लैङ्गिक समानताको शिक्षा घरैबाट

मीना भट्टराई

फाल्गुन २५, २०७८ सामान्यतयाः  कुनै पनि परिवारमा महिला–पुरुषको संख्या समान रहेको पाइन्छ । तर, त्यही परिवारले महिलाको सवालमा समतामुखी व्यवहार गरेको पाईँदैन  । महिला समानताको कुरा भाषण वा अभियानको नारा बनाएर मात्रै हुँदैन । यसलाई साँच्चिकै व्यवहारमा उतार्न सक्नुपर्छ । त्यसका लागि हामीले घरबाटै यसको अभ्यासको थालनी गर्नुपर्छ ।

राष्ट्रको कुरामा महिलाले समान हक÷अधिकार पाउनुपर्छ भनेर वर्षौदेखि नेपाली समाजमा शिक्षा दिदै आएको पाइन्छ,  तर यही समाजलाई मेरो प्रश्न छ– ती भनाइ र अभियानका नाराहरुलाई साँच्चि कै व्यहारमा उता¥यौ त ? हामीले हाम्रो घरैबाट कत्तिको समतामुखी व्यवहारको अभ्यास ग¥यौं ?  अब शिक्षाको केन्द्र बिन्दु भनेको घर हुनुपर्दछ । कुनै पनि बच्चाको पहिलो शिक्षक भनेको उसको आमा, बुबा , परिवार हुँदै समाज हुन्छ भने त्यस्तो शिक्षा किन हामिले किन घरैबाट सुरुवात नगर्ने ?

बच्चालाई कुनै पनि आमाले वा परिवारले हुर्काउँदै गर्दा छोरा–छोरी दुवैलाई समानताको पाठ सिकाइयोस् । छोरीलाई भान्छाको काम सिकाउन आवश्यक छ भने त्यो आवश्यकताको महसुस छोरालाई पनि गराउनु पर्दछ । छोरीलाई घरको सरसफाई गर्न सिकाउँछौ भने छोरालाई पनि घरको ओछ्यान मिलाउन सिकाउनु पर्दछ । छोरीले तरकारी केलाइरहन सिकाइन्छ भने छोरालाई चिया पकाउन सिकाउनु प¥यो । यसरी हामीले साँच्चिकै लैङ्गिक समानता चाहन्छौँ र महिलाहरु आफैंलाई हामीले समानता पाउन सकिरहेका छैनौँ भन्ने कुरा थाहा पाउँदै गर्दा किन यो समानताको वकालत हामीले घरबाटै सुरुवात नगर्ने ?

नारी समता र समानताको कुरा गर्नुपर्दा अहिलेका आधुनिक र कामकाजी महिलाहरुले भोग्नु पर्ने मानसिक तथा शारीरिक तनाव अझ धेरै बढ्न पुगेको  म आफैंले महसुस गरेको छु । जसको उदाहरण हामी पढेलेखेका घर–परिवारबाटै हेर्न सकिन्छ । पहिलेका पुस्ताका हजुरआमा, आमा, दिदी, भाउजु तथा बुहारीले भोग्नुपरेको समस्या पनि धेरै नै थिएनन् भन्ने होइन तर अलि कम मानसिक समस्या हुन्थ्यो । अहिलेका महिलाले दोहोरो–तेहेरो कामको बोझले शारीरिक–मानसिक तनाव धेरै लिन परिरहेको छ । मेरो भनाइ यत्ति हो कि महिलाले घरको सम्पूर्ण काम सिध्याएर अफिसको पनि जिम्मेवारी पूरा गर्न सक्छन् भने पुरुषले पनि अफिसको जिम्मेवारी सहित घरको काममा सहयोग गरिदिँदा मात्र पनि कमसेकम पढेको शिक्षा व्यवहारमा लागू गरेको महसुस हुन्थ्यो र थोरै भएपनि घरभित्रै समानताको आभाष हुन्थ्यो । महिलालाई पनि अब साँच्चिकै हाम्रो घर र समाजमा नारी तथा पुरुष समान रहेछौं भन्ने महसुस हुन्थ्यो । मेरो विचारमा यस्तो परिवार र समाज त्यतिबेला सम्भव छ जतिबेला हरेक घरभित्रैबाट बाल्यावस्थादेखि नै छोरा र छोरीलाई समान अभ्यास र क्रियाकलापमा सहभागी गराइन्छ ।

यी सबै कुरा गर्दै गर्दा सबै पुरुषहरु उस्तै हुन्छन् भन्ने मेरो आशय होइन । यसलाई अनुसन्धान नै गरेर हेर्दा पनि कुल मध्य १० प्रतिशत भन्दा कम पुरुष हाम्रो समाजमा होलान् जसले महिला–पुरुष समानतालाई घरभित्रै देखि व्यवहारमा उतार्न सफल छन् । त्यस्ता पुरुषहरु जसले दुवैजना कामबाट घर फर्किदा श्रीमतीले तरकारी केलाउँदै गर्दा श्रीमान पत्रिका या टेलिभिजनमा घोत्लिन होइन घरको सरसफाइमा लाग्छन्् । हाम्रो घरबाटै शिक्षा दिने क्रममा छोराले यो काम गर्नु हुँदैन, छोरीले मात्र घरको काम सिक्नु आवश्यक छ भन्ने सोचको विकास भएमा यो समानता सम्भव हुन्छ जस्तो लाग्दैन । त्यसैले यसको सुरुवात घरभित्रैबाट बच्चाको हुर्काइसँगै सिकाउन जरुरी देखिन्छ । समतामूलक समाजका लागि यो शिक्षाको सुरुवात आवश्यक देखिन्छ । स्कुल, कलेज गएपछि आर्जन गरिने शिक्षालाई मात्र वास्तविक शिक्षा बुझेको हाम्रो समाजमा अब ‘शिक्षाको पहिलो पाठशाला घर’ र त्यहाँ सिकाइने शिक्षा र यसले पार्ने प्रभाव बारे राज्यका हरेक नागरिकले बुझ्न, सिक्न र अवलम्वन गर्न जरुरी छ ।

( लेखिका आदिम कलेजका अपरेशनल हेड हुनुहुन्छ )

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>