Successfully Copied

युक्रेनमाथि रुसी आक्रमण महिलाले उठाए हतियार 

युक्रेनी महिलाहरू आफ्नो राष्ट्रको रक्षार्थ उभिएपछि रुसलाई कडा युद्धको सामना गर्नुपरेको छ । त्यहाँका महिलाहरू अत्याधुनिक हतियारसहित आफूहरू युद्धमा होमिएको उद्घोष गरेका छन् ।

रुसले आक्रमण गरी युक्रेनलाई तहस–नहस पारिदिएको छ । यसक्रममा धेरैको अनाहकमा ज्यान गएको छ, धेरै जना अंगभंग भएका छन् । अर्बौंका भौतिक संरचनाहरू रुसी गोलाबारुदले क्षतविक्षत भएका छन् । रुसको यो आततायी आक्रमणप्रति देश–विदेशमा ठूलो विरोध भएको छ । तर, रुस टसमस देखिएको छैन । युक्रेनमा अब रुसविरुद्ध जन–जन जागेका छन् । उनीहरू आफ्नो देश र माटोको स्वाधीनता, अखण्डता र सार्वभौमसत्ता रक्षार्थ वलिदान दिन तम्तयार भएका छन् । अझ महिलाहरू अग्रपंक्तिमा देखिएका छन् ।

युक्रेनी महिलाहरू आफ्नो राष्ट्रको रक्षार्थ उभिएपछि रुसलाई कडा युद्धको सामना गर्नुपरेको छ । त्यहाँका महिलाहरू अत्याधुनिक हतियारसहित आफूहरू युद्धमा होमिएको उद्घोष गरेका छन् । मुलुकलाई आवश्यकता परेको बेला देशभरकै महिला सांसददेखि सुन्दरीसम्मले हतियार उठाएका छन् । तीमध्येका केही चर्चित महिलाहरूमा युक्रेनी सांसदद्वय कीरा रुडिक र लेसिया भासिलेन्को, अलीशा, अनास्टासिआ लिन्ना र म्यारियाना झागलोलगायतका छन् । 

युक्रेनी सांसद कीराले रुसविरुद्धको लडाइँमा आफूले हतियार उठाएको उद्घोष गरेकी छन् । केही साताअघि उनले सामाजिक सञ्जालमा बन्दुकसहित आफ्नो एउटा तस्बिर सार्वजनिक गरेकी थिइन् । उक्त तस्बिर भाइरल बन्यो । त्यसपछि आफ्नो ट्वीटर ह्यान्डलमा लेखिन्, ‘म कलास्निकोभ राइफलको प्रयोग गर्न जान्दछु । पुरुषहरूझैं हामी महिलाहरू हाम्रो देश र माटोको रक्षा गर्नेछौं ।’

उनले संचारमाध्यमहरूमा आफू रुसप्रति क्रुद्ध बनेको बताइन् । ‘जब युद्ध सुरु भयो, म अत्यन्तै आक्रोशित भएँ, अझै पनि मेरो त्यो आक्रोश थामिएको छैन’ उनले भनेकी छन्, ‘रुस र पुटिनले युक्रेनको अस्तित्वलाई किमार्थ समाप्त पार्न सक्तैन । मैले राइफल उठाएपछि पागल तानाशाहका मतियारहरूले मलाई सहर छाड्न भनेका थिए, मेरो परिवार र साथीभाइलाई धम्की दिए । त्यसैले अब देश, परिवार र साथीहरूका लागि किभ (युक्रेनको राजधानी) किमार्थ छाड्दिन । मैले उनीहरूको रक्षार्थ हतियार उठाएकी हुँ ।’

सांसद कीराले आफू किभमा रहेर रुसी सेनाविरुद्ध प्रतिरोध समूहहरू बनाएर लडिरहेको बताइन् । ‘हामी हाम्रो सडकमा रहेका रुसीविरुद्ध लडिरहेका छौं’ उनले भनिन्, ‘हामी एक स्वतन्त्र देशका नागरिक हौं । त्यसैले जसरी पनि हामीले हाम्रो सम्प्रभुताको रक्षा गर्नैपर्छ । किनभने मेरो भावी पुस्ता युक्रेनमै रहोस् भन्ने मेरो चाहना हो ।’ छत्तीस वर्षीया कीरा सन् २०१९ मा युक्रेनको सांसद बनेकी हुन् । 

अर्की युक्रेनी सांसद लेसिया भासिलेन्का पनि रुसविरुद्धको युद्ध मोर्चामा उभिएकी छन् । उनले केही साताअघि संचारमाध्यमसँगको साक्षात्कारमा विदेशीहरूलाई युक्रेनमा रुसको आक्रमणको प्रतिरोधमा सहभागी हुन आह्वान गरिन् । उनले भनिन्, ‘हामी पूर्ण युद्धमा परेको देश हौं । तपार्इंहरूलाई प्रशिक्षण र पाठ सिकाउनका लागि कसैसँग समय छैन । मुलुकका लागि सबै आ–आफ्ना कर्तव्य निर्वाह गर्न क्रियाशील र व्यस्त छन् ।’ उनले युक्रेनमाथि रुसी आक्रमणविरुद्ध प्रतिरोधमा समावेश हुन चाहनेहरूका लागि अन्तर्राष्ट्रिय डिफेन्स फोर्स युनिट गठन गरिएको जानकारी दिइन् । ‘हामीले युक्रेनका लागि अन्तर्राष्ट्रिय क्षेत्रीय प्रतिरक्षा एकाई गठन गरेका छौं, यदि तपार्इंहरू युक्रेनलाई रुसी आक्रमणविरुद्ध लड्न सहयोग गर्न चाहनुहुन्छ भने तपाईं आफ्नो देशमा रहेको युक्रेनी दूतावासहरूमा ‘साइन अप’ गर्न सक्नुहुन्छ । युक्रेनी पुरुष र महिलाहरूसँग काँधमा काँध मिलाएर उभिन सक्नुहुन्छ । हामीलाई सबैभन्दा ठूलो आक्रमणबाट बचाउन सक्नुहुन्छ । विश्वकै सबैभन्दा ठूलो ज्यादतीविरुद्ध हामीसँग उभिन सक्नुहुन्छ । किनभने विश्वलाई युद्ध होइन, शान्ति चाहिएको छ’ लेसियाले भनेकी छन् । 

रुसविरुद्ध युद्ध लड्ने उद्घोष गर्नेमा ३८ वर्षीया अलीशा पनि हुन् । युक्रेनी हतियारले सुसज्जित उनी चर्चाको शिखरमा छिन् । आधुनिक बन्दुक बोकेर देशको रक्षाका लागि उनी सडकमा उत्रेकी छन् । उनको नजिकै एउटा बन्दुक र ठूलो मात्रामा बुलेट्सहरू राखिएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था ‘रोयटर्स’ का अनुसार अलीशा युक्रेनी राजधानी किभकी बासिन्दा हुन् । उनको सात वर्षको एउटा सन्तान पनि छ । उनी डेढ वर्ष पहिले युक्रेनी सशस्त्र बल ‘टेरिटोरियल डिफेन्स फोर्सेस (टीडीएफ)’ मा सहभागी भएकी थिइन् । फोर्सेसमा सहभागी भएपछि उनी साइबर सुरक्षा क्षेत्रमा क्रियाशील अर्को संगठनमा संचार विशेषज्ञका रूपमा समेत काम गर्दै आएकी थिइन् । 

अलीशाले सधै आफ्नो कार्यालयको कामसँगै बन्दुक चलाउने प्रशिक्षण र युद्ध कौशल पनि सिकिन् । एक वर्षको प्रशिक्षणपछि उनी डिफेन्स एकाईमा समावेश भइन् । त्यसयता उनले युद्ध कौशल सिकिरहिन् । आफ्नो यो युद्ध कौशल युक्रेन युद्धमा खर्चनुपरेकोमा उनी दुःखी छिन् । उनी भन्छिन्, ‘मेरो लडाइँ लड्ने सीपको प्रयोग युक्रेन–रुस युद्धमा नहोस् । किनभने म यो युद्धको पक्षमा छैन ।’ 

उनले युद्ध कौशलको भौतिक अभ्यास पुरुषसँगै काँधमा काँध मिलाएर पूरा गर्दैछिन् । उनीसँग दुईवटा क्यालिबर बन्दुक छन्, एउटा आफ्नो घरमा राख्छिन् र अर्को प्रशिक्षणमा लिएर जान्छिन् । अलीशाले केही साताअघि ‘रोयटर्स’ लाई भनेकी थिइन्, ‘युद्धमा एउटा असुरक्षित ठाउँबाट सुरक्षित ठाउँमा कसरी जान सकिन्छ त्यो कुरा मलाई राम्ररी थाहा छ । यदि म आगोमा छु भने मैले के गर्नुपर्छ त्यो पनि थाहा छ । मेरा मित्र, नागरिक वा छिमेकी आगोको लप्कामा फसेको अवस्थामा मैले कसरी सहयोग गर्नुपर्छ त्यो पनि मलाई राम्ररी जानकारी छ ।’ 

पूर्व युक्रेन सुन्दरी अनास्टासीआ लेन्ना पनि रुसी आक्रमणबाट आफ्नो मुलुकलाई बचाउन अत्याधुनिक हतियारसहित युद्धमा समावेश भएकी छन् । सन् २०१५ मा ‘मिस ग्रान्ड इन्टरनेसनल सौन्दर्य प्रतियोगिता’ मा युक्रेनको प्रतिनिधित्व गर्ने लेन्नाले देशको रक्षाका लागि आफ्नो ‘क्राउन’ र ‘स्यास’ उतारेर रुसविरुद्ध होमिएकी छन् । उनले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा अत्याधुनिक हतियारसहितका केही तस्बिरहरूसमेत सार्वजनिक गरेकी छन् । 

त्यसैगरी, तीन सन्तानकी आमा ५२ वर्षीया म्यारियाना झागलोले आफ्नो मुलुकको रक्षाका लागि अत्याधुनिक राइफल उठाएकी छन् । उनी एक मार्केटिङ शोधकर्ता हुन् । उनले किभका लागि लड्न कसमसमेत खाएकी छन् । ‘एउटी आमाको रूपमा म यो चाहन्न कि मेरा सन्तान युक्रेनको समस्यालाई विरासतका रूपमा लिऊन् वा यी खतराहरू उनीहरूसम्म पुगून् । त्यसअघि नै म रुसविरुद्ध लडेर देशको रक्षा गर्न चाहन्छु’ उनले भनिन्, ‘देशको रक्षाका लागि मैले सिकार गर्ने शक्तिशाली बन्दुक उचालेकी छु । त्यसको प्रयोग मैले जीवनमा गरेकी छैन । अब रुसविरुद्ध गर्नुपर्ने भएको छ ।’ हतियार बोकेकी आमा युक्रेनको टेरिटोरियल डिफेन्स फोर्सेसकी सदस्य बनिसकेकी छन् । यसका लागि ११ सय अमेरिकी डलर खर्चेर युद्ध लड्न आवश्यक सामग्रीहरू हेलमेट, स्नो क्यामोफ्ल्याग, फलाक ज्याकेट, बुट र ब्रिटिश आर्मी पोसाक खरिद गरेकी छन् । आफ्नो भान्सामा ‘टाइम्स’ पत्रिकासँगको साक्षात्कारमा उनले भनिन्, ‘मैले भान्सामा माछा, कुखुरा र अचार तथा धेरै गोला–बारुद राखेकी छु । युद्धका लागि यो मेरो तयारी हो ।’ 

(एजेन्सीहरूको सहयोगमा)

 Image