Successfully Copied

बोल्ड लुक्सका लागि आँखाको मेकअप

आँखालाई आकर्षक बनाउन आइमेकअपले महत्वपूर्ण भूमिका खेल्छ । आँखाको मेकअपले महिलाको सौन्दर्य बढाउँछ ।

दिनेश राई, मेकअप आर्टिस्ट

आँखालाई आकर्षक बनाउन आइमेकअपले महत्वपूर्ण भूमिका खेल्छ । आँखाको मेकअपले महिलाको सौन्दर्य बढाउँछ । आँखाको मेकअप बिग्रिए सम्पूर्ण मेकअप नै बिग्रन्छ । त्यसैले आँखाको मेकअप गर्दा त्यसबारे सही जानकारी हुनु जरुरी हुन्छ । आकर्षक आँखाका लागि लाइनर, आइस्याडो, मस्काराको सही प्रयोग गर्नुपर्छ । 

बुसी आइब्रो अहिले ट्रेन्डमा छ । यो आइब्रोले प्राकृतिक लुक दिन्छ । अहिले हेभी मेकअपभन्दा हल्का मेकअप रुचाइन्छ । ग्लिटर स्याडो चल्तीमा छैन । लाइट स्मोकी बढी रुचाइन्छ । स्याडोमा एक वा दुई सेड लगाइन्छ । काजल लगाउनुको साटो मस्कारा र लाइनर लगाइन्छ । दैनिक मेकअपमा आइल्यासेस, मस्कारा र लाइनरमात्र चलेको छ । त्यसका साथै मेकअप गर्दा आँखाको बनावटलाई पनि ध्यान दिनुपर्ने हुन्छ । 

आँखाको मेकअपका सामग्री क्रिम बेस्डमा छनोट गर्नुपर्छ । पाउडर बेस्ड मेकअप किट आँखामा परेर पोल्न सक्छ । अनुहारमा यताउति लाग्न सक्छ । साथै संवेदनशील आँखाका लागि पाउडर बेस्ड मेकअप प्रयोग गर्नबाट बच्नुपर्छ । कतिपयले आँखाको मेकअप गर्दा केही गल्ती गर्छन्, जसका कारण आँखाको मेकअप आकर्षक देखिँदैन । मेकअप गर्नुअघि पूर्व तयारी गर्नुपर्छ । कस्तो खालको मेकअप गर्दैछु त्यसमा द्विविधा हुनुहुँदैन । अन्यथा मेकअप गरिसकेपछि मेट्न खोज्दा बिग्रिएर खराब हुन्छ । त्यस्तै, स्याडो लगाउँदा ब्रसमा थोरै लिँदै लगाउनुपर्छ, एकैपटक धेरै लिँदा चाहिने भन्दा बढी रंग बस्छ र ब्लेन्ड गर्दा फैलिएर मेकअप भद्दा देखिन्छ ।

 

आइप्राइमर र कन्सिलर

धेरैजसोको आइलिड चिल्लो हुन्छ । आइप्राइमरको प्रयोगले आइस्याडोलाई लतपत हुन दिँदैन । यसले चिल्लोपन सोस्ने काम गर्छ र आँखाको मेकअपलाई लामो समयसम्म टिकाउँछ । प्राइमर लगाएर सुकेपछि मात्र आइस्याडो लगाउनुपर्छ । आइस्याडोको प्रयोग गर्दा पहिला बेस्ड बनाउनुपर्छ । कन्सिलरले मेकअप लामो समयसम्म टिकाउँछ । त्यसैले आइमेकअप सुरु गर्नुअघि आइलिडमा कन्सिलरको प्रयोग जरुरी हुन्छ । त्यसपछि लुज पाउडर प्रयोग गरेर कन्सिलरलाई सेट गर्नुपर्छ । आँखाको मेकअप धेरै नगर्दा भने हल्का कन्सिलर लगाए पनि हुन्छ । प्राइमर र कन्सिलरको प्रयोगबिना आँखाको मेकअप जति खुल्नुपर्ने हो खुल्दैन । मेकअप गरेको केही समयसम्म राम्रो देखिए पनि पछि क्रिज बस्ने, कतै स्याडो हुने कतै नहुने हुन्छ । 

सही ब्रसको छनोट

आइस्याडोको प्रयोग गर्न होस् वा ब्लेन्ड गर्न ब्रसको आवश्यकता पर्छ । आँखाको मेकअप राम्रो गर्नलाई ब्रसको छनोट पनि सही हुनुपर्छ । त्यस्तै जुन प्रयोगका लागि ब्रस चलाइएको छ त्यही ब्रस अरुबेला प्रयोग गर्नुहुँदैन । ब्रसको सहायताले आइस्याडो लगाउँदा मेकअप आकर्षक देखिन्छ । आइस्याडो लगाएपछि ब्लेन्डिङ ब्रसले ब्लेन्ड गर्दा क्रिज बस्दैन । त्यस्तै, ब्रसको सरसफाइमा पनि ध्यान दिनुपर्छ । बेला–बेलामा ब्रसलाई साबुन वा स्याम्पुको सहायताले धोएर घाममा सुकाउनुपर्छ । 

मेटालिक आइस्याडो

आइस्याडो कुन सेडको छनोट गर्ने भन्ने कुरा दिउँसो वा रातिको पार्टीका लागि हो भन्ने कुरामा निर्भर रहन्छ । दिउँसोको मेकअपका लागि न्यूड वा अर्दी सेड र रातिका लागि बोल्ड र भाइब्रेट सेडको आइस्याडो रोज्नुपर्छ । मेटालिक आइस्याडो अहिले चल्तीमा छ । दुईवटा सेड प्रयोग गरेर आइस्याडो लगाउँदा आँखा अझ आकर्षक देखिन्छ । बोल्ड लुकका लागि मेटालिक स्याडो उपयोगी हुन्छ । यो स्याडो आँखाको लिडमा मात्र लगाउनुपर्छ र त्यसलाई सेट गर्नका लागि हल्का म्याट सेडको स्याडोले ब्लेन्ड गर्नुपर्छ । 

आँखा सानो भए ग्रे, ब्राउन, बेज सेडको आइस्याडोको छनोट गर्नुपर्छ । आइलिडको किनारमा गाढा सेड लगाउने र भित्रको भागतिर हल्का लगाएर ब्लेन्ड गर्दा आँखा ठूलो र आकर्षक देखिन्छ । दुई–तीनवटा सेडको आइस्याडो ब्लेन्ड गरेर लगाउँदा आइमेकअप राम्रो देखिन्छ । पछिल्लो समय रंगीन आइस्याडो चलेको छ । यो आइस्याडोको प्रयोग गर्दा सिर्जनात्मक हुन जरुरी हुन्छ । 

रंगीन आइपेन्सिलको प्रयोग

आइस्याडो लगाइसकेपछि लाइनरको प्रयोग गर्नुपर्छ । पछिल्लो समय कालो लाइनरभन्दा रंगीन आइपेन्सिल वा लिक्विड लाइनर चल्तीमा आएको छ । कालो रंगको पहिरनमा नीलो रंगको लाइनर बढी खुल्छ । हरियो रंगको लाइनर वेस्टर्न पहिरनमा आकर्षक देखिन्छ । गोरो अनुहार भएकाहरूलाई हरियो रंग बढी सुहाउँछ । सिम्पल लुकका लागि पिंक रंगको लाइनर रोज्न सकिन्छ । युनिक लुकका लागि पर्पल, रातो, ग्रे रंगको लाइनर प्रयोग गर्न सकिन्छ । 

व्हिस्पी आइल्यासेज र रंगीन मस्कारा

फ्लटरी र व्हिस्पी ल्यासेज अहिलेको ट्रेन्ड हो । यसले साधारण तर प्रभावशाली लुक दिन्छ । यो ल्यासेज धेरै कृत्रिम र घना देखिँदैन । यसमाथि मस्काराको दुई–तीन कोट लगाए बोल्ड लुक दिन्छ । त्यस्तै, रंगीन मस्काराको पनि प्रयोग गरेको पाइन्छ । भोल्युम र लम्बाइका लागि कालो मस्कारा लगाएर त्यसमाथि रंगीन मस्काराको प्रयोग गर्न सकिन्छ । मस्कारा लगाउँदा पटक–पटक बाहिर–भित्र गर्नुहुँदैन । यसो गर्दा मस्काराको बट्टामा हावा पसेर चाँडै बिग्रन सक्छ । दैनिक प्रयोग गर्नका लागि वाटरप्रुफ मस्कारा नलगाउनु नै बेस हुन्छ । आइल्यासेस प्राकृतिक रूपमै घना छ भने क्लियर वा ट्रान्सपरेन्ट मस्कारा लगाउनुपर्छ । 

 Image