पिठ्युँमाथि आमा

दुर्गालाल केसी

आश्विन २५, २०७९

भूमे गाउँपालिका–५ सेराबाङ रुकुमपूर्वका ६५ वर्षीय रतनबहादुर बुढा सधै आमालाई बोकेर हिँडिरहेका हुन्छन् । ९६ वर्षीया आमा सुनसरी बुढा छालाको क्यान्सरले थलिएकी छन् । दिसापिसाब भएको थाहै पाउँदिनन् । रतनबहादुर आमासँगै पिठ्यँुमै दिसापिसाब थाप्ने झोला बोकेर हिँडिरहेका हुन्छन् ।

    एउटा संस्थाका केन्द्रीय सदस्य उनी विभिन्न कार्यक्रममा गैराख्नुपर्छ । घरमा कोही नभएकाले उनी आमाको स्याहारका लागि सधै बोकेरै हिँड्छन् । गाउँघरमा हुने कार्यक्रम होस् वा जिल्लाबाहिर, जहाँ जाँदा पनि उनी आमालाई लिएरै जान्छन् ।

    नियमित आयस्रोत नभएकाले उनी प्रायः हिँडेरै टाढाटाढासम्म पुग्छन् । टाढा जाँदा पकाउने भाँडा पनि बोक्छन् । बाटोमा जुट्ने केही खर्चले आमाछोराको खाना तयार गर्छन् । आमाको उपचार, नियमित हेरचाह र राजनीतिक जीवन । रतनबहादुलाई धेरै कर्तव्यको भारी छ तैपनि कुनै दुःखको भारी बोकेको महसुस भएको छैन । ‘आमाको यसरी सेवा गर्न पाउँदा म धेरै खुसी छु । धेरैले साह्रै दुःख भयाुे ेभन्छन्,’ उनले भने, ‘आमाले सानोमा मलाई बोक्दा कहिलै दुःख मान्नुभएन, मैले उहाँलाई बोक्दा दुःख किन मान्ने ?’

समाचार बनाउने कुरा गर्दा उनले खासै मन लगाएनन् । धेरैबेर सँगै पैदल यात्रा गरेपछि मात्र उनी विस्तृत कुरा गर्न र फोटो खिच्न राजी भए । ‘मैले आमालाई घरमा एक्लै वा अरुको जिम्मामा छोड्न सक्दिन’ उनले भने, ‘त्यसैले जहाँ पनि साथमै लिएर हिँड्छु ।’  

    रतनबहादुर भारतमै जन्मे, ६ महिनाका हुँदा गाउँ आए । त्यसपछि ११ वर्षमा फेरि भारत फर्के । उनकी ६३ वर्षीया श्रीमती लक्ष्मी र ३६ वर्षीय छोरा अभिषेक बुढा अझै पनि भारतमा छन् ।  बुवा जुद्धवीर बुढाको २५ वर्षअघि निधन भयो । छोरालाई स्नातकोत्तर पढ्ने खर्चका लागि ऋण चाहियो, उनी भारतको सरकारी बैंकमा पुगे । नेपाली टोपी लगाएर गएका थिए, देशबाहिरको मान्छे भनेपछि बैंकले ऋण दिन मानेन । त्यसपछि उनको मन पनि बिग्रियो । जीवनभर भारतमा बसेर पनि चाहिँदा ऋण पाइँदैन भने किन भारतमा बस्ने? उनी तीन वर्षअघि आमासहित गाउ“मा फर्के । श्रीमती र छोरा नेपाल आउन मानेनन् ।

    त्यसयता उनी निरन्तर आमाको सेवामा छन् । उनी नेपाल आएपछि मंगोल पार्टीसँग आबद्ध भए । गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवार बने । तर विजयी हुन सकेनन् । निर्वाचनमा हारे पनि उनी गाउँमा निरन्तर सामाजिक काममा सक्रिय छन् । रुख रोप्ने, विद्यालयको गुणस्तर सुधारमा सहयोग गर्ने काममा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्छन् ।

    पार्टीको काम प¥यो भने आमालाई लिएर हरेक ठाउँमा पुग्छन् । गत साउनमा काठमाडौंमा केन्द्रीय नेताहरूको भेला हुने कार्यक्रम थियो । उनी आमालाई बोकेर रुकुम, रोल्पा हुँदै बाग्लुङसम्म पुगे । त्यतिबेला संघ र प्रदेश सभा निर्वाचनको घोषणा भएपछि पार्टीले निर्वाचन तयारीमा लाग्ने जानकारी दियो । आठ दिन लगाएर करिब ६० किलोमिटर यात्रा गरिसकेका उनी बाग्लुङबाट  गाउँ फर्के ।

    भदौमा बुटवलमा प्रदेश भेला थियो । त्यहाँ पनि उनी आमालाई लिएरै गए । पैसा हुँदा गाडी चढ्छन् । पैसा सकिए हिँड्छन् । केही सहयोग गर्न खोज्दा पनि आजलाई पुग्नेजति मात्र लिन्छन् । घोराही बजारमा आमालाई बोकेर हिँडिरहेको देखेर एक अटो रिक्सा चालकले निःशुल्क गन्तव्यसम्म पु¥याइदिन्छु भने तर उनले मानेनन् । अटो रिक्सा चालकले दुईवटा पानीका बोतल दिँदा पनि एउटा मात्रै राखेर अर्को फिर्ता गरिदिए । ‘सहयोग गर्न खोजेकोमा धन्यवाद । हजुरको काम हुन्छ । म हिँड्दै जान्छु, पर्दैन’ उनले भने, ‘पानी पनि अहिले एउटा भए पुग्छ । अर्को हजुरलाई चाहिन्छ ।’

आमालाई बोकेर कम्तीमा पनि ४ सय ५० किलोमिटर बढी यात्रा गर्ने लक्ष्य रहेको उनले बताए । पैदल हिँड्दा पनि लौरोमाथि पार्टीको झण्डा बोक्न छोड्दैनन् । उनले भने, ‘कम्तीमा पनि आमालाई बोकेर हिँडेरै काठमाडांै पुग्ने मन छ । आमालाई विभिन्न ठाउँ देखाउँदै जान पाइन्छ ।’ उनले कुराकानीका क्रममा देशको राजनीति, नेताहरूको चरित्र र सामाजिक विकृति–विसंगतिका बारेमा पनि विचार राखे ।

तस्बिर ः दुर्गालाल केसी ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>