Successfully Copied

बेहुलीको फेसन 

आकर्षक एवं स्टाइलिस देखिने चक्करमा अरुले लगाएको पहिरन आफूलाई पनि सुहाउँछ भन्नु गलत बुझाइ भएको फेसन डिजाइनर मञ्जु बञ्जारा बताउँछिन् ।

विवाहको मौसम छ । विवाह भन्नेबित्तिकै सबैको ध्यान बेहुलीमा केन्द्रित हुन्छ । बेहुली सुन्दर देखिनुपर्छ भन्ने मान्यता छ । त्यसैले त हरेक बेहुली यो विशेष अवसरलाई अविस्मरणीय बनाउन चाहन्छन् । उनीहरू यो दिन शिरदेखि पाउसम्म सुन्दर र आकर्षक देखिन कुनै कसर बाँकी राख्दैनन् । तर, आकर्षक एवं स्टाइलिस देखिने चक्करमा अरुले लगाएको पहिरन आफूलाई पनि सुहाउँछ भन्नु गलत बुझाइ भएको फेसन डिजाइनर मञ्जु बञ्जारा बताउँछिन् । उनी भन्छिन्, ‘कतिपय मलाई यस्तै डिजाइन, रंग, फेब्रिकको पहिरन चाहिन्छ भन्दै आउनुहुन्छ ।’ सही पहिरनको छनोटले नै बेहुलीको सुन्दरतामा निखार आउने उनको भनाइ छ ।

लामो समयदेखि फेसन डिजाइनको काम गर्दै आएकी तृष्णा गुरुङ सहमत हुँदै भन्छिन्, ‘आफ्नो शारीरिक बनावट, वर्ण, उचाइअनुसार पहिरनको उचित छनोटले नै आफूलाई सुन्दर र स्टाइलिस देखाउने हो ।’

पछिल्लो समय नेपालीहरूले पनि हल्दी, मेहन्दी आदि समारोह गर्न थालेका छन् । मञ्जु भन्छिन्, ‘यी समारोहमा लगाउने पहिरन आफ्नो संस्कार, रहनसहनसँग मिल्ने खालको हुनुपर्छ ।’ खासगरी बेहुली पहिरनको रंग, शैली आदि वैवाहिक संस्कृतिमा निर्भर गर्छ । जस्तो कि हिन्दूहरूले विवाहको अवसरमा रातो नै बढी रुचाउँछन् भने क्रिश्चियन समुदायमा सेतो रंगको पहिरन लगाइन्छ ।

फेसनेबल एवं स्टाइलिस देखिन परम्परागतसँगै आधुनिक टच पनि दिनुपर्ने तृष्णा सुझाउँछिन् । कतिपयलाई वैवाहिक समारोहमा के लगाउने, कस्तो खालको लगाउने भन्ने कुरामा द्विविधा हुन्छ । यस्तोमा सेलिब्रेटीको फेसनबाट केही आइडिया लिन भने सकिन्छ । तर पूरै पछ्याउँदा आकर्षक देखिुनुको सट्टा कुरूप देखिन्छ ।

यी दिनहरूमा कस्तो पहिरनको छनोट गर्ने र त्यससँग कस्तो गहना, फुटवेयर लगाउन सकिन्छ ?

पहिरन

विवाहको किनमेल गर्न सजिलो छैन । त्यसमा पनि पहिरनको छनोट प्रायः बेहुलीलाई कन्फ्युज पारिदिन्छ । विवाहको अवसरमा कस्तो प्रकारको पहिरन लगाउने भन्ने कुराको निर्णय गर्न गाह्रो हुन्छ । यस्तोमा साडीको छनोट सही हुन सक्छ । साडी जुनसुकै अवसरमा पनि लगाउन सकिन्छ । साडीमा विभिन्न डिजाइन, स्टाइल, फेब्रिक एवं रंग उपलब्ध हुन्छ । मौसमअनुरूप फेब्रिकको छनोट जरुरी हुन्छ । अहिले जाडोको मौसम सुरु भइसकेको छ । यस्तो मौसममा शरीरलाई न्यानो बनाउने फेब्रिक छनोट गर्नुपर्छ । भेल्भेट, हेभीवेट साडी खरिद गर्न सकिन्छ ।

त्यस्तै, पछिल्लो समय बेहुलीको रोजाइमा लेहेंगा पर्ने गरेको छ । लेहेंगा विभिन्न डिजाइनमा पाइन्छ । जाडो मौसममा हेभी खालको लेहेंगा रोज्न सकिन्छ । अहिले बेहुलीले रातो रंग नै लगाउनुपर्छ भन्ने छैन । कलेजी, पिंक, रानी पिंक, ओरेन्ज रंगको लेहेंगा लगाउन सकिन्छ । यी गाढा रंगले उचाइ पनि बढी देखाउँछन् । दुई रंगको संयोजन मिलाउन पनि सकिन्छ । रातो, मरुन वा गोल्ड रंगको संयोजन आकर्षक देखिन्छ । नियोन र पिंक, रोयल ब्लु र मस्टर्ड एल्लो, लाइट ओरेन्ज र जेड ग्रिनको संयोजनले नयाँपन दिन सकिन्छ । यसरी रंगसँग संयोजन मिलाउँदा वेडिङ लुक युनिक बनाउन सकिन्छ । स्लिम देखिनका लागि भने जर्जेट, सार्टन, क्रेप जस्ता फेब्रिकको छनोट गर्नुपर्छ । स्लिक वा नेटले शरीरलाई मोटो देखाउँछ ।

गर–गहना

गर–गहनाविना बेहुलीको शृंगार अधूरो हुन्छ । यो सोह्र शृंगारको अहम हिस्सा मानिन्छ । पछिल्लो समय आधुनिकसँगै परम्परागत गहनाको फेसन रहेको छ । ठूला–ठूला झुम्का अहिले चल्तीमा छन् । साडी, लेहेंगामा यस्ता झुम्का आकर्षक देखिन्छन् । यस्ता झुम्का वन लेयर, डबल लेयर, थ्री लेयरमा पाइन्छन् । त्यस्तै विभिन्न स्टोन वर्क गरिएका गहना रोज्न सकिन्छ । हल्दी, मेहन्दी, विवाहको दिन र रिसेप्सन पार्टीमा अलग–अलग किसिमको गहनामा सजिन सकिन्छ । गर–गहनाको छनोट गर्दा भने आफ्नो पहिरनसँग सुहाउँदो हुनुपर्छ ।

फुटवेयर

फुटवेयर खरिद गर्दा मुख्यतः स्टाइल होइन सहजतालाई ध्यानमा राख्नुपर्छ । पूरै दिन लगाउनुपर्ने भएकाले आरामदायक हुन जरुरी हुन्छ । फुटवेयर पहिरनको लम्बाइको हिसाबले खरिद गर्नुपर्छ । पहिरनका अतिरिक्त लम्बाइअनुसार हिलको लम्बाइ हुनुपर्छ । फुटवेयरको छनोट गर्दा एउटै पसलमा मात्र नहेरी एक–दुईवटा पसलमा हेर्नुपर्छ र आफ्नो बजेटअनुसार खरिद गर्नुपर्छ । त्यसका साथै विवाहका दिन कुनै पनि प्रकारको समस्या हुन नदिन साइजमा पनि द्विविधा हुनुहुँदैन नत्र हिँडडुल गर्न असहज हुन सक्छ । आफ्नो उचाइ कम भए हल्का हिल वा मध्यम हिल रोज्न सकिन्छ नत्र विवाहको दिनको सहजताका लागि फ्ल्याट नै लगाउनुपर्छ । रंगमा पिंक, रेड, सफ्ट ह्वाइट, ब्ल्याक, क्रिम, सिल्भर वा गोल्डेन रोज्न सकिन्छ ।

पर्स वा क्लच

बेहुलीका लागि पर्स वा क्लच पनि महत्वपूर्ण हुन्छ । पहिरन र फुटवेयरको छनोट भइसकेपछि पर्स वा क्लच खरिद गर्नुपर्छ । आफ्नो पहिरनअनुरूप यसको खरिद वा म्याचिङ गर्दा आकर्षक देखिन्छ । विवाहको दिनबाहेक रिसेप्सन पार्टी, अन्य समारोहको दिनका लागि पनि खरिद गर्नुपर्छ । अहिले सोल्डर पर्स फेसनमा छ । त्यसका अतिरिक्त क्लच पनि बोक्न सजिलो हुने भएकाले यसको छनोट गर्न सकिन्छ । यसका धेरै भेराइटी पाइन्छन् । आफूलाई मनपर्ने र पहिरनसँग म्याच गरेर बोक्न सकिन्छ । लेदर, प्रिन्टेड, सिल्क आदि क्लचले स्टाइलका साथै ट्रेन्डी लुक पनि दिन्छ । क्लच वा पर्सको छनोट गर्दा आफूलाई अत्यावश्यक सामान अट्ने खरिद गर्नुपर्छ ।

मञ्जु बञ्जारा, फेसन डिजाइनर

जाडोमा भेल्भेट नै धेरैले रुचाउँछन् । भेल्भेट राणाकालदेखि नै चलेको हो । यसले रोयल लुक दिने भएकाले सबैको रोजाइमा भेल्भेट नै पर्छ । त्यसका साथै भेल्भेटमा हेन्ड वर्क, एम्ब्रोइडरी गर्दा खुल्ने भएकाले गर्दा पनि भेल्भेटको पहिरन कहिल्यै पुरानो हुँदैन । पहिला जस्तो विवाह एकदिनमा सकिँदैन । मेहन्दी–संगीत, स्वयम्वर, विवाह र रिसेप्सन गरी चार दिनसम्म विवाह समारोह चल्छ । मेहन्दी–संगीतको दिन बेहुलीले कुर्ता, सलवार, सरारा सेट नै बढी रुचाएका छन् ।

विवाहका दिन रातो रंगको पहिरन लगाउन सल्लाह दिन्छु । रातोमा पनि हल्का, गाढा, कलेजी सेडमा लगाउन सकिन्छ । रिसेप्सन पार्टीमा लेहेंगा लगाउन सकिन्छ । लेहेंगाको छनोट गर्दा केही कुरामा ध्यान दिनुपर्छ । कम्मरमा सर्कुलर भएको लेहेंगा उचाइ कम भएकाले नलगाउनु नै बेस हुन्छ । कम्मर र हिपमा फिटिङ र तल सर्कुलर भएको लेहेंगाले अग्लो र स्लिम देखाउँछ । पछिल्लो समय टेल वाला (पछाडि लत्रिएको) लेहेंगा बढी रुचाइएको पाइन्छ । त्यस्तै घुम्टी पनि लामो चलेको छ ।

 

तृष्णा गुरुङ, फेसन डिजाइनर

पछिल्लो समय विवाह समारोहमा यही नै पहिरन लगाउनुपर्छ भन्ने छैन । आफ्नो रुचिअनुसार जुनसुकै पहिरन लगाउन सकिन्छ । अहिले धेरैको प्राथमिकतामा साडी पर्दैन । त्यस्तै रातो रंगकै पहिरन लगाउनुपर्छ भन्ने छैन । फेब्रिकमा सिल्क, जर्जेट र सिल्क, भेल्भेटमा एम्ब्रोइडरी गरेको साडी, लेहेंगा अहिले चल्तीमा छन् ।

 

 Image