आमाको कोख छोरी र लैंगिक विभेद

यमुना अर्याल

असार ९, २०७९ कोही किन हिंसाको शिकार हुन्छ ? उसलाई डर, धाक, धम्की देखाइन्छ र इज्जतको ट्याग भिराएर सबै कुरा लुकाउन लगाइन्छ । खुलेआम अपराधी हिँड्ने, उसको इज्जत नजाने तर महिलाले मात्रै धानिरहनुपर्ने कस्तो इज्जत ? पछिल्लो समय महिलाहरू जागेको बेला हो, हिम्मत गर्न सक्नुपर्छ, एक पटक प्रतिवाद गरेपछि अर्को पटकबाट कसैले हिंसा गर्ने आँट गर्न सक्दैनन् । 

‘भाग्यले छोरा जन्मिन्छन् सौभाग्यले मात्रै छोरी जन्मिन्छन्,’–यो भनाइ मात्रै नभएर सत्य बचन पनि हो । सौभाग्यले जन्मिएका छोरीहरू सृष्टिकर्ताका सुन्दर सिर्जना हुन् यसमा दुईमत छैन । यिनै जन्मजात सुन्दर मानिएका छोरीहरू जब हुर्कदै जान्छन् उनीहरू ठाउँ–ठाउँमा काँडेतारको बारमाथि यात्रा गर्नुपर्ने हुन्छ । देवी, लक्ष्मी, सरस्वतीका रूपमा पनि नारी शक्तिलाई लिने गरिन्छ । जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता पनि खुसी हुन्छन् भनिएको छ तर हामीकहाँ नदेखिएका नारी शक्तिलाई धुमधामसँग पूजा गरिन्छ । आफ्नै घर, आफ््नै टोल छिमेकका लक्ष्मी, दुर्गा, सरस्वती स्वरूपमा छोरी–चेलीहरूलाई भने बिकाउ माल–सामानजस्तै व्यवहार गरिन्छ । भर्खरका युवतीहरू बढी बिकाउ भएको देख्दा दुःख लाग्छ । युवतीहरू ‘हामी वस्तु होइनौं’ भन्न किन नसक्ने ? प्रतियोगिताका नाममा शोषणका शृंखलाहरू भइरहेका छन् कति बाहिर आउँछन् कति आउँदैनन् फरक यत्ति हो । भन्ने बेलामा ‘मिस नेपाल’, नेपालको प्रतिनिधित्व गर्ने हो, न बोलीमा नेपालीपन छ, न व्यवहारमा, न त पहिरनमा । अर्धनग्न अवस्थाका युवतीको उचाइ, गोलाइ, मोटाइ, छालाको रंग, केशको रंग दाँजेर प्रतियोगिता हुन्छ ? अभिभावकले बहिष्कार गर्नुपर्ने हो यस्ता कार्यक्रमहरूको तर विडम्बना बाउआमाहरू नाङ्गिएका छोरीहरू भद्दा मेकअपमा र्‍याम्पमा हिँडेको देख्दैमा मख्ख छन् । सुन्दरी हुन नाङ्गिनैपर्छ भन्ने छैन, संस्कार र क्षमता देखाएर पनि सुन्दर हुन सकिन्छ ?

छोरी आफ्नै परिवारबाट असुरक्षित छन् । स्कुले शिक्षामा लैंगिक समानता, नैतिकताका विषयमा पढाइ हुँदैन । घरपरिवारमा पनि छोरा र छोरीको हुर्काइमा समेत समानता छैन । छोरालाई बहादुर, आँटिलो हुन सिकाइन्छ छोरीलाई राम्री हुन मात्रै सिकाइन्छ । छोराजस्तै छोरीलाई बहादुर हुन सिकाइँदैन । कुनै कुरा छोराको सिको गरेको देख्नासाथ छोरीमाथि आमाबुवा नै खनिन थाल्छन्, छोरी मान्छे भएर यस्तो गर्ने ? यो काम छोराले गर्ने हो, उनीहरूको हप्काइको सुरुवात यसैगरी हुन्छ । 

साना बच्चाको खेलौनामा विभेद गर्छौं, एउटै उमेरका छोरा र छोरीको खेल्ने समानबाटै लैंगिक विभेदको सूत्रपात गर्छौं । कतै छोरीले गाडी, बन्दुकजस्ता खेलौना रोज्न थालिन् भने बाउआमाको सातो जान्छ, यो त छोरा मान्छेको खेलौना हो, तिम्रो होइन छोरीलाई हतार–हतारमा गुडिया र भाँडाकुटीका सामानमा अल्झाउँछौं । छोराले बन्दुक, गाडी, हान्ने, फुटाउने सामान रोजेकोमा मख्ख पर्छौं । किन यस्तो मानसिकता ? किन हामी बच्चालाई यतिसम्म विभेदका बाछिटाहरूले छेपिरहन्छौं?

छोरीका लागि सबैभन्दा सुरक्षित आमाको कोख हो भनिन्छ । त्यही कोख पनि छोरीका लागि यातनाको कारखानाजस्तै बनिदिन्छ । पुरुषवादी सोच र पित्तृसत्तात्मक संरचनाका कारण भलै वृद्धावस्थामा वृद्धाश्रममा किन नपुर्‍याअेस् तर वंश धान्न, मृत्युपछि दागबत्ती दिन, कुलको रक्षा गर्न जसरी पनि छोरा चाहिन्छ । त्यही छोराको आशमा पहिले–पहिले धेरै छोरीले धर्तीमा जन्म लिन्थे । पछिल्लो समय सूचना, प्रविधि र आधुनिकताको जमानामा भ्रूणावस्थामै छोरीको हत्या गरिन्छ । छोरीका लागि सुरक्षित मानिएको कोख लिंग पहिचानको प्रयोगशाला बन्न थालेको छ । 

अनेकौं चुनौती र पटक–पटकका हत्याका काँडेतारहरू पार गर्दै छोरीहरू धर्तीमा पाइला राख्छन् । आमाको गर्भमा भन्दा बढी परीक्षण छोरीहरू जन्मिएपछि हुँदोरहेछ । छोरी जन्मनासाथ ए छोरी भन्दै नाक खुम्च्याउने जमाना एकातिर छ भने अर्कातिर छोरी त पाएकी हो नि भनेर सुत्केरी आमालाई हेरचाह नगर्ने, पोषिलो खानेकुरा नखुवाउने, घरपरिवारले राम्रो व्यवहार नगर्ने जमात अहिले पनि धेरै छ, गाउँमा होइन सहरमा, सहरमा पनि राजधानीमै यस्ता दृष्टान्तहरू बग्रेल्ती भेटिन्छन् । 

छोरीलाई सधै राम्री मात्रै बन्न अभिप्रेरित गर्छौं । छोरी हुर्कदै जान्छन्, उनीहरूको तुलना हिरोइनसँग गर्छौं । मेरी छोरी त ठ्याक्कै फलानी हिरोइनजस्ती छ, कति गोरी छ, कस्तो राम्रो केश छ...... हिरोइनको जस्तै हिँडाइ छ, उसको आनीबानी ठ्याक्कै त्यही हिरोइनको जस्तो छ । मेरी छोरी पाउने केटा त भाग्यमानी हो । यस्ता आलंकारिक शब्दजालले छोरीको मानसपटलमा यसरी जरा गाडेको हुन्छ कि उसलाई यो भन्दा राम्र्री कसरी बन्ने हुटहुटीले सधै सताइरहन्छ । साथीभाइसँग पनि तिनै छोरीहरूको केश, छाला, उचाइ,हिँडाइको तुलना गरिन्छ । कालो र गोरो छालाको विभेद गरिन्छ । पहिरन, लवाइ खवाइ सबैमा आधुनिकता झल्काउनुपर्छ । त्यसका लागि बाउआमा जस्तोसुकै त्याग गर्न पनि तयार हुन्छन् । 

अहिले सूचना प्रविधिको जमाना, अनेक विदेशी कार्यक्रमको नक्कल गरेर नेपालमा पनि थुप्रै कार्यक्रम हुन्छन् । कार्यक्रमको सुरुमै एउटा वाक्यांश लेखिएको हुन्छ–तपाईंका छोरीको प्रतिभा प्रस्फुटन गर्ने, ब्युटी विथ ब्रेन कार्यक्रम भनेर । बाउआमा यस्ता कार्यक्रमले आफ्ना छोरीको सुन्दरता र बौद्धिकता अझ निखारिनेमा विश्वस्त हुन्छन् । छोरीहरू जन्मिएदेखि नै राम्रीको ट्याग भिरेर आधुनिक परिवेशमा हुर्किएका हुन्छन्, उनीहरूलाई झनै सजिलो माध्यम बन्छ । 

छोरीहरू आयोजकको भनाइअनुसार आफूलाई तयार पार्दै जान्छन् । अहिले त पाँच/छ वर्षका साना छोरीहरूलाई के–के बहानामा स्टेजमा उतार्ने काम गरिन्छ । भद्दा मेकअप, उत्ताउला पहिरनमा कलिला छोरीहरूलाई ठूलो मासमा उभ्याइन्छ । निर्णायकले प्रश्न सोध्छन्, कलिला नानीहरूले जवाफ दिन्छन् । एउटै उमेरका, एउटै स्तरको पढाइ भएका, सबै हेर्दा उस्तै अनुहारमध्येबाट निर्णायकले उत्कृष्ट ठान्छन्, बाँकी सहभागी रित्तो हात फर्कन्छन् । उपाधि जित्ने छोरीका बाउआमाको नाक घिरौंला जत्रै बन्छ, मेरी छोरीले सबैका छोरीलाई पछाडि पारी, यो अवार्ड जिती...... उपाधि नजित्ने नानीहरू निराश हुन्छन्, म किन अयोग्य भएँ? त्यो जत्तिको राम्री म पनि थिएँ, उसले जस्तो जवाफ मैले पनि दिएकी थिएँ, उसको जस्तो लुगा मेरो पनि थियो इत्यादि..... बच्चामा इगोको सुरुवात हुन्छ । अर्कासँगको तुलना अनि बाउआमाले यति पनि गर्न नसक्ने, ऊ फलानीले त अवार्ड जिती त यस्ता दुर्वचनले सानै उमेरमा डिप्रेसनको शिकार हुने छोरी पनि धेरै छन् । जसरी पनि सुन्दरीको टाइटल जित्नैपर्छ । एकपछि अर्का प्रतियोगितामा उनीहरू सामेल हुँदै जान्छन् । आयोजक व्यापारी हुन्, हामीलाई प्रयोग गरेका छन् भन्ने कुरा उनीहरूलाई हेक्का हुँदैन । 

यस्ता अनेक बहानामा छोरी–चेलीहरूको इज्जत, अस्मितासमेत लुटिएको छ । सात/आठ वर्षअघिका कारुणिक घटनाहरू अहिले पोखिएका छन्, छताछुल्ल बनेर । रंगीन दुनियाँबाहिरबाट हेर्दा जति चम्किलो देखिन्छ भित्र निकै दुर्गन्धित छ । यो क्षेत्रमा करियर देख्ने छोरीहरू आमा–बुवाको साथ र सहयोगबिना अगाडि बढ्न नखोजेपनि हुन्छ । एउटा उदाहरण नेपाली फिल्म क्षेत्रमा कुनै समय एकछत्र राज गरेकी अभिनेतृ झरना थापाको व्यवहारले यही देखाउँदैन र ? उहाँले जहाँ सुटिङमा जाँदा पनि आफ्नी छोरीको साथ छोड्नुहुन्न, अभिभावकको साथ पाएकाले उहाँकी जवान छोरी निर्धक्क भएर आफ्नो काममा लागेकी छन् । यस्तै अन्य अभिभावकले पनि अभिभावकत्व लिन आँट गर्नुपर्छ । 

बाहिरी चमक–धमकमा भन्दा पनि बौद्धिकता, आत्मनिर्भरताका विषयमा छोरीहरूलाई सक्षम बनाउनतिर लाग्नुपर्छ । छोरीलाई राम्री होइन संस्कारी बन्नुपर्छ, सक्षम बन्नुपर्छ भन्ने कुराको ज्ञान दिनुपर्छ । सुन्दरीका कथा होइन, नाइटिंगेल, मदर टेरेसा, झमक घिमिरे, पारिजातका कथाहरू सुनाउनुपर्छ । उनीहरूका जीवनीबाट लाभ लिन, आफूलाई रूपान्तरित गर्न सिकाउनुपर्छ । रूप दोस्रो पाटो हो, बौद्धिकतामा अब्बल हुनुपर्छ भनेर हामीले हाम्रा छोरीहरूलाई कहिले सिकाउने ? स्टेजमा र्‍याम्प गर्ने छोरीलाई कति पटक सोध्नुभयो, छोरी यो पेसाभित्रका जटिलता के–के छन् भनेर ? 

ठूलाठूला रक्सीका विज्ञापनमा अर्धनग्न अवस्थामा हाम्रा छोरीहरू विज्ञापन गर्छन्, डान्स बारहरूमा मदिरामा लिएका पुरुषहरूसँग उत्तेजित पहिरन र भद्दा मेकअपमा नृत्य गर्छन् । उनीहरूले कस्तो काम गरेर पैसा कमाए कहिल्यै सोध्ने आँट गर्‍यौं त ? छोरी सृष्टिकर्ताका सुन्दर उपहार हुन्, उनीहरूलाई इन्च, गोलाइ, मोटाइ, छालाको रंग, केशको रंगका आधारमा वर्गीकरण गर्नु जरुरी छैन । हरेक आमाबुवाले आफ्ना छोरीलाई संस्कार सिकाऔं, सबल, सक्षम हुन सिकाऔं सुन्दरी हुन होइन, छोरी त्यसै सुन्दर छन्, उनीहरूलाई कसैबाट लुटिनबाट आफैंले जोगाऊँ । कम्तीमा कहाँ, किन, कसरी, भन्ने कुराको अभ्यास गर्न थाल्यौं भने हरेक छोरी सचेत भएर मात्रै यस्ता कार्यक्रममा सरिक हुनेछन् । स्वतन्त्रताको नाममा छोरीहरूलाई निस्फिक्री हुन नदिऔं, पटक–पटक मरेर नर्कको जिन्दगी बाँच्न विवश नपारौं छोरीहरूलाई । सक्षम हुनुपर्छ, राम्री हुन जरुरी छैन भन्ने हेक्का परिवारले दिन सक्नुपर्छ । छोरी देवी हुन्, लक्ष्मी हुन्, पुँजीपति वर्गका विज्ञापनका माध्यम होइनन् । पहिले राजा–महाराजाहरूले मन बहलाउन सुरासुन्दरी दरबारमा बोलाउँथे अहिले विभिन्न बहानामा स्टेजमा बोलाइन्छ फरक यत्ति हो, यो कुरा सचेत छोरीहरूले पनि बुझ्नु जरुरी छ । अस्मिता दाउमा राखेर जितेको उपाधिको के तुक छ ? पसिना बगाएर आर्जेको इज्जतको पो गरिमा हुन्छ । बोल्नुपर्छ, बोलिरहनुपर्छ, न्याय नपाएसम्म बोलिरहनुपर्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>