Successfully Copied

भजनमा नयाँ शैली

गायक सशान कँडेलले तीन वर्षअघि एउटा भजन सार्वजनिक गरे, जसको बोल थियो–‘एकदिन त जाने हो संसार छोडेर, हरिबोल हरि बोल’ । आफ्नै युट्युबमार्फत सार्वजनिक गरेको उक्त भजनको चर्चा चुलियो । धेरैले यो गुनगुनाए ।

गायक सशान कँडेलले तीन वर्षअघि एउटा भजन सार्वजनिक गरे, जसको बोल थियो–‘एकदिन त जाने हो संसार छोडेर, हरिबोल हरि बोल’ । आफ्नै युट्युबमार्फत सार्वजनिक गरेको उक्त भजनको चर्चा चुलियो । धेरैले यो गुनगुनाए । सशानले सोचेभन्दा पनि बढी रुचाइयो । नयाँ शैलीको उक्त भजन युवापुस्तामा निकै लोकप्रिय भयो । ‘मेरो पहिलो भजन धेरैले रुचाएपछि म भजनप्रति आकर्षित भएँ’ उनले भने । उक्त भजन उनी हजुरआमालाई सुनाउन चाहन्थे । किनभने उनले मावलकी हजुरआमा र आफ्नी हजुरआमाको सम्झनामा त्यो सार्वजनिक गरेका थिए । यसो त उनले भजन मात्र गाएका छैनन् भिडियो पनि निर्देशन गरिसकेका छन् । तीन सयभन्दा बढी म्युजिक भिडियो उनले निर्देशन गरिसकेको बताए । ‘हरि बोल’, ‘हरहर महादेव’ आदिमा उनले स्वर दिइसकेका छन् । नवलपुरका उनी ०६५ बाट पपगायकका रूपबाट सांगीतिक क्षेत्रमा उदाएका हुन् । ‘पप’ गीत म्युजिक भिडियोसँगै उनी भजनमा समेत स्थापित गायक हुन् । आफ्नो मौलिक धर्म–संस्कार बचाउन यो क्षेत्रमा लागेको उनको भनाइ छ । ‘पछिल्लो समय पश्चिमा संस्कृतिले हाम्रो मौलिक संस्कृतिलाई प्रभावित पार्दै गएको छ । हामीजस्ता गायकले यो क्षेत्रमा टेवा नपुर्‍याए अरू कसले पुर्‍याउलान् त ?’ उनले भने । बूढापाकाले मात्र भजन गाउने र सुन्ने ट्रेन्ड जस्तो देखिएपनि यसमा नयाँ प्रयोग र शैली प्रस्तुत गर्न सके हरेक पुस्ताका लागि यो कर्णप्रिय बन्नसक्ने उनले बताए ।

पछिल्लो समय भजन गाउने ट्रेन्ड बढ्दै गएको छ । भजनबाट नाम र दाम कमाउने कलाकार थोरै मात्र छन् । तीमध्ये भक्तराज आचार्य पनि एक हुन् । ‘भजन शिरोमणि’ उपाधि पाएकाले उनी भजन गाएरै चर्चित बने । यसैगरी पहिलाका पुस्तामा नातिकाजी, फत्तेमान, कृष्णमान डंगोल, शिवशंकर आदिले भजनमा ख्याति कमाएका थिए । त्यसपछि दर्जनौं गायक–गायिकाले भजनमा आ–आफ्नो स्वर दिइसकेका छन् । तर, भजनबाटै चिनिने पछिल्लो पुस्ता भने न्यून छ । 

भजन गायनमा अग्रसर अर्का गायक रेशम सापकोटा पनि हुन् । उनले ०५४ मा पहिलो भजन सार्वजनिक गरेका थिए । गाउँघरको प्रभाव र बुवाको प्रेरणाले नै आफूले भजन गाउन सुरु गरेको उनले बताए । भजनले संस्कार र संस्कृति सिकाउने भएकाले पनि भजनलाई प्राथमिकतामा राखेर गाउन थालेको उनको भनाइ छ । पछिल्लो समय विभिन्न चुनौतीका बाबजुद व्यावसायिक रूपमा भजनले फड्को मारेको रेशमले बताए । ‘भजनका शब्द, गाउने शैलीमा नयाँपन आउन थालेकाले युवाहरूसमेत भजनमा भुम्मिन थालेका छन्’ उनले भने ‘पहिला हरे कृष्ण हरे रामजस्ता मात्र भजन आउने गरेका थिए, युवापुस्तालाई त्यसले तान्न सकेन । भजनको शैलीमा परिवर्तन भएसँगै लाखौ भ्युज आउन थालेका छन् ।’ धेरैले भजनलाई रहरका लागि गाउने गरेको पनि उनको भनाइ छ । पछिल्लो समय भजन गायनमा धेरै कलाकारको स्वर सुन्न सकिन्छ’ उनले भने । मूलधारका अधिकांश गायकले भजनमा स्वर दिइसकेका छन् । प्रमोद खरेल, रामकृष्ण ढकाल, अञ्जु पन्त, खुमन अधिकारी, राधिका हमाल आदिको स्वरमा पनि भजन सुन्न सकिन्छ । ‘तर, उहाँहरूले निरन्तरता दिन नसक्नु मेरो विचारमा ज्ञानको अभाव भएजस्तो लाग्छ’ रेशमले भने, ‘भजन धेरैका लागि रहर मात्र भएको छ, बुझेर आउनेहरूको संख्या कमी भएकाले पनि निरन्तरता दिन सकेका छैनन् ।’

शिला पन्त भजन लेखेरै चर्चित भइन् । उनले ०३३ मा ‘बाबा पशुपति’ बोलको भजन लेखेकी थिइन् । त्यसयता उनी निरन्तर भजन लेखनमा सक्रिय छिन् । उनले करिब तीन हजार भजन लेख्नुका साथै ‘शिव–पार्वती’, ‘गुह्येश्वरी’, ‘हनुमान्’, ‘विष्णु’ आदि शीर्षकमा भजन रचना गरिसकेकी छन् । उनी हिन्दू धर्मसँग सम्बन्धित भजन मात्र रचना गर्दिनन्, बुद्ध धर्मावलम्बीका लागि पनि भजन लेखेकी छन् । ‘भगवान् सबै एक हुन्, भगवान्लाई हामीले कहिल्यै विभेद गर्नु हुँदैन भनेर पनि मैले सबै धर्मका भजन रचना गर्छु’ उनले भने । उनले आर्थिक रूपमा सबल हुनका लागि भजन भने गाइनन् । ‘मैले भगवान्को नाम बेचेर कमाउन चाहिन, आत्मसन्तुष्टिका लागि मात्र भजन रचनामा सक्रिय छु’ उनले भने, ‘पछिल्लो युवापुस्ताले गाउने भजन वास्तविक रूपमा भजनै होइन । भजनमा र्‍याप मिलाउनु, अनावश्यक शब्दहरू भर्नुले पनि भजनको वास्तविक मर्म मर्दै गएको छ ।’ 

 

 Image