कुमार कला

 लक्ष्मी भण्डारी

श्रावण ९, २०७९ लोकगायक कुमार बस्नेतसँग कलाका थुप्रै रंग छन् । असी वसन्त पार गरिसक्दा पनि उनमा उही उत्साह, जोश र रसिक स्वभाव छ । कला क्षेत्रमै सात दशक बिताइसकेका कुमारले तीन सयभन्दा बढी आफ्नै ‘सोलो’ गीत रेकर्ड गराइसकेका छन् । अरुका एल्बममा समेत सयौं गीतमा स्वर दिइसकेका छन् । अमेरिका, अस्ट्रेलिया, लन्डन, जापान, चाइना, साउथ र नर्थ कोरियालगायतका मुलुकमा उनले हजारौं ‘स्टेज शो’ गरिसकेका छन् । आठ वर्षकै उमेरमा भैरव नृत्यमा अब्बल साबित भएर आफूभित्रको कला प्रमाणित गरेका कुमारका बुवा गंगाबहादुर बस्नेत सेनामा थिए । फुटबलमा दख्खल उनी कलाका पुजारी थिए । उही बेला भक्तप्रल्हाद–ध्रुवप्रल्हाद नाटकका हिरो गंगाबहादुर नेपाल नाटक संघका जेनेरल सेक्रेटरी थिए । बुवाकै प्रेरणाले आफूलाई मुलुकभरका कलाकारसँग घुलमिल हुने अवसर जुटेको र त्यसैमा आफ्नो रुचि बढ्दै गएको कुमारले बताए । त्रिचन्द्र कलेजबाट स्नातक गरेका कुमार सन् १९७४ मा १ सय १२ राष्ट्रबीच जर्मनीमा भएको अन्तर्राष्ट्रिय लोक नृत्य महोत्सवमा प्रथम भएका थिए । ‘उतिबेला महिलालाई नाच्न दिइँदैनथ्यो । नाच्नेमा पुरुषहरू नै हुन्थे । म नृत्यमा खास थिएँ । सयौं नृत्य गरियो । २१ सालपछि बुवाले नाच्न छोडिदे भन्नुभयो, त्यसपछि गायन र जागिरमै केन्द्रित हुन थालें ।’ विगतका दिन स्मरण गर्दै कुमारले भने, ‘संगीतमा लागेर मात्रै जीवनयापन गर्न सक्ने स्थिति थिएन । दिनको १० रुपैंयाँमा नाचघरमा गीत गाउनुपर्थ्यो । ८० रुपैंयाँ तलब थियो, ६० रुपैंयाँ आमालाई दिन्थें, २० रुपैंयाँले महिनाभरिको सारा खर्च टार्नुपर्थ्यो, कोठाभाडामै ५० रुपैंयाँ जान्थ्यो । साह्रै दुःख थियो, त्यसैले केही समय राष्ट्र बैंकको जागिरपछि सञ्चय कोषमा जागिर खान पुगें । त्यहाँ डेपुटी चिफ अफिसरसम्म भएर ३० वर्ष बिताएँ ।’

कुमार फुटबलका राम्रा खेलाडी पनि हुन्, उनले महावीर, संकटा, विद्या व्यायाम क्लबबाट ‘ए’ डिभिजनका थुप्रै खेल खेलिसकेका छन् । त्यसबाहेक उनी बाजा बजाउन पनि च्याम्पियन छन् । सांस्कृतिक संस्थानको जीएम बनाउन खोज्दा उनले दयाको भीखले कति दिन चल्छ भनेर अस्वीकार गरे । १९ सालमा ‘दिउँला यो जोवन तिमीलाई दिउँला’ बोलको गीत गाएर नेपालमा पप संगीत भित्र्याएका कुमार संगीतले कुना–कन्दराको भाषा, भाका, लवज र भावना बोल्ने बताउँछन् । भन्छन्, ‘मेरा गीत सुनेर भावुक हुने, आँसु झार्ने भन्दा पनि बाँच्न सिकाउने, खुसी दिने र रमाइलो प्रदान गर्ने होऊन् भन्ने चाहन्थें । त्यसैले म लोक संगीत, संस्कृति र कलाको प्रवर्द्धनतिर लागें ।’ उतिबेला कुमारका फ्यानमा महिलाको संख्या धेरै थियो । केटीहरू उनको तस्बिर लकेटमा हालेर घाँटीमा लगाउँथे तर उनी भने कलाका हिसाबले तारादेवी, कोइली देवीसँग निकै प्रभावित थिए । जीवनमा नारीको महत्वबारे उनको रसिक जवाफ छ, ‘नारी नहुँदा हुन् त यो धर्तीमा हामी कसरी हुन्थ्यौं । नारी धर्ती हुन्, जननी हुन् । माया, ममता र स्नेहका खानी हुन् । नारीविना जीवन र संसार रंगहीन र बेस्वाद हुन्छ ।’

उतिबेला कुमार गीत गाउने मात्रै नभएर रेडियो नेपालको स्वर परीक्षणमा आफैं बस्थे । उनी देउडा, शेर्पा, तामाङ गीत पनि गाउँथे । थर बस्नेत छ कसरी यतिका भाषाका गीत गाउन सकेको ? त्यो कुमार भन्ने केटोको अनुहार कस्तो रैछ हेर्नुपर्‍यो भनेर राजा महेन्द्रले बोलाएको क्षण सम्झिँदै उनले भने, ‘देख्नेबित्तिकै राजा महेन्द्रले खाइलाग्दो काजी रहेछ, लौ एउटा गीत सुनाइहाल भनेको हिजैजस्तो लाग्छ । पछि मैले राजा वीरेन्द्र–ऐश्वर्यको अगाडि पनि सयौं गीत गाएँ । मैले गाउन थाल्यो कि राजा–रानी उठेर नाच्न हौसिहाल्ने ।’ एक पटक दार्जीलिङ, खर्साङमा नेपाली भाषा आन्दोलन चल्यो । नेपाली भाषा संरक्षण अभियानमा यहाँबाट कुमार बस्नेत, झलकमान, माणिकरत्न दार्जीलिङ गएर अभियान सफलताका लागि ठूलो भूमिका खेलेका थिए । आफूले गीत गाउँदा नर्थ कोरियाका किम जोङ इल, चाइनाका माओत्से तुङ, भारतका जवाहारलाल नेहरूले समेत निकै प्रशंसा गरेको सम्झदै उनले भने, ‘भाषा नबुझे पनि उहाँहरूले मेरो प्रस्तुति, सबैलाई उठाएर नचाउन सक्ने खुबी मन पराउनुभयो । वास्तवमा संगीत भनेकै यही हो जस्तो लाग्छ, सबैलाई मनोरञ्जन दिन सक्ने ।’

उतिबेला आफूलाई रेडियोबाट सुनेर कस्तो रहेछ यो मान्छे भनेर रेडियोको प्वालबाट चियाउनेहरू पनि धेरै भएको रमाइलो कुरा कुमार सुनाउँछन् । भने, ‘त्यो जमाना नै बेग्लै थियो । अहिले जस्तो सञ्चारमाध्यम थिएन । मेरो पहिलो गीत रेकर्ड गर्नका लागि १६ सालमा इन्द्रेणी म्युजिक कलकत्ता पुग्नुपरेको थियो । त्यतिबेला मैले एउटा आधुनिक र एउटा लोक गीत गाएको थिएँ । त्यति गरेर फर्किदा केके न गरेजस्तो भएको थियो । पछिसम्म पनि नेपालमा स्टुडियो नभएकाले मास्टर भ्वाइस, रत्न रेकर्ड कलकत्ता नै जानुपर्थ्यो ।’ आठ दशकको जीवन यात्रामा थुप्रै उकाली–ओराली चढ्दै–झर्दै गरेका कुमारसँग अनुभवका चाङ छन् जसलाई केलाउन हम्मे पर्छ । त्यसमा पनि कलाकारिताले मात्र जीवन धान्न नसकिएको यथार्थ उनको अनुभवको चुरो कुरो हो । त्रिशक्ति पट्ट, गोरखा दक्षिण बाहु चौथो, वीरेन्द्र–ऐश्वर्य पदकलगायतका दर्जनौं मान पदवीबाट सम्मानित बस्नेत संगीतमार्फत राष्ट्रको सांस्कृतिक जगेर्नाका लागि काम गर्न अझै इच्छुक रहेको बताउँछन् ।

आमा मनकुमारी प्रायः दोलखामै बस्ने हुनाले उनी हजुरआमासँग हुर्किएका हुन् । पछि उनी आर्मी बुवाको जता सरुवा भयो उतै हिँड्न थाले । त्यसैले उनले नेपालका विभिन्न ठाउँमा अध्ययन गरे । हजुरआमासँग हुर्किएकाले उनमा महिला पात्रको गहिरो छाप परेको छ । नारीलाई उनी साहसी, वीराङ्गना भन्न रुचाउँछन् । जस्तोसुकै कठिनाइ आइपर्दा पनि नारी विचलित हुँदैनन् भन्ने उनको बुझाइ छ । ०२३ मा शारदा बस्नेतसँग विवाह गरेका कुमारका तीन छोरा–तीन छोरी छन् । सबै आ–आफ्नो क्षेत्रमा सफल छन् । सदा सक्रिय रहन रुचाउने उनले भने, ‘अझै पनि ममा हिम्मत छ । अझै दुईचार वटा गीत गाउन प्रयासरत छु । मेरो इज्जत तपाईंको इज्जत, हाम्रो इज्जत, राष्ट्रको इज्जत यति ख्याल गरे हामी सफल र संसारभर प्रख्यात हुन्छौं ।’

 

हजुरआमा : मलाई जन्म दिने आमासरह ।

आमा : जन्मदाता ।

श्रीमती : जीवनसाथी ।

महिला साथी : सहकर्मी–मेरा सहयोगी ।

छोरीहरू : मेरा खुसी ।

नारी : नारीले मन पराए हामी कलाकार लोकप्रिय हुन्छौं नत्र फ्लप ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>