वैज्ञानिक मनीषा
संघर्ष नगरी कुनै पनि सपना पूरा हुँदैन, कामप्रति रुचि राखेर अगाडि बढेको खण्डमा हरेक मानिसले आफ्नो लक्ष्य प्राप्त गर्न सक्छन् ।’
बख्तरबन्द गाडी (एपीसी) भित्र जब उनी पहिलोपटक छिरिन् मुटु ढक्क फुल्यो । कुनै फ्याक्ट्रीभित्रका मेसिनै–मेसिनको माझमा जेलिएझैं उनलाई लाग्यो । ड्यासबोर्डको कुन बटम थिच्दा के हुने हो भनेर उनी डराएकी थिइन् । तर, क्षणभरमै आफूभित्रको आत्मविश्वासलाई दह्रो पार्दै उनी ड्राइभिङ सीटमा बसिन् र स्टेयरिङ घुमाइन् । त्यसपछि उनको यो क्रम टुटेकै छैन । नेपालकै पहिलो महिला (बख्तरबन्द गाडी चालक) असिम बानियाँलाई त्यो क्षण निकै गर्विलो लाग्छ । युद्धग्रस्त क्षेत्रमा सैनिकहरूले हतियार बोक्न तथा आफूलाई क्षति नहुने गरी विपक्षीलाई आक्रमण गर्न बख्तरबन्दको प्रयोग गर्छन् । यसका विभिन्न भागमा जडित हतियार चलाएर विपक्षीविरुद्ध लड्न सकिन्छ । यो जमिन र पानी दुवै ठाउँमा चल्ने फाइटिङ भेइकल हो । हाल उनी संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा सहभागी हुन मध्य अफ्रिकी मुलुक जाँदैछिन् । त्यहाँ पनि उनले बख्तरबन्द गाडी नै चलाउने छिन् । राष्ट्रसंघीय शान्ति मिसनको ६० वर्षको इतिहासमा पहिलो पटक नेपाली महिला सैनिकले उक्त अवसर पाएकी छन् ।
सैंबु भैंसेपाटीका नकुल र ठूलीनानी बानियाँका छ सन्तानमध्ये कान्छी असिम बाल्यकालमा केटाकै जस्तो हाउभाउ देखाउने स्वभावकी थिइन् । उनलाई फुटबल, भलिबल एवं बास्केटबलमा रुचि थियो । उनका साथीहरू पनि केटा नै धेरै थिए । ललितपुर भैंसेपाटीस्थित आदर्श युवा माविबाट ‘प्लस टु’ सिध्याएपछि उनी जावलाखेलस्थित भलिबल ट्रेनिङ सेन्टरबाट राष्ट्रिय लेभलका गेम खेल्न थालिन् । ०६२ मा सैनिक सेवा प्रवेश गरेकी उनी प्युठ पदमा कार्यरत छिन् । उनले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रबाट ‘प्रि–डिप्लोयमेन्ट’ तालिम पूरा गरेकी छन् । ‘सैनिक सेवामा प्रवेश गरेपछि मैले ड्राइभिङ गर्ने अवसर पाएँ । मेरो कामको मूल्यांकन गरेरै युनिटले मलाई हेभी ड्राइभिङ र त्यसपछि एपीसी ड्राइभिङको तालिममा पठायो’ असिमले भनिन्, ‘उसो त म सैनिक सेवामा नआउँदै कुनै पुरुषले गाडी हुइँकाएको देखेपछि घरको छतमा उभिएर हेरिरहन्थें, सोच्थें–आफू पनि यस्तै बहादुर बन्न पाए हुन्थ्यो । मेरो यो रहर सेनामा आएपछि पूरा भयो ।’

०७६ मा श्री नम्बर १३ वाहिनी अड्डाबाट ‘बी–भेइकल’ तालिम लिएपछि उनी यसैमा सेवा गर्न थालिन् । त्यसपछि उनी हेभी ड्राइभिङ हुँदै बख्तरबन्दमा आइपुगेकी हुन् । पछिल्लो समय असिमलाई बधाई दिनेको ओइरो लागेको छ । ‘सबैले बधाई दिँदा ओहो मैले पनि आफ्नो ठाउँबाट देशको गौरव राख्न सफल भएँ भन्ने लाग्छ । नेपालमा मात्रै नभएर विदेशी भूमिमा समेत आफ्नो सीप प्रदर्शन गर्न पाइने भयो भन्नेमा गर्व महसुस हुन्छ’ असिमले भनिन्, ‘आँट गर्ने हो भने जे पनि गर्न सकिन्छ जस्तो मलाई लाग्छ । आगामी दिनमा अन्य महिलालाई पनि विभिन्न चुनौतीपूर्ण क्षेत्रमा आउन बाटो खुलेको छ ।’
लामो समयदेखि हेभी ड्युटी लिइरहेको भएर मिसन सफल हुन्छ भन्नेमा उनी ढुक्क देखिन्छिन् । सेनाका रिटायर्ड श्रीमान्को साथ र सहयोगले आफूलाई निर्धक्क काम गर्ने वातावरण सिर्जना भएको उनको भनाइ छ । १० वर्षीया छोरीकी आमा असिमले भनिन्, ‘आमा हुँ ममता मनभित्र हुन्छ नै तर बर्दी लगाइसकेपछि परिवारभन्दा बढी देश र जनताका बारेमा सोचिन्छ । युद्धमा जाँदा परिवारको माया र सम्झनालाई एकातिर छाडेर जानुपर्छ । पहिला छोरीको असाध्यै सम्झना आउँथ्यो, अब त ऊ बुझ्ने भइसकी भनेर मन दह्रो बनाउँछु । धेरै भावुक भइयो भने असफल हुने सम्भावना हुन्छ ।’