Successfully Copied

फेसन शिक्षामा आकर्षण

कुनै पनि व्यक्तिको वर्ण, उचाइ र शारीरिक बनावटअनुरूप पहिरनको परिकल्पना गर्नु नै ‘फेसन डिजाइनिङ’ हो ।

कुनै पनि व्यक्तिको वर्ण, उचाइ र शारीरिक बनावटअनुरूप पहिरनको परिकल्पना गर्नु नै ‘फेसन डिजाइनिङ’ हो । यद्यपि यसमा पहिरनको डिजाइन मात्रै पर्दैन । यो त ‘ग्राफिक्स डिजाइन’देखि ‘मोडलिङ’, ‘कोरियोग्राफी’, व्यवस्थापन, ‘मार्केटिङ’, ‘र्‍याम्प वाक’ लगायतका विषयसमेत समेटिएको कोर्स हो । ‘फेसन भनेको पहिरन शैली मात्र होइन’ र्‍याफल्स इन्स्टिच्युड अफ फेसन एण्ड आर्टका संस्थापक एलेक्स वासुकला भन्छन्, ‘तपाईंको जीवनशैली, व्यवहार, बोल्ने–खाने तरिका सबै फेसन हो ।’ ‘कस्ट्युम डिजाइनर’ समेत रहेका उनले धेरै व्यक्तिहरूले अपनाउने शैली नै फेसन भएको बताए । उपभोक्ताहरूको झुकाव कतातिर छ ? बजारको माग कस्तो छ ? उनीहरूको मनपर्ने–नपर्ने, रुचि, आवश्यकता बुझेर पहिरनको ‘डिजाइन’ गर्नु ‘फेसन डिजाइनिङ’ भएको उनको भनाइ छ । 
‘नमुना कलेज अफ फेसन टेक्नोलोजी’का‘भाइस प्रिन्सिपल’जीवेश्वर श्रेष्ठका अनुसार ‘फेसन’ भनेको ‘ट्रेन्ड’लाई फ्लो गर्नु हो । उनी भन्छन्, ‘फेसन ट्रेन्डलाई समाजले स्वीकार गरेको हुनैपर्छ ।’ ‘फेसन’को नाममा जस्तो पनि पहिरन बनाउन सकिँदैन । उनका अनुसार ‘फेसन’ भनेको समयानुसार आफूलाई ढाल्नु पनि हो ।

किन पढ्ने ?
‘नमुना कलेज’की संस्थापक ज्ञानीशोभा तुलाधर भन्छिन्, ‘यो स्वतन्त्र पेसा हो ।’ उनका अनुसार यो पेसामा कसैको थिचोमिचो सहनु पर्दैर्न, आफै व्यवसाय सञ्चालन गर्न सकिने हुनाले आफ्नो इच्छानसार काम गर्न सकिन्छ । ‘यो आफ्नो सिर्जनात्मक क्षमता देखाउने पेसा पनि हो’ उनी थप्छिन्, ‘त्यसैले नयाँ–नयाँ प्रविधि, ट्रेन्ड सधैं पछ्याइरहनुपर्छ । जसकारण एउटै काम गर्नुपर्ने बाध्यता हुँदैन र चाँडै बोर नहुने हुन्छ ।’
‘आईईसी कलेज’की प्रबन्ध निर्देशक शैलजा अधिकारीका अनुसार यो कोर्स ज्ञानका साथसाथै सीप हो, जसकारण विद्यार्थीहरूले सजिलै रोजगारीको अवसर पाउँछन् । ‘सीप भएकाहरू ग्लोबल मार्केटमा सजिलै जान सक्छन्’ उनी भन्छिन्, ‘हातमा सीप भएपछि विश्वको जुनसुकै कुनामा गएर पनि काम गर्न सकिन्छ ।’

करियर कस्तो छ ?
ज्ञानीशोभाका अनुसार ‘फेसन’प्रति मानिसहरूको चेत बढेसँगै यसप्रतिको आकर्षण बढ्दो छ । उनी भन्छिन्, ‘त्यसैले यो व्यवसाय निकै फस्टाएको छ ।’ विद्यार्थीहरूलाई अन्य कोर्स गर्दा पढाइ सकेपछि जागिर पाइन्छ वा पाइँदैन ? पाए पनि कस्तो हुन्छ ? भन्ने चिन्ता हुनसक्छ । यो कोर्स सक्नेबित्तिकै आफ्नै व्यवसाय सुरु गर्न सक्ने भएकाले पनि यसप्रतिको ‘क्रेज’ बढेको उनको भनाइ छ । 
‘कोर्स सकेपछि विद्यार्थीहरूले फेसन डिजाइनरको काम नै गर्नुपर्छ भन्ने छैन’ जीवेश्वर भन्छन्, ‘विद्यार्थीहरूले टेक्सटाइल डिजाइनर, फेसन इन्टरप्रेनरसीप, कस्ट्युम डिजाइनर, इम्ब्रोइडरी डिजाइनर, फेसन फोरकास्टर, डिजाइनर म्यानेजर, एसेसरिज डिजाइनर, फेसन ट्रेन्ड मेकर, फेसन स्टाइलिस्ट, प्रोडक्सन म्यानेजरको काम गर्न सक्छन् ।’


शैलजा पनि यसमा सहमत छिन् । ‘यो कोर्समा विद्यार्थीहरूलाई फेसन डिजाइन मात्र सिकाइँदैन । यहाँ विद्यार्थीहरूलाई बिजनेस कसरी सुरु गर्ने, मार्केटिङ कसरी गर्ने, स्टाफहरूको म्यानेजमेन्ट कसरी गर्ने, बजारीकरण कसरी गर्ने, नेतृत्व कसरी गर्ने, प्रचारप्रसार कसरी गर्ने आदि सबै कुरा यही कोर्सअन्तर्गत सिकाइन्छ’उनी भन्छिन्, ‘त्यसका अतिरिक्त राष्ट्रिय–अन्तर्राष्ट्रिय कानुनका बारे पढाइन्छ ।’ उनका अनुसार विद्यार्थीहरूलाई कसरी बोल्ने, हिँड्ने, खाने, मेकअप कस्तो गर्नेदेखि उनीहरूको सम्पूर्ण ‘ग्रुमिङ’ पनि गरिन्छ । ‘यहाँबाट कोर्स गरेका ९५ प्रतिशत विद्यार्थीले रोजगार पाएका छन् । कतिपयको आफ्नै व्यवसाय छ’ एलेक्स भन्छन्, ‘यहाँ भर्ना भएका विद्यार्थीले जागिरको सुनिश्चितता पाउनेछन् ।’ यही इन्स्टिच्युटद्वारा सञ्चालन भएका बुटिकमा पनि काम गर्न पाउने उनको भनाइ छ । ‘हामीले विभिन्न कम्पनीसँग ‘टाइ अप’ गरेका छौं त्यहाँ ‘अप्रोच’ गरिदिने पनि गर्छौं,’उनले भने । 
‘र्‍याफल्स इन्स्टिच्युड’ बाट ‘फेसन डिजाइन’ को कोर्स गरेकी सुस्मिता तामाङ ‘फेसन डिजाइनर’ का रूपमा सक्रिय छिन् । उनले स्नातकसम्मको अध्ययन पूरा गरेकी छन् । सजिलै काम पाइने र यसप्रतिको रुचिले उनलाई यो पेसाले तान्यो । उनी भन्छिन्, ‘सानैदेखि फेसन डिजाइनप्रति रुचि थियो ।’ ‘फेसन सो’ मा ‘स्टाइलिस’ पहिरन लगाएर ‘र्‍याम्प’ मा हिँडेको देख्दा उनलाई पनि यस्तै पहिरन डिजाइन गर्न मन लाग्थ्यो । उनले ‘प्लस टु’ को पढाइ सक्नेबित्तिकै ‘फेसन डिजाइनिङ’को १५ महिने कोर्स लिएकी थिइन् । 
उनीजस्तै विवेक कटुवाललाई पनि ‘फेसन’ प्रति सानैदेखि रुचि थियो । उनी पनि टेलिभिजनमा ‘फेसन सो’ हेर्दै त्यस्तै पहिरन डिजाइन गर्ने कल्पना गर्थे । उनले ‘प्लस टु’ को पढाइ सकेपछि स्नातक तहमा ‘फेसन डिजाइनिङ कोर्स’ गर्ने सोचे । उनी भन्छन्, ‘मेरो परिवारमा फेसन पढ्नका लागि अनुमति थिएन ।’ ‘फेसन डिजाइनिङ’ को कोर्सलाई अझै पनि तल्लो स्तरको पढाइ नै सोच्ने गर्छन् । उनको परिवारकाले पनि यही सोच्थे । उनी थप्छन्, ‘छोराले डाक्टर, इन्जिनियर वा अरु कुनै पेसा रोजे हुन्थ्यो भन्ने हरेक परिवारको सोचाइ हुँदोरहेछ ।’ परिवारलाई ‘कन्भिन्स’ गरेर उनी नमुना कलेजमा भर्ना भए । दोस्रो ‘सेमेस्टर’ पढ्दै गर्दा उनले ‘टोट ब्याग डिजाइन’ गरे । ‘यो ब्यागले राम्रै बजार पायो’ उनी सुनाउँछन् ‘त्यसपछि मेरो परिवारमा रोकतोक भएन ।’ सातौं ‘सेमेस्टर’ पढ्दा उनले ‘इन्टरसीप’ गर्नुपर्ने भयो । नाटकमा ‘कस्ट्युम डिजाइर’ का रूपमा काम गरे । त्यहाँ उनले धेरै सिक्ने मौका पाए । हाल उनी ‘विन्टर कलेक्सन’ सार्वजनिक गर्ने तयारीमा छन् । 


सुस्मिता र विवेकजस्तै ‘फेसन डिजाइनिङ कोर्स’ पछिल्लो पुस्तामा धेरैको रोजाइ बनेको छ । यसले नेपालमा फेसनप्रति सचेत हुने जमात बढेको देखाउँछ । शैलजा पुराना दिन सम्झिँदै भन्छिन्, ‘त्यो समयमा फेसन डिजाइनिङबारे औपचारिक शिक्षा त्यति सुनिएको थिएन ।’ अहिले यसप्रति युवाहरूको आकर्षण बढेको देख्दा फेसनको विश्वबजारमा नेपाली युवाहरूको उपस्थिति बाक्लिन धेरै समय नलाग्ने उनी जिकिर गर्छिन् । 

कहाँ र कति खर्च ?
‘फेसन डिजाइनिङ कोर्स’ हाल सबैभन्दा आकर्षक पाठ्यक्रममध्ये एक बनेको छ । आर्थिक रूपमा सक्षम बन्नका लागि सहयोगी र रचनात्मक क्षमता भएकाहरूलाई उजागर गर्ने ठाउँ हो । ‘फेसन’ प्रति रुचि बढ्नुमा अन्तर्राष्ट्रिय रूपमा नाम कमाएका नेपालका अग्रणी ‘फेसन डिजाइनर’ बाट प्रेरित भएर पनि हो । ‘फेसन डिजाइनिङ’ गर्न चाहनेहरूको संख्या बढ्दै गएपछि नेपालमा ‘डिजाइनिङ कोर्स’ उपलब्ध गराउने कलेज तथा संस्थाहरूको संख्या पनि बढ्दै गएको छ । यो कोर्स गर्नका लागि स्नातक तहमा अध्ययन गर्न सकिन्छ भने अर्को अनौपचारिक शिक्षा ‘डिप्लोमा कोर्स’ गर्न सकिन्छ । 
नेपालमा दुई दशकअघिदेखि ‘नमुना कलेज अफ फेसन टेक्नोलोजी’ ले ‘फेसन डिजाइनिङ’पढाउँदै आएको छ । विदेशमा ‘फेसन डिजाइनिङ कोर्स’ पूरा गरेर काठमाडौं फर्किएकी ज्ञानीशोभाले पहिलो पटक ‘फेसन डिजाइन’ पढाउने कलेजको अवधारणा ल्याएकी हुन् ।
एलेक्सका अनुसार चार वर्षे स्नातक कक्षा र १३ महिने डिप्लोमा कोर्समा एउटै खाले सिकाइ हुन्छ । उनी भन्छन्, ‘उच्च माविको प्रमाणपत्र नभएकाहरूले पनि फेसन डिजाइनिङ कोर्स लिन सक्छन् ।’ फरक यत्ति हो कि उनीहरूले स्नातक उत्तीर्ण भएको प्रमाणपत्र नपाउने र स्नातकोत्तर शिक्षा लिन नपाउने उनले बताए ।
उनका अनुसार डिप्लोमा कोर्स गर्नका लागि उनीकहाँ न्यूनतम योग्यता प्रवेशिका उत्तीर्ण हुनुपर्छ । उनी भन्छन्, ‘यो कोर्स गर्दा धेरै अंग्रेजी शब्द जान्नुपर्ने भएकाले बुझाउँदा राम्रोसँग बुझून् भनेर एसएलसी पास राखिएको हो ।’ सामान्य अंग्रेजीको ज्ञान भएकालाई एसएलसी पास नभएको पनि हुने उनी बताउँछन् । 


आईईसी कलेज अफ आर्ट एण्ड फेसन
काठमाडौंको मण्डिखाटारस्थित यो कलेजमा‘ इन्टेरियर’ र ‘फेसन डिजाइनिङ’ पढाइ हुन्छ । २३ वर्षअघि सुरु भएको यो कलेजले विद्यार्थीहरूको सिर्जनात्मक क्षमतालाई उत्प्रेरित गर्दै आएको छ । यो कलेज नेपाल सरकार र त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त छ । मलेसियाको ‘लिम्कोकविङ युनिभर्सिटी अफ क्रिएटिभ टेक्नोलोजी’ सँग सम्बद्ध यो कलेजमा स्नातक तहको पढाइ हुन्छ । कलेजले एक वर्षे डिप्लोमा कोर्स पनि उपलब्ध गराउँदै आएको छ । कलेजले गुणस्तरीय शिक्षाका लागि अन्तर्राष्ट्रिय गोल्ड क्वालिटी अवार्ड (युएसए) प्राप्त गरेको छ । यो ‘एसियन टप फेसन अर्गनाइजेसन’ को विजेता पनि हो । 
योग्यता– न्यूनतम प्लस टु वा सोसरह
कति खर्च– ९ लाख ५० हजार


 

नमुना कलेज अफ फेसन टेक्नोलोजी (एनसीएफटी)
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो नेपालको पहिलो कलेज हो । नेपाली ‘फेसन’ उद्योगमा ठूलो हिस्सा यस कलेजको जनशक्तिले कब्जा जमाएको छ । मनीष राई, विश्व गौतम, युभी थापा यही कलेजका पूर्वविद्यार्थी हुन् । ०५९ मा स्थापना भएको यो कलेजले पहिलो ब्याचमा नौ जना विद्यार्थीबाट पढाइ सुरु गरेको थियो । काठमाडौं बाँसबारीस्थित यस कलेजमा ‘फेसन डिजाइन एण्ड म्यानेजमेन्ट’ (बिएफडीएम) चार वर्षे (आठ सेमेस्टर) पढाइ हुन्छ । भर्ना हुनका लागि विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्ने हुन्छ । 
योग्यता : न्यूनतम ‘प्लस टु’
कति खर्च : ९ लाख ५३ हजार ५ सय


 

इन्टरनेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)
यो कलेजले १३ महिने ‘डिप्लोमा इन अप्लाइड फेसन डिजाइनिङ’को कोर्स सञ्चालन गर्दै आएको छ । लामो समयसम्म फेसन डिजाइनिङ क्षेत्रमा अनुभव भएका युवा उद्यमीहरूले सञ्चालन गरेको यो कलेज सिटीईभीटीअन्तर्गत छ । बागबजार प्लाजा र कुमारीपाटीस्थित दुई ठाउँमा यस कलेजमा विद्यार्थीलाई ‘फेसन डिजाइनिङ’ सिकाइन्छ । ‘फेसन डिजाइनिङ’ को ‘ब्याचलर कोर्स’ मा पढाइ हुने ७० प्रतिशत यस डिप्लोमा कोर्समा पढाइन्छ । यो संस्थाले धेरैजसो सौन्दर्य प्रतियोगिता जस्तै ‘मिस नेपाल’, ‘मिस्टर हेन्डसम’, ‘मोडल हन्ट्स’, चलचित्र, टेलिभिजन सोमा ‘डिजाइनर’ का रूपमा काम गर्ने मौका पाउँछन् ।
योग्यता– न्यूनतम एसएलसी वा सोसरह 
कति खर्च– ८९ देखि ९२ हजारसम्म 


 

गर्जियस इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (जीआइएफटी)
एघार वर्षयता सञ्चालनमा रहेको यो कलेज लगनखेलमा छ । यहाँ १८ महिने डिप्लोमा कोर्स पढाइ हुन्छ । यसमा ‘डिजाइनिङ’ का साथै ‘टेलरिङ’, ‘स्केचिङ’ लगायतको कोर्स पर्छ । ‘बिजनेस’, ‘इभेन्ट म्यानेजमेन्ट’, ‘मिडिया म्यानेजमेन्ट’, ‘एसेसरिज डिजाइन’, ‘ग्रुमिङ’ आदि यही कोर्स अन्तर्गत पर्छ । कलेजले विद्यार्थीहरूको क्षमतालाई निखार्न उनीहरूलाई विभिन्न इभेन्टमा सहभागी गराउँदै आएको छ । 
योग्यता– न्यूनतम एसएलसी वा सोसरह 
कति खर्च– ८२ हजार


 

र्‍याफल्स इन्स्टिच्युड अफ फेसन एण्ड आर्ट (आरआईएफए)
भक्तपुर सूर्यविनायकस्थित यो इन्स्टिच्युट सिटीईभिटी अन्तर्गत पर्छ । यहाँ पढेका ९५ प्रतिशत विद्यार्थीले काम गरिरहेका छन् । यो इन्स्टिच्युटको उद्देश्य भनेको सबै विद्यार्थी सक्षम बनाउनु हो । १२ वर्षअघि सञ्चालनमा आएको यो इन्स्टिच्युटमा १५ महिने डिप्लोमा कोर्स, ६ महिने एडभान्स डिप्लोमा र ३ महिने बेसिक कोर्स सिकाइन्छ । १५ महिने डिप्लोमा कोर्समा ब्याचलरमा पढाइ हुने सबै कोर्स पढाइन्छ । यो कोर्स लिनेहरूलाई लिखित र व्यावहारिक दुवै ज्ञान दिइन्छ । जसमा ७ वटा विषय पढाइन्छ । फेसन स्टडिज, टेक्सटाइल, प्याट्रन मेकिङ आदि । 
योग्यता : न्यूनतम एसएलसी वा सामान्य अंग्रेजीको ज्ञान भएको 
कति खर्च :   १५ महिने डिप्लोमा कोर्स : ९५ हजार
६ महिने एडभान्स डिप्लोमा कोर्स : ७५ हजार
३ महिना बेसिक कोर्स : २५ हजार


 

‘फेसन डिजाइनिङमा धेरै सम्भावना’ 

जुली साह
फेसन डिजाइनर


कसरी ‘फेसन डिजाइन’ को क्षेत्रमा आउनुभयो ?
मलाई ‘फेसन डिजाइन’ मा पहिलेदेखि रुचि थियो । मेरो घर जनकपुर भएकाले त्यहाँ यो कोर्स पढ्नका लागि कलेज थिएन । त्यसैले मैले ‘होम साइन्स’ मा स्नातक पूरा गरें । हाम्रो समाजमा छोरीले उमेर छँदै विवाह गर्नुपर्छ भन्ने मान्यता छ । त्यसैले मेरो विवाह चाँडै भयो । विवाहपछि दश वर्षसम्म छोराछोरीलाई समय दिएँ । उनीहरू हुर्किसकेपछि मेरो छुटेको रहर पूरा गर्न कुमारीपाटीस्थित ‘आईआईएफटी’ इन्ष्टिच्युटमा भर्ना भएँ । त्यहाँ १८ महिने तालिम लिएपछि अहिले म ‘नेसनल रनवे’ का लागि तयारी गर्दैछु । 

यो कस्तो ‘इभेन्ट’ हो । यस्तो ‘इभेन्ट’ ले ‘डिजाइनर’ लाई कस्तो सहयोग पुर्‍याउँछ ?
यो यस्तो ‘प्लेटफर्म’ हो, जहाँ ‘डिजाइनर’ हरूले आफ्नो ‘डिजाइन’ प्रस्तुत गर्ने मौका पाउँछन् । आफ्नो ‘डिजाइन’ राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सकिन्छ । ‘बुटिक’ खोल्न सबैसँग लगानी गर्ने पैसा नहुन सक्छ । त्यसैले यस्तो ‘रनवे डिजाइन’ का लागि एउटा सुनौलो अवसर हो । 

यस क्षेत्रमा सम्भावना कत्तिको छ ? बजार कस्तो छ ?
यो क्षेत्रमा गर्न सकियो भने सम्भावना धेरै छ । पहिलेजस्तो जमाना अहिले छैन । हरेक पर्व, पार्टीमा मानिसहरू ‘फेसनेबल’ देखिन चाहन्छन् । नयाँ–नयाँ पहिरनमा सजिन चाहन्छन् । यसका लागि कलेजको डिग्री मात्र पर्याप्त हुँदैन, अनुभव, सीप, मेहनतको पनि उत्तिकै आवश्यकता हुन्छ ।

तपाईंलाई कस्तो खालको ‘डिजाइनिङ’ मा रुचि छ ?
‘ब्राइडल वेयर’ मा धेरै रुचि छ । बेहुली भन्नेबित्तिकै रातो पहिरन नै लगाउनुपर्छ भन्ने सोचलाई परिवर्तन गर्ने मन छ । हुन त पहिला भन्दा निकै कम भइसक्यो । अहिले कतिपयले रातै पहिरन लगाउनुपर्छ भन्दैनन् । रातोको सट्टा सेतो, ‘अफ ह्वाइट’ जस्ता हल्का रंगमा हेभी वर्क गरेर अन्य रंगका गरगहना लगाउँदा बेहुलीलाई निकै सुहाउँछ । 

 Image