Successfully Copied

ट्रेन्डमा ‘स्टाइलिस्ट’  ब्याग

हाते ब्याग हरेकको आवश्यकता नै हो । धेरैले यसको प्रयोग सामान बोक्नका लागि गर्छन् । पछिल्लो समय भने यो ‘स्टाइल’ र ‘स्टाटस सिम्बोल’ को साधन बनेको छ ।

हाते ब्याग हरेकको आवश्यकता नै हो । धेरैले यसको प्रयोग सामान बोक्नका लागि गर्छन् । पछिल्लो समय भने यो ‘स्टाइल’ र ‘स्टाटस सिम्बोल’ को साधन बनेको छ । यसरी प्रयोग गर्नेमा अभिनेतृ सुरक्षा पन्त पनि पर्छिन् । उनी ब्यागकी सौखिन नै हुन् । बजारमा फरक डिजाइन र स्टाइलिस ब्याग देखे उनका आँखा त्यसमा गडिहाल्छन् । ‘मलाई युनिक डिजाइन मनपर्छ’ उनी भन्छिन् । सुरक्षालाई साधारण पहिरनसँग कलरफुल ब्याग बोक्न औधी मनपर्छ । त्यसैले ब्याग खरिद गर्दा उनी ब्रान्डभन्दा पनि स्टाइललाई प्राथमिकतामा राख्छिन् । ‘ब्याग ब्रान्डेड नै हुनुपर्छ भन्ने छैन’ उनी भन्छिन्, ‘बाटोमा कतै गइरहेका बेला राम्रो ब्यागमा नजर गए किनिहाल्छु ।’ यात्रामा निस्कदा ठूलो ब्याग बोक्ने उनी अरुबेला सानो ब्याग बोक्छिन् । उनले कार्ड, मोबाइल र पैसामात्र बोक्न मिल्ने ब्याग धेरै खरिद गरेको बताइन् । 

त्यस्तै, दीक्षा केसीले सबैभन्दा बढी खर्च ब्यागमै हुने गरेको बताइन् । ‘मिसेस नेपाल वर्ल्ड–२०२१’ की विजेता उनलाई डिजाइन ब्याग धेरै मनपर्छ । ब्याग खरिद गर्दा ब्रान्डप्रति सचेत नभएको उनको भनाइ छ । उनी भन्छिन्, ‘म धेरै सोच्दिन मन पर्‍यो भने किनिहाल्छु ।’

फेसनमा के छ ?

महिलाहरूका लागि ब्याग महत्वपूर्ण एसेसरिज हो । ब्रान्डेड र स्टाइलिस ब्यागले व्यक्तित्वमा सकारात्मक प्रभाव पार्छ । अचेल धेरै प्रकारका ब्याग ‘ट्रेन्ड’मा छन् । विभिन्न रंग र ‘प्याट्रन’ का ब्याग बजारमा पाइन्छन् । यसको छनोट आफ्नो व्यक्तित्व, रुचि, आवश्यकता र पहिरनअनुसार गर्नुपर्छ । 

काठमाडौं न्यूरोडका ब्याग व्यापारी कृष्ण श्रेष्ठका अनुसार ‘साइड ब्याग’ धेरैले रुचाउँछन् । प्रायः टिनएर्जसमाझ लोकप्रिय यस्ता ब्याग बोक्नलाई पनि सजिलो हुने उनको भनाइ छ । ‘लेदरका ह्यान्ड ब्याग जुनसुकै सिजनमा बिक्री हुन्छन्’ उनी भन्छन्, ‘यस्ता ब्याग बहुउपयोगी हुने भएकाले सधै फेसनमा रहन्छन् ।’ 

‘मिनी सोल्डर’ ब्याग पुरानै फेसन हो । तैपनि यो ब्यागको क्रेज अझै छ । फेसनेबल बजारमा यो ब्याग औधी रुचाइन्छ । अलग–अलग सेपमा पाइने यो ब्याग सानो ‘स्ट्रेप’सँग जोडिएको हुन्छ । अघिल्लो वर्ष धेरै चल्तीमा रहेको ‘चेन ह्यान्डिल’ ब्याग यो वर्ष पनि बजारमा देख्न सकिन्छ । ‘स्टाइलिस’ र आकर्षक देखिने यो ब्याग ‘सेमी फर्मल’ र ‘आउटिङ’का लागि उपयोगी मानिन्छ । 

लोकप्रिय ब्रान्ड

ब्यागका प्रसिद्ध ब्रान्डमध्ये ‘क्रिस्चियन डिओर’ एक हो । यो ‘टप ब्रान्ड’ मै गनिन्छ । त्यस्तै,अर्को ‘हर्मिज’ ब्रान्डको ब्यागलाई धेरैले गुणस्तरीय मान्छन् । अन्य विश्व चर्चित ब्रान्डहरूमा ‘कोच’, ‘गुची’, ‘प्राडा’, ‘मर्लिन मुनरो’, ‘डिओर’, ‘लुइस वुइट्टन’ आदि छन् । 

नेपाली बजारमा चिनियाँ र भारतीय हाते ब्याग नै छ्यापछ्याप्ती देख्न सकिन्छ । त्यसबाहेक थाइल्यान्ड, दुबई, कतार, पाकिस्तान, जापान, हङकङ आदि देशबाट पनि ब्याग नेपाली बजारमा भित्रिने गरेका छन् । ‘लभी’, ‘ब्यागिट’, ‘क्याप्रोस’, ‘एस्बेदा’, ‘लडिडा’, ‘लुइस विटन’, ‘गुची’ लगायत ब्रान्डका ब्याग नेपालीहरूले बढी रुचाउँछन् । यी ब्रान्डहरूका ब्याग आकर्षक, स्टाइलिस र युनिक हुने भएकाले नेपालीहरूको पहिलो रोजाइ बन्ने गरेका छन् । 

धेरैजसोले ब्रान्डेडभन्दा पनि फेसनलाई पछ्याउने व्यवसायी कृष्ण बताउँछन् । उनी भन्छन्, ‘अहिलेको युवापुस्ता ब्रान्डेड बोक्नुपर्छ भन्ने सोच भएको कमै हुन्छ, तर बलियो र स्टाइलिस भने हुनुपर्छ ।’ उनीहरू फेरी–फेरी ब्याग बोक्न रुचाउँछन् ।

नेपाली उत्पादनलाई बढुवा

कतिपय हाते ब्याग नेपालमै तयार हुन्छन् । पछिल्लो समय युवापुस्ताले बढी रुचाएका कटन ब्याग नेपालको उत्पादन हो । नेपाली संस्कृति र पहिचान झल्काउने यस्ता ब्याग उनीहरूमा लोकप्रिय बन्दै गएका छन् । स्थानीय स्रोत र साधनको प्रयोग गरी स्थानीय सीपलाई प्रवर्द्धन गर्ने उद्देश्यले बजारको मागअनुसारका सामग्री ‘कोल्पा’ले तयार पार्दै आएको छ । कम्पनीका संस्थापक रवि मल्लले स्वदेशी कच्चापदार्थको प्रयोग गरी झोला तयार पार्ने गरेको बताए । नेपालको पूर्वदेखि सुदूरपश्चिमको पहाडी भेगमा प्रशस्त मात्रामा पाइने अल्लो र भांग्रो (हेम्प) बाट यस्ता ब्याग बनाइन्छ । संखुवासभाका कुलुङ राई समुदायले प्रशोधन गरी बनाइएको कपडालाई पछिल्लो समय आधुनिक जीवनशैलीमा प्रयोग गरिएको बताउँछन् । 

यस्ता ब्याग दैनिक प्रयोग गर्न सकिन्छ । रवि भन्छन्, ‘यी ब्याग बोक्न सहज र आरामदायक हुन्छन् ।’ वातावरणमैत्री हुने भएकाले पछिल्लो पुस्ताले एकदमै रुचाएका छन् । ‘स्टाइलिस’ बनाउनका लागि झोलामा घालको मिश्रण गरी डिजाइन गरिन्छ । जाली झोला धेरैले मन पराउने उनको भनाइ छ । 

विश्वकै महँगो ब्याग

जब कुनै पनि वस्तु सीमित र अनौठो हुन्छ, तब बजारमा त्यसको माग उच्च र महँगो हुन्छ । ‘लक्जरी ब्रान्ड’ र अद्वितीय डिजाइनका कारण यस्ता धेरै ब्यागको चर्चा हुन्छ । ‘डायमण्ड हिमालय बर्कन’ नामको ब्याग विश्वको सबैभन्दा महँगो ब्याग हो । उक्त ब्यागको नेपाली मूल्य ४८ करोड ४० लाख रुपैयाँ पर्छ । गोहीको छालाबाट बन्ने यो ब्याग सेतो रंगमा रंग्याइन्छ । सेतो हिमालमा रहेको चट्टानजस्तो देखिने यो ब्यागमा १८ क्यारेटको ह्वाइट गोल्ड र हीरा जडित हुन्छ । 

‘हर्मेज’, ‘लुई बाटा’, ‘सनेल’, ‘मार्क जेकब्स’, ‘फेन्डी’ जस्ता ब्रान्डको ब्यागको मूल्य करौडौं रुपैयाँ पर्छ । यी ब्रान्डका ब्याग अर्डरअनुसार हातले बनाइन्छ । यसमा प्रयोग हुने कच्चापदार्थ गुणस्तरीय हुन्छ । यो ब्याग बजारमा सजिलै पाइँदैन । ब्याग किन्नुपरेमा सीधैं कम्पनीसँग सम्पर्क गर्नुपर्छ । कम्पनीका प्रतिनिधिले ग्राहकसँग ‘डिल’ गरेपछि मात्र ब्याग किन्न सकिन्छ । आफूले चाहेको ब्याग खरिद गर्न महिनौं कुर्नुपर्छ । 

‘हर्मेज’ ब्रान्डको ‘बर्कन ह्यान्ड’ ब्याग गोहीको छालाबाट बनेको हुन्छ । एक त यो दुर्लभ जनावर त्यसमाथि लामो समयसम्म पाल्नुपर्ने भएकाले यसको मूल्य बढी हुन्छ । गोहीको छालालाई निकै मेहनत गरेपछि मात्र ब्याग बनाउनका लागि प्रयोग गरिन्छ । साथै यसबाट बनेको ब्यागको रंग अन्य ब्यागको तुलनामा आकर्षक हुन्छ । यसमा अन्य रंग लगाइँदैन । अस्ट्रिचको छालाबाट पनि ब्याग बनाइन्छ । 

कुन–कुन मेटेरियलमा पाइन्छ ?

हाते ब्याग विभिन्न ‘मेटेरियल’बाट बनेको पाइन्छ । आफ्नो सहजतालाई ध्यानमा राखेर ब्यागको छनोट गर्न सकिन्छ । ब्याग कटन, जुट, ‘लेदर’, ‘बेम्बो’, ‘प्लास्टिक’, ‘विडेड’, ‘साटन’, ‘डेनिम’, ‘नाइलन’, ‘मेटलिक’, ‘भेल्भेट’, ‘सिल्क’, कढाई गरेको, ‘प्याचवर्क’, जडी भरिएको, मोतीले भरेको आदि पाइन्छ । 

प्लास्टिकबाट बनेको ब्याग सजिलो र सस्तो हुन्छ, तर यस्ता ब्याग वातावरणका लागि राम्रो मानिँदैन । प्लास्टिकको ब्यागले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । कटनबाट बनेको ब्याग ‘इको फ्रेन्डली’ हुनुकासाथै हल्का र बोक्नलाई पनि सजिलो हुन्छ । यसमा धेरै सामान अटाउँछन् । पटक–पटक धोएर प्रयोग गर्न मिल्ने यो ब्याग धेरै टिकाउ हुन्छ । 

पहिरनअनुसार ब्याग

आफ्नो पहिरनअनुसार ब्याग बोक्ने क्रेज बढ्दो छ । युवतीहरू आफ्नो पहिरनसँग ‘म्याचिङ’ गरेर ब्याग खरिद गर्छन् । पछिल्लो समय युवतीहरूमाझ ‘साइड’ ब्याग बोक्ने ‘ट्रेन्ड’ देख्न सकिन्छ । यस्ता ब्याग जुनसुकै पहिरनमा पनि बोक्दा ‘स्टाइलिस लुक’ दिन्छ । दैनिक लगाइने ‘क्याजुअल’ पहिरनमा ‘लेदर ब्याग’ बोक्न सकिन्छ । यस्तो ब्याग लामो समयसम्म टिक्छ । पार्टी ‘वेयर’ वा ‘स्टाइलिस’ पहिरनसँग ‘ज्वेल्ड ब्याग’, ‘पर्स’ वा ‘क्लच’ बोक्न सकिन्छ । यस्तोमा पहिरनको रंगसँग संयोजन मिलाएर ब्यागको छनोट गर्न सकिन्छ । ‘एथनिक’ वा ‘वेस्टर्न’ पहिरनसँग ‘पोटली’ ब्याग बोक्न सकिन्छ । मखमलले बनेको, जडी गरिएको ब्याग यी पहिरनमा औधी राम्रो देखिन्छ । अहिलेका युवतीहरूले ‘स्यान्डिल’को रंगसँग म्याचिङ गरेर ब्याग बोक्ने गरेका छन् । 

उपयोगिताअनुसारको ब्याग

अफिसका लागि लेदरको ब्याग बोक्न सकिन्छ । विभिन्न डिजाइन, सेप र रंगमा पाइने यस्ता ब्यागले ‘स्मार्ट’ देखाउँछ । कतै टाढा यात्रामा निस्कँदा धेरै सामान बोक्नुपर्ने हुन्छ । यस्तोमा ठूलो र बलियो ब्यागको छनोट गर्नुपर्ने हुन्छ । ‘टोट ब्याग’ (कपडाले बनेको) ब्याग वा भिर्ने ब्याग उपयोगी हुनसक्छ । कलेज जाने वा अफिस जाने महिलाहरूले पनि यो ब्याग बोक्न सकिन्छ । 

ब्यागको छनोट र हेरचाह

ब्यागको छनोट ब्रान्ड वा त्यसको ‘प्याट्रन’ बजारमा कत्तिको चलेको छ भनेर मात्र होइन, आफ्नो रुचि, आवश्यकता र सहजताअनुसार खरिद गर्नुपर्छ । ‘स्टाइलिस लुक’ र फरक आकारले मात्र ह्यान्ड ब्याग पूर्ण हुँदैन, त्यसमा प्रयोग हुने छाला, रेक्जिन जस्ता मेटेरियल कस्तो प्रकारको प्रयोग गरिएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसैले ब्याग खरिद गर्दा यी कुरामा ध्यान दिनुपर्छ । गुणस्तरीय ब्याग चिसो वा पानीले बिग्रदैनन् । अर्को कुरा गुणस्तरीय ब्यागले व्यक्तित्वलाई बढाउने काम गर्छ र आत्मविश्वास पनि बढाउँछ । 

सरसफाइमा विशेष ध्यान

सफा ब्यागले ‘डिसेन्ट लुक’ दिन्छ । त्यसैले ब्यागको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । समयमा सफा नगर्नाले ब्यागको चमक हराएर जान्छ । त्यसका साथै फोहोर ब्यागमा ब्याक्टेरिया जम्मा हुने सम्भावना बढी हुन्छ ।

सिजनअनुसार ब्यागको छनोट 

ब्याग हरेक सिजनमा बदल्नुपर्छ । एउटै ब्याग पूरै वर्ष प्रयोग गर्ने बानी राम्रो होइन । ‘स्टाइलिस लुक’ चाहनुहुन्छ भने यो बानी परिवर्तन गर्नुपर्छ । यसले नयाँपन देखिन्छ । 

फरक रंगको प्रयोग

प्रायःजसो महिलाहरूले ब्यागको छनोट गर्दा नयाँ ‘स्टाइल’ र आकारलाई मात्र ध्यान दिने तर रंग उही रोज्ने गरेको पाइन्छ । यसले तपाईंको ब्याग मात्र परिवर्तन हुन्छ तर ‘स्टाइल’ बदलिँदैन । त्यसैले यो बानीलाई आजैदेखि त्याग्नुपर्छ । ब्यागको डिजाइनसँगै रंगलाई पनि प्राथमिकता दिनुपर्छ । भरसक गाढा रंगको भन्दा ‘न्युट्रल’ रंगको ब्यागको छनोट गर्नुपर्छ । यस्तो ब्याग जुनसुकै पहिरनसँग सुहाउँछ । 

गह्रौं नबोक्ने

ब्याग स्टाइलसँगै सामान बोक्ने साधन पनि हो । आफूलाई आवश्यक पर्ने सामान बोक्न ब्यागको प्रयोग गरिन्छ । तर, भएभरका सामान बोक्दा ब्यागको आयु घट्नुका साथै ब्यागको सौन्दर्य र स्टाइल दुवै हराउँछ । त्यतिमात्र नभएर तपाईंको स्वास्थ्यमा पनि नकारात्मक असर पार्छ । भारी ब्याग बोक्दा हात र काँध दुख्न सक्छ । त्यसैले ब्यागमा अत्यावश्यक थोरै सामान बोक्नुपर्छ । 

सही छनोट 

ब्यागको छनोट गर्दा आरामदायक होस् भन्ने कुरा महत्वपूर्ण हुन्छ । कस्तो इभेन्टमा जाने हो सोहीअनुसारको ब्याग बोक्नुपर्छ । यात्रामा निस्कँदा धेरै सामान बोक्नुपर्ने हुँदा त्यहीअनुरुपको ब्याग बोक्नुपर्छ । लञ्च वा डिनरमा जाँदा क्लचको प्रयोग गर्नुपर्छ । त्यसका साथै ब्यागको छनोट गर्दा आफ्नो शरीरको संरचनाअनुसार गर्नुपर्छ । ब्याग धेरै अग्लो, होचो र ठूलो भए असुहाउँदिलो देखिन्छ ।

 Image