वनस्पतिमा स्वास्थ्य रहस्य

डा. अरुणा उप्रेती

माघ १७, २०७८ प्रायः पात, बियाँ र बोक्रालाई हामीले बेवास्ता गर्छौं । तर, यसमा लुकेको सूक्ष्म पोषकतत्वको प्रयोगले महिला स्वास्थ्यमा राम्रो प्रभाव पार्छ भन्ने कुरा विभिन्न अनुसन्धानले सिद्ध गरिसकेका छन् । 

हाम्रा वरपर पाइने केही पात, बियाँ एवं बोक्राको प्रयोगले शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ, तर यसको अर्थ स्वास्थ्यकर्मीकहाँ समस्या पर्दा नजाने भन्ने होइन । 

अँसुरोको पात

हाम्रो वरिपरि पाइने अँसुरोको पात पकाएर कुल्ला गर्नाले दाँत तथा गिजाका रोगीलाई फाइदा गर्छ । वैद्यको भनाइअनुसार अँसुरोका पात १० ग्राम रसमा अलिकति मह मिसाएर बिहान–बेलुका खाँदा महिलाहरूलाई प्रजनन स्वास्थ्य समस्यामा फाइदा हुन्छ । अँसुरोको पात पानीमा उमालरे खाँदा कफ सजिलै बाहिर निस्किन्छ । मैले पनि छातीमा समस्या परेको बेला डाक्टरसँग सल्लाह लिएर एन्टिबायटिक खाएँ । खोकी कम गर्न मेरी कान्छी आमाको सल्लाहले अँसुरो पानीमा उमालेर पिएँ । ३–४ दिनमा खोकी निको भयो । 

चरी अमिलो

त्यसैगरी जताततै पाइने चरी अमिलाको महत्वका बारेमा प्रायः वास्ता गरिन्न । वास्तवमा भिटामिन ‘सी’ युक्त चरी अमिलो औषधियुक्त छ । 

महिला स्वास्थ्यका लागि भिटामिन ‘सी’ को ठूलो महत्व छ । यसको प्रयोगले शरीरमा रहेको भोजनबाट लौहतत्वलाई शोषण गर्न सहयोग गर्छ । शरीरमा रगतको मात्रा पर्याप्त भए रोगसँग लड्ने शक्ति हुन्छ । विशेषगरी कोरोनाको समयमा भिटामिन ‘सी’ को महत्व अझ बढ्न गएको छ । विभिन्न बिरुवाका बारेमा जानकारी राख्नेहरूले चरी अमिलोलाई पानीमा उमालेर कुल्ला गर्दा मुखको घाउ निको हुने बताउँछन् । युरोपतिर चरी अमिलोलाई सलादमा हालेर पनि खान्छन् । भिटामिन ‘सी’ शरीरले आफैं उत्पादन गर्न सक्दैन हरेक दिन रोगसँग लड्न नयाँ कोषहरू बनाउन यसको आवश्यक पर्छ । त्यसैले आफ्नै घर–आँगनमा रहेको चरी अमिलोलाई प्रयोग गर्न सकिन्छ । 

सिस्नो 

हामी प्रायः ‘सिस्नो’ खाने भन्दा सजाय दिने भन्ने ठान्छौं । तर सिस्नोको पात खान हुन्छ, सिस्नोमा औषधीय गुण हुन्छ ।

उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि खान्छन् । यो शाकाहारीहरूका लागि उत्तम हुन्छ । पहिले ‘सिस्नो खाने मान्छेलाई’ हेयको दृष्टिकोणले हेर्ने चलन थियो । पछिल्लो समय तारे होटलमा खाँदा सिस्नोको सुप बनाएर वा दाल तरकारीमा हालेर दिने चलन छ । 

सिस्नोको पातमा भिटामिन ‘ए’, ‘सी’का साथै यसमा क्याल्सियम, आइरन, जिंक, पोटासियम, म्याग्नेसियम, फस्फोरस र म्यागनिजजस्ता भिटामिन पनि पाइन्छन् । महिलाको स्वास्थ्य राम्रो राख्न यी तत्व चाहिन्छ । सिस्नोको पात उमालेर चिया जसरी पनि प्रयोग गर्न सकिन्छ । सिस्नो प्रायः नेपालको पहाडी र हिमाली भेगको जंगलमा पाइन्छ । गाउँघरमा सिस्नोलाई कनिकामा मिसाएर बाक्लो हुने गरी पकाइन्छ । यसले गर्दा ऊर्जा पनि दिने भएकाले सिस्नोको खोले राम्रो मानिन्छ । सिस्नोको सुप बनाउँदा फापरको आटा, कोदाको पिठो पनि राख्न सकिन्छ । स्वादअनुसार मसला राखी झानेर खाँदा स्वाद र स्वास्थ्य दुवै पाइन्छ ।

लट्टे

लट्टेको पात र दाना पोषणले भरिपूर्ण हुन्छ । यसलाई उत्तम तरकारी र अन्न मानिन्छ । यो सजिलै फल्छ । लट्टेको पातमा पर्याप्त लौह तत्व हुन्छ । लट्टेका दानाको विभिन्न खाद्यपदार्थ बनाउन सकिन्छ । तराईतिर यसलाई राम दाना भनिन्छ । पहाडी क्षेत्रमा ‘लट्टे’, वा ‘लुँडे’ भनिन्छ । कर्णालीमा ‘मार्से’ भनिन्छ ।

यो प्रायः व्रतको दिनमा खाने चलन छ । यसले ऊर्जा दिने भएकाले पुर्खाहरूले व्रतको दिनमा खाने चलन चलाएका हुनसक्छन् ।

नेपालका विभिन्न ठाउँमा यसका विभिन्न नाम छन् र प्रयोग पनि फरक फरक तरिकाबाट हुन्छ । लट्टेको दानालाई विदेशतिर ‘सुपर फुड वा उत्तम भोजन’ भनिन्छ र सलाद, सुप बनाएर खाइन्छ । ‘नजिकको तीर्थ हेला’ भनेझैं यो सजिलै पाइने हुनाले वास्ता नगरेजस्तो लाग्छ । तर धेरै स्याहार नचाहिने, मल पनि नचाहिने लट्टेलाई भान्सामा प्रयोग गरेर रोगसँग लड्ने शक्ति बढ्छ भन्ने स्पष्ट छ । 

माटोमा दाना छरेपछि लट्टे धेरै स्याहार नगरेर नै हुर्किन्छ । हरियो र रातो लट्टे दुवैको स्वाद मीठो हुन्छ । यसको पातमा कोदो र फापरको पिठो हालेर पकाउँदा स्वाद तथा पौष्टिकता दुवै पाइन्छ ।

 लट्टेको दानालाई भुटेर दूधसँगै पकाउँदा स्वादिष्ट खाजा हुन्छ । लट्टेको दाना पिसी आटामा मिसाएर स्वस्थकर रोटी बन्छ । यसको पिठोको सुप पनि बनाएर खान सकिन्छ र तरकारीसँग पकाएपछि त सुपको स्वाद र पौष्टिकता झनै बढ्छ । लट्टेको दानामा गहुँभन्दा बढी रेसादार र लौहतत्वका साथै भिटामिन इ, भिटामिन सी, फोलिक एसिड क्याल्सियम पनि भएकाले महिला, गर्भवती सुत्केरी सबैका लागि अति नै उपयोगी छ । 

१०० ग्राम लट्टेको दानामा २८.८ प्रतिशत प्रोटिन पाइन्छ । यसको कुपोषणबाट बच्न प्रोटिनको ठूलो महत्व छ तर हामी प्रायः बाहिरका औषधि किनेर खान्छौं, लट्टेलाई हेला गर्छौं । लट्टेका दाना ‘ग्लुटिनरहित’ भएकाले गहुँ पचाउन नसक्नेहरूका लागि पनि यसको प्रयोग गर्न सकिन्छ ।

करीपत्ता

महिला स्वास्थ्यका लागि ठूलो भूमिका खेल्न सक्ने ‘करीपत्ता वा मीठो निम तराईतिर जताततै सजिलो गरी फल्छ ‘करी’ (मीठा निमको) पत्तामा औषधिजन्य गुण हुन्छ । निमको जस्तै उत्तम गुण तर तितो नभएकाले यसलाई मीठा निम भनिएको होला । दक्षिण भारत श्रीलंकामा करीपत्ता र करीपत्ताको धेरै प्रयोग गरिन्छ । म त्यहाँ जनस्वास्थ्य विशेषज्ञ भएर करीपत्ताका बारेमा बुझें ।

त्यहाँ खानेकुरा पकाउँदा करीपत्ता प्रयोग गर्छन् । तर म तरकारी वा दालमा हालेको पत्ता खाँदैनथें, निकालिदिन्थें, त्यो देखेर एक नर्सले भनिन्, ‘करीपत्ता’ त पौष्टिकतत्वले भरिपूर्ण हुन्छ । हाम्रो खाना त यो नभई पूणर्् ानै हुँदैन । यसको नरम पातको अचार पनि बन्छ । रसम (दाल) मा त यो नभइ हुँदैन । यसमा पर्याप्त मात्रामा लौहतत्व र भिटामिन ‘ए’ हुन्छ । यो त खानुपर्छ किन तिमीले फालेको ? अनि मैले करीपत्ता खान सुरु गरें । अहिले मेरो घरमा दुईवटा करीपत्ताका बोट छन् । समय–समयमा पत्ता चपाउँछु, । तरकारी बनाउँदा पत्ता हाल्छु । अचारमा पनि हरियो धनियाँ र करीपत्ता पनि पिस्छु । 

लामो समयका लागि घरबाहिर जाँदा सुकाएको करीपत्ता प्रयोग गर्न सकिन्छ । यसलाई चपाएर वा धूलो बनाएर तरकारी दालमा हाल्न सकिन्छ ।

करीपत्ता त पोषणको भण्डार नै हो । यसमा रहेको फोलिक एसिडको भ्रूणको मेरुदण्ड राम्ररी विकसित न हुने समस्याबाट बच्न मद्दत गर्छ । नेपालमा यस्ता समस्या भएका शिशुहरू कति जन्मिन्छन् तर अनुसन्धान त गरिएको छैन तर फोलिक एसिड पर्याप्त पाइने भएकाले तराई–पहाडका महिलाले यसको प्रयोग गर्न सके उनीहरूको स्वास्थ्य राम्रो हुनसक्छ । 

प्रायः तराईमा जताततै पाइने करीपत्ता कतिले त गाईवस्तुलाई दिन्छन् । यो खाएपछि गाई र गोरुको स्वास्थ्य राम्रो हुन्छ भन्ने उनीहरूको भनाइ छ । 

करीपत्ताका बारेमा गरिएका विभिन्न अनुसन्धानले मधुमेह भएकाहरूलाई पनि यसले फाइदा गर्छ । किनभने यसले शरीरिभित्र रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ । तर मधुमेह भएका महिलाहरूले करीपत्ता मात्र खाएर औषधि छोड्नु हुँदैन ।

काठमाडौंको दक्षिण भेगतिर यसलाई ‘पैनामती’ भनिन्छ । दाना असारमा पाकेपछि खाने गर्छन् । त्यसैले यसलाई ‘असारे’ पनि भनिँदो रहेछ । दाना पानीमा उमालेर खाँदा पेटमा रहेको गडबडीलाई सन्चो गर्ने परम्परागत ज्ञानले भन्छ । यसरी पानीमा पकाएर खाँदा अलिकता कागती र वीरेनुन हालेपछि स्वादिष्ट पेय बन्छ । करीपत्ता खाँदा भिटामिन ‘ए’ पनि पाइन्छ र स्वस्थ हुन्छ रतन्धो हटाउन मद्दत गर्छ । तर दुःखको कुरा करीपत्ता बढी पाइने तराईमा नै भिटामनि ‘ए’ को कमीले बालबालिका र गर्भवती महिलामा आँखासम्बन्धी समस्या देखा पर्छ । त्यसैले महिला र बालबालिकाले हरेक हप्ता विभिन्न तरिकाले करीपत्ता प्रयोग गरे राम्रो हुन्छ ।

हाम्रा पुर्खाहरूलाई यसले फाइदा गर्छ भन्ने थाहा थियो । तर उहाँहरूले वैज्ञानिक अनुसन्धान गरेर अनुभवद्वारा कसरी करीपत्ता र निम स्वास्थ्यका लागि राम्रो हुन्छ भने थाहा पाएका थिए । भारतकी प्रसिद्ध वैज्ञानिक डा. वन्दना शिवाले दुई वर्षअघि काठमाडौंमा एक सम्मेलनमा आउँदा कसरी विभिन्न वनस्पतिले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ भनेर कार्यपत्र प्रस्तुत गरिन् । त्यतिबेला निम र करीपत्ताका बारेमा बोलेर स्थानीय वनस्पतिका बारेमा राम्रो जानकारी दिएकी थिइन् ।

आलस

आलस पछिल्लो समय धेरैले प्रयोग गर्न थालेको एक उत्तम बीउ हो । क्याल्सियम, ओमेगा ‘थ्री’, रेसादार पदार्थको राम्रो स्रोत हो । यसमा पौष्टिक तत्व लिगनेन पनि हुन्छ । यसले कोलेस्टेरोल घटाउँछ र शरीरमा चिनीको मात्रालाई सन्तुलनमा राख्न सहयोग गर्छ । आलसको प्रयोगले शरीरमा विशेषगरी महिलाहरूको महिनावारी सुकेपछि हाडको घनत्व कम हुँदै जाने समस्या कम गर्न पनि आलसको सेवन राम्रो हुन्छ । यसलाई छोप बनाएर खान सकिन्छ, भुटेर सलादमा हाल्न सकिन्छ । दहीमा घोलेर प्रयोग गर्न सकिन्छ । जसरी प्रयोग गर्दा पनि हुन्छ तर राम्रोसँग चपाएर खानुपर्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>