भान्सामा ‘जल्दै’ महिलाहरू 

करुणा देवकोटा

माघ १२, २०७८ कसले पकाएको खाना मीठो लाग्छ ?’ 

कसैले सोध्यो भने हामीमध्येधेरैको जवाफ हुन्छ, ‘आमाले पकाएको ।’

हुन पनि आमाहरूको हातमा जादु नै लुकेको हुन्छ । सायद आमाहरूले पकाउने खानामा आवश्यकतानुसारको मरमसलामात्रै मिसिएको हुँदैन । मन र माया पनि मिसिएको हुन्छ । त्यसैले त आमाले पकाएको खानाको स्वाद जिब्रोमा मात्रै बस्दैन मनमा पनि बसिरहन्छ । तर, आमाले भान्सामा पकाउने खानेकुराको सम्बन्ध स्वादमा मात्रै सीमित हुँदैन ।

तर,आमाहरूले भान्साभित्र गर्ने संघर्षलाई हामीमध्ये धेरैजसो नजरअन्दाज गर्छौं र स्वादको तारिफमा मात्रै रमाइरहेका हुन्छौं । केही गरी त्यस्ता संघर्षको कुरा उठिहाल्यो भने पनि जलन र आगलागीका घटना संघर्षको फेहरिस्तभित्र बिरलै पर्छन् । 

भान्साभित्र आमाहरूले आफूलाई कत्तिको सुरक्षित महसुस गर्छन् ? उनीहरू कत्तिको सुरक्षित छन् ? यस्ता प्रश्नहरूले प्रत्येक जाडोमा भान्साभित्र भएका आगलागीका घटनाबाट जलनमा परेका आमाहरूका खबर सञ्चारमाध्यममा छापिने/प्रसारण हुने संक्षेप जानकारीबाहेकका स्थानमा बहसका लागि ठाउँसम्म पनि पाएका छैनन् । 

फुटकर रूपमा आउने यी जानकारीलाई आधार मानेरै सही, हामीले हाम्रै घरको भान्सामा अधिकांश समय बिताउने सदस्यलाई सामान्य सोधपुछ, अप्ठ्यारोबारे प्रश्नसम्म सोध्दैनौं, चासो नै राख्दैनौं । कतिलाई लागिरहेको हुनसक्छ, किन सोध्ने त यस्ता प्रश्न ?

किनभने खाना पकाउने क्रममा आगो लागेर, ग्यास चुहिएर वा पड्केरै बर्सेनि धेरैले ज्यान गुमाउनुपरेको छ । त्यसरी ज्यान गुमाउनेमा महिलाको संख्या धेरै छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गर्ने दैनिक विपद् बुलेटिनमा उपलब्ध तथ्यांकलाई नै हेर्ने हो भने गत वर्षको मंसिर १५ देखि यो वर्षको मंसिर १४ गतेसम्ममा आगलागीबाट मात्रै देशभरि मानवीय क्षति ४ सय ८९ वटा भए । यो तथ्यांकमा घाइते र मृत्यु हुने दुवैलाई समेटिएको छ । जसमध्ये ५८ वटा घटना भान्साभित्र खाना पकाउने क्रममा आगो लागेर, ग्यास पड्केर भएका थिए । 

यो तथ्यांक केवल अंक मात्रै होइन । जलनमा पर्ने व्यक्तिको दुःख, हैरानी, सिंगो परिवारले भोग्ने सास्ती, उपचार खर्च, जलनमा परी मृत्यु भएको हकमा पीडादायी शोक सबैको समग्र चित्रण पनि हो । के हामीले कहिल्यै सोचेका छौं, कुनै दिन तपाईं हाम्रा आमा, भाउजू, दिदीबहिनी वा हामी स्वयं नै पनि यो गणनामा पर्न सक्छौं ?

यो तथ्यांकले भान्साभित्र औसतमा मासिक छ वटाभन्दा धेरै आगलागीका घटना हुने गरेको देखाउँछ । यो त सरकारी रेकर्डमा आएका घटना मात्रै हुन् । त्यस्ता कति धेरै आगलागीका घटना न त सरकारी रेकर्डमा समेटिएका हुन्छन्, न त संचारमाध्यममा नै समावेश हुन्छन् । 

सरकारको कमजोर उपस्थिति भएका ठाउँ, गाउँले भान्साहरूमा यस्ता घटनाहरू कति भइरहेका होलान् ? सरकारी नजरले अति सामान्य ठान्ने आगलागीका घटनाले कति महिलाले महिनौंसम्म जलनको कष्ट–पीडा सहनुपरेको होला ? अनि कतिले त्यस्ता परिस्थितिमा आरामको आवश्यकता गरिरहँदा घरेलु हिंसाको सामना, ‘काम चोर’ को आरोप खेप्नुपरेको होला ? त्यसको लेखाजोखा कसले गर्ने ?

बरु उल्टै हामी भान्साभित्र हुने आगलागीका घटनामा ‘लापरबाही’ को ट्याग भिराएर महिलाहरूलाई नै दोषी करार गर्छौं । तर यसो भन्दैमा बुवाहरूले, अझ भनौं पुरुषहरूले भान्साको काम नै गर्दैनन्, उनीहरू जलनको जोखिममै हुँदैनन् भन्न खोजेको होइन । नेपाली समाज, यहाँ व्याप्त पितृसत्तात्मक सोच र व्यवहारले गर्दा अधिकांश घरमा भान्साको भार महिलाकै काँधमा छ । 

उनीहरूलाई सानैदेखि ‘तिमी महिला हौ, भान्साको जिम्मा लिने, भान्सा सम्हाल्ने काम महिलाकै हो’ भन्ने कुरा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सिकाइएको हुन्छ । हाम्रा त्यस्ता सिकाइ, सँगसँगै हाम्रा सामाजिक, सांस्कृतिक, परम्परागत बुझाइ र व्यवहारले भान्साभित्र महिलाहरूले असुरक्षित महसुस गर्छन्, जलनको जोखिममा पर्छन् । 

रीतिरिवाज र संस्कृतिका नाममा साडी, पछ्यौरा आदि निश्चित पोसाकहरू महिलाले लगाउनुपर्ने बाध्यता अझै पनि नेपाली समाजमा व्याप्त छ । अझ कतिपय ठाउँमा त चोखो वस्त्र मानेर खाना बनाउँदा महिलाले अनिवार्य धोती लगाउने चलन छ । 

एकपटक सोचौं त, त्यस्ता पोसाकहरू सम्हालेर परम्परागत चुल्होहरू भएको, भेन्टिलेसनको पर्याप्त प्रबन्ध नभएको भान्सामा खाना पकाउनु कत्तिको जोखिमपूर्ण काम हो ? गाउँले भान्सामा मात्रै होइन, सहरिया र आधुनिक भान्सामा पनि त्यस्ता पोसाकमा भान्सामा काम गर्नु कति झन्झटिलो हुन्छ ?

भान्सा र पोसाकलाई जोडेर आगलागीका घटनालाई केलाउनु कतिलाई अस्वाभाविक पनि लाग्न सक्छ । तर, हरेक वर्ष भान्साभित्र हुने आगलागीका घटनालाई हेर्ने हो भने महिलाका पहिरन नै प्रमुख कारण मानिन्छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अध्ययनले पनि आगलागीको जोखिममा महिलाहरू धेरै रहेको देखाएको छ । त्यसका कारण हुन्, खुला आगोमा पकाउने चलन, असुरक्षित चुल्हो र आगो सजिलै टिप्ने लुगाहरू । 

त्यस्तै, डब्लूएचओकै अध्ययनले आगलागीका अधिकांश घटनाहरू न्यून र मध्यम आय भएका देशहरूमा बढी हुने गरेको बताउँछ । त्यसमध्ये पनि दुई–तिहाई घटना दक्षिणपूर्वी एसिया र अफ्रिकी मुलुकहरूमा बढी हुने गरेका छन् । यी अध्ययनलाई हेर्ने, सरकारी तथ्यांकलाई केलाउने र हाम्रा वरपर दैनिकजसो हुने आगलागीको जोखिमलाई बुझ्ने हो भने पनि यसबारेमा हामीले जतिसक्दो छिटो छलफल गर्न र समाधानका उपायहरू खोज्न आवश्यक छ । 

नेपाली समाजमा अग्नि र महिला दुवैको पूजा गरिन्छ । यी दुवैका महत्वबारे छलफल गरिन्छ । तर, अब यी दुवैलाई सँगै जोडेर छलफल गर्ने बेला भइसक्यो । भन्नुको अर्थ, आगलागीको जोखिममा पर्ने महिलाहरूलाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर । 

के सरकारको काम आगलागी र भान्साभित्र हुने आगलागीका घटनाको संख्यात्मक विवरण उतार्नु मात्रै हो ? अथवा भान्साभित्र आगलागीका घटनामा महिला बढी किन पर्छन्, ती पनि गाउँ, देहातका कमजोर साक्षरता भएका गरिबी र विपन्न समुदायका महिला नै धेरै किन छन् भन्ने प्रश्नको उत्तर खोज्नु पनि हो ? यस्तो प्रश्नको उत्तर खोज्दा सबै कामहरूमा महिलाको समान सहभागिता, सम्पत्तिको स्वामित्वमा महिलाको सहभागिता, सुरक्षित कार्यस्थलको अधिकार आदि कुराहरू पनि सँगसँगै आउँछन् । 

भान्साभित्र महिलाहरू किन जलनको सिकार भइरहेका छन् भन्ने प्रश्नको बहसमा हामी नागरिकको पनि समान सहभागिताको खाँचो छ । त्यसको सुरुवात हामीले हाम्रै घरभित्रैबाट गर्नु जरुरी छ । किनभने जबसम्म घरकै सदस्यले आफ्नो घरको भान्सा र भान्सामा काम गर्ने अर्को सदस्यप्रति आफूलाई जिम्मेवार महसुस गर्दैनन् तबसम्म समस्या समाधानको विकल्प निस्किँदैन । 

यो छलफलभित्र महिलाले लगाउने पहिरनलाई केन्द्रमा राखेर कुरा गर्नु पनि अर्को महत्वपूर्ण पाटो हो । महिलाले लगाउने निश्चित पोसाकमा उसलाई संस्कारी देख्ने चलनबारे पनि उत्तिकै विमर्शको खाँचो छ । सँगसँगै भान्साको काममा वा घरभित्रको काममा महिलाको मात्र मुख ताक्नेभन्दा पनि परिवारका सबै सदस्यको समान सहभागिताको थालनी गर्न पनि त्यत्ति नै महत्वपूर्ण छ । जसले गर्दा भान्साको भारमाथि पितृसत्ताले गर्दै आएको वर्षौं लामो घरेलु राजनीतिलाई नयाँ स्वरूप दिन प्रोत्साहन गर्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>