चलचित्रमा ‘आमा’ चरित्र 

 सुजाता मुखिया

वैशाख १३, २०७९ ‘आमा’ नेपाली भूमिमा बनेको पहिलो चलचित्र थियो । हीरासिंह खत्रीले निर्माण गरेको करिब छ दशकपछि दीपेन्द्र के खनालले त्यही शीर्षकमा अर्को चलचित्र बनाए । निर्माता फरक भए पनि दुवैको केन्द्रमा ‘आमा’ रहे । 

त्यसो त अरू पनि थुप्रै चलचित्र छन्, जसमा कुनै न कुनै रूपमा ‘आमा’ को भूमिका राखिएकै हुन्छ । आमाको चरित्र निर्माण गरिरहँदा उनलाई दयालु, समर्पित भनी चित्रित गरिएको पाइन्छ । आमामा यी गुणहरू विद्यमान भए पनि पछिल्लो समय समाजमा यसको स्वरूप फेरिँदो छ । आमा भइसकेपछि आफूलाई सम्पूर्ण रूपमा समर्पित गर्नुपर्छ भन्ने मान्यता फेरिँदैछ अर्थात् आमा हुनु भनेको आफ्नो चाहनालाई बलिदान गर्नुपर्छ भन्ने छैन । 

पछिल्लो समय आमाहरू घरधन्दा, परिवारको रेखदेख, स्याहार–सुसारमा मात्र नलागेर आफ्नो कला, पेसा, व्यवसाय एवं उद्योग पनि चलाइरहेका छन् । तर, आमाहरूको यो भूमिकालाई नेपाली चलचित्रले आत्मसात् गरेको पाइँदैन । नेपाली चलचित्रले आमाको चरित्र निर्माण गरिरहँदा उनीहरूको रहरलाई दबाइदिएको छ । 

परिवर्तन जरुरी 

रेखा थापा, अभिनेतृ तथा निर्देशक

चलचित्रको कथामा पुरुषको कलम चल्ने भएकाले उनीहरूकै नजर, दृष्टिकोणबाट सिनेमा बनाइन्छ । यो कुनै व्यक्तिको दोष भन्नु भन्दा पनि समाजको दोष हो । हाम्री आमा, श्रीमती एवं छोरीलाई त्यही किसिमले चित्रण गरिएको हुन्छ । एउटी महिलाले मञ्चमा गएर बोल्छे भने उसलाई समाजले बहादुर भन्नुको सट्टा नराम्रो टिप्पणी गरिदिन्छ । समाजको परिस्थिति जस्तो छ, समाज वरिपरि हामी जे देख्छौं त्यही चलचित्रमा देखाइन्छ । नेपाली चलचित्र उद्योगले समाजले जे हेर्न चाहन्छ, जे सुन्न चाहन्छ त्यहीपस्किने गरेको छ । समाज परिवर्तन गर्नका लागि जे हेर्न र जे सुन्न चाहन्छ, त्यो गर्ने होइन । म यसमा क्रान्ति गरेर आएँ, त्यसैले मेरो आलोचना पनि धेरै गरिन्छ ।

देशका शिक्षित वर्गमा पनि यो देख्न सकिन्छ । उनीहरूले परिवर्तन गर्ने चाहना भए पनि सामाजिक परिवेशले बाँधिन्छ । महिलाले पनि महिलालाई महिला बन्ने तालिम दिन्छन्, समाजले पनि महिला नै बन्ने तालिम दिन्छ, संविधानले पनि आरक्षण र कोटाको नाममा महिला नै बन्ने तालिम दिन्छ । यो परिवर्तन हुन ठूलै आँधीबेहरी आउनुपर्छ । हामी त सानो बतास मात्र हौं । कलम चलाउने हात परिवर्तन हुन जरुरी छ । यसका लागि हामीले कथा लेख्न थाल्नुपर्छ । पुरुषको आँखाबाट कथा लेख्दा पुरुषलाई केन्द्रविन्दुमा राखेर लेख्छन् । महिला माथि उठ्नका लागि विषयवस्तुमाथि उठाउनुपर्छ । समाजसँगै रूपान्तरण हुन जरुरी छ । सिर्जनशील हुनु जरुरी हुन्छ । चेतनाको कमी छ । चलचित्रलाई समाजका सबै विषयवस्तु उठाउन छुट छैन । चलचित्रले यस्ता कुरा रूपान्तरण गर्न सक्ने भावनाबाट चलचित्र निर्माण गर्न सक्छ । 

हामी चलचित्रकर्मीले सिक्न र अध्ययन गर्न जरुरी हुन्छ । हरेक संस्कार, समाज, दूरदरा

 

चरित्र चित्रण एकांकी 

सामीप्यराज तिमल्सेना, फिल्म समीक्षक

नेपाली चलचित्रमा महिलाको चरित्र चित्रण एकांकी र ‘स्टेरियोटाइप्ड’ रहँदै आएको छ । यसमा आमाको भूमिका पनि पर्छ । नेपालमा साहित्यको होस् वा सिनेमाको लेख्य परम्परा हिन्दूधर्मका धार्मिक ग्रन्थहरूबाट प्रभावित छ । यस्ता ग्रन्थहरूमा आमालाई सहिष्णु, दयालु र धर्तीको बिम्बमा प्रस्तुत गरिएको छ । धर्मशास्त्रमा लेखिएको पनि छ, ‘कुपुत्रो जायेत क्वचिदपिकुमाता नभवति’ (छोरो कुपुत्र हुन सक्छ तर आमा कदापि कुमाता हुन सक्दिनन्) । 

नेपाली सिनेमामा आमालाई स्मार्ट र कामकाजी देखाइँदैन । किनभने हाम्रोमा सिनेमाको कथा सधैं एकै वृत्तमा घुम्ने गरेको छ । कथा फरक नभए पनि चरित्र फरक हुँदैन र चरित्र चित्रण पनि फरक हुन्न । हाम्रोमा म्याक्सी गोर्कीको ‘दि मदर’ र महाश्वेता देवीको ‘हजार चौरासीऔंकी माँ’ जस्ता साहित्यिक कृति पनि लेखिएका छैनन् । आमा बनेपछि पनि उनीहरूले आफ्नो आकांक्षा पूरा गर्न सक्छन् तर त्यसका लागि ‘जेन्डर स्टेरियोटाइप्ड’ तोड्नुपर्छ । 

वास्तविक जीवनमा पनि महिलाले यो ‘जेन्डर स्टेरियोटाइप्ड’ तोडेका प्रेरणादायी कथा राम्ररी बाहिर नआएकाले होला फिल्म लेखकले यो आयामलाई चलचित्रको लेखनमा भित्राउन सकेका छैनन् । त्यसमा फिल्म लेखकको मात्र माध्यम नभएर निर्देशक–निर्माताको पनि माध्यम भएकाले उनीहरूमा यस्तो चेत आउन जरुरी छ जुन नेपाली सिनेमामा देखिन्न ।

 

अफिससँगै घरको पनि काम 

दीपेन्द्र के खनाल, निर्देशक

मैले ‘आमा’ शीर्षकमै फिल्म बनाएको छु, जसमा उनीहरूको फरक–फरक स्थिति र मनोदशा देखाइएको छ । यो कथा हाम्रो समाजको हो र यी पात्रहरू हाम्रै आसपासका हुन् । 

चलचित्रमा हामीले जस्तो समाज छ त्यस्तै चित्रण गर्ने हो । नेपाली आमाको भूमिका कहाँ हो भन्ने कुरा महत्वपूर्ण हो । दिउँसो अफिस जाने वा जुनसुकै पेसामा संलग्न भएपनि महिलाले बिहान–बेलुका घरको काम नगरी हुँदैन । समग्रमा महिला आत्मनिर्भर भए पनि उनले दोहोरो भूमिका निर्वाह गर्नुपर्छ । चलचित्रले त्यही विषयवस्तु टिप्ने हो । चलचित्र समाजको प्रतिबिम्ब हो । आमाहरूले पनि कामकाजी भूमिका देखाउन जरुरी छ । समाज परिवर्तनशील हुन समय लाग्छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>