Successfully Copied

बजारमा मखमलीको थुंगा

तिहारको भाइटीकामा आवश्यक पर्ने मखमली फूल टिप्न र बजारसम्म पुर्‍याउन किसानलाई यो चाड आउनुअघि नै भ्याईनभ्याई हुन्छ । यो फूल नबिग्रने हुँदा नेपाली बजारमा यसको माग धेरै हुन्छ । किसानहरूले माला उनेरै बजारमा पुर्‍याउँछन् । 

 तिहारको भाइटीकामा आवश्यक पर्ने मखमली फूल टिप्न र बजारसम्म पुर्‍याउन किसानलाई यो चाड आउनुअघि नै भ्याईनभ्याई हुन्छ । यो फूल नबिग्रने हुँदा नेपाली बजारमा यसको माग धेरै हुन्छ । किसानहरूले माला उनेरै बजारमा पुर्‍याउँछन् । 

भक्तपुरस्थित गुण्डुकी अनिता बस्नेतले फूलको व्यावसायिक खेती गरेकी छन् । उनी टनेलमै सयपत्री फूलको खेती गर्छिन् । मौसमी खेतीभन्दा बर्सेनि खेती गर्दा धेरै फाइदा हुने उनले सुनाइन् । यसपटक भाइटीकाअघि नै १८ हजार वटा मखमली फूलका माला बजार पुर्‍याइसकेको उनको भनाइ छ । ठमेलमा प्रतिमाला २५ रुपैयाँमा बेचेको उनले बताइन् । सयपत्री फूलका प्रतिगुच्छा ८ रूपैयाँदेखि १५ रूपैयाँमा बिक्री हुन्छन् । झन्डै २० वर्षदेखि मखमली फूलको खेती गरेपनि उनले टनेलमा व्यावसायिक रूपमा खेती गरेको भने पाँच वर्ष भयो ।
गुण्डुका लगभग हरेक घरमा मखमली फूलको खेती हुन्छ । अहिले मखमली फूलका बोटहरू खाली हुन थालिसकेका छन् । कतिपय कृषकले साउनदेखि नै मखमली फूलका माला बनाउन थालिसकेको उनले बताइन् । ‘मखमली फूल जता रोप्दा पनि हुने भएकाले घरमै बस्ने कृषकलाई फाइदा हुन्छ । तर व्यावसायिक रूपमा खेती गर्नेलाई भने घाटा हुन्छ’ उनले भनिन्, ‘फूल टिपी माला उनेर पसलमा पुर्‍याउँदा जम्मा २५ रूपैयाँ हुन्छ । तर घरमा यत्तिकै बसेर मखमली फूलको माला बेच्नेलाई भने फाइदै हुन्छ ।’
गुण्डुकै सरिता बस्नेतले पनि सयपत्रीको व्यावसायिक खेती सुरु गरेकी छन् । उनका अनुसार खेती गर्न सके मखमलीभन्दा सयपत्री फूलको धेरै व्यापार गर्न सकिने उनले सुनाइन् । दसैंमा गमलासहितका फूलका बिरुवाहरू बिक्री हुन्छन् भने तिहारमा माला धेरै बिक्री हुन्छ । दुई रोपनी जग्गामा सयपत्री र मखमली फूलको खेती गर्दै आएकी छिन् । गत वर्ष झन्डै साढे एक रोपनी जग्गाबाट एउटा सिजनमा मात्रै ७० हजार रुपैयाँको फूल बेचेकी सरिताले यस वर्ष ३० हजारको मात्रै बेचिन् । डडुवा रोगले बिरुवा मर्दा धेरै कमाइ हुन नसकेको उनले सुनाइन् । ‘गर्न सक्यो भने फूलबाट राम्रै आम्दानी हुन्छ, त्यति धेरै काम हुँदैन घरमै बसेर सुकिलो मुकिलो भएर काम गर्न पाइन्छ,’ उनले भनिन, ‘मखमलीभन्दा सयपत्री फूलको खेती गर्न धेरै सजिलो छ ।’ फूल खेती गरेकै कारण घरका पुरुषसँग पैसा माग्नु नपरेको उनले सुनाइन् । तिहारमा समेत सयपत्री पनि गुच्छामै बेच्छिन् । गत वर्ष प्रतिमाला २२ देखि ३५ रुपैयाँसम्म मखमली बेचेकी थिइन् । उनका अनुसार झन्डै आधा रोपनी जग्गाबाट एक हजारदेखि १२ सय वटासम्म मखमलीको माला निस्कने उनले सुनाइन् । 
भक्तपुरकै ताथलीका रामेश्वर बासीले पनि फूल खेती गरेका छन् । उनले भूकम्पपछि फूलको व्यावसायिक खेती सुरु गरेपनि सयपत्री यसपाली मात्रै हो । गुलाब, जर्बेरालगायत फूलको व्यावसायिक खेती गरेका छन् । खुल्ला क्षेत्रमै सयपत्री फूल खेती गरेका छन् । सयपत्री फूल खेतीलाई पनि निरन्तरता दिने योजना रहेको उनले सुनाए । सयपत्रीको मौसमीभन्दा लगातार खेती गर्दा फाइदा हुने उनको अनुभव छ । ‘गुच्छाको २० रुपैयाँ दिँदा एउटै मालामा ३० वटाभन्दा बढी थुंगा चाहिन्छ । मालामा समय पनि धेरै दिनुपर्छ,’ उनले भने, ‘त्यसैले फूलको गुच्छा नै बेच्छौं ।’ उनले झन्डै तीन रोपनी जग्गामा सयपत्री फूलको खेती गरेका छन् । सयपत्रीको खेती टनेल र खुल्ला दुवै ठाउँमा गर्न सकिन्छ । 
सयपत्री फूल किसानले दसैं अगावै टिप्न थालिसकेका हुन्छन् । फुलिसकेका फूल दसैंको साताअघिदेखि नै टिप्न सुरु गरेको फ्लावर नेपालका विकेश कर्माचार्यले बताए । ‘तिहारमा फूलका माला मात्रै धेरै बिक्री हुन्छन्, अहिले खुला फूल र गुच्छा बिक्री हुने गरेका छन्,’ उनले भने, ‘ठूला फूलको माला राम्रो हुँदैन । दसैंमा टिपेपछि तिहारमा मालाका लागि साना र राम्रा फूल आएका छन् ।’ झन्डै चार रोपनीजग्गामा रोपेको सयपत्री फूलबाट गत वर्ष ७/८ लाख आम्दानी भएको थियो । यस वर्ष पनि मूल्य पाएको खण्डमा राम्रै आम्दानी हुने उनको अपेक्षा छ ।


अघिल्लो तिहारमा सयपत्री, गोदावरी र मखमली फूलका माला मात्रै ११ करोड ५६ लाख बराबर मूल्य पर्ने १९ लाख ३५ हजार वटा खपत भएको थियो । अहिलेको तिहारमा १३ करोड १० लाख बराबर मूल्य पर्ने २३ लाख ४५ हजार वटा माला खपत हुने एसोसियसनले अनुमान गरेको छ । गत आर्थिक वर्ष देशभर दुई अर्ब ३७ करोड ४८ लाख रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । त्यसमध्ये आन्तरिक फूलको कारोबार दुई अर्ब एक करोड ४३ लाख रुपैयाँ र बाँकी ३६ करोड पाँच लाख रुपैयाँ बराबरको अन्य फूल, मालालगायत बिरुवाहरूको आयात भएको थियो । 
एसोसियसनको तथ्यांक हेर्दा गत आर्थिक वर्षमा १ सय ६ प्रतिशतले फूल निर्यात बढेको छ । अघिल्लो वर्ष ०७७/७८ को तुलनामा फूल निर्यात बढेको र आयात घटेको एसोसिएसनले जनाएको छ । यस्तै छ दशमलव ८७ प्रतिशतले आयात घटेको छ । चालु आर्थिक वर्षमा भने फूल आयात बढ्न सक्ने एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए । 
कोरोना महामारीका कारण पुष्प व्यवसायमा लगानी बढ्न नसक्दा आन्तरिक माग धान्न नसकिएको उनको भनाइ थियो । ‘फूलको माग बर्सेनि १० देखि १५ प्रतिशत बढ्दै गएको छ,’ उनले भने, ‘कोरोनामा घाटा हुँदा धेरैले लगानी बढाउन सकेनन्, अहिले आर्थिक मन्दी छ । तर पनि धेरथोर बढेको छ ।’ 
फागुनमा गुलाबको फूल, तिहारमा मखमली, गोदावरीलगायत मौसमी फूलको खपत बढी हुन्छ । दसैंमा भने फूलसहितका गमला र साना बिरुवा धेरै बिक्री हुने उनले सुनाए । अहिले नेपालको माग ९० प्रतिशत आन्तरिक उत्पादन र १० प्रतिशत आयातीत फूलले माग धान्दै गएको उनले जनाए । 

 Image