Successfully Copied

 संस्थाको सफलतामा नेतृत्वकर्ताको भूमिका महत्वपूर्ण 

कुनै पनि संस्थाको सफलतामा नेतृत्वकर्ताको भूमिका महत्वपूर्ण हुन्छ । संस्थामा आबद्ध कर्मचारीलाई क्षमताअनुसारको जिम्मेवारी प्रदान गर्ने र सोहीअनुरूपको कार्य भए/नभएको हेर्ने तथा मूल्यांकन गर्ने जिम्मेवारी नेतृत्वकर्ताकै हुन्छ ।

पोखराकी सरिता दाहाल हुमागाईंसँग मिडिया क्षेत्रमा प्रबन्ध निर्देशकको भूमिका निर्वाह गरेको १४ वर्षको अनुभव छ । पोखरास्थित ‘सफल मिडिया हाउस’ की प्रबन्ध निर्देशक उनी लाइन्स क्लबमा समेत आबद्ध छिन् । पछिल्लो समय उनले ‘सफल विज लिंक’ र ‘सफल आवाज डटकम’ को प्रबन्ध निर्देशकको जिम्मेवारीसमेत सम्हाल्दै आएकी छन् । उनीसँग असल नेतृत्वकर्तामा हुनुपर्ने गुण, महिलाको नेतृत्व क्षमता अभिवृद्धिलगायतका विषयमा केन्द्रित भई गरिएको संवादको सम्पादित अंश :

असल नेतृत्वकर्तामा हुनुपर्ने गुणहरू के–के हुन् ?

कुनै पनि संस्थाको सफलतामा नेतृत्वकर्ताको भूमिका महत्वपूर्ण हुन्छ । संस्थामा आबद्ध कर्मचारीलाई क्षमताअनुसारको जिम्मेवारी प्रदान गर्ने र सोहीअनुरूपको कार्य भए/नभएको हेर्ने तथा मूल्यांकन गर्ने जिम्मेवारी नेतृत्वकर्ताकै हुन्छ । टिमवर्कलाई विश्वास गर्दै असहज परिस्थितिलाई पनि सहज रूपमा लिएर अघि बढ्नसक्ने गुण एवं क्षमता नेतृत्वकर्तामा हुनुपर्छ । 

महिलामा नेतृत्व क्षमता अभिवृद्धि गर्न के कुराको आवश्यकता पर्छ ?

सर्वप्रथम महिलाको क्षमता चिनेर जिम्मेवारी दिनुपर्छ । साथै, उनीहरूको क्षमता अभिवृद्धिका लागि सम्बन्धित क्षेत्रको ज्ञान, सीप, अध्ययन र अवलोकनको अवसर पनि उत्तिकै आवश्यकता पर्छ । विज्ञसँगको भेटघाट र अनुभवबाट पनि नेतृत्व क्षमता अभिवृद्धि हुने भएकाले त्यसमा पनि जोड दिनुपर्छ । 

निर्णायक पद सम्हाल्न महिलालाई कत्तिको चुनौती छ ?

पुरुषको तुलनामा महिलालाई निर्णायक पदमा रहेर काम गर्दा बढी चुनौती हुन्छ । अझैपनि हाम्रो समाजमा व्यावसायिक वा अन्य क्षेत्रको महत्वपूर्ण निर्णय गर्दा महिलाले मात्र गरेको कमै पाइन्छ । महिलाले नेतृत्व गरेको संस्थामा बढी चुनौतीको सामना गर्नु परिरहेको हुन्छ । पेसा/व्यवसायसँगै घरपरिवारको जिम्मेवारी, आफन्तजनसँगको सहकार्य तथा सामाजिक संस्कारमा महिलाको सहभागिता उत्तिकै हुनुपर्ने भएकाले निर्णायक पद सम्हालिरहँदा चुनौतीको सामना गरिरहनुपर्छ । 

आफूलाई ‘अप टु डेट’ राख्न के गर्नुभएको छ ?

मिडिया हाउसको नेतृत्व गरिरहँदा यस क्षेत्रका विविध विषयको अध्ययन गर्छु । हरेक समय इन्टरनेटको पहुँचमा हुन्छु । त्यसको माध्यमबाट धेरै कुराको ज्ञान लिने गरेकी छु । 

महिलामा भएका तीनवटा गुण जसका कारण महिला शक्तिशाली छन् ?

महिलामा पुरुषको तुलनामा दर्जनौं बढी गुण हुन्छन् । महिलामा धैर्य, जिम्मेवारीलाई स्वीकार गर्ने साहस र सबैलाई मिलाएर लैजान सक्ने क्षमता हुन्छ । त्यसैले त भनिएको छ–एउटा असल महिला हुनु भनेको असल परिवार अनि असल समाज हुनु पनि हो । 

(सरिता सफल मिडिया हाउसकी प्रबन्ध निर्देशक हुन् ।)

 

 Image