‘महिलाको आर्थिक परनिर्भरता अन्त्य हुनुपर्छ’

उपासना घिमिरे

कार्तिक १, २०७९ मानव तथा महिला अधिकारकर्मी डा. मीना पौडेलको जन्म ५९ वर्षअघि रुपन्देहीको देवदहमा भएको हो । गाउँमा विद्यालय नहुँदा उनले कक्षा १० सम्म पढाइका क्रममा ५ वटाजति स्कुल परिवर्तन गर्नुपर्‍यो । बर्मामा जन्म भए पनि बसाइसरेका कारण उनको स्कुले शिक्षा रुपन्देहीबाटै भयो । मीनाले सामाजिक रूपमा बहिस्कृत र राजनीतिक रूपमा सीमान्तकृत समुदायको क्षेत्रमा नेपाललगायत १२ मुलुकमा विभिन्न सामाजिक तथा गैरसरकारी संस्थामा काम गरिसकेकी छन् । ‘डिलिङ विथ हिडेन इस्युज सोसल रिजेक्सन एक्सपेरियन्स बाइ ट्राफिक्ड वुमन इन नेपाल’ उनको प्रकाशित पुस्तक हो । यो पुस्तकको अनुवाद ६ वटा भाषामा भइसकेको छ र नेपालीमा पनि हुँदैछ । अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइएमओ) मा काम गरिसकेकी मीनासँग उनका काम गर्दाखेरिका अनुभवबारे गरिएको कुराकानी : 

तपाईंको शिक्षाका बारेमा बताइदिनुहोस् न । 

तिलोत्तमा नगरपालिकास्थित मामाघरबाट मेरो स्कुले शिक्षा सुरु भयो । त्यहाँ सबै शिक्षित भएकाले पढ्न सहज भयो । बुवाआमा बर्मेली संस्कृतिमा जन्मिएर हुर्केकाले सन्तानलाई पढाउनुपर्छ भन्ने चेतना आएको हुनुपर्छ । सुरुका केही वर्ष मामाघर नजिकको स्कुलमा पढेपछि फेरि घरमै पढ्न थालें । घरबाट स्कुल पुग्न एक घण्टा लाग्थ्यो । पढाइ र खेलकुदमा प्रथम हुने भएकाले स्कुल पढुन्जेल शुल्क पनि तिर्नुपरेन र उपहार पनि पाउँथें । एसएलसीपछि गणित विषयमा राम्रो भएकाले इन्जिनियरिङ पढ्ने इच्छा थियो । ०३८/३९ सालतिर छात्रावासमा बसेर नर्सिङ कलेज पढन् थालें । नर्सिङ चाहनाले भन्दा पनि बाध्यताले पढेकी हुँ । नर्सिङ उत्तीर्ण गरेलगत्तै शिक्षण अस्पतालमा काम सुरु गरें । शिक्षण अस्पतालमा नर्सको जागिर गर्ने हाम्रो पहिलो ब्याच थियो । सुरुमा तलब आउँदा आत्मनिर्भर भएँ भन्ने महसुस भएको थियो । त्यहाँ तीन वर्ष काम गरेपछि पब्लिक हेल्थमा बीएस्सी नर्सिङ गरें । कलेजभरि उत्कृष्ट भएँ, गोल्ड मेडलका लागि छनोट भए पनि स्वीकार गरिन । राजनीति शास्त्रमा बीए र एन्थ्रोपोलोजीमा एमए प्राइभेट गरें । 

बीएस्सी नर्सिङ पास गर्दा टप भएकै कारण पाएको गोल्ड मेडल किन अस्वीकार गर्नुभयो ?

बीएस्सी नर्सिङमा गोल्ड मेडल (ऐश्वर्या विद्या पदक) पाएकी थिएँ । जुन शिक्षण अस्पतलाको पहिलो गोल्ड मेडल थियो । मेडल पाउँदा जेलमा थिएँ । बहिस्कार गरें । त्यस्ताका ०४६ को आन्दोलन सुरु भएको थियो । नर्सिङ संघको महासचिव भइसकेकी थिएँ, प्रोफेसन सोलिडारिटी ग्रुप भनेर आन्दोलन गरेकाले जेलमा हाले । जेलमै यसबारे जानकारी पाएँ । त्यतिबेलै राजतन्त्रको विरुद्ध लडेको मान्छे, त्यसैले मेडल लिन मेरो मनले मानेन । कामको सिलसिलामा सिन्धुपाल्चोक जाँदा कोदो उखालेको गह्रामा हेलिकप्टर राखेर त्यहाँका तामाङ महिलालाई काठमाडौं ल्याई बम्बईमा लगेर बेच्ने गरेको देखेपछि कसरी यस्तो हुन्छ, कहाँ जान्छन् ?, के गर्छन् ?, गएपछि छोरीचेली फर्किन्छन्, फर्किन्नन् भन्ने महसुस भयो । लैजाने को हो ? भन्ने विषयमा आर्टिकल नै लेखें । त्यसपछि मेरो टाउकोको मूल्य तोकियो, यसले ममा झनै ऊर्जा थपियो । महिला बेचबिखन रोक्न, बेचिएका महिला फिर्ता ल्याउनका लागि पनि पञ्चायत अन्त्य हुनुपर्छ भन्ने थियो जुन भयो पनि । त्यसले गर्दा पनि मेडल लिइन । 

महिला बेचबिखनका क्षेत्रमा लाग्ने प्रेरणा कहाँबाट पाउनुभयो ?

सिन्धुपाल्चोकको घटनाले मलाई क्लिक गर्‍यो । शिक्षण अस्पतालको जागिर छोडेर बेचबिखनमा परेका महिलालाई सहयोग गर्न गैरसरकारी संस्था खोलें । पित्तृसत्ता हावी भएपछि त्यो छोडेर अक्सफाममा गएँ । त्यहाँ १० वर्ष कन्ट्री डाइरेक्टर भएर काम गरें । आफू निर्णायक तहमा भएपछि सुरुदेखि मैले चाहेको महिला बेचबिखनको अन्त्य, महिला अधिकारका कुरा अक्सफामबाट लागू गरें । संस्थाको सीमा र उद्देश्य भित्रै रहेर यो काम गरेकी हूँ । कसलाई उत्थान गर्नुपर्छ भनेर ती सब कुरा लागू गरें । जेलमा बस्दा पनि बेचिएकी महिलासँग राखिएको थियो । त्यसैले पनि म यसतर्फ आकर्षित भएँ । मानव बेचबिखन र महिला हिंसालाई एकेडेमिकल्ली हेर्न मन लागेकाले पीचडी गर्न ६१ सालतिर लण्डन गएँ । ‘बेचिएर फर्किएका महिलाको सामाजिक बहिस्कार’ मेरो पीएचडीको  विषय थियो । किन समाजले बहिस्कार गर्छ महिलालाई ? कमाउन सकेमा उसले पठाएका पैसा, लुगाहरू स्वीकार्य हुने तर महिला आफैं बहिस्कृत हुन्छन् किन भनेर हेरें । जुन कुरा मैले पुस्तकाकार रुपमा प्रस्तुत गरेकी छु । 

बेचिएर फर्किएका महिलाका कस्ता समस्या पाउनुभयो ?

त्यस्ता महिलालाई सामाजिक बहिस्कार गरेको पाएँ । नागरिकताका कुरा पनि आए । भारतमा जान नागरिकता चाहिँदैन । महिला फर्केर आएपछि नागरिकता लिने उमेर, रोजगार खोज्न मन लाग्छ, पढ्न मन लाग्छ तर बुवाआमाले नागरिकता नदिने, सिफारिस नगरिदिने गरेको पाएँ । बेचिएर फर्केकी कुलको इज्जत फाली भनेर यसो गरेको पाएँ । बेचिएका महिलालाई सामाजिक बहिष्कार गर्नुको पछाडि सामाजिक, सांस्कृतिक कारण छन् । यस्ता महिला कसरी बाँच्छन्, कसरी जीवनयापन गर्छन् भनेर पोस्ट पीएचडी पनि गरें । 

नेपाली महिला र अन्य देशका महिलामा के–कस्ता भिन्नता पाउनुभयो ?

महिलाका कतिपय समस्या लगभग उस्तै–उस्तै छन्, निर्णय गर्ने प्रक्रिया, सम्पत्तिमाथि अधिकारका कुरा उस्तै छन् । उज्वेकिस्तान, ताजकिस्तान, तुर्किमिनिस्तानमा फरक पाएँ । त्यहाँ मुस्लिम देश भए पनि सोभियत युनियनको ७० वर्षसम्मको खाँका भित्र रहेकाले हाम्रो दक्षिण एसियाको जस्तो त्यहाँ छैन । त्यहाँ महिला स्वतन्त्र छन् । त्यहाँका बासिन्दाले हाम्रो इस्लाम मोर्डनाइज हो भन्छन् । महिला युरोपमा जस्तै हिँडडुल गर्न स्वतन्त्र छन् । हिजाब लगाउनुपर्दैन, सर्ट–पाइन्ट लगाएरै हिँड्छन् । घरभित्र र आर्थिक मामिलामा धेरै स्वतन्त्रता छन् । हाम्रो देशमा सामाजिक कुरीति बढी छ । अन्य देशमा आधुनिकता र स्वतन्त्रता बढी छ । तर घरेलु हिंसा, बेचबिखनको सवालमा भने उस्तै पाएँ । श्रीमान्–श्रीमतीबीचको कारण घरेलु हिंसा, डिभोर्सका कुरा धेरै छन् । हामीकहाँ सहेर बस्ने गरिन्छ । महिला भएकै कारण यौनिक हिंसा उस्तैउस्तै छन् । तर श्रममा विभेद, हिँडडुल गर्नमा विभेद, बाहिर सार्वजनिक ठाउँमा हाम्रो भन्दा स्वतन्त्रता छ । 

महिलाले नागरिक कसरी हुने ? सह नागरिकबाट कसरी छुटकारा पाउने ?

कानुनी रूपमा स्वतन्त्र नभएसम्म आर्थिक उत्पादनको साधनमा पूर्ण पहुँच हुँदैन । हाम्रो कानुनी पराधीनता, आर्थिक परनिर्भरताको अन्त्य हुनुपर्छ । यसले महिलालाई हेर्ने सामाजिक दृष्टिकोण, महिलामाथि थोपरिने सांस्कृतिक जिम्मेवारी दायित्व र महिलालाई थोपरिने लोड बढी छन् । 

महिला भएकैले काम गर्दा कुनै कठिनाइ भोग्नुपर्‍यो ?

अक्सफामको निर्देशक हुँदा पाँच–पाँच वर्षे कार्यक्रम रिन्यु गर्नुपर्दा समयमै नगरिदिएर ह्युमिलियट गरेका थिए । सिफारिस गर्नका लागि विदेश पठाइदिने टिकट पनि माग भएको थियो । एक महिनाको कामका लागि नौ महिना लगाइदिएका थिए । 

महिला आर्थिक रूपमा सबल कसरी हुने ?

आफैंले गर्न सक्छु भन्ने चेतना र आत्मविश्वास महिलामा हुनुपर्छ । असम्भव केही छैन तर सामान्य महिलाका लागि यो धेरै जटिल छ । सांस्कृतिक, सामाजिक आत्मनिर्भर भएर जोखिम लिन सक्ने स्थिति भयो भने यो सम्भव छ । जोखिम लिन सक्ने स्थिति बनाउन शिक्षा नीति फेर्नुपर्छ । साक्षर बनाउने भन्दा पनि चेतना दिने, ऊर्जा दिने शिक्षा नीति हुनुपर्छ । आलोचनात्मक चेत दिने, कन्फिडेन्ट बिल्ट अप गर्ने हुनुपर्छ । राजनीति फेरियो, राज्य संरचना फेरिएको छैन । फेरिनुपर्छ , यो फेरिन्छ, तर, तुरुन्तै फेरिने सम्भावना भने देखेकी छैन । महिला आर्थिक रुपमा सबल हुनैपर्छ । 

निर्णायक तहमा महिला पुग्नका लागि आधारभूत आवश्यकता के–के हुन् ?

महिला योग्य हुनुपर्छ । शिक्षा आवश्यक छ । चुनौतीको सामना गर्न प्रयास गरिरहनुपर्छ । पुरुषले भन्दा मैले ५ गुणा बढी मेहनत गर्नुपर्छ भन्ने कुरा मनमा हुनुपर्छ । सामान्य महिलाका लागि भने यो न हुन सक्छ । तर, महिलाले गर्न सक्छन् भन्ने चेतना हुनुपर्छ । 

पछिको योजना के रहेको छ ?

म पछिको पुस्तालाई मैले जानेको बुझाइ, सिकाइ आर्जन गरेको ज्ञान हस्तान्तरण गर्नेछु । सम्भवत : पूर्णकालीन जागिर छोड्न सक्छु । मैले जानेको व्यावहारिक सिकाइ प्राज्ञिक रूप दिने सोच मेरो छ । बेचबिखनमा परेकालाई सहयोग गरिरहन्छु । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>