Successfully Copied

व्यवस्थित भान्सा

पर्याप्त प्रकाश पर्ने ठाउँमा भान्सा डिजाइन गर्नुपर्छ । प्राकृतिक र अप्रत्यक्ष दुवै प्रकाश आवश्यक हुन्छ । प्राकृतिक प्रकाशका लागि झ्यालको डिजाइन गर्नुपर्छ ।

भान्सा घरको महत्वपूर्ण ठाउँ हो । जुन हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । भान्सा स्वच्छ र सफा हुनुपर्छ । ‘भान्साको डिजाइन गर्दा मुख्यतः हाइजिनलाई ध्यान दिनुपर्छ’ इन्टेरियर डिजाइनर अर्चना शाह भन्छिन्, ‘भान्सा स्वच्छ भए हामी स्वस्थ रहन्छौं । त्यसैले भान्साको डिजाइन गर्दा कतै पनि क्याभिटिज हुनुहुँदैन । अन्यथा पेस्टिसाइजहरू बस्ने भएकाले भान्सा फोहोर हुने, साङ्ला र ढुसी पर्ने समस्या निम्तिन्छ ।’ उनका अनुसार भान्साको स्याल्व राख्दा भुइँमै छोएको हुनुहुँदैन, ग्रेनाइट गरेर राख्नुपर्छ । भान्सालाई स्वच्छ र सफा राख्न इलेक्ट्रिक चिम्नी आवश्यक पर्छ । घर निर्माण गर्दा सबैभन्दा बढी महत्व भान्सालाई दिनुपर्ने उनको भनाइ छ । 

पछिल्लो समय भान्साको सजावटमा विशेष ध्यान दिन थालिएको छ । आधुनिक भान्सा बनाउन बजारमा धेरै विकल्प पाइन्छन् । यसले भान्सा आकर्षक र आधुनिक मात्र बनाउँदैन, आवश्यकतानुसार व्यवस्थित पनि बनाउँछ । आकर्षक भान्साले त्यहाँ काम गर्नेहरूमा मनोवैज्ञानिक प्रभाव पारिरहेको हुन्छ । यस्तो वातावरणमा काम गर्दा मन खुसी हुन्छ । 

पर्याप्त प्रकाश

पर्याप्त प्रकाश पर्ने ठाउँमा भान्सा डिजाइन गर्नुपर्छ । प्राकृतिक र अप्रत्यक्ष दुवै प्रकाश आवश्यक हुन्छ । प्राकृतिक प्रकाशका लागि झ्यालको डिजाइन गर्नुपर्छ । झ्यालमा भएको सिसाले बाहिरको प्रकाश परावर्तित भई भान्सालाई उज्यालो देखाउँछ । ठूलो र पारदर्शी झ्यालले खुसी महसुस गराउँछ । धेरै क्षेत्रफलमा घर फैलिएको छ भने पारदर्शी भान्साको डिजाइन गर्न सकिन्छ । 

त्यस्तै, अप्रत्यक्ष प्रकाशका लागि हेलोजन वा लोरोसेन्ट लाइटिङ राख्न सकिन्छ । भान्सालाई युनिक लुक दिन चाहनेहरूले पेन्डेट लाइटिङ गराउन सक्छन् । विभिन्न डिजाइनमा उपलब्ध सिलिङमा मेटल रड्स जोडिएको लाइटिङले भान्सालाई आकर्षक लुक दिन्छ । 

भान्साको सजावट 

मोड्युलर भान्सालाई आधुनिक टच दिन त्यसको सजावटमा विशेष ध्यान दिनुपर्छ । यसले भान्साको रौनक बढाइदिन्छ । त्यसका लागि रंगीबिरंगी प्लेट्स वा क्रोकरीको प्रयोग गर्न सकिन्छ । भान्सामा फ्रेस लुक दिन बिड्स वा सेटेड क्यान्डिलले सजाउन सकिन्छ । भान्साको भित्तामा सम्बन्धित पेन्टिङ राख्दा स्टाइलिस देखिन्छ । 

फरक–फरक रंगको स्टुल र भाइब्रेट रंगको अर्गनाइजर राख्दा भान्सा आकर्षक देखिन्छ । क्याबिनेट अर्गनाइजरमा मसलाको बट्टा र भान्सामा प्रयोग हुने सामानहरू मिलाएर राख्दा राम्रो देखिन्छ ।

 

रंग

भान्सा कोठा सानो छ भने हल्का रंग राम्रो देखिन्छ । यसले भान्सा पहिलेको भन्दा उज्यालो र फराकिलो देखाउँछ । त्यसैगरी ठूलो कोठा भए आफ्नो इच्छानुसार गाढा रंगको प्रयोग गर्न सकिन्छ । 

इन्डोर प्लान्टस्

हरियालीले आँखालाई शान्त र शीतलता प्रदान गर्छ । ‘इन्डोर प्लान्टस्’ ले मनलाई खुसी गराउनुका साथै भान्सामा काम गर्दा ताजगी र सकारात्मक महसुस गराउँछ । स–साना आकर्षक गमलामा यस्ता बिरुवा रोपेर सजाउँदा भान्साको सौन्दर्य बढ्छ । झ्याल वा र्‍याकमा बिरुवा सजाउन सकिन्छ । इन्डोर प्लान्ट मात्र नभएर पुदिना, धनियाँ, घिउकुमारी, लेमन ग्रास आदि भान्सामा प्रयोग हुने बोटबिरुवा पनि रोप्न सकिन्छ । हेगिङ गमलामा रोपेर झ्यालमा झुन्डाउन पनि सकिन्छ । 

वालपेपर

भान्सामा फरक लुक दिन भित्तामा वालपेपर टाँस्न सकिन्छ । आफ्नो इच्छानुसारको वालपेपरले भित्तालाई सजाउँदा भान्सा उज्यालो देखिन्छ । वालपेपरको छनोट गर्दा विशेष सावधानी अपनाउनुपर्छ । भान्साको भित्ता छिट्टै फोहोर हुने भएकाले वासेवल वालपेर लगाउनुपर्छ । 

गुणस्तरीय सामग्रीको छनोट

भान्सा कोठामा प्रयोग हुने सामग्रीहरू कमसल खालका हुनुहुँदैन । खासगरी, कमसल स्टिलबाट बनेका सामग्रीहरू कोटेट हुन्छन् । यस्ता सामग्रीहरू पछि गएर खिया लाग्ने हुन्छन् । त्यसैले सकेसम्म गुणस्तरीय सामग्रीको प्रयोग गर्नुपर्छ । 

 Image