Successfully Copied

मुम्बईमा संघर्षरत सेसा

सानैदेखिको मेरो करियर डेस्टिनेसन मुम्बई नै थियो । परिवार उतै बस्ने भएकाले सहज भयो । 

नेपाली चेली सेसा पौडेल मुम्बईमा आफ्नो करियरलाई उचाइमा पुर्‍याउने क्रममा छिन् । काठमाडौंस्थित बालाजुमा जन्मिएकी उनी सानैदेखि नृत्य र एक्टिङमा सक्रिय थिइन् । होस्टलमा बस्दा नाचगान गर्ने छुट नभए पनि उनी लुकीलुकी ऐनाअगाडि अभिएर नाच्थिन् । कक्षा ५ पढ्दासम्म नेपाली–हिन्दी चलचित्रबारे पौडेललाई खासै ज्ञान थिएन । तर, जब उनले सलमान र जरिन खान अभिनीत ‘वीर’ हिन्दी चलचित्र हेरिन्, त्यसपछि उनले आफूलाई चलचित्रकी महिला पात्र ठान्न थालिन् । ‘त्यो चलचित्रको पात्रमा यति धेरै डुबें कि मैले आफूलाई सलमान खानकी श्रीमती ठान्न थालें’ उनी भन्छिन्, ‘चलचित्रमा हिरोको मृत्युपछि मैले आफूलाई निरस, उदास र भारी मन बोकेकी विधवा भन्न थालें । मलाई त्यही घटनाले वर्ष दिनसम्म पिरोलिरह्यो । त्यसपछि मैले यो क्षेत्रमा केही गर्न सक्छु कि भनेर मुम्बईको यात्रा तय गरें ।’ यसमा उनका परिवारको सदस्य मुम्बईमा बस्ने भएकाले उनको यात्रा केही सहज बन्यो । प्रवेशिका परीक्षापछि मुम्बई पुगेकी सेसाले फिल्म मेकिङ पढ्दै त्यहाँका केही एजेन्सी र प्रडक्सन हाउसको नाम र नम्बर टिपेर राख्थिन् । भिजिट गरेका ठाउँहरूमा उनी कलमले टिक लगाउँथिन् । ‘सयौं पटक रिजेक्ट भएँ तर हार खाइन । आज त्यसैको प्रतिफल पाइरहेकी छु,’ उनी भन्छिन् । पछिल्लो समय भारतीय गीतका म्युजिक तथा अन्य मल्टिनेसनल ब्रान्डका विज्ञापनका भिडियोहरूमा खुबै देखिन्छिन् । ‘परिश्रमको फल एकदिन पाइँदोरहेछ । तर धैर्य भने हुनुपर्ने रहेछ,’ उनी भन्छिन् । उनले ‘जारा’ तथा ‘निभिया’ ब्रान्डका ‘टीभीसी’ र ‘नर्वेजियन’ ब्रान्ड ‘बबल टी बोबा चा’ को विज्ञापनमा काम गरिसकेकी छन् । नेपालको भने डाबर गुलाबरीको विज्ञापनमा उनलाई देख्न सकिन्छ । ‘बबल टी’ का लागि अडिसनमा उपस्थित हजारभन्दा बढी सुन्दरीलाई पछि पार्दै उनी छानिएकी रहिछन् । लगातार ६ वर्षसम्म उक्त ब्रान्डका लागि उनले काम गरिन् । उनका ‘अपकमिङ प्रोजेक्ट’ थुप्रै छन् । अबको केही समय डाबर, टिभिएस स्कुटी, जि–म्युजिकका लागि म्युजिक भिडियोमा उनी व्यस्त हुँदैछिन् । चलचित्रमा जाने इच्छा भएर त्यसका लागि आफूलाई अझ अब्बल बनाउनेतर्फ उनी प्रयासरत छिन् । 

सेसासँग अन्तरसंवाद 

बाल्यकाल कहाँ र कसरी बित्यो ?

मैले बाल्यकाल रमाइलोसँग बिताएँ । मेरो बाल्यकाल काठमाडौंमै बितेको हो । अहिले सम्झिँदा पनि आश्चर्य लाग्छ । 

मुम्बई कसरी पुग्नुभयो ?

सानैदेखिको मेरो करियर डेस्टिनेसन मुम्बई नै थियो । परिवार उतै बस्ने भएकाले सहज भयो । 

त्यहाँ पुगेपछि कत्तिको संघर्ष गर्नुपर्‍यो ?

त्यहाँ मैले धेरै संघर्ष गरेकी छु । अहिलेको सफलता त्यसै प्राप्त भएको होइन । थुप्रै संघर्षका कथा यसमा लुकेका छन् । त्यहाँ कडा प्रतिस्पर्धा छ, आफूलाई अब्बल नबनाई केही सम्भव छैन । कयौं पटक म रिजेक्ट भएँ । तर मैले संधै कामलाई निरन्तरता दिँदै प्रयास गर्न कुनै कसर बाँकी राखिन । 

मुम्बई र यहाँ के फरक पाउनुभयो ?

मैले नेपालमा त्यति धेरै काम नगरेकी हुँदा तुलनै गर्न सक्दिन । उता ठूलो मार्केट, ठूलो टिम र ठूलो बजेट छ । 

त्यहाँ काम गर्न कत्तिको चुनौती रहेछ ?

त्यहाँ काम गर्न धेरै चुनौती छ । नेपाली चेली भएर मुम्बईमा सफलता हासिल गर्न सानो आँट, साहस र परिश्रमले हुँदैन । धेरै परिश्रम गर्नुपर्छ । 

आफूले गरेको कुन काममा बढी सन्तुष्ट हुनुहुन्छ ?

मैले गरेका हरेक काम मेरा लागि उत्तिकै प्रिय र महत्वपूर्ण छन् । त्यसमध्ये नर्बेजियन ब्रान्डको ‘बबल टी बोबा चा’ ले मलाई भित्रैदेखि आत्मसन्तुष्टि प्रदान गरेको छ । 

धर्मप्रति कत्तिको आस्था छ ?

म आस्तिक हुँ । तीजमा व्रत बस्छु । पर्वहरूमा मन्दिर गइरहन्छु । म अरूका लागि नभएर आफ्नै सन्तुष्टिका लागि व्रत गर्छु । 

दसैंलाई नारी शक्तिको चाड भनिन्छ, यसमा तपाईंको धारणा के छ ?

नारी पूजनीय हुन् । भलै अहिलेको समयमा विविध खाले हिंसा, विभेद देखिन्छन् । नारीविना सृष्टि सम्भव छैन भन्ने बुझेर पनि उनीहरूमा भएको शक्तिलाई सम्मान गर्न जरुरी छ । 

महिलालाई निर्णायक तहसम्म पुर्‍याउन के जरुरी ठान्नुहुन्छ ?

महिला स्वयं कमान्डिङ र स्ट्यान्ड लिन सक्ने हुनुपर्छ जस्तो लाग्छ । 

नेपाली युवाका लागि के सुझाव छ ?

आफूभित्रको क्षमतामा विश्वास गर्नुपर्छ । आफ्नो कर्ममा केन्द्रित हुँदै निरन्तर उन्नति एवं प्रगतिका लागि अग्रसर हुनुपर्छ । 

पाठकलाई केही भन्न चाहनुहुन्छ कि ?

नेपाली चेलीले चाहे भने परिवर्तन र विकास सम्भव छ । मैले पनि विदेशी भूमिमा संघर्ष गरेर नेपाल र नेपालीको मान बढाउने प्रयास गरिरहेकी छु । यसका लागि मलाई सबैको साथ, सहयोग र मायाको खाँचो छ । मेरा तमाम पाठकलेयसमा हौसला र प्रेरणा प्रदान गर्नुहन्छ भन्ने विश्वास लिएकी छु ।

पहिरन : तेन्जिन छेतेन भुटिया, कुट्योर वसुन्धरा

गहना : दीपा गौतम थापा, ड्रिम द डायमण्ड टंगाल

मेकअप तथा हेयर : रुस्का वैद्य सिटिइभिटी स्कुल अफ ब्युटिसियनआइटिसी, नक्साल, भगवती बहाल

लोकेसन : शंकर होटल, लाजिम्पाट

तस्बिर : महेश प्रधान

 

 Image