साथीको माया

नारी संवाददाता

जेष्ठ १२, २०७९

सोफिया गैरे

 

प्लस टु सकेर स्नातक पढ्न गाउँबाट उनी भर्खरै सहर झरेकी थिइन् । पिठ्युँपछाडि झोला बोकेको अवस्थामा क्याम्पस गेटमा भेटिएकी थिइन् । उनलाई देखेपछि मैले मन्द मुस्कान दिएँ, उनी पनि मलाई हेरेर हल्का मुस्कान दिँदै कक्षातिर लागेकी थिइन् ।

दिनहरू बित्दै गए । त्यसै क्रममा क्याम्पस चौरमा उनीसँग परिचय गर्ने अवसर जुट्यो । उनको नाम लक्ष्मी पौडेल रहेछ । मैले हत्तपत्त सोधें, ‘तिम्रो घर कता नि ?’ उनी हाँस्दै भनिन्, ‘पाङ’ । उनले पनि मेरो नाम, ठेगाना, परिवार सबै सोधिन् । मैले आफ्नोबारे उनीसँग बेलीबिस्तार लगाएँ । एक–अर्काको मोबाइल नम्बर पनि साटासाट भयो । फेसबुकमा म्यासेजहरू आदान–प्रदान हुन थाले । फोनमा पनि निरन्तर गफगाफ हुन थाल्यो । 

हामी एउटै संकायका विद्यार्थी भए पनि हाम्रो विषय फरक थियो । अनिवार्य विषयको कक्षामा भने सँगै हुन्थ्यौं । हामी धेरै हल्ला गर्थ्यौं । उनी कहिलेकाहीँ सम्झाउँथिन्, ‘हल्ला मात्र गर्ने होइन, पढ्नु पनि पर्छ ।’ म हाँस्दै भन्थें, ‘छोडिदेऊ त्यो कुरा । परीक्षाको रुटिन आएपछि बिस्तारै पढौंला ।’ उनी मज्जाले हाँस्दै मलाई भन्थिन्, ‘तिमी कति हावा हो क्या ? कहिलेकाहीँ त सिरियस हुने गर ।’ साँच्चै उनले भनेको कुराले मलाई कहिलेकाहीँ सिरियस पनि बन्न सक्नुपर्छ भन्ने लाग्थ्यो ।

हामी एक–अर्कासँग धेरै नजिक भइसकेका थियौं । खाजा सँगै खान्थ्यौं । घुम्ने र पढ्ने बेला सँगै हुन्थ्यौं । प्रायःजसो कोठामा पनि सँगै बस्थ्यौं । कहिलेकाहीँ खाजा खान एक्लै जाँदा ‘आज किन एक्लै’ भन्दै जिस्काउनेहरू पनि भेटिन्थे । कतै, कुनै ठाउँमा एक्लै हुँदा उनलाई खुब मिस गर्थें । उनको घर जानका लागि धेरै समय लाग्दैनथ्यो । बसबाट एक घण्टामा पुगिन्थ्यो । उनी बिदाको समय, चाडपर्वमा, परीक्षा सकिएको अन्तिम दिन तत्कालै घर जान्थिन् । मलाई उनी घर गइन् वा बजारमै छिन् भन्नेबारे खुब चासो राख्थे । उनी फोन गर्थिन् र भन्थिन्, ‘म चाँडै आउँछु ।’ म भने उनलाई खुब घुर्काउँथें, ‘छिटो आऊ नभए, म बोल्दिन ।’ उनलाई यसरी घुर्की देखाएको खुब मन पर्थ्यो ।

स्नातक अन्तिम वर्षको परीक्षा नजिकिएसँगै मेरो मनमा एक खाले चिन्ता हुन थाल्थ्यो–अब उनीबाट टाढिने दिन आउनै लाग्यो भनेर । परीक्षा सकिएपछि म हलबाट बाहिर निस्किनासाथ हजारौं परीक्षार्थीको भीडमा उनैलाई खोजिरहन्थें । जब उनलाई भेट्थें, ‘कस्तो गरिस् परीक्षा’ भन्दै सिरियस भएर उनी सोध्थिन् । अनि म हाँस्दै ‘राम्रो भयो’ भन्दै उत्तर दिन्थें । किन–किन परीक्षा जति नै नराम्रो भए पनि उनलाई भेटेपछि नराम्रो भन्न मनले मान्दैनथ्यो । स्नातकको अन्तिम परीक्षा सकिएपछि हामी खुब गफगाफ गर्‍यौं । उनी भोलि गाऊँ जाने बताइन् र गइन् पनि ।

गाउँ गए पनि हामीबीच निरन्तर फोन, फेसबुक वा जहाँ जुन ठाउँमा जसरी सम्भव हुन्थ्यो त्यसरी नै कुराकानी गर्थ्यौं । केही दिनपछाडि प्राक्टिकलको रूटिङ आयो । उनी गाउँमा भए पनि प्राक्टिकलका लागि आउनुपर्ने थियो । सौभाग्यवश हामी एउटै विद्यालयमा परेका थियौं । निकै रमाइलो पल म कसरी बिर्सूं ? विडम्बना यस्तो थियो कि उनको एक बजेपछाडि विद्यालय पुग्नुपर्ने थियो, मेरो एक बजे निस्कनुपर्ने । सातामा एक दिन शुक्रबार भेट हुन्थ्यो । बाँकी दिन फोनबाटै कुराकानी हुन्थ्यो । प्राक्टिकलको अन्तिम दिन हामी सबै साथी गुरुजनहरूबाट आशीर्वाद लिई विद्यालयबाट बिदा भएर फोटोसुट गरी घर फर्केका थियौं । घर आएपछि, धेरै कुरा सोचें, पीडा भुलाउने एकमात्र औषधि मोबाइललाई बनाएँ । 

क्याम्पसबाट निस्कदा उनीसँग एकपल पनि छुट्टिन मन थिएन । मैले भने जाऊँ न सँगै बसेर चिसो खाऊँ भन्दै हामी क्याफेतिर लाग्यौं । केही बेर सँगै कुरा गरेपछि उनले हतारिँदै भनिन्, ‘आज मलाई घर जाने समान मिलाउनु छ, म जान्छु है ।’ मैले जबर्जस्ती ‘हस्’ भनिदिएकी थिएँ । उनी ‘बाईवाई, सी यू अगेन’ भन्दै थिइन् । मैले मन्द मुस्कानका साथ ‘नाइस टू मिट यू’ भनेकी थिएँ । उनी मेरो आँखाबाट ओझेल भइन् । 

उनीसँग छुट्टिएको केही सातापछि चैते दसैं, नयाँ वर्षसँगै आइरहेको थियो । मैले ‘आऊ न बाग्लुङ’ भन्दै धेरै कर गरेकी थिएँ उनलाई । ‘गाउँमा धेरै काम हुने भएकाले फुर्सद नहुने’ उनले बताएकी थिइन् । 

नयाँ वर्षको दिन थियो उनलाई धेरै सन्देश पठाएँ । सायद उनी व्यस्त भएर होला रिप्लाई दिन भ्याएकी थिइनन् । नयाँ वर्ष, नयाँ खुसी, नयाँ जोश, नयाँ उमङ्गका साथ निकै रमाइलो गरी बितेको दिन थियो । साँझपख मलाई एक जना साथीले फोन गरी भनेकी थिइन्, ‘तिमी कता छौ, लक्ष्मीको पर्सी विवाह रे त ।’ म एकछिन छाँगाबाट खसेजस्तै भएँ । अचानक मेरो बोली नै रोकियो । बोल्न खोजें तर बोली आएन । जबर्जस्ती भने ‘के रे ?’ उताबाट सबै कुरा साथीले भनिरहेकी थिइन्, मैले सुनिरहेकी थिएँ । करिब रातिको ११ बजेपछि उनले मलाई फोन गरेकी रहिछन्, मैले थाहा पाइनछु ।

अर्को दिन, दुई गते बिहान करिब पाँच बजे उनको फोन आयो । सबै कुरा थाहा पाएर पनि नपाएजस्तो गरी उनले भनेको कुरामा ‘अँ–अँ’ भन्दै सुनिरहें । लगभग दुई मिनेटको फोनपछि उनले भनिन्, ‘जसरी पनि आऊ, नभए म बोल्दिन, मसँग धेरै टाइम छैन । पछि कुरा गर्छु ।’ उनले फोन राखिन् । घण्टौंसम्म कुरा गरेर नसकिने हाम्रा ती कुराकानी आज दुई मिनेटमै सकिए । लगातार साथीहरूको फोन पालैपालो मोबाइलमा आउन थाल्यो, फोन उठाएपछि सबैको संवाद एउटै थियो ‘तँ–तँ विशेष मान्छे, जानुपर्छ, तैंले नै नजाने कुरा गरिस् भने को जान्छन् ।’ म यी सबै सुनिरहें । यत्तिकैमा त्यो दिन पनि बित्यो पहिला भन्दा निकै फरक दिनका रूपमा बितेको थियो त्यो दिन ।

अर्को दिन, तीन गते उनको विवाह थियो । म बिहान उठेदेखि उनी के गर्दैछिन्, कस्ति भएकी होलिन् भनी धेरै बेर उनैलाई सम्झिरहेकी थिएँ । बिहानको १० बजिसकेको थियो । उनको विवाह मन्दिरबाट हुँदै थियो । करिब पैंतालीस मिनेटको बसको यात्रा गरेर हामी उनले भनेको लोकेसनमा ठ्याक्कै पुग्यौं । गेटबाट ठ्याक्कै भित्र छिर्दै थियौं उनी पनि उताबाट केही मान्छेको हूलसँगै आएकी थिइन् । उनलाई देखेपछि मन हलुका भयो । धेरै दिनपछि भेटिएकी उनी निकै राम्री र सुशोभित देखेकी थिइन् । सदाका दिनभन्दा निकै फरक उनलाई भेटेर धेरै कुरा, धेरै रमाइलो गर्ने इच्छा हुँदाहुँदै पनि के गर्नु उनी विवाह बन्धनमा बाँधिदै थिइन् । जन्मेको घर, थर, परिवेश सबै आजबाट फेरिएको थियो उनको । विवाह मण्डपमा बसेर पूजा गरिरहेको त्यो सुन्दर जोडीमा मान्छेहरू पालैपालो फोटो खिच्न लावालस्कर लागिरहेका थिए । तिनीसँग जोडिएका ती हरेक कुरा देख्दा मलाई एकाएक आँखाअगाडि कुनै फिल्मको सुटिङ भएजस्तो महसुस भइरहेको थियो ।

तिनीसँग बिताएका पलहरू एकाएक सम्झिएँ, आँखाबाट आँसुका झार्नुबाहेक अरु कुनै विकल्प थिएन मसँग । निकै गाह्रो त्यो बिदाइको क्षण, तिनीबाट एकछिन पनि टाढा नहुने मन हुँदाहुँदै टाढिनुपर्ने बाध्यतामा थिएँ । तिनी टाढा गए पनि तिनको सम्झना भने ताजा नै रह्यो । बिदाईमा जबर्जस्ती हल्लाएका ती हातहरूले आँखाबाट झरेका आँसुका पुछ्न बाध्य भएकी थिएँ । 

तिनलाई शुभकामना दिँदै चित्त बुझाउने प्रयास गरेकी थिएँ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>