वार्ता दिएकी थिएँ, छनोट भएँ । त्यहाँ नृत्य र बंगाली भाषामा स्नातक गरें । पढाइ पूरा भएपछि नेपाल फर्किएँ ।  मणिपुरे नृत्यमा स्नातक गरें । तर, त्यो विषयको पढाइ यहाँका विश्वविद्यालयमा नभएकाले रत्नराज्यबाट मानविकीमा स्नातक गरें । ०७२ मा त्रिभुवन विश्वविद्यालयबाट अंग्रजी साहित्यमा स्नातकोत्तर गरें ।

ढाइ पूरा भएपछि नेपाल ल क्याम्पसमा पढाउन थाल्नुभयो ? सुरुको तलब कति थियो ?

४ सय २० रुपैयाँ तलब पाएकी थिएँ । ०२८ सालमा त्यो रकम निकै ठूलो थियो । राजनीतिज्ञ दमननाथ ढुंगानासँग विवाह भइसकेको थियो । उहाँ राजनीतिमा भएकाले धेरैजसो जेल परिरहनुहुन्थ्यो, आर्थिक अभाव हुन्थ्यो । त्यही पैसाले घर खर्च चलाएँ ।

आफूले पढाएका विद्यार्थीको सम्झना छ ?

अहिलेका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ अधिवक्ता शम्भु थापालाई मैले पढाएकी हुँ । कति विद्यार्थी ठूला पोस्टमा पुगेर अवकाश पनि भएका छन् । पुष्पा भुसाल पनि मेरै विद्यार्थी हुन् । जिल्ला–जिल्लामा जाँदा भेट हुन्छ म्याडम उस्तै हुनुहुन्छ भन्छन् । यसो भन्दा खुसी लाग्छ । विदेशमा पनि धेरै छन् । निरञ्जन थापा, राजदूतलाई पनि पढाएकी हुँ । विद्यार्थीले राम्रो काम गरेर नाम कमाएको देख्दा खुसी लाग्छ । विद्यादान गर्नु रमाइलो पक्ष हो ।

साहित्य लेखनमा कसरी झुकाव भयो ?

घरमा सबै पढ्ने–लेख्ने भएकाले साहित्यका धेरै पुस्तक हुन्थे । पढ्न र लेख्न कुनै किसिमको दबाव थिएन । विद्यालय जीवनमा अंग्रेजी लेखक वर्डस वर्थको ‘लुसी ग्रे’ कविताको कमेन्ट गरेकी थिएँ । त्यतिबेला शिक्षकबाट स्यावासी पाएकी थिएँ । त्यसलाई निरन्तरता दिएँ । शान्ति निकेतनमा साहित्य, कला, संगीत तीनवटै विषय पढाइ हुन्थ्यो । यसले गर्दा पनि साहित्यप्रति म आकर्षित भएँ ।

पहिलोपटक आफ्नो रचना प्रकाशित हँुदा कस्तो महसुस भयो ?

०२६ मा पहिलो कविता मधुपर्कमा प्रकाशित भएको थियो । जुन दार्शनिक खालको थियो । त्यो दिन छापिएको अक्षर हेर्दा एक्साइटमेन्ट भयो, धेरै पटक पढें, सिरानीमुनि राखेकी थिएँ ।  

अहिलेसम्म कति कृति प्रकाशित भए?

दुईवटा कथा संग्रह, एउटा उपन्यास, निबन्ध संग्रह, कविता संग्रह प्रकाशोन्मुख छन् । दुईवटा पाकिस्तानी महिला लेखिकाका पुस्तक अंग्रेजीबाट नेपालीमा अनुवाद गरेकी छु । राजनीतिक उथलपुथल, परिवार हेर्नुपर्ने कारण लेखाइलाई निरन्तरता दिन सकिन । सन्तान भएका कारण बीचमा ब्रेक भयो । फुर्सद भएका बेलामा लेखांै, लेखँैं लाग्थ्यो । त्यसो त मैले साप्ताहिक पत्रिका तथा म्यागेजिनमा लेख पनि लेखिरहन्थें । म र पुरुषोत्तम बस्नेत मिलेर ०२६ मा त्रैमासिक पत्रिका ‘सिउँडी’ पाँच अंक निकाल्यांै । त्यतिबेला लेख लिएर अञ्चलाधीशकोमा देखाउन जानुपथ्र्यो । व्यवस्था विरोधी लागेमा कालो मसी लगाइदिन्थे । त्यसमा मेरो निबन्ध धारावाहिक आउँथ्यो । बीपीका कविता पनि छाप्यौं । मुखपृष्ठमा मैले बनाएको आर्ट छाप्थ्यौं ।

लेख्नका लागि उपयुक्त समय ? लेखनमा कस्तो परिस्थितिले प्रेरित गर्छ ?

खाली समय र रातको समयमा बढी लेख्न मन पर्छ । फिलिङ्स आयो भने कागजमा टिपोट गर्छु र पछि त्यसैलाई डेभलप गर्छु । वरिपरिको पात्र, वातावरण, घटना, आफूले जीवनमा भोगेका वा देखेका कुरा नै लिपिबद्ध गर्ने हो ।  

कथा, कविता, उपन्यासमध्ये कुन विधा लेख्न सहज लाग्छ ?

लेख्ने भन्ने कुरा जुन पनि गाह्रो हुन्छ । रुचिअनुसार भर पर्छ । कविता लेख्न सहज भएपनि भाव मिलाउन गाह्रो हुन्छ । तुलनात्मक रूपमा निबन्ध लेख्न सजिलो हुन्छ । कुनै एउटा विषयमा स्थिर भएर लेख्न सकिन्छ ।

लेखन क्षेत्रमा महिला पुरुषको तुलनामा अगाडि आउन किन नसकेका होलान् ?

महिला लेखिकाको त्यति चर्चा हुँदैन । राम्रै लेख्ने महिला पनि आफूलाई अगाडि खोज्दैनन् । वातावरणमा त्यति घुलमिल हुन नसक्नुले पनि महिला पछाडि छन् । हामीले लेख्दा पञ्चायतकाल थियो, कार्यक्रम हुँदैनथ्यो । आफू–आफूमा चिनिन्थ्यो । यति हुँदाहँुदै पनि बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटालाई देख्यौं ।

पहिलेको तुलनामा अहिलेका लेखक त्यति प्रख्यात हुन नसकेको किन होला ?

समय र शिक्षाको परिपाटी बेग्लै हुँदै आयो । कम्प्युटरमै पढ्ने, पढाउने, डिजिटलमा धेरै भर परे । लेखकले पनि सस्तो लोकप्रियता खोजे । छिटो–छिटो लेख्ने, किताब निकाल्न हतार गरे । यसको चर्चा भएपनि क्षणिक हुन्छ । केही समयपछि सेलाउँछ ।

लङ लास्टिङ र प्रख्यात हुन अध्ययन, बाहिरका र अग्रजले के लेखेका छन्, नाँैलो विचारधारा पनि हुुनुप¥यो, अरुभन्दा फरक हुन लागिपर्नुपर्छ । म नै जान्ने हुँ भन्ने घमण्ड पनि छोड्नुपर्छ । आफूले लेख्ने हो मूल्यांकन अरुले गर्ने हो । सधै प्रशंसा मात्र खोज्नु हुँदैन । अहिलेका पुस्तामा पढ्ने भन्ने छैन, सायद कम्प्युटरको कारणले पनि होला । हाम्रो पालामा हामी बाध्य हुनुपथ्र्यो । सोखले वा बाध्यताले पुस्तक पढ्नैपथ्र्यो, त्यो बेलामा पुस्तकालय जानुपथ्र्यो । अहिलेको जस्तो विकल्प थिएन ।

राम्रो लेखक हुनका लागि के आवश्यकता पर्छ ?

धेरै पढ्नुपर्छ, आफ्नो र अन्य मुलुकका साहित्यकारले कसरी लेख्छन् यी सबै कुरा अध्ययन गर्नुपर्छ ।

प्रसंग बदलौं, श्रीमान् राजनीतिमा लागेको मान्छे, आफूलाई पनि राजनीति गरौं भन्ने लागेन ?

त्यस्तो महसुस कहिल्यै भएन, मेरा बुवा पनि राजनीतिमा लागेको मान्छे, कोइराला परिवारको नजिक थिएँ र पनि त्यो महसुस भएन ।

राजनीतिमा महिला सहभागिता किन कम भएको हो ?

निर्णायक तहमा पुग्न अझ परिश्रम गरेर आफूलाई सक्षम बनाउनुपर्छ । आफूले आफैंलाई विश्लेषण गर्नुपर्छ । अरुले पद नदिएका हुन् कि म आफैं लिन नचाहेको हो कि भनेर स्व मूल्यांकन हुनुपर्छ । महिलाले आफ्नो पहिचान आफैं बनाउनुपर्छ । सक्षम र सफल हुन निरन्तर साधना गरिरहनुपर्छ ।

तपाईंका आगामी योजना के रहेको छ ?

लेखनलाई निरन्तरता दिनेछु । २६ सालदेखिको कविता संकलन गरेर पुस्तक निकाल्छु । राजनीतिमा मँौका पाए पनि आउँदिन । साहित्य लेख्नेले पनि नेतृत्व गरेमा साहित्य कला क्षेत्र पनि अगाडि आउँथ्यो । मुलुक चिनाउने राजनीतिले मात्र पनि होइन ।

महिलाका लागि केही सन्देश छ कि ?

संयमित र लगनशील भई आफ्नो नेतृत्व विकासका लागि आफैं कस्सिनुपर्छ । संघर्ष पनि गर्नुपर्छ ।  समाज र जनतासँग भिजेर काम गर्नुपर्छ । आफूले गरिरहेको कामलाई निरन्तरता दिई सफलता हात पार्ने प्रयास गर्नुपर्छ ।

तस्बिरहरु ः महेश प्रधान

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>