पनौतीको बाह्र वर्षे मेला

जेरार्ड टफिन

फाल्गुन १, २०७८ काभ्रेस्थित पनौतीमा हरेक बाह्र वर्षपछि माघमा मकर मेला लाग्छ । यो मेलालाई बाह्र वर्षे मकर मेला भनेर पनि चिनिन्छ । मेला एक महिनासम्म चल्छ । माघे संक्रान्ति/मकर संक्रान्तिको दिनबाट यो सुरु हुन्छ । 

धार्मिक शब्दावलीमा पनौतीस्थित रोशी खोला (लीलावती), पुण्यमती खोला (पद्मावती) र ब्रह्मायणी मन्दिरमुनिबाट बगिरहेको लुकेको खोला (रुद्रावती वा गुप्तावती) को त्रिवेणीलाई इन्द्रपत्नीको नामबाट शचीतीर्थ भनिन्छ । स्थानीयले यो संगमलाई त्रिवेणीघाट वा त्रिवेणीधाम भन्छन् र यसलाई पवित्र तीर्थका रूपमा लिन्छन् । यहाँ छिमेकी गाउँका मृतकहरूको अन्त्येष्टि गरिन्छ । यो ठाउँको पानी फोहोर गर्नेलाई पापी मानिन्छ । 

उत्तरबाट बग्ने तेस्रो गोप्य र अदृश्य नदी रुद्रावतीको सतह १२ वर्षमा यस समयमा बढ्छ भन्ने जनविश्वास छ । संगम नजिकैको देवी मन्दिरमा रहेको ब्रह्मायणी प्रतिमा अगाडिका दुईवटा साना प्वालमा यस समयमा पानी भरिन्छ । बत्तीस लक्षणयुक्त व्यक्तिले यी दुईमध्ये कुनै एक प्वालमा दूध देख्छ भन्ने गरिन्छ । मकर मेला अवधिभरि यहाँको पवित्र जलमा तेल राखे त्यो तेल तल डुब्ने भन्ने पनि मान्यता छ । यसलाई पानीको बल तथा शक्तिको प्रतीकका रूपमा लिने गरिन्छ । 

मकर मेलाको अवसरमा हिन्दू धर्मका सबै ३३ कोटी देवता आ–आफ्नो लोकबाट पनौती आउँछन् भन्ने पनि दाबी गरिन्छ । मेलामा आउने देवीदेवता माघभरि यहीँ बस्छन् भन्ने किवदन्ती पाइन्छ । 

मकर मेलामा त्रिवेणीमा स्नान गर्दा ठूलो पुण्य प्राप्त हुने जनविश्वास छ । यसबाट व्यक्तिले गरेका सबै पापहरू पखालिन्छन् । मेलाको समयमा त्रिवेणीघाटमा स्नान गर्नाले मोक्ष र पुण्य प्राप्त हुन्छ । समग्रमा भन्नुपर्दा सबै किसिमका पुण्य प्राप्त हुने यो पुण्यभूमि हो । यसबाहेक, यो समयमा यहाँको पानीमा विशेष उपचारात्मक गुण हुन्छ । यसले चर्म रोग निको पार्ने जनविश्वास पनि रहिआएको छ । पनौतीका भक्तजनहरूले माघभरि कम्तीमा तीन पटक स्नान गर्छन्–महिनाको पहिलो र अन्तिम दिन र बीचमा अन्य कुनै दिन । 

वासुकी नाग पनौती र मकर मेलाका एक प्रमुख पात्र हुन् । यी नाग देवता जलकै प्रतीक हुन् । ख्वारे धार्मिक परिसरभित्र पुण्यमती नदीको दाहिने किनारमा त्रिवेणी नजिकै रहेको कालो ढुङ्गालाई वासुकी नाग भनी पूजा गरिन्छ । माघ महिनाभरि यो चिप्लो ढुङ्गामाथि अरू समय इन्द्रेश्वर मन्दिरभित्र रहने एक पित्तलको मुकुट विशेष तरिकाले राखिन्छ । भक्तजनहरूले वासुकीलाई चढाउने वस्तु त्यहाँका पोडे माझी/ कुचीकारले लिन्छन् । पोडेहरू वास्तवमा नाग देवताका संरक्षक हुन् । दिनभरि उनीहरू वासुकी मानिएको त्यस ढुङ्गा छेउमा उभिरहन्छन् । हरेक वर्ष जेठ शुक्ल पूर्णिमामा पर्ने पनौतीको मुख्य पर्वका बेला पनि पोडे/माझीले वासुकी ढुङ्गालाई यो मुकुट पहिराई दिन्छन् । दुवै पर्वमा (जेठ र माघ) यस धातुको आवरणले त्यहाँ वासुकीको उपस्थितिलाई सङ्केत गर्छ । पन्ध्रौं–सोह्रौं शताब्दीतिर लेखिएको मानिने काठमाडौं उपत्यकाको प्रसिद्ध तीर्थ ग्रन्थ ‘नेपाल माहात्म्य’ मा उल्लेख १६६ पवित्र स्थलमध्ये पनौती तीर्थ पनि एक हो । 

तस्बिरहरू : प्रशान्त श्रेष्ठ 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>