Successfully Copied

दिदी–बहिनीको एकल उडान

कुनै पनि चुनौतीपूर्ण कार्य गर्न खोज्नेहरूका लागि उमेर बाधक हुन सक्दैन । जारा र म्याक रदरफोर्ड यसका साक्षात् प्रमाण हुन् । २० वर्षमुनिका यी दिदी–बहिनी विश्व कीर्तिमान कायम गर्न उद्दत छन् । कम उमेरमै विमान चालिका बनेर एक्लो उडान गर्दै विश्वयात्रामा रमाइरहेका छन् ।

कुनै पनि चुनौतीपूर्ण कार्य गर्न खोज्नेहरूका लागि उमेर बाधक हुन सक्दैन । जारा र म्याक रदरफोर्ड यसका साक्षात् प्रमाण हुन् । २० वर्षमुनिका यी दिदी–बहिनी विश्व कीर्तिमान कायम गर्न उद्दत छन् । कम उमेरमै विमान चालिका बनेर एक्लो उडान गर्दै विश्वयात्रामा रमाइरहेका छन् ।

-‘युवावस्थामा नयाँ कुरा सिक्न नखोज्नेहरूले आफ्नो विगतलाई सम्झनयोग्य बनाउन सक्दैनन्, भविष्यमा उनीहरू आफै हराएर जान्छन् ।’

-‘मानिसले जीवनमा एकपटक मात्र आफूलाई युवा भएको अनुभव गर्न पाउँछन् । त्यो अवस्थालाई चिनेर अगाडि बढ्न सके, त्यही नै जीवनभरका लागि काफी हुन्छ ।’

माथिका दुई भनाइ क्रमशः युरिपिडिज र जोए ई.लुइसका हुन् । किशोर–किशोरी र युवा–युवतीका लागि यी भनाइहरू मननयोग्य र उत्प्रेरणा जगाउने खालका छन् । यसलाई पछ्याउनेहरूमध्ये ब्रिटिश–बेल्जियन दिदी–बहिनी जारा रदरफोर्ड र म्याक रदरफोर्ड पनि हुन् । यी दुईले साहसिक यात्राका कारण विश्व समुदायको ध्यान आफूतिर आकर्षित गर्न सफल भएका छन् । नेपालीमा एउटा उखानै छ, ‘खाने मुखलाई जुँगाले छेक्दैन ।’ हो, कुनै पनि चुनौतीपूर्ण काम गर्न खोज्नेहरूका लागि उमेर बाधक हुन सक्दैन । जारा र म्याक यसका साक्षात् प्रमाण हुन् । २० वर्षमुनिका यी दिदी–बहिनी विश्व कीर्तिमान कायम गर्न उद्दत छन् । कम उमेरमै विमान चालिका बनेर एक्लो उडान गर्दै विश्वयात्रामा रमाइरहेका छन् । 

सोह्र वर्षीया म्याक आफ्नी दिदी जाराबाट प्रेरित र प्रभावित भई केही साताअघि विश्वको एक्लो उडान सुरु गरेकी छन् । दिदी जाराको कम उमेरमै विश्वयात्राको एक्लो उडान भर्ने महिलाको रेकर्डलाई तोड्न उनी अग्रसर छिन् । जाराले यसै वर्षको जनवरीमा आफ्नो विश्वयात्रा पूरा गरेकी थिइन् । मार्च अन्तिम साता त्यसैलाई पछ्याउँदै म्याक पनि आकाशको उडानमा छिन् । उनी यसका लागि विनचेस्टरबाट अल्ट्रालाइट विमानको प्रयोग गरेकी छन् । उडान भर्न सुरु गर्नुअघि उनले आफ्नो यात्रा पूरा गर्न दुई–तीन महिना लाग्ने बताएकी छन् । उडानका क्रममा उनी जापान, भारत, मेक्सिको र ग्रिनल्यान्डसहित विभिन्न मुलुकमा बास बस्ने घोषणासमेत गरेकी छन् । उडानमा रहँदा सहारा मरुभूमि, कंगोका घना जंगल र इरानी पहाडहरू हेर्न पाउने भन्दै उनी रोमाञ्चित भैरहेकी छन् । आफ्नी दिदीले जस्तै म्याकले पनि सार्क अल्ट्रालाइट विमान रोजेकी छन् । यो सबैभन्दा तीव्र गतिमा उड्ने माइक्रोलाइट विमानमध्येको एक हो । यसको तौल ७१७ पाउन्ड र उडान भर्ने गति १८६ एमपीएचसम्म रहेको छ । 

जाराले पाँच महिनामा आफ्नो विश्वयात्रा पूरा गरेकी थिइन् । यो यात्राले एक्लो उडान भर्ने कम उमेरकी किशोरीमा उनी दरिन सफल भइन् । १९ वर्षीया उनी प्रतिकूल मौसमका बावजुद आफ्नो चुनौतीपूर्ण यात्रा पूरा गरिन् । प्रतिकूल मौसमले भने उनको उडान तालिका र योजनामा केही हेरफेर गर्न बाध्य बनाए पनि लक्ष्यमा पुगिछाडिन् । उनको यो चट्टानी अडान अन्य किशोरीहरूमा पाइन गाह्रै पर्ला । उनी दुई महिना ढिलो भए पनि उनी बेल्जियमको कोर्ट्रिक–वेभलगेममा अवतरण गर्न सफल भइन् । यात्राका क्रममा उनले एक महिना नोम– अलास्कामा र ४१ दिन रुसमा बिताएकी थिइन् । जाराले विश्वयात्रा पूरा गरेपछि आफ्ना अनुभवहरू साट्न पत्रकार सम्मेलनको आयोजना गरेकी थिइन् । त्यसताका पत्रकारसँग उनले भनेकी थिइन्, ‘म औंधी खुसी छु, मैले ५१ हजार किलोमिटरको उडान भर्ने चुनौतीलाई सफलतापूर्वक सामना गरें । सबैभन्दा कठिन यात्रा साबेरियामाथि उडिरहेको बेला भएको थियो । त्यहाँ असाध्यै चिसो थियो, इन्जिन चिसोले बन्द भएको भए मेरो उद्धार हुने अवस्थै थिएन । मलाई थाहा छैन–म बाँच्थे कि बाँच्दिनथें ? म आफ्ना अनुभवहरू साट्दै भन्न चाहन्छु, तपाईंलाई चुनौतीको सामना गर्नुपर्ने अवसर आए डटेर अघि बढ्नुस्, तपाईंलाई विजित र सफल बन्न कसैले वा केहीले पनि रोक्न सक्दैन ।’

बहिनी म्याक पनि दिदीभन्दा के कम ? उनी अझ १५ वर्षकै उमेरमा विश्वकै सबैभन्दा कान्छी विमान चालक बन्न सफल भइन् । उनी अहिले १६ वर्षमा टेकेकी छन् । उनको तीन वर्षमै पाइलट बन्ने चाहना थियो । उनले १५ वर्ष दुई महिना पुगेपछि सन् २०२० को सेप्टेम्बरमा पाइलट लाइसेन्स प्राप्त गरिन् । यो उनका लागि मात्रै होइन सारा विश्वकै लागि एउटा रेकर्ड बन्न पुग्यो । पाइलटको इजाजत पाएसँगै आफ्नो एकल उडान पूरा गर्ने योजना उनले बनाउन थालेकी थिइन् । म्याकले आफ्ना पितासँग सयौं घन्टा उडान भरेको अनुभव संगाली सकेकी छन् । त्यस क्रममा उनले दुई ट्रान्स–एटलान्टिक क्रसिङ यात्रा पनि पूरा गरिन् ।

‘म भाग्यशाली छु, मेरो पृष्ठभूमि विमान चालकका परिवारसँग जोडिएको छ । मेरो परिवारले मलाई उडान भर्नमा सहयोग गरेको छ’ म्याकले न्यूजविकसँगको अन्तर्वार्तामा भनेकी छन्, ‘तर, पृष्ठभूमि जस्तोसुकै भए पनि तपाईं आफ्नो सपना पूरा गर्न अग्रसर हुनुभयो भने त्यसलाई सफल बनाउन सकिन्छ । तर, त्यसका लागि अपेक्षा मात्र गरेर पुग्दैन । तपाईंमा दृढ आत्मविश्वास र संकल्प हुनैपर्छ ।’

म्याक र जारा विमान चालक परिवारमा जन्मिएका हुन् । उनका बुवा श्याम एक जना व्यावसायिक जहाज पाइलट र आमा बिट्राइस ‘प्राइभेट पाइलट’ हुन् । यसो त जारा पनि ‘प्राइभेट पाइलट’ नै हुन् । म्याकले आफ्नो यात्रा सुरु गर्न बुलगेरियाको सोफियालाई छनोट गरिन् किनभने उक्त स्थान उनको उडानको प्रायोजक आईसीडीसफ्टको हो । उनी आफ्नो उडान मार्गमा युवाहरूसँग भेटघाट गर्ने अवसरका रूपमा उपयोग गर्न चाहेकी छन् । ‘मेरो उमेरका धेरै मानिस मजस्तै आश्चर्यजनक कार्य गर्न रुचाउँछन् । तर, मेरो यो साहसिक कार्यबारे कमैलाई जानकारी छ’ उनले भनिन्, ‘म युवाहरूसँग भेटेर आफ्नो अनुभव साट्न उत्सुक छु । युवाहरूले केही फरक गर्न सक्छन् भनेर उनीहरूलाई देखाउन पनि चाहन्छु ।’ उनी आफ्नो विश्व उडानयात्रा पूरा गर्न सके विश्वकै सबैभन्दा कान्छी एक्लो उडान भर्नेर् बन्नेछिन् । यसअघि १८ वर्षीया ट्राभिस लुडलोले यो रेकर्ड बनाइसकेकी छन् । 

(एजेन्सीहरूको सहयोगमा)

 Image