स्वास्नी

दिनमान गुर्मछान

श्रावण १३, २०७९ घरमा क्यामेलिया आइपुगेको थियो, निर्मलाले ल्याएकी ।

क्यामेलिया देखेर पहिले त म झस्किएँ । बिर्सिइसेको कुराले पछ्यायो । किन ल्याएकी यो ? निर्मलासँग सोध्ने मन लागेको थियो । तर सोध्ने विचार पनि एकैछिनमा त्यागिदिएँ । मलाई मन पर्थ्यो भनेर उनलाई थाहा थियो । तर, अहिले मन पर्दैन भन्ने विचरा उनलाई के थाहा !

अनायासै क्यामेलियामा आँखा पुगे । छि ! कस्तो नराम्रो लागेको । मनमा भने क्यामेलियाले घोच्न पो थाल्यो । अचानकको यो दृश्यले मेरा आँखा हुँदै मन बिथोलेको थियो ।

ठेक्कापट्टाको कामले अहिले म निकै व्यस्त थकित छु । सोफामा बस्दाबस्दै देखेको क्यामेलियाले तिम्री स्वास्नीको सम्झना गरायो । नसम्झूँभन्दा पनि सम्झनाले पछ्यायो । रिस त यस्तो उठेको थियो कि तिम्री स्वास्नी सम्झेर यो क्यामेलिया मिल्काइदिऊँजस्तो । तर, ठीक त्यतिबेला निर्मला हातमा चियाको कप लिएर कोठामा देखा परिन् ।

मृदु मुस्कानसहितको उनको उपस्थितिले मेरो मनको भारी हलुङ्गो भयो । थोरै भएपनि राहत मिलेझैं भयो । मेरो मुहारमा पनि उज्यालो थपियो । उनको हातबाट चियाको कप लिएर सोधें, ‘तिमीले खाजा खायौ? गोपुले के खायो ?’

‘गोपु अण्डा–चिउरा खाएर खेल्दैछ । मैले खाएकी छैन । अब खाने’ निर्मलाले भनिन् । बिचरी मलाई पर्खेर बसेकी थिइन् क्यार । मैले खाजा लिएर आउन भनें । सँगै बसेर खायौं । नारायणगढबाट आएपछि हामीबीच समझदारी बढेको छ । त्यसैले अहिले हामी एक–अर्काप्रति पूर्णरूपमा जिम्मेवार भएका छौं ।

क्यामेलिया हुर्किदै थियो । यता निर्मला र मबीच माया पनि झाँगिदै थियो । यसमा भने उतातिरको माया ओइलाइसकेको भान हुन्थ्यो । साँच्चै भन्ने हो भने मैले तिम्री स्वास्नीलाई बिर्सिसकेको थिएँ । तर, समय त आखिर निष्ठुर भइदिँदो रहेछ । सोचेजस्तो कहाँ हुँदो रहेछ र !

एकदिन अचानक तिम्री स्वास्नीसँग मेरो जम्काभेट भइदियो । बजारबाट म तरकारी किनेर दिउँसै घर जाँदै थिएँ । आफ्नै सुरमा बाटो तताइरहेको थिएँ । संयोगवश त्यही बेला बाटोमा तिम्री स्वास्नीसँग भेट भयो । उनले बाटो छेकेर मलाई अलमलाउन खोजिन् ।

‘तिमी त आउनै छाड्यौ’ मेरो नजिकै आएर उनले भनिन् । मलाई भने अप्ठेरो लागिरहेको थियो । मैले उनलाई भन्दा बढी वरिपरि नै हेरें होला । कोही कसैले हेरिरहेको होला भन्ने डर । किन हो मभित्र एक किसिमको डरले डेरा जमाएझैं लाग्यो । मैले हतारिँदै भनें, ‘ठेकदारीको कामले फुर्सदै भएन ।’

मैले यति भन्दा तिम्री स्वास्नी रिसले लाल भइन् । मलाई खाउँलाझैं गरी हेरिन् । मलाई उनीतिर हेर्ने मनै थिएन । तैपनि औपचारिकता पूरा गर्नका लागि मैले उनलाई हेर्नैपर्‍यो । मैले आफूलाई हतार भएको कुरा बताउँदा उनी रिसाएकी थिइन् । त्यतिबेला मलाई हाम्रो अन्तिम भेटको सम्झना आयो ।

‘तिमी त उसै भेट भएका थियौ ।’ हो यही शब्दले म रन्थनिएको थिएँ । अकमकिएको थिएँ । औडाहा भएको थियो । त्यही रनाहामा म बाहिरिन खोज्दा उनले ढोकैमा आफ्ना सुडौल पाखुराका पखेटा फिँजाएर मलाई रोकेकी थिइन् । तिम्री स्वास्नी त तिम्री थिइन्, म त उनको रखौटा, नाठो, नटुवा मात्र थिएँ । त्यसैले म त्यहाँबाट उम्किन चाहन्थें । भागिहालौं जस्तो भएको थियो । तर उनले मलाई फेरि आउँछु भन्ने वाचा गराएर मात्रै फुत्किन दिएकी थिइन् । मैले पनि उनको मन राख्न ‘ल’ भनेको थिएँ ।

उनले त्यही वाचाको कुरा गरिन् । किन नआएको भन्ने उनको गुनासो थियो । फेरि आउन उनको आग्रह थियो । मलाई भने हतारोले उसै गाँजेजस्तो उकुसमुकुस भइरहेको थियो । उनीसँग फुत्किनका लागि मैले पनि फुर्सद हुनासाथ आउँछु भनें । तर, एक मनले अब तिम्रो र मेरो सम्बन्ध सकियो भनिदिऊँ झैं लागेको थियो । किन हो त्यही शब्द भने भन्न सकिरहेको थिइन । ओठमुख त्यसै सुकेका थिए ।

‘ल पक्का आऊ है ।’ उनको आग्रहलाई मैले मुन्टो हल्लाएर हुन्छ भनेको थिएँ ।

त्यसपछि म हतारिँदै बाटो लागेको थिएँ । मैले एकपटक पनि फर्केर नहेरी आफ्नो बाटो समातेको थिएँ । छ महिना पहिले जसरी म तिम्रो घरबाट हिँडेको थिएँ, त्यसैगरी म अघि लागेको थिएँ ।

बाटोभरि मलाई त्यस दिन त्यति ठूलो झोला नबोकेको भए हुन्थ्यो भन्ने लागिरह्यो । बोकेकै भएपनि तिम्रो घरसम्म नगएको भए हुन्थ्यो अथवा तिम्रो घरमा पुगेर मैले क्यामेलियाको आकर्षणमा आफूलाई हराउनु हुँदैनथ्यो । कि त मैले तिम्रो घरमा पुगेर चियाको आग्रहलाई सहर्ष स्वीकार गर्नु हुँदैनथ्यो । यस्तै–यस्तै विचारहरूले मलाई पछ्याइरह्यो ।

निर्मलासँगको विछोडमा एक पुरुष भएकाले पनि होला म परिपक्व महिलाप्रति आकर्षित भएको थिएँ । आकर्षणले हामी तानिएका थियौं । भेटघाट निर्बाध रूपमा चल्दाचल्दै नजिकियौं । हामीबीच कुनै किसिमको बाधा, रोकतोक थिएन । तर पनि त्यो उनको आवश्यकता मात्रै रहेछ भन्ने थाहा पाएपछि म आत्मग्लानिले दुःखी भएको थिएँ । र, उनले मलाई ‘तिमी त उसै भेटिएको’ भनेपछिको पीडा सहन नसकेर म छटपटिएको थिएँ ।

बाटो छेकेर उनले मलाई गरेको अनुनय–विनयले फेरि त्यही दिनको सम्झना भएको थियो । र, म झन् दृढ हुन पुगेको थिएँ । अब कसैगरी पनि म उसको अंगालोमा बाँधिने छैन भन्ने दृढ संकल्पले जरो गाडिरहेको थियो । म पूर्णरूपले उनलाई घृणा गर्न थालेको थिएँ ।

त्यसपछि उनीसँग मेरो भेट नहोस् भनेर ईश्वरसँग प्रार्थना गरिरहेको थिएँ । तर, मेरो भेट तिमीसँग हुन लेखेको रहेछ । त्यसदिन म ठेक्काको कामले जाँदा तिमीले मलाई देखेर बोलायौ, ‘जेठान साब, कतातिर हो ?’

पहिले त मलाई बोलाएको होइनजस्तो लागेको थियो । तर, तिमीले मेरो बाटो छेकेरै बोलाएपछि मैले तिमीलाई देखें । ओहो ! तिमीलाई देखेपछि मेरो सातोपुत्लो उडेझैं भएको थियो । बरु तिम्रो घरमा दिउँसै तिमी त्यसदिन आइपुग्दा म डराएको थिइन । तिमीले आफ्नो पौरुष अहमताले मलाई को हौ ? भनी सोध्दा पनि मभित्र कुनै डर थिएन । किनभने तिम्री स्वास्नीले स्थिति सम्हालेकी थिइन् । आफ्नो चातुर्यता प्रदर्शन गरेकी थिइन् । मलाई क्षणभरमै मित दाइ बनाइदिएकी थिइन् ।

अनायासै मैले दुई हात जोड्दै नमस्कार गरेर भनेको थिएँ, ‘नमस्कार ज्वाईंसाब, साइड हेर्न जाँदै थिएँ ।’ त्यसपछि हामी उभिएरै कुरा गर्‍यौं । तिम्रो घर नगएको गुनासो तिमीले गरिरह्यौ । तिमीले भनेका थियौ, ‘तपाईं नआएर मलाई के नपुगे के नपुगेको जस्तो लागिरहेको छ । मैले तपाईंकी बहिनीलाई कति पटक सोधिसकें तपाईं किन नआएको भनेर ।’

तिमीले मलाई यसैगरी भनेका थियौ । तिमीले सोध्दा तिम्री स्वास्नीले के जवाफ दिइन् होला म अनुमान लगाउन खोज्थें । तर असफल भएँ ।

‘ल बिदाको दिन मिलाएर चाँडै आउनुस् है । फुर्सद भएन भन्न पाइन्न ।’ तिमीले मलाई छुट्टिनेबेला भनेका थियौ । तिमी सरकारी अफिसको बहालवाला अधिकृत थियौ । म रिटायर्ड । तिमीलाई कतै जान हतारो थियो । त्यसैले तिम्रो हतारोलाई मैले सहमति दिएको थिएँ । तिमी मृदुमुस्कानसहित बिदा भयौ । म भने क्षतविक्षत भएझैं भएँ । आखिर कस्तो साइनो गाँसिएछ जसले भेट हुँदा खुसी होइन दुःख बल्झाउँछ । मलाई यस्तै लाग्यो ।

तिमी परसम्म गएको हेरिरहें । एकपटक त लाग्यो तिमीलाई भेटेर सबै भनिदिऊँ । म तिम्रो स्वास्नीको मित दाइ होइन । म तिम्रो स्वास्नीको रखौटा, नाठो, नटुवा हुँ । मात्र नाठो । मरिजाऊँ मलाई दौडेर गएर तिमीलाई यही भनिदिऊँजस्तो भएको थियो । तर अचानक मैले निर्मलालाई सम्झिएको थिएँ । निर्मलाको नाठोलाई मैले मेरै घरमा रङ्गेहात समातेको थिएँ । त्यो रिसले मैले निर्मलालाई निर्घात कुटपिट गरेको थिएँ । त्यतिले नपुगेर मैले घरबाट उसलाई गलहत्याएको थिएँ ।

मैले तिम्री स्वास्नीको बारेमा बताएँ भने तिमीले पनि त्यस्तै गर्न के बेर ? म झसङ्ग भएँ । आफैदेखि रिस पनि उठ्यो । आखिर यो सम्बन्धमा तिम्री स्वास्नीको मात्र दोष थिएन । तिम्री स्वास्नीको जत्तिकै दोष मेरो पनि थियो । अझै भन्ने हो भने पहिलो दोष मेरो थियो । त्यसदिन सहयोग गर्न म अघि सरेको थिएँ । तिम्रो घरसम्म पुग्ने आशाले म तानिएको थिएँ । र, पछिपछि म आफै तिम्रो घर निर्बाधरूपमा जान थालेको थिएँ । अहिले सम्झिदा मलाई आफैदेखि रिस उठेर आयो ।

बाटोमा उभिएरै म थकित भएको थिएँ । आफैभित्र उम्रिएको आवेशलाई शान्त पारेर म अघि लागेको थिएँ । र, त्यसपछि हाम्रो भेटघाट लामोसमयसम्म भएन ।

अब त क्यामेलिया फुल्न थालेको थियो । क्यामेलियाको आकर्षणले फेरि मलाई लोभ्याउन थालेको थियो । दिनहुँ घर पुग्दा मेरो नजर त्यहीँ पुग्थ्यो । निर्मलाले अचेल त्यसको साह्रै स्याहार गर्ने गरेकी थिइन् । उनलाई लाग्थ्यो क्यामेलिया सप्रिए हाम्रो माया पनि सप्रिनेछ । भएको पनि यस्तै थियो ।

‘बुवा, यो के हो ?’ गोपुले हातमा बोकेको देखाउँदै सोध्यो । तिम्री स्वास्नीले दिएको वालेट थियो । मैले कतै थन्काएको थिएँ । गोपुको हात परेछ । गोपुलाई काखमा लिँदै भनें, ‘यो वालेट हो । यसमा पैसा राखिन्छ ।’

‘अनि किन पैसा नराखेको ?’ उसले वालेटभित्र हेर्दै मलाई सोध्यो । ओल्टाइपल्टाइ गर्न थाल्यो । त्यतिबेला निर्मला भित्र आइन् । उनले त्यति नयाँ वालेट देखेर मलाई भनिन्, ‘नयाँ रहेछ त । किन त्यो पुरानो वालेट बोकिरहनुभएको ? यही नयाँ बोक्नुहोस् ।’

म निर्मलाको कुराले झसङ्ग भएँ । मलाई त्यो बोक्न नपरेहुन्थ्यो भन्ने भएको थियो । तर, परिस्थिति यस्तो नाजुक बनिदिन लाग्यो कि म असमञ्जसमा परें । मैले जब तिमीलाई रोलेक्स घडी उपहारमा दिएको थिएँ । त्यतिबेला तिम्री स्वास्नीले मलाई ईर्ष्यामिश्रित हाँसोले प्रहार गरेकी थिइन् । त्यो एककिसिमको उपेक्षा नै थियो । त्यसैले मैले भोलिपल्टै क्षतिपूर्तिस्वरूप तिम्री स्वास्नीलाई गतिलो सारी लगिदिएको थिएँ । त्यसपछि मात्रै उनले मलाई एउटा प्रेमीलाई दिने हाँसोको उपहार दिएकी थिइन् ।

त्यसपछि के भयो ? भनिरहन नपर्ने हो । तर, अहिले छोरोले वालेट फेला पारेपछि याद आयो । यो वालेट तिम्री स्वास्नीले मलाई उपहारस्वरूप दिएकी थिइन् । यो उपहार भन्दा पनि उनले मलाई दिएको नाठोको संज्ञा नै भारी भएको थियो । एककिसिमको शूल बिझेझैं । त्यसैले म फेरि तिम्री स्वास्नीसँग कहिल्यै नभेट्ने मनसायले आफैलाई तिम्रो घरबाट गलहत्याएको थिएँ ।

‘कता हराउनुभयो ?’ निर्मलाले मलाई सोधिरहेकी थिइन् । उनी मेरो अघिल्तिर ठिङ्ग उभिएकी थिइन् । उनले फेरि यो नयाँ वालेट बोक्न आग्रह गरिन् । मैले हुन्छ भनी मुन्टो हल्लाएँ । तर, छोरो वालेट अझैपनि ओल्टाइ पल्टाइ गरिरहेको थियो । यो गोपुले नै खोलोस् झैं लागिरहेको थियो ।

...

एकदिन निर्मलालाई सामान किन्न बजारमा लिएर गएको थिएँ । निर्मलाले आफूलाई राम्रो सारी किनेकी थिइन् । त्यो पनि मेरो करले । हामी किनमेल सकेर फर्किदा तिम्री स्वास्नीसँग हाम्रो भेट भयो । पहिले त उनले हामी दुवैलाई हेर्दै भनिन्, ‘नमस्कार ! तपाईंहरू किनमेल गर्दै ।’

निर्मलाले दुई हात जोड्दै नमस्कार फर्काइन् । उनले नमस्कार गरेको देखेर मैले पनि नमस्कार गर्न करै लाग्यो । दिन घमाइलो थियो । तर, तिम्री स्वास्नीलाई देखेर मभित्रको घाम अस्ताइसकेको थियो । म अचानक असहज महसुस गर्न थालें ।

‘सन्चै हुनुहुन्छ ?’ निर्मलाले तिम्री स्वास्नीलाई सोध्न भ्याइन् । यतिबेला म अचम्मको भुमरीमा फसेझैं भएँ । साँच्चै म तीनछक्क परें । उनीहरू भलाकुसारी गरिरहेका थिए । बीचबीचमा मसँग पनि सोधीखोजी गरिरहेका थिए । महिलाहरूका अनौठा कुरा धेरै हुन्छन् । हामी पुरुषले थाहा पाउन गाह्रै हुन्छ । तिम्री स्वास्नीको चातुर्यतालाई पहिले पनि बुझ्ने मौका पाएको थिएँ । तर, यतिबेलाको अवस्थामा म भने अनौठो मानिरहेको थिएँ । मैले आफैंलाई बिचरो मान्नुपर्ने भइसकेको थियो ।

‘यसो भाउजूलाई पनि कहिलेकाहीँ घर लिएर आउनुस् न ।’ हाम्रो सम्बन्धका बेला तपाईंबाट हामी तिमीसम्म पुगेका थियौं । यतिबेला तिम्री स्वास्नीले मलाई तपार्इं भन्दै थिइन् । उनको कुरामा मैले निर्मलालाई हेर्दै ‘हुन्छ’,भनेको थिएँ ।

मलाई यो कुराकानी छोट्याउने मन थियो । तर, महिलाहरू जब भेट्छन् त्यतिबेला उनीहरूको भलाकुसारी कहाँ छोटिन्छ र ! म भने आकुलव्याकुल भएको थिएँ । भित्रभित्रै उकुसमुकुसको अवस्था झेल्दै थिएँ । यिनीहरूको भेटघाट वा चिनजान कहिले भएछ ? मलाई यस्तै प्रश्नहरूले घेर्न थाले ।

निर्मलाले घर जान ढिला भएको कुरा बताइन् । त्यसपछि तिम्री स्वास्नी पनि बिदा हुन खोजिन् । म स्वतन्त्र हुन पाएको मानिकै खुसी भएको थिएँ ।

तर, बाटोमा पनि तिम्री स्वास्नीको छायाले पछ्याइरह्यो । आखिर तिम्री स्वास्नीको चातुर्यताको अनुभव गरिसकेको मैले आगामी दिनमा के होला भन्ने सोच्न बाध्य भएँ । के उनले अब मलाई यसरी नै बेलाबेला दुःख दिइरहने छन् ? हाम्रो सम्बन्धको नतिजा कतै नराम्रो त हुने होइन । मलाई सधैंको यो डरबाट मुक्त हुन पाए हुन्थ्यो भन्ने लागिरह्यो । यसरी त म सधैंको डरले बहुलाउन के बेर ! त्यसैले घर पुग्नासाथ मैले निर्मलालाई तिम्री स्वास्नीसँगको मेरो भेटघाटदेखि मैले तिम्रो घर आउजाउ गर्न छोडेको कुरासम्म नढाँटी भनिदिएँ ।

मेरो शिर त्यतिबेला उठ्न सकेको थिएन । मैले निर्मलासँग गरेको व्यवहारले मलाई लज्जाबोध भइरहेको थियो । आखिर मैले पनि उही घटना दोहोर्‍याएको थिएँ । बिचरी निर्मला निर्दोष अनुहार लिएर मेरो सामु उभिएर मेरो कुरा सुनिरहेकी थिइन् । मैले सबै कुरा स्पष्टसँग बताइदिएँ । मेरो मन भुवाजस्तै हलुङ्गो भयो । तर, आत्मग्लानिले अनुहार भने छोपिएकै थियो ।

एक्कासि निर्मलाले मलाई अंगालोमा बेरिन् । उनको कसिलो अंगालोमा मैले आफूलाई सुरक्षित पाएँ । त्यतिबेला म निकै खुसी भएको थिएँ । निर्मला भन्दै थिइन्, ‘मलाई कहिल्यै नछोड्नुस् है ! मलाई माया गरिरहनुहोला ।’

अनि मैले पनि निर्मलालाई बेस्सरी अंगालोमा बेरें ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>