Successfully Copied

संस्कृत मोह 

पूर्वीयदर्शन, भाषा र साहित्यका मर्मज्ञ तथा ज्ञानकोषका चर्चित व्यक्तित्वमध्येका एक हुन्, शिवराज आचार्य । ०२४ सालताका उनले  ‘नेपाली भाषा’ आन्दोलन चलाए ।

पूर्वीयदर्शन, भाषा र साहित्यका मर्मज्ञ तथा ज्ञानकोषका चर्चित व्यक्तित्वमध्येका एक हुन्, शिवराज आचार्य । ०२४ सालताका उनले  ‘नेपाली भाषा’ आन्दोलन चलाए । नेपाली भाषाका प्रयोगकर्ताले स्वाभाविक उच्चारणको अनुकूल लेखन हुनुपर्छ,जस्तो उच्चारण हुन्छ त्यस्तै लेखिनुपर्छ भनेर पनि आन्दोलन चलाए । शिवराजले आफूले मात्र संस्कृत पढेनन्, छोरालाई पनि पढाए । उनको संस्कृत पछिल्लो तेस्रो पुस्तासम्म आइपुगेको छ । उनकै नातिनी ऐन्दवी शर्मा हाल बाल्मीकि विद्यापीठमा आचार्य प्रथम वर्षमा अध्ययनरत छिन् । उनलाई संस्कृत पढ्नमा हजुरबुवाले नै हौसला दिएका हुन् । उनलाई शिवराजले भन्थे, ‘संस्कृत नपढी जीवन र जगत् बुझिँदैन ।’ पारिवारिक वातावरण नै संस्कृत भएकाले उनलाई संस्कृत पढ्न गाह्रो भएन । तर, पढेर के गर्ने, किन संस्कृत पढेको जस्ता प्रश्नहरूले उनलाई असहज महसुस गराइरह्यो । उनले भनिन्, ‘हामीलाई यस्तो बनाइदिन्छ कि संस्कृत पढेर कुनै काम नै छैन ।’ संस्कृत पढेर स्कोप छैन भन्नु चाहिँ मानिसको संस्कृतप्रतिको बुझाइ नरहेको उनी ठान्छिन् । उनले मुख्य विषय अंग्रेजीसँगै इतिहास पुराण पनि पढिरहेकी छन् । यसमा १६ वटा पुराणको व्याख्या गरिएको छ जुन उनको रुचिकै विषय हो । उनी भन्छिन्, ‘हजुरबुवाले भनेजस्तै संस्कृतले जीवन बुझाइ र भोगाइलाई सहज बनाइदिएको छ ।’ आफूलाई अगाडि बढाउन उनले यसमा धेरै अवसर देखेकी छन् । तीमध्ये प्राध्यापक बन्नेदेखि लोकसेवा आयोगसम्मको तयारी पनि हो । 

‘पण्डित भनेका विद्वान् हुन् । विद्वान्हरूले मात्र संस्कृत पढ्न र बोल्न सक्छन्’ भन्ने बालापनको बुझाइ थियो सुभद्रा रिजालको । त्यही भएर उनलाई हजुरबुवा विद्वान् लाग्थे किनभने उनका हजुरबुवाले संस्कृत बोल्न र पढ्न जानेका थिए । हजुरबुवाले मीठो स्वरमा पढ्ने संस्कृत श्लोकहरू सुन्न उनलाई रमाइलो मात्र लागेन, संस्कृत पढ्न र बुझ्न पनि रहर जागेर आयो । धादिङको सिम्लेमा विद्यालय तहमा पढ्दै गर्दा हजुरबुवासँग संस्कृत सिक्न थालिन्, श्लोकहरू सुन्न र बुझ्न थालिन् । विद्यालय तहको अध्ययन गर्न ‘प्लस टु’ मा व्यवस्थापन विषयमा भर्ना भइन् । तर, उनलाई व्यवस्थापनको पढाइले भन्दा पनि संस्कृत भाषा र श्लोकप्रति आकर्षण बढ्न थाल्यो । धादिङमा ‘प्लस टु’ सकेर उनी बाल्मीकि क्याम्पसमा संस्कृत पढ्न आइपुगिन् । अन्य विषयबाट आएर स्नातकमा अध्ययन गर्न क्याम्पसमा ६ महिनाको प्राज्ञ शास्त्री पूरा गर्नुपर्छ जुन उनले पूरा गरिसकेकी छन् । सुरुवाती दिनमा उनलाई हजुरबुवाले श्लोक भनेर बुझेजस्तो पढ्न गाह्रो थियो तर पनि उनले निरन्तरता दिइरहेकी छन् । उनले संस्कृत व्याकरण विषय लिएर अध्ययन गरिरहेकी छन् । संस्कृत व्याकरण बुझ्न सके धेरै पढ्न र लेख्न सहज हुने उनले बताइन् । उनले भनिन्, ‘व्याकरण भनेको यस्तो विषय हो, एउटा शब्द बोल्दा र लेख्दा त्यो शब्द कहाँबाट आयो, कसरी उत्पत्ति भयो यसका सूत्रहरू के हुन् ? यी सबै कुरा एकैसाथ थाहा हुन्छ । जसले गर्दा पढ्न र बोल्न धेरै सहज हुन्छ । संस्कृत पढ्नमा परिवारको साथ–सहयोग भएपनि अरुबाट यसको स्कोप कस्तो छ ? पढेर के गर्ने जस्ता प्रश्नहरू आएपनि आफूले संस्कृत पढेर प्राध्यापक बन्ने, लोकसेवा पढ्ने जस्ता थुप्रै क्षेत्रहरू आफूलाई खुल्ला भएको उनले बताइन् ।

संस्कृत व्याकरण बुझ्न सके धेरै पढ्न र लेख्न सहज हुन्छ । व्याकरण यस्तो विषय हो एउटा शब्द बोल्दा र लेख्दा त्यो शब्द कहाँबाट आयो, कसरी उत्पत्ति भयो यसका सूत्रहरू के हुन् ? यी सबै कुरा एकैसाथ थाहा हुन्छ– सुभद्रा रिजाल  

मच्छेगाउँकी प्रकृति ढुंगानाका बुवाआमा नै योग प्रशिक्षक हुन् । योगलाई उनले नजिकबाट नियाल्ने प्रयास गरिन् । उनी अभिभावको सल्लाहअनुसार ‘तन्त्र योग’ पढ्न बाल्मीकि क्याम्पस पुगिन् । उनी शास्त्री दोस्रो वर्षमा योग तन्त्र रुचिका साथ अध्ययन गरिरहेकी छन् । अध्ययनले उनलाई व्यावहारिक रूपमा धेरै सहज बनाइदिएको छ । तन्त्रमा उनले थुप्रै सिद्धान्त सिकेकी छन् । तन्त्र अध्ययन गर्दा जति उनले आफूलाई बुझ्ने मौका पाइन् त्यति अरुलाई बुझाउन कठिन छ । उनले भनिन्, ‘तन्त्र भनेको धेरैले टुनामुना लगाउने हो भनेर बुझ्छन्, तर यसको सिद्धान्त र अर्थ छुट्टै छ, जुन अध्ययनबाट थाहा पाउन सकिन्छ ।’ तन्त्र र योगको पढाइले उनलाई जति आनन्द दिएको छ त्यति चिकित्सक बन्दा पनि हुँदैनथ्यो जस्तो लाग्छ । सानैदेखिको उनको लक्ष्य भने चिकित्सक बन्नु नै थियो । चिकित्सक बन्ने सपना बोकेर उनले केही समय विज्ञान विषय पनि पढिन् । यो विषय आफ्ना लागि उपयुक्त नभएको भन्दै उनी तन्त्रतिर आकर्षित भइन् । संस्कृत तन्त्र–योगजस्तो पढाइले पुराण इतिहासदेखि साहित्य, व्याकरण सबै बुझ्ने अवसर पाउने उनी बताउँछिन् । उनले भनिन्,‘अहिलेको पढाइ ‘करिअर फोकस’ मात्र छ व्यावहारिक ज्ञान छैन तर हामीले पढेको विषय यस्तो छ जसले पढाइसँगसँगै व्यावहारिक ज्ञान पनि प्राप्त हुन्छ । ’

पछिल्लो समय संस्कृत पढेर भविष्य बनाउने महिलाहरूको संख्या बढ्दै गएको देखिन्छ । संस्कृत विद्यालयहरूमा संस्कृत मात्र नभई अंग्रेजी, नेपाली, ज्योतिष, वेद, व्याकरण, इतिहास पुराण, न्याय, तन्त्र आदि विषयहरू पढाइ हुने गरेकाले विद्यार्थीहरूयसप्रति आकर्षित हुन थालेका छन् । एउटा समय थियो– महिलाहरूले संस्कृत पढ्न वा बोल्न हुँदैन, व्यासमा पनि महिला बस्नु हुँदैन भन्ने मान्यता थियो । यसको अनुभव बटुलेकी छिन्, धापासीकी सविना नेपालले । उनले नौ वर्षको उमेरदेखि नै गुरुकुलमा बसेर पढिन् । एसएलसी दिन भने उनी भारत पुगिन् । त्यसबेला गुरुकुलमा महिलाहरूले एसएलसी दिन पाउँदैनथे, पुरुष बटुकहरूले मात्र दिन पाउँथे । त्यसबेला महिलाहरूले संस्कृत पढ्न नहुने र व्यासमा पनि महिलाहरू बस्न हुँदैन भन्ने मान्यता थियो । भारतबाट एसएलसी दिएर जब उनी क्याम्पस भर्ना भइन् उनलाई संस्कृत पढाइबारे सोधिरहन्थे । तीन वर्षअघि आचार्य सकेकी उनी पछिल्लो समय नेपालमा भागवत पाठ गर्छिन् । पुराण वाचनको क्रममा उनी थुप्रै ठाउँमा पुगेकी छन् । पछिल्लो समय भागवत भन्ने महिलाहरूको संख्या पनि बढ्दै गएको र समाजले पनि सकारात्मक रूपमा हेर्न थालेको उनको अनुभव छ । पुराण भन्ने महिलाहरूले मान–सम्मान पाउन थालेका छन् । उनीहरूको स्वर निकै मीठो भएको प्रशंसा हुँदा उनी दंग पर्छिन् । उनले भनिन्, ‘महिलाहरूले पुराण वाचन गर्दा आदर गर्ने चलन बस्दै गएको छ, यसले महिलाहरूलाई संस्कृत पढ्न र काम गर्न पनि हौसला प्रदान गरेको छ ।’ पुराण वाचनका क्रममा आम्दानी पनि हुन थालेको छ । पुराण वाचनका क्रममा आफ्नो पारिश्रमिक तोक्ने चलन पनि बढ्दै गएको छ । तर उनले आफ्नो पारिश्रमिक तोक्ने गरेकी छैनन्, भक्तजनहरूले जति दिन्छन् त्यति नै लिने गरेको उनी बताउँछिन् । उनले भनिन्, ‘भागवत पुराण बिक्री हुने वस्तु होइन, जब पुराण बिक्री हुन थाल्छ तब कथाको सार सिद्धिन्छ ।’

शास्त्री दोस्रो वर्षमा ‘प्राचीन न्याय’ विषयमा अध्ययनरत अनुशा लामिछाने एकादशी कथा, पुरुषोत्तम महिमा, भागवत पाठ वाचन गर्छिन् । पुराण वाचनका क्रममा उनी धेरै ठाउँमा पुगेकी छन् । उनका वाचन शैलीका प्रशंसक धेरै छन् । भजन श्लोक, पुराण वाचन गरेर आर्थिक रूपमा सबल हुन सकिने उनले बताइन् । उनले संस्कृत बालापनमै बुवाबाट सिकेकी हुन् । संस्कृत माविबाट उत्तीर्णपछि उनी बाल्मीकि विद्यापीठमा अध्ययन गर्दैछिन् । संस्कृत पढेर जीवनमा लागू गर्दा मनैदेखि आनन्द हुने उनले बताइन् । उनले भनिन्, संस्कृत भाषाले आफ्नो अस्तित्व धर्म–संस्कृति बुझाउँदै नियममा बस्न सिकाउँछ ।’

प्रियम्बदा आचार्य काफ्ले प्राध्यापक, वाल्मीकि विद्यापीठ

संस्कृत पढ्ने विद्यार्थीहरूको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय संस्कृत आवश्यक ज्ञान र विषय रहेछ भन्ने धेरैलाई महसुस भएको छ । संस्कृत यस्तो भाषा हो जसको अध्ययनले इतिहास, साहित्य व्याकरण, दर्शनजस्ता थुप्रै विषयबारे एकसाथ ज्ञान प्राप्त गर्न सकिन्छ । धेरैलाई लाग्छ संस्कृत पढेर के गर्ने ? भविष्य कसरी बनाउने ? कर्मकाण्डका लागि मात्रै संस्कृत पढाइ हुने भन्ने बुझाइ नै गलत छ । संस्कृत पढाइका धेरै स्कोप छन् । चण्डी, रुद्री, भागवत पाठ सहज रूपमा गर्न सकिन्छ । यसबाट छोटो समयमै प्रशस्त आम्दानी गर्न सकिन्छ । पछिल्लो समय गुरुकुलदेखि संस्कृत विश्वविद्यालय खुलिसकेका छन् जसमा प्राध्यापन गर्न सकिन्छ, लोकसेवामा पनि जान सकिन्छ । धर्म, अर्थ, काम, मोक्ष आदिविषयलाई सन्तुलित गरी जीवन जिउने एउटा पद्धति भनेकै संस्कृत हो । यो हरेकलाई आवश्यक छ । अब हरेक पाठ्यक्रममा संस्कृत समावेश हुन जरुरी भइसक्यो । 

 

अहिलेको पढाइ ‘करिअर फोकस’ मात्र छ व्यावहारिक ज्ञान छैन तर हामीले पढेको विषय यस्तो छ जसले पढाइसँगसँगै व्यावहारिक ज्ञान पनि प्राप्त हुन्छ – प्रकृति ढुंगाना 

पछिल्लो समय भागवत भन्ने महिलाहरूको संख्या पनि बढ्दै गएको र समाजले पनि सकारात्मक रूपमा हेर्न थालेको छ – सविना नेपाल 

 Image